साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अध्यक्ष हूँ म

आफूले भ्रष्टचारीलाई कारवाही गर्नुपर्छ भन्दै नियमावली बनाउछन् । नियमावली आफूलाई अप्ठ्यारो पार्न लाग्यो भने संशोधन गर्दछन् । अहिलेको अवस्थामा को लाटो छ र ? मूल कुरा आफ्नो हित हो ।

Nepal Telecom ad

तिलकराज शर्मा :

ब्रह्माजीले यो संसारको सृष्टि गरे विष्णुले संसारका जीवनहरूलाई पालनपोषण गर्ने जिम्मा लिए । महेश अथवा शिवजीले संहार, वितरण कार्यको दायित्व वहन गरे । चार वणर् छत्तीस जातको वर्गीकरण पनि भयो तर यो पदको सिर्जना कहिलेबाट कसले चलायो मलाई थाहा छैन । पदमा पनि अध्यक्ष भन्ने ज्यादै लोभलाग्दो पद रहेछ । लेखनाथले कालमहिमा लेखेर अन्तर्ध्यान भए, उनको कार्य पूरा गर्नको लागि पदमहिमा लेख्नुपर्ने टड्कारो आवश्यकता देखेको हुँदा म पदमहिमा लेख्ने विचारमा छु । त्यसमा पनि अध्यक्ष पद त झन् चोपिलो नै हुँदो रहेछ । हुन त मैले अध्यक्ष पदको महत्त्व नबुझेको कहाँ हुँ र । एकपटक राष्ट्रिय सभा अथवा प्रतिनिधिसभाको अध्यक्ष बन्ने प्रबल इच्छा अझैसम्म पनि जीवित नै छ । एकपटक पार्टीले टिकट दिएर प्रत्याशित पनि नबनाएको होइन तर जनताले बुद्धि विगारेपछि आफ्नो चलाखीले मात्र हुँदोरहेनछ पराजीत भएँ ।

मलाई आजभोलि कसैकसैले समाजसेवी भन्ने गरेका छन् । युवानेता, राजनीतिज्ञ, विद्वान्, शास्त्री, आचार्य कैयन् शब्दद्वारा सम्बोधन गरे तापनि मलाई सबभन्दा मन पर्ने शब्दचाहिँ अध्यक्ष नै हो । ठूलो संस्थाहरूको अध्यक्ष हुने आन्तरिक इच्छा हुँदाहुँदै पनि यो तिलचामलको अवस्थासम्म प्राप्त भएको छैन, हुन त पद भन्ने कुरा जति चाहना गर्‍यो उति पर भाग्ने र जति चाहना गरेन उति वर आउने वस्तु हो भन्ने मलाई थाहा छ । तर यो भनाइमा म सहमत छैन ।

किनभने संस्थाको अध्यक्ष हुनलाई पनि मैले धेरै परिश्रम गर्नुपरेका घटना ताजै छन् । अध्यक्ष पद प्राप्तिका लागि भाइ भतिजा, विद्वान, मित्र, सम्धी-सम्धिनी सबैलाई दुःख दिनु परेको अवस्था मानसपटलमा जीवितै छ । जीवनमा एकपटक राष्ट्रिय सभा, प्रतिनिधि सभा नभए कुनै समिति, उप-समितिको अध्यक्ष हुँला भन्दाभन्दै आफै लागेको स्वपार्टी क्षतविक्षत भएर काँक्रो चिरिए झै चिराचिरा हुनलाग्दा टाकुरीमा बसेर डाँको छोडेर रुन मन लाग्छ । रोएर मात्र के गर्ने र ! बूढापाका भन्ने गर्दथे “रोएर स्वास्नी पाइँदैन” त्यसैले रुन मन पनि छैन । ढुङ्गा जस्तो साह्राे मन हुनेहरूले अर्काको वेदना, मर्म, विवशता, के बुझ्न सक्छन् र ।

त्यसो त मैले पनि कतिलाई गठन, पुनर्गठनमा नपारेर रुवाएको छु । कतिलाई रोजगारबाट बेरोजगार बनाएको छु । मेरै अगाडि धुरुधुरु रुँदा मेरो मनमा संवेदनशीलता र सहानुभूति पलाउन सकेन । अरुलाई पनि के दोष दिऊँ र ? यो जुनीमा एकपल्ट राम्रै उपल्लोस्तरको हात लाग्ने स्थानको अध्यक्ष हुन पाए आफ्नो र भावी पुस्ता समेतको कल्याण हुने थियो हेरौं । तकविरमा के के लेखेको छ । मौरीलाई मह प्यारो, अपूतोलाई धन प्यारो, रोगीलाई ज्यान प्यारो भएजस्तै म पदलोलुपलाई पद नै प्यारो लागेको छ । चन्द्रसँग चादनी र वेडसँग छाँया अलग रहन नसकेजस्तै म पनि विना अध्यक्ष पद यो संसारमा रहन सक्दिनँ ।

जनकविकेशरी धर्मराज धापाले “लाग्दछ मलाई रमाइलो मेरे पाखा पखेरो भन्ने राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गीत भनेर स्वर्णिम स्वर निकालेर गीत गाए, मेरो पनि उनकै जस्तै गला र कला भएको भए पद महिमाको गीत गाइदिन्थे । गर्भमा आमाले बढी मोहीदही सेवन गरेर होल्ला जन्मैबाट स्वर धोद्रो भएको छ भने बेलाबेलामा छाती खराव भएर निमोनिया पनि भइरहन्छ । प्रजातन्त्रको पुनर्वहाली गर्ने क्रममा धेरै यातना पनि खाइयो, जेलनेल निर्वासन र चिसोनूँईको यातनाबाट शरीर बिग्रिसकेको छ । बेलाबेलामा जिउ कटकटी खान्छ, घुँडादुख्छ कस्लाई भनेर के हुन्छ र ! आफ्ना सहयात्री जुनियर साथीभाइ पार्टीको महामन्त्री देशकै मुख्य मन्त्री समेत भैसके म भने सधैँको पछाडिको पछाडि नै हुँदा नयाँ पार्टी खोलेर अध्यक्ष नै हुँ कि भन्ने सोच पनि यतिखेर अगाडि आएको छ । केही वर्ष यतादेखि सहिद बेरोजगार प्रवर्द्धन समितिको अध्यक्ष हुँदै आएको छु । सानै ठाउँको अध्यक्ष हुन पनि निकै कसरत गर्नु पर्‍यो । सोझा साझा भाइलाई प्रयोग गर्नु पनि पर्‍यो । अध्यक्ष भएकोमा कुरा काट्ने प्रवृत्ति समेत समाजमा देखा पर्‍यो । आफ्नै मित्रहरूसँग पनि सानातिना कुराहरूमा सहमति हुन सकेन ।

हुन त अहिले मेरो इशारामा निरन्तरता नदिने मित्रहरूलाई अध्यक्ष पद प्राप्तिमा सहयोग पुर्‍याएकै भए पनि ठेगान लगाइसकेँ । अब त्यत्ति असजिलो अवस्था नआउला । आफू अध्यक्ष भएपछि आफ्नो संस्थामा आफ्नो पकड राख्नुपर्दछ, घर र संस्थालाई फरक देख्नु हुँदैन, संस्था पनि त एक प्रकारको घर नै त हो अध्यक्ष भएपनि आजकल म संस्थाप्रति त्यति सन्तुष्ट छैन । आफैले डोऱ्याई बाटो देखाएरमाथि पुर्‍याएका आफ्नै एउटै गुटका निकटतम सदस्यहरूले समेत विरोध गर्न लङ्गौटी कसिसकेकाछन् । हुनत तिनका विरोधले के को लछारपाटो लगाउने हो र । त्यसैले आसेपासे र फरिया नातालाई प्राथमिकता दिई बेरोजगार प्रवर्द्धन समितिको पुनर्गठन पनि गरे । तर यसभित्र पनि केष्टी उरन्ठेउला समय र परिस्थितिको बिचार नपुर्‍याउने हाई ब्लडप्रेसरवाला परेका छन् । तिनीहरूलाई पनि अब हुने पुनर्गठनमा सफाया बनाउने सोचमा छु ।

मलाई पनि आजकल न्यावहारिक झन्झटले हो वा उमेरको कारणले हो अथवा ठूलो ठाउँको अध्यक्ष बन्न नपाएर हो झनक्क बेलाबेलामा रिस उठ्छ । रिस उठनु राम्रो कुरा होइन । त्यसमा पनि म राजनैतिक पार्टीमा समेत लागेको मान्छे कथम्कदाचित टिकट प्राप्त भयो भने सबै पुराना मित्रहरूको सहयोग पनि चाहिन्छ नै । पार्टीको मतले मात्र पुग्दैन हरेक खाले विचार राख्ने मान्छेको मन जित्नु पर्छ, त्यसमाथि पनि आफ्नो स्वपार्टीभित्र सधैँ अन्तर्घातको आगो दन्किएकै छ । कसरत गरेर चुनाव जितेर बहुमतसहित सत्तामा पुगे पनि अध्यक्षसँग कुरा नमिल्दा झरम्म सिसा फुटेकै मध्यरातमा निद्राबाट नब्यूँझदै निवर्तमान भइन्छ । मलाई निवर्तमान शब्द पटक्कै मन पर्दैन । वर्तमान त्यसमा पनि अध्यक्ष जोडिएर आएको शब्द औधी मन पर्छ ।

अध्यक्षको काम, कर्तव्य र अधिकार नबुझ्ने स्वाँठहरू पनि झिक्रोमा लौका झुण्डिएकै समितिमा झुण्डिएर बस्ने रहर गर्दा अनौठो लागेर आउँछ । म आफू अध्यक्ष भएर हो कि किन हो कुनै पनि संघसंस्थाको अध्यक्षको कुरा काट्ने समितिको बैठकको निणर्य विपरीत ‘नोट अफ डिसेन्ट’ लेख्ने मिटिङमा नै अध्यक्षले अन्याय गरेको भनेर मिटिङ्ग भाँड्ने, बैठकको गोपनीयता भङ्ग गर्ने, अध्यक्षले चाहेको विशेष व्यक्तिको सुविधा बढाएकोमा डाहा गर्ने प्रवृत्तिका सदस्यहरू देख्दा आश्चर्य लाग्दछ । कमसेकम समितिका सदस्यहरूले आफ्नो हैसियत बुझ्नु पर्‍यो नि !

एउटा कार्यकारिणी अधिकार प्राप्त मन्त्रीले आफ्नो हैसियत नबुझ्दा देशलाई कति ठूलो आपत्-विपत् आइलाग्छ । अध्यक्षले देश डुब्छ कि भन्ने विचार नपुर्‍याउँदा देशले कत्रो दुर्घटना बेहोर्नु पर्छ । अध्यक्ष हुन कम गाह्रो छ, हैसियत नहुने लोप्रोफाइलवालाहरूलाई के थाहा, विरोधको लागि विरोध गर्दैमा सबै कुरा प्राप्त हुँदैन । अध्यक्षको कुरा नमान्दा अनुशासित नहुँदा कस्ताकस्ता पद बाहकलाई त कार्यवाही भएको छ, जाबो जोईटिंग्रे सदस्यको के कुरा ।

अध्यक्षले चाहेको खण्डमा पूरै समिति विघटन हुन्छ, कार्यकारिणी अधिकार हनन हुन्छ, रोजगार बेरोजगार बन्न सक्छ, बेरोजगार रोजगार बन्न सक्छ । योग्यता नपुगेकोलाई योग्य, सक्षम, काविल होनहार विद्वान्मा रूपान्तरित गर्न सकिन्छ । योग्यता पुगेको अनुभवी विद्वान् नै भएपनि अध्यक्षले चाहेमा स्पष्टीकरण लिनसक्छ, अनि स्पष्टीकरण नै दिए पनि पूर्ण नलाग्न सक्छ । निष्काशन गर्न सक्छ, निलम्बन फुकुवा गर्न सक्छ । पुनः नियुक्ति गर्न सक्छ, अध्यक्षले के गर्न सक्दैन ? सदस्यमा बस्नेहरूले दिएको सुझाव मान्ने भए अध्यक्ष पद किन चाहियो ? बिना अध्यक्षको सदस्य मात्र भएको समिति कहीँ कतै देखिएको छ र ? त्यसैले सदस्य बन्न चाहनेले अध्यक्षको मपाईंत्व बुझ्नुपर्दछ । हाम्रो बेरोजगार प्रवर्द्धन समितिको आवश्यकता पूरा गर्न केही समाजसेवी महिलाहरूको आवश्यकता थियो । यिनै कुरा निणर्य गर्न समितिको बैठक बसेको थियो । बैठकमा केही सदस्य र मेरो बीचमा विवाद पन्यो ।

मैलेचाहिँ योग्यता कम भए पनि आफ्नो उमेरसँग मेल खाने ब्यूटीपार्लर जानैपर्ने अवस्था नभएका झलक्क हेर्दा राम्रो इम्प्रेसन पर्ने खालकी उम्मेदवारलाई केही प्राथमिकता दिनु पर्छ, सकभर आफ्नो नाता नपर्ने टाढै-घर भएको डेरागरी बस्ने भएमा अफिस समयबाहेक पनि काम लिन सजिलो पर्छ भन्दै थिएँ, अत्तो न पत्तो बैठकमै केही सदस्यहरूले विरोध जनाए तर मैले तिनलाई तत्काल निस्तेज बनाइदिएँ । आजभोलि कस्ताकस्ता सदस्य भेटिन थाले, कमसे कम मिटिङ बोलाएपछि पत्र पाउनासाथ मिटिङ्मा के बोल्ने, कस्लाई कति भत्ता बढाउने, कस्लाई तलब रोक्का गर्ने, कस्लाई पेश्की फछ्र्योटको ताकेता पत्र लेख्ने, कस्लाई प्रमोसन गर्ने, कस्लाई डिमोसन गर्ने, अध्यक्षको भित्री धारणा के छ ? बुझ्नु पर्छ कि पर्दैन ? ज्यान र तिघ्रा देखाएर कालो टोपी ढल्काउदैमा सदस्य भइन्छ ? सदस्य भनेको अध्यक्षको इसारा र भित्री चाहना बुझेको हुनुपर्छ । बुद्धिमान् अध्यक्षलाई सदस्यताको योग्यता उमेर अनुभब भएर अथवा नभएर केही फर क पर्दैन ।

किनभने म जस्तो अध्यक्षले त्यस्ता सदस्यबाट कुनै ज्ञानगुन उपदेश सुझाव लिनु पनि छैन-सिक्नु पनि छैन । आफ्नै बुद्धि बढी भएर बेलाबेलामा टाउको चटचट दुख्न थालेको छ । मूल कुरा अध्यक्षको पद हो । त्यसैले आजभोलि अध्यक्षको महत्त्व पनि बढेको छ । एउटै पार्टीभित्र अध्यक्ष बन्ने क्रममा भागबण्डा नपुगे पार्टी खोल्न पनि सकिन्छ । ठूलो पार्टीभित्र बसेर सदस्य बन्नुभन्दा म जस्तो अध्यक्षको गरिमा बुझेको मान्छे सानै भएपनि पार्टी खोलेर अध्यक्ष नै बन्नु बुद्धिमानी हुन्छ । स्वर्गको दास बन्नुभन्दा नरकको मालिक बन्नु धेरै उत्तम हो ।

काम राम्रो नराम्रो छुट्टयाउने, योग्यता र दक्षताको कदर गर्ने, अनुभव र प्रशासनिक क्षमताको कदर गर्ने, पुरस्कार, तक्मा, तालिम आदि गणना गर्ने, आफूलाई बेलामौकामा व्यक्तिगत गुन लगाउनेहरूतर्फ लागेको भए आज म अध्यक्ष भएर रहेको संस्था बेरोजगार प्रवर्द्धन समिति यतिवेला डुबिसक्ने थियो । मौकामा चौका हान्न सिक्नु पर्छ । कर्मचारी प्रशासनभित्र कर्मचारीले अधिकार खोज्ने, संघ, संगठन खोल्ने, हाकिम र अध्यक्षको विरोध गर्नेः प्रवृत्तिको विकास भएको छ । त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न प्रमोसन रोक्ने, ग्रेड कट्टा गर्ने, उत्पादन घटाउने, पेन्सन पाउने अवस्था छ भने बेलैमा रद्द गर्ने, तीस वर्ष अवधिलाई घटाई बीस बर्ष बनाउने, जस्ता कार्यक्रम ल्याई निस्तेज पार्नु पर्छ । यस्ता कार्यक्रम ल्याउनको लागि समितिभित्र रहेका उपबुजुक र बज्रस्वाँठहरूलाई संयोजक र उपसंयोजक बनाइदिँदा उनीहरू पनि पद प्राप्तिको भ्रम जालमा निरङ्कुश निणर्य समर्थन गर्न आतुर हुने र बेरोजगार प्रवर्द्धन समिति र अध्यक्षको पनि कल्याण हुने देखेको छु । नियमावली निर्माण गर्दा कर्मचारीहरूको उमेर घटाउने पक्षमा चाहिँ म छैन । किनकि आफ्नो पनि उमेर बढ्दै गएको छ भने अर्को तर्फ नियुक्ति पाएका अझैँ सेवा गर्न तीव्र इच्छा राखेर नियुक्ति भएका परिचारिकाहरू उमेरको कारणबाट बाहिरिन सक्छन् । त्यस्ता फूलचम्पा तथा भूइँचम्पा मैयाँहरू समितिबाट विमुख भएमा कार्यालय गरिमामा गिरावट आउनका साथै अध्यक्ष पदप्रति आफूलाई वितृष्णा लाग्नसक्छ ।

अध्यक्ष पदप्रति वितृष्णा पैदा हुनु राम्रो कुरा होइन । नियमावली निणर्यतर्फ भने खास ध्यान दिनु पर्ने देखेको छैन । हाम्रो मन्त्रीहरूले आफैले भ्रष्टाचार गर्छन् । आफूले भ्रष्टचारीलाई कारवाही गर्नुपर्छ भन्दै नियमावली बनाउछन् । नियमावली आफूलाई अप्ठ्यारो पार्न लाग्यो भने संशोधन गर्दछन् । अहिलेको अवस्थामा को लाटो छ र ? मूल कुरा आफ्नो हित हो । आफैले बनाएको नियमावली आफैले रद्द गर्दा कति आनन्द आउँछ, सदस्यहरूको विरोधले के लछार्छ र पहराजस्तो अध्यक्षसँग जाबो कुहिनाजस्तो सदस्यको के जोड चल्छ र ?

सानो ठूलो जस्तो संस्थाको भएपनि बाँचुन्जेलसम्म अध्यक्ष पदमा निरन्तरता प्राप्त गर्न सके आफ्ना शाखासन्तान, भान्जा भान्जी, ज्वाइँ जेठान, सम्धी सम्धिनी सबैको कल्याण हुने थियो । आफूलाई पनि बेला मौकामा जोरी शत्रुको मुखेजेल, अध्यक्षता, आसन ग्रहण, प्रमुख अतिथि आदि हुँदा दिवा भोज, रात्री भोज, रेष्टुरेण्टको बास, नगरबधुसँगको सहबास, जोनबुल र क्लियोप्याट्रासँगको सानिध्यता प्राप्त गर्दा मजै हुन्छ । त्यसैले हे प्रभु । म नास्तिक होइन आस्तिक हो । ब्राहमण हुँ काशी, बनारस पनि बसेको छु, यस जन्ममा मात्र होइन, जन्म जन्मान्तरसम्म अध्यक्ष नै रही रहूँ । म प्रजातन्त्रमा विश्वास राख्ने समाजवादी अध्यक्ष हूँ, अध्यक्ष नै रही रहूँ । पशुपतिनाथले अध्यक्ष पदको सधैँकल्याण गरुन् ।

०००
चितवन
‘दौरा सुरुवाल र टोपी आतङ्क’ (२०६५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई के रोग लाग्यो कुन्नि ?

मलाई के रोग लाग्यो...

तिलकराज शर्मा पाैडेल
पूरक बजेटमा पार्टीको प्रभाव

पूरक बजेटमा पार्टीको प्रभाव

तिलकराज शर्मा पाैडेल
पोसाक माहात्म्य

पोसाक माहात्म्य

तिलकराज शर्मा पाैडेल
फुटकर फाँकीहरू

फुटकर फाँकीहरू

तिलकराज शर्मा पाैडेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x