विष्णुहरि पाैडेलथोरै भयो जिन्दगी
अल्छीको इतिहास हुन्न, युगले चिन्दैन को हो भनी । तन्नेरी रहँदैन जीवन, जनै, टोपी, टुपी, कन्धनी । बूढाले हरिनाम लिन्छ सकिँदै जान्छन् खुशी, चक्चकी । कस्ले सुन्छ पुकार? नालिस दियूँ, थोरै भयो जिन्दगी ।

विष्णुहरि पौडेल :
खेलौनासित साटियो चुलबुले बालापना, आँगन ।
तन्नेरी कति वर्षदेखि भइयो, हल्की गयो जोवन ।
बूढो ज्यान भयो रहेन तगडा, को राख्छ खै बन्धकी ?
केही गर्न नपाउँदै दिन बिते, थोरै भयो जिन्दगी ।१।
सम्झन्थेँ कलिलै छु, भर्खर ठिटो, के नै बितेको छ र ?
कैयौँ झन्झट, झेलिएछ पसिना झर्दै रहे तर्तर ।
ऐनाले अनुहार चिन्दिन भन्यो ऐले भयो यो गति ।
छेपारो र पहार झैं छटपटी, थोरै भयो जिन्दगी ।२।
थुप्रै भौतिकशास्त्र छन्,गहकिलो अध्यात्मको सागर ।
लेखेका जति काव्य विश्वभरिका कस्ले पढेको छ र ?
छोडेँ पढ्न र लेख्न,सिल्पट भएँ, ऐले भयो थक्थकी ।
घैटामा पछि घाम झुल्किल पुगे, थोरै भयो जिन्दगी ।३।
को हुन् साधु र सन्त ? लाग्छ भुसडी, जोगी र नङ्गा छल ।
के विज्ञान र ज्ञान हो ? फरक के पानी र गंगाजल ?
केही आर्जन छैन, रुन्छ निदुली, चिँचीँ-मुसी जग्जगी ।
डोकाका सपना बिसाउनु भयो,थोरै भयो जिन्दगी ।४।
मोतीराम चलाख, चर्चित भए बूढो हुनै बिर्सिए ।
ती लक्ष्मी पनि काव्य-कोकिल बने प्रारव्धले घर्किए ।
गेटे, होमर, कालिदास यिनका छन् काव्य नै सन्तति ।
मेरो आयु सडाइमा बहकिँदा, थोरै भयो जिन्दगी ।५।
अल्छीको इतिहास हुन्न, युगले चिन्दैन को हो भनी ।
तन्नेरी रहँदैन जीवन, जनै, टोपी, टुपी, कन्धनी ।
बूढाले हरिनाम लिन्छ सकिँदै जान्छन् खुशी, चक्चकी ।
कस्ले सुन्छ पुकार ? नालिस दियूँ, थोरै भयो जिन्दगी ।६।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































