साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्राहरूको नीति सिद्धान्त सम्मेलन

सभामा जात्रासम्बन्धी अनेक नीति, सिद्धान्त, विचार एवम् व्यवहारका दस्तावेज र प्रस्तावहरू पारित भए पनि सम्मेलनको मुख्य आकर्षण नामको आधुनिकीकरण नै भयो ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

मान्छेहरूले अनेक खालका सम्मेलन गरेर आफ्नो चुरीफुरी बढाएको देखेर देशमा चलेका जात्राहरूलाई ईर्ष्या पलायो । उनीहरूले पनि सम्मेलन आयोजना गरे । सम्मेलनमा काठमाडौँको इन्द्रजात्रा, घोडे जात्रा, ललितपुरको मच्छिन्द्रनाथको जात्रा, भक्तपुरको बिस्केट जात्रा, दोलखाको हिले जात्रा, उपत्यकाको गाईजात्रा मात्र होइन, पूर्वको पाथिभरामा लाग्ने जात्रादेखि पश्चिममा बडिमालिकासम्म लाग्ने जात्रा र दक्षिणमा गढीमाई जात्रादेखि उत्तरमा गोसाइँकुण्डमा लाग्ने जात्रासम्मका देशभरका सबै जात्रा सहभागी थिए ।

राजधानी शहरमा चलेको र स्वर्गका राजाको नाम पनि जात्रामा जोडिएको हुँदा इन्द्रजात्रालाई सभानायक बनाइयो । सभा सञ्चालन मच्छिन्द्रनाथको जात्राको जिम्मामा आयो भने गाइजात्राले चाहिँ होष्टको जिम्मेवारी पायो । गाइजात्राले देशभरका गेष्ट जात्रालाई काठमाडौँमा होष्ट गर्यो । जात्राहरूको यति ठूलो सम्मेलनमा हिले जात्रा, गाइजात्रा, घोडेजात्रा, हाँडीगाउँको जात्रा जस्ता देशैभर नाम चलेका जात्राहरूको चुरीफुरी अलि बढी नै थियो ।

सम्मेलनमा जात्राहरूको नीति, सिद्धान्त र विचारमाथि बहस सुरु भयो । जात्राहरूको अस्तित्व संकटमा छलफल बढी नै केन्द्रित भयो । केही जात्राहरूले परम्परादेखि चलिआएको जात्रालाई आजकल मानिसहरूबाट महत्व दिन छोडिएको भन्दै गुनासो पोखे । कहिले चाहिँ समयानुकूल आधुनिकता र परम्पराको फ्युजन गरी जात्रा चलाएमा परम्परा नि धानिने र जात्राको अस्तित्व पनि जोगिने प्रस्ताव अगाडि सारे । धेरैले भने जात्रालाई टिकाउन आधुनिकतामा प्रवेश गर्नैपर्नेमा जोड दिए ।

जात्राको आधुनिकीकरणका पक्षधरहरूले गाईजात्राको उदाहरण पेश गरे । परम्परागत रुपमा गाईलाई सडकमा डोर्‍याएर मनाइने गाईजात्राभन्दा नेतालाई डोर्‍याएर प्रज्ञा प्रतिष्ठानको हलमा पुर्‍याएर लचकदार सोफामा राखी त्यहाँ कलाकारले देखाएको गाईजात्रा बढी हिट भएको तर्क गर्दै सबै जात्राहरूले अब नीति, सिद्धान्त, शैली र सोचमा परिवर्तन गरेर जात्रा चलाउनुपर्नेमा जोड दिए । अन्ततः जात्राहरूको आधुनिकीकरण गर्नुपर्ने प्रस्ताव सर्वसम्मत पारित भयो । उनीहरूले तत्कालै केही जात्राहरूको नामकरणबाट नै आधुनिकीकरणको सुरुवात गर्ने निणर्य गरे । तपसिलका प्रस्ताव तत्कालै पारित गरे ।

शहरका सडकबाट सुरु भएर प्रज्ञाप्रतिष्ठानको हलसम्म पुगेको गाइजात्रा दिनप्रतिदिन हिट हुँदै गएकाले यसलाई अझ हिट बनाउँन सदनसम्म पुर्‍याउने ।

घोडेजात्रा देशका सानामसिनाले हेर्न नपाउने र टुँडिखेलमा साना मसिनालाई ढोका बन्द गरी ठूलाबडालाई मात्र मञ्चमा जम्मा गरेर देखाइने गरिएको हुँदा घोडे जात्राको नामकरण अब बडेजात्रा गर्ने ।

सरकारले पर्याप्त बजेट नदिएका कारण इन्द्रजात्रा मनाउन हरेक वर्ष कठिन हुँदै गइरहेको सन्दर्भलाई विचार गरी आफ्नो नाम जोडिएको इन्द्रजात्रा अब स्वर्गमै मनाउन स्वर्गका राजा इन्द्रलाई अनुरोध गर्ने ।

उपत्यकामा छोटा लुगा लाउने युवतीहरूको सङ्ख्या बढ्दै गएको सन्दर्भलाई विचार गर्दै भोटो जात्राको सट्टा अब उपत्यकाका सडकमा दैनिक रुपमा देखिने छोटो जात्राको लागि पर्याप्त बजेट छुट्ट्याउन सरकारलाई सिफारिस गर्ने ।

देशमा नक्कली बिस्कुटहरूले सक्कली बनेर बजार कब्जा गरेको हुँदा अब भक्तपुरको सक्कली विस्केट जात्रालाई बिस्कुट जात्रामा रुपान्तरण गरिदिने ।

शहरमा बाटो मिचेर ठड्याइएका गगनचुम्बी भवन, बिजुली, टेलिफोन, विद्युतका पोल र असरल्ल तारले गर्दा मच्छिन्द्रनाथको रथ जात्राको अग्लो रथ ठड्याउन कठिन भएकाले अब मच्छिन्द्रनाथलाई साइकलमा राखी शहर परिक्रमा गराउने र मच्छिन्द्रनाथको रथजात्राको नाम पनि मच्छिन्द्रनाथको साइकल यात्रा भनी बदल्ने ।

इतिहासको कुनै कालखण्डमा हाँडी गाउँमा मात्र लाग्ने विशेष प्रकृतिको जात्रा आजकल जताततै देखिने भएकाले काहीँ नभाको जात्रा हाँडीगाउँमा भन्ने शब्दावलीको सट्टा जताततै भाको हाँडीगाउँको जात्रा भन्ने शब्दावली राख्ने ।

‐ विश्वव्यापी मौसममा आएको परिवर्तनका कारण दोलखा बजारमा हिलेजात्रा लाग्ने समयमा पानी पर्न छाडेकाले जात्राका समयमा हिलो समेत नहुने हुँदा हिलेजात्रालाई अब सुख्खाजात्रा भनी नामकरण गर्ने ।

देशका सबै बडे सिंहहरू सिंहदरबारमै भेटिने हुँदा अब उप्रान्त सिंहदरबार परिसरमा सिंहजात्रा लाउन सरकारलाई सिफारिस गर्ने र यसलाई राष्ट्रिय पर्व घोषणा गर्न सरकारसँग जोडदार माग गर्ने ।

आजको सम्मेलनमा नाम पेश गर्न नसकेका जात्राहरूले पनि समयानुसार आधुनिक हुने गरी आफ्नो नाम परिवर्तन गर्न र जात्रा देखाउने शैली शिल्प पनि बदल्न पाउने गरी तत्तत् जात्राहरूलाई अधिकार प्रत्यायोजन गर्ने ।
सभामा जात्रासम्बन्धी अनेक नीति, सिद्धान्त, विचार एवम् व्यवहारका दस्तावेज र प्रस्तावहरू पारित भए पनि सम्मेलनको मुख्य आकर्षण नामको आधुनिकीकरण नै भयो । पारित नीति, सिद्धान्त र विचार अनुरुप नवीन शैलीमा जात्राहरू सञ्चालन हुन थाले ।
…… र, जात्राहरू रातारात हिट भए ।

०००
काठमाडौं
मोबाइल: ९८५१०५३१२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x