साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिक कुकुरहरू !

यदि यस्तै हो भने आफ्नो ‘आइडेन्टिटी’ जोगाउँदै पनि त शान्तिका निम्ति प्रदर्शन गर्न सकिन्छ नि ! यदि आफ्नो छुट्टै अस्तित्व छ र संसारै छुट्टै छ भन्ने अठोटै गरेको हो भने त प्रेतहरूसित कुनै अपिल गर्नु नै व्यर्थ छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

कुकुर पाल्नु सजिलो छ । निकै स्वामीभक्त जनावर हो । कुकुरमालिक त्यसलाई आफ्ना शत्रुहरू चिनाइदिन्छ र त्यो उनीहरूमाथि झम्टिन्छ । कुकुरले आफ्ना दुस्मन आफैं पनि निश्चित गर्छ र साङ्लो चुँडाएर भए पनि उनीहरूमाथि झम्टिन्छ । कुनै बेला यो पाल्तू जनावर बहुलायो भने मालिकको आदेश पनि मान्दैन र जसलाई पनि टोक्न थाल्छ । मालिकले गुनासाहरू सहनुपर्ने हुन्छ । जसले बहुला कुकुर पालेको हुन्छ त्यस्तो मालिकलाई मानिसहरू खुब गाली गर्छन् । मालिकको स्थिति कुँडेको पिँधमा दुध डडेर बनेको खोत्तरजस्तो हुन्छ ।

अमेरिकाले इजरायल नामको कुकुर पालेको छ । यस कुकुरलाई जिस्क्याएर ऊ पश्चिम एसियाका देशहरूलाई आतङ्कित पारिरहेको छ । तर यस कुकुरले आफ्ना शत्रु आफै निश्चित गर्‍यो अनि सिक्री चुँडालेर ती देशहरूलाई झम्टिन थाल्यो । पछिल्ला केही समयदेखि यो कुकुर बहुलाएको छ । पछिल्ला दिनहरूमा यस कुकुरको पागलपन यति कति बढेको छ भने यसले लेबनानमाथि कहरै बर्सायो । इजरायलले गरेको सबैभन्दा भयङ्ककर काण्ड त त्यो थियो जसमा उसले हजारौं प्यालिस्टाइनी नागरिकको हत्या गर्‍यो जसमा महिला तथा बालबालिका पनि थिए । यस काण्डले त संसारका मानिसहरूको आत्मा नै काँप्यो । सबैले यसको निन्दा कठोरतम शब्दहरूले गरे र यसको दोषको सङ्केत अमेरिकातिर सोझ्याए । मालिकले कुकुरलाई हप्कायो पनि तर कुकुर त नियन्त्रणबाहिर पुगिसकेको थियो । पहिले त कुकुरले पुच्छर हल्लाउँथ्यो तर अब भने पुच्छरमै दाँत निस्केका छन् । अब त पुच्छरले नै कुकुरलाई पनि हल्लाउँछ र टोक्छ पनि ।

इजरायलका सैन्य करतुतहरूको विरोध अब इजरायलमै भइरहेको छ । हजारौं इजरायली नागरिकहरू आफ्नै सरकारको यस नीतिका विरूद्ध प्रदर्शन गरिरहेका छन् । इजरायली संसद्मा बेगिन सरकारको कडा आलोचना गरियो । सेना पनि विद्रोही भयो र रक्षामन्त्रीलाई निल्नु न ओकल्नु भयो ।

संसारका हरेक देशले इजरायलको निन्दा गरेका छन् । तर यस युद्धपिपासा र पागलपनको स्रोत त कतै अन्तै छ । अमेरिकाली सरकारको यो विश्वव्यापी व्यूहरचना तनावनिर्माण र भयप्रदर्शनको नीतिअन्तर्गत पर्छ । यसका साथै हतियारनिर्माण र अन्य उत्पादनका बहुराष्ट्रिय कम्पनीहरूको मुनाफा पनि जोडिएको छ । संसारका हरेक क्षेत्रमा अमेरिकाका सैन्य अड्डा छन् । कैयौं यस्ता देश छन् जो अमेरिकाली हतियार र डलर लिएर उसको गुलाम बनेका छन् । दुनियाँभरमा तनाव छ । कुनै दिन पनि कसैको पागलपनले गर्दा विश्वयुद्ध हुन सक्छ अनि केही मिनेटमै मानवजातिको सफाया हुन सक्छ । अमेरिकी पैसावालाहरूले जमिनभित्र बङ्कर बनाएका छन् र सोचेका छन् त्यहाँ उनीहरू खानेपिउने सामान लिएर बस्ने छन् । उनीहरूलाई के लाग्छ भने यसरी उनीहरू बाँचिरहने छन् तर विशेषज्ञहरू के भन्छन् भने त्यहाँ तिनीहरू बिरामी पर्ने छन् । यदि बाहिर निस्के भने विषाक्त वायु र रेडियो एक्टिविटीले गर्दा मारिने छन् ।

यति धेरै लडाइँको तयारीसँगै संसारका मानिसहरूको विवेक पनि जागेको छ र शान्ति चाहने शक्तिहरू अझ शक्तिशाली बन्दै छन् । अमेरिकामै युद्धको विरोधमा र शान्तिको पक्षमा जनआन्दोलनहरू हुन्छन् । लाखौं मानिसहरूका र्‍याली निस्किन्छन् र तिनले ह्वाइट हाउसलाई घेर्छन् । यता युरोपका देशहरू जो कुनै दिन अमेरिकाको हुकुमतामेली गर्थे अब उछिट्टिएका छन् । यी रुसका छिमेकी हुन् र सम्भावित युद्धको पहिलो सिकार यिनै बन्ने छन् । यिनका रसियाली गुटसित व्यापारिक सम्बन्ध पनि छन् । सबैभन्दा पहिले त फ्रान्सले अमेरिकाको पुच्छर बन्न अस्वीकार गर्‍यो । मार्गरेट थ्रेचर जो अमेरिकाली प्रशासनको पूणर् वफादार मानिन्थिन् तिनी पनि ‘रुस हाम्रो छिमेकी देश हो र हामी रुससित राम्रो सम्बन्ध बनाउन चाहन्छौं’ भनेर पछि हटिन् । पश्चिम जर्मनीको अवस्था कस्तो छ भने अमेरिकाका निवर्तमान परराष्ट्रमन्त्री एलेक्जेन्डर हेग जब त्यहाँ त उनको स्वागत होला भनेर वान पुगे तब उनका अगाडि लाखौं मानिसहरू विरोधप्रदर्शनका साथमा स्वागत गर्दै थिए । उनीहरू अमेरिकाको विरोधमा र शान्तिको पक्षमा नाराबाजी गरिरहेका थिए । पश्चिम जर्मनी र ब्रिटेन खास वफादारमा गनिन्थे । रुससित ग्यासपाइप लाइनका सवालमा लगभग सिङ्गो युरोप अमेरिकाको विरुद्ध छ । अमेरिका रुसको ग्यास नकिन भन्छ तर यिनीहरू भन्छन्, ‘हामी लिन्छौं किनभने यसमा हामीलाई फाइदा छ ।’

यता हाम्रोतिरको अवस्था के छ भने हिन्दमहासागरमा सैनिक अड्डा बनाइँदै छन् , पाकिस्तानलाई हतियारसम्पन्न बनाइँदै छ र भारतका निम्ति खतरा उत्पन्न भएको छ । यस सन्दर्भमा पछिल्ला दिनहरूमा दिल्लीमा भएका शान्तिर्‍यालीहरूतिर पनि दृष्टि दिनुपर्दछ । शान्तिको त्यो आन्दोलन जुन कुनै बेला केही बुद्धिजीवी, वैज्ञानिक र मानवतावादीहरूको आन्दोलन थियो, अब जनआन्दोलन बनेको छ ।

दोस्रो महायुद्धपछिका प्रारम्भिक वर्षहरूमा शान्तिमाथि नै खतरा आउने देखेर ब्रिटिस दार्शनिक वट्र्रेन्ड रसेलले शान्तिको पक्षमा काम गर्नका निम्ति वैज्ञानिक तथा बुद्धिजीवीहरूको ‘कमिटी अफ हन्ड्रेड’ बनाएका थिए । यिनीहरूले शान्तिको पक्षमा जनमत निर्माणको प्रयत्न गरिरहे । तर यो कुनै सुनियोजित आन्दोलन थिएन । यसमा धेरै सङ्ख्यामा वामपन्थी थिए । पछि विश्वशान्ति परिषद्को गठन भयो । यसमा पनि मुख्यतः संसारकै वामपन्थीहरू थिए । तर यसमा अन्य पनि थिए । भारतका गान्धीवादी विचारकहरूमा जे. सी. कमारप्पा तथा महेशदत्त मिश्र सुरुदेखि नै यसमा सहभागी थिए अनि देशका शान्तिवादी तथा मानवतावादी बुद्धिजीवीहरू यस सङ्गठनमा सहभागी थिए । बिस्तारै यसको दायरा बढ्यो र आज यो व्यापक जनआन्दोलन बन्न पुगेको छ । यसले संसारभरि र राष्ट्रसंघमा पनि मान्यता पाएको छ ।

दिल्लीको यस र्‍यालीमा यी पार्टीहरू सहभागी थिए – दुबै कम्युनिस्ट पार्टीहरू, सोसलिस्ट पार्टी, डेमोक्रेटिक सोसलिस्ट पार्टी (बहुगुणा), जनवादी पार्टी (चन्द्रजीत यादव) र बफर्स एन्ड पिजन्ट्स् पार्टी । यस र्‍यालीको विशेषता तथा शालीनताको प्रशंसा दक्षिणपन्थी अखबारहरूले पनि गरेका छन् ।

मेरो मनमा के प्रश्न उठ्छ भने के शान्तिको चिन्ता केवल वामपन्थीको चिन्ता हो ? अरूहरू कुन संसारमा बस्छन् र ? के उनीहरूलाई शान्तिसित मतलबै छैन ? हिन्दमहासागरमा सैनिक अड्डाहरू र पाकिस्तानको हतियारयुक्तता के वामपन्थीहरूका निम्ति खतरा हो ? के दक्षिणपन्थी मानिसहरू कुनै अर्कै भारतमा बस्छन् ? अनि समाजवादी जर्ज फनर्ान्डिसहरू ? यी त वामपन्थी हुन् ! यिनी शान्ति र भारतका निम्ति चिन्तित किन छैनन् ? चरणसिंहका ‘के. जी. बी.’ एजेन्ट बहुगुणालाई त शान्ति र भारतको चिन्ता छ तर चरणसिंहलाई किन छैन ? मोरारजी भाइ के शान्ति छोडेर युद्ध चाहन्छन् ? अनि भारतीय जनता पार्टीका मानिसहरू ? अटलविहारी वाजपेयी जब परराष्ट्रमन्त्री थिए तब निकै उत्साहित भएर पाकिस्तान र चीनमा गएका थिए । जब उनी चीनमा थिए, त्यसै बेला त्यसले भियतनाममाथि आक्रमण गरेको थियो । वाजपेयीलाई फँसाएका थिए सुब्रह्मण्यम स्वामीले । के अटलविहारीलाई शान्तिको चिन्ता छैन ? किन यी सबै दल र नेताहरू पनि शान्तिका निम्ति कुनै प्रदर्शन गर्दैनन् ? वामपन्थी दलहरूसित मिलेर र्‍याली गर्दा यिनको आफ्नो विशिष्ट ‘आइडेन्टिटी’ हराउने डरलाई त मान्न सकिन्छ । यदि यस्तै हो भने आफ्नो ‘आइडेन्टिटी’ जोगाउँदै पनि त शान्तिका निम्ति प्रदर्शन गर्न सकिन्छ नि ! यदि आफ्नो छुट्टै अस्तित्व छ र संसारै छुट्टै छ भन्ने अठोटै गरेको हो भने त प्रेतहरूसित कुनै अपिल गर्नु नै व्यर्थ छ ।

डाक्टर सुब्रह्मण्यम स्वामी इजरायल गएका छन् । यात्रा शुभ होस् । तर के गर्न तीर्थयात्रामा गएका हुन् ? सफाइ त के दिन्छन् भने उनले इजरायली सरकारलाई भनिदिएका छन् रे कि उनी उसले लेबनानमाथि गरेको आक्रमणको समर्थन गर्दैनन् । तर महाशय, तपाईंलाई उनले यसै बेलामा किन आमन्त्रित गरे ? अथवा तपाईंले यसै बेलामा आमन्त्रित किन गराउनुभयो ? के यो कुनै सद्भावना र मित्रताको यात्राको अवसर हो ? के स्वामीले उनलाई हप्काउलान् ? कुन हैसियतले हप्काउँछन् ? उसो भए के डाक्टर स्वामी उनको उत्साह बढाउन गएका हुन् ?

०००
‘परसाईं रचनावली’ (भाग ४) बाट ‘राजनीतिक कुत्तें’ को नेपाली अनुवाद । रचनाकाल सन् १९८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x