अशोककुमार शिवापोलेको मकै
बुढा कम्ता खप्पिस छैनन् छानेर रोजेरै त मकै लिए होलान् । गोरुलाई मकैको खोस्टो खुवाए कि खुवाएनन् होला ? गोरुले त खोया पनि मिठो मानेर चपाउँछ । बुद्धि पोलेर खानु भन्छ त मकै पोलेरै खाएको राम्रो कि कसो ?

एउटा गाडा चालकले बुद्धि पोलेर खाएकै दिन बाटोमा पोलेको मकै किनेर (?) खाएछन् । त्यो आगोको भुङ्ग्रोमा हरियो मकै हालेर हातले टिनको पाता हल्लाएर हावा दिँदै मकैको बाहिरी परत डड्ने गरी पोलेको मकै पोलिएको बुद्धि भन्दा चाहिँ पक्कै स्वादिलो थियो होला ।
गाडा चालकले पोलेको मकै खाएको समाचार एकैछिनमा सर्बत्र फैलियो । त्यो मकै स्टलमा कत्रा कत्रा देशी बिदेशी मनुवाहरूले पोलेको मकै खाँदा कहिल्यै समाचार बनेन । फोटोसम्म देखिएन । तर एकजना गाडा चालकले पोलेको मकै हातमा के लिएको थियो ठुलै कुरा केही भयो कि झै गरि सञ्जाल हल्लियो ।
यसो कहिलेकाहीँ फुत्त कतै निस्कँदा खुत्रुक्क गाडा चडेर हिँड्न पाएका पटके सुबिधाभोगीहरू त झन लम्पसारै परेर बखान गर्न मिल्दो उखान खोजेर बिन्तिभाउ गर्न समेत पछि परेनन् । जाँदा बोको चराउन हिँडेका चालक फर्कदा भोकाएछन् त्यसैले पोल्या मकै किनेर नै त खाए होला कुन ठुलो कुरो भयो र ? बरु मकैसँगै हरियो खोर्सानी र नुनको अचार चाहिँ चाटे कि चाटेनन् ? खै समाचार ? एकछिन अगाडि मात्रै बुद्धि पोलेर खाँदा टिमुरको अचार चाटेका होलान् त्यै स्वादसँग फ्युजन गरे कि ?
गाडा दौडाउँदा गोरुलाई औलाले घोचिघोची औलै बांगो पारेका चालकले मकै कसरी छोडाए ? यो पनि जिज्ञाषाको विषय थियो तर त्यता तिन कसैले ध्यान पुर्याएको देखिएन । अब बिस्तारै गर्मी सुरु हुँदैछ, कुनैदिन ठेलामा बेच्न राखेको काँक्रोमा नुनखोर्सानी दलेर कर्याम कर्याम पारेको समाचार पनि सुन्न देख्न पाइन्छ होला । “मर्ने बेलामा हरियो काँक्रो” भन्ने उखान किन बनाएका होलान् पुर्खाले ?
ती गाडा चालकले खाएको मकैमा कति लस्कर मकै थियो भन्ने कुरा समाचारमा उल्लेख भएको पाइएन । मकैमा आन्तरिक लहर भन्नाले खोयाको वरिपरीको लाईन बढिमा १६ हुन्छ भनेको सुने जस्तो लाग्छ यकिन गर्न सकिनँ । कुनै कुनै मकैमा त यस्तो अरिमुठ्या बेलाइनको लस्कर हुन्छ कि के भन्नु छोडाउनै गाह्रो । बुढा कम्ता खप्पिस छैनन् छानेर रोजेरै त मकै लिए होलान् । गोरुलाई मकैको खोस्टो खुवाए कि खुवाएनन् होला ? गोरुले त खोया पनि मिठो मानेर चपाउँछ । बुद्धि पोलेर खानु भन्छ त मकै पोलेरै खाएको राम्रो कि कसो ?
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































