साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली बखान

अझ यो भन्दाबढी कैयौँ कथा व्यथा यो बिजुलीको योजना आयोजना गयोजना खायोजना भित्र लुकेका होलान् । कृत्रिम र अस्थायी बिजुलीको इन्भर्टर जेनेरेटर आदिको सम्बन्धमा छुट्टै महाभारत होला ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

पुरै ढाकी घनघटा नाँच्ने बिजुली नटि
ताल्दिन्छ तबल्ची भै मेघ धाकिटी धाकिटी

स्वर्गीय कविशिरोमणी लेखनाथ पौडेलको यो कविताले वणर्न गरेको नृत्याङ्गना बिजुलि वर्षायामकी पाहुना हुन । वसन्तको कोइलीसँगै देखापर्ने बिजुली कोइलीको मौनव्रत शुरु हुँदा पनि घनघण्टासित नाचिरहन्छे । जब यो झिलिक मिलिक गर्ने बिजुली आकाशबाट गङ्गाजस्तैगरी धर्तीमा झरी तब यसले अनेक चर्तीकला देखाउन शुरु गरी । तबल्चीहरूका गड्याङगुडुङ्ग आवजसँगै देखापर्ने बिजुली वैज्ञानिक तरिकाले धर्तीकी स्थायी बासिन्दा बनेपछि खोलाका पानीबाट जन्मँदै टोलटोलमा पुग्न थालेपछि यसको नखरा बदलिएको छ । यसले धेरै हदसम्म संसारलाई गुन लगाएकि छ । सभाकक्षदेखि स्वाहाकक्षसम्म, ओछ्यानदेखि रछ्यानसम्म, बाटोदेखि पाटोसम्म, भान्सादेखी भर्‍याङसम्म, शौचालयदेखि सौतालयसम्म, बालकदेखि वृद्धसम्म, भोगी ढोँगीदेखी सिद्धसम्म सबैलाई बिनापक्षपात सेवा पुर्‍याउन यसको ठूलो योगदान छ । दिनमा होस कि रातमा, जाडोमा होस कि गर्मीमा, हिउँदमा होस कि बर्खामा खाटमा होस कि हातमा, खानामा नानामा छानामा चलचित्र अनि गानामा यसले उत्तिकै सहयोग गरेकी छ ।

विज्ञानदेखि अज्ञानसम्म साँझदेखि बिहानसम्म यसको खटाई अवर्णनीय छ । अझ घरदेखि परसम्म, आँटदेखी घाटसम्म कपडादेखि भाँडासम्म तराईदेखि डाँडासम्म हरेक स्थानमा यसको राज्य चलेको छ । तर हाम्रो देशको विडम्बना यो आधा बल्ने आधा निभ्ने गरेकोछ । जलश्रोतको धनी देश भएर अनि देशमै एक अष्टोत्तर सयभन्दा बढी जलविद्युत योजना भएकोले होला साँझ बिहान नभई नहुने समयमा यसले हामीलाई साह्रै माया गरेर होला माछो माछो भ्यागुतो खेलाउँछे । जब समाजभरिका बस्तीभरिका दमका रोगी वृद्धवृद्धाहरूलाई कृत्रिम सासदिने नेबुलाइजर लगाइदिने समय हुन्छ, यन्त्र औषधि तयारी अवस्थामा हुन्छ तब झ्याप्प जान्छे यो बिजुली । जब खाना पकाउने भाँडोमा चामल र पानी मिलाएर ठिक्क पार्‍यो तब बिजुलीले दिक्क पार्दै अन्तै लाग्छे । जब बेसरी घामचर्केर गर्मीले उखुम बनाएको हुन्छ तब यो बिजुली खै कता डुल्छे कोसँग भुल्छे हामीलाई दिनभरि पिल्स्याउँछे ।
यो सबै चर्तिकला हेर्दा त लाग्छ जलविद्युत आयोजना होइन छलविद्युत गयोजना भनेर नयाँ न्वारान गर्नुपर्ला भन्ने लाग्छ । नेपाललाई बढी भएर अन्त बेच्न समेत पुग्ने हुँदा पनि यसको यो लाजमर्दो हर्कत लागेको बानी कहिल्यै नजानी भनेको जस्तोछ ।

फेरि नेपालका शासन सत्ता अनि नियम कानुन कति खत्तम छ भने महशुल बुझाउन एकदिन ढिलाइ भए प्रतिशतको हिसाबले जरिवाना लाग्छ तर बिजुली नदिएर कुनै काम रोकियो भने कुमै बाधा असजिलो भयो भने त्यसको भने जरिवाना विद्युत प्राधिकरणले ग्राहकलाई जरिवाना तिर्न नपर्ने अन्यायले प्राथमिकता पाएको छ । हामी जनता महाबुज्रुक भएकोले यस्तो भएको त होला । घरमा नभए ऋण खोजेर बिदेश गएर अर्काको नोकरहरूवा बसेर भने पनि ल्याएर रकम जरिवाना परे पनि तिर्ने तर आफूमाथि भएको अन्यायका विरुद्ध चुँ सम्म नगर्ने भएपछि उसले पनि अन्याय नगरेर के गरोस् । आजसम्म नेपालको कुनचाहिँ सत्ताले जनताप्रति न्याय गरेको छ र यो एउटा प्राधिकरणले मात्र न्याय गरोस्।

एउटा कुलमानले बिजुलीमा न्याय गर्न खोजेका थिए । तर के गर्नु सतिले सरापेको देश भनिएको नेपालमा न्यायको पक्षधरलाई हर नचल्ने बनाउने र राम्रो गर्न खोज्नेलाई अकालमै मर्न बाध्य बनाउने खेल सदाबहार चलिरहेकैछ । अनि कहिले देश उँभो लाग्ने ? बरू सदा सर्वदाका लागि स्थायी रूपमै बिजुली काटिदिए एउटा ढुक्क त हुन्थ्यो !! बिना सूचना जहिले मनलाग्यो त्यहिले छुस्स छुस्स आउने र जाने गर्दाको असरले घरायसी यन्त्रहरू बिग्रने कहिले बिजुली आउला भनेर प्रतीक्षा गर्नुपर्ने झन्झट त सकिन्थ्यो ।

फेरि उद्योगी व्यवसायीले अरबौं रकम नतिर्दा पनि सरकार तैँ चुप मैँ चुप अनि सर्वसाधारणको महशुल तिर्न एकदिन ढिलाइमा प्रतिशात जरिवाना क्या गणतान्त्रिक छ हाम्रो सुशासन ।! यस्तो जनप्रिय छलाङ त विश्वका अन्य कुनै देशमा छैन होला । हुन त हाँडीगाउँको जात्रा हुने देश भएकोले त्यसको मान राखेको पो होकि ? उता यो बिजुली भन्ने पनि कस्ती नकच्चरी छ भने देशलाई नभएर परदेशलाई बेच्न पुग्ने हुँदाहुँदै निर्वस्त्र ढङ्गले पराइको पेट्रोल र ग्याँसको लाइन अमलेखगञ्ज सम्म अनि चितवनसम्म ल्याउने भनेर काम भैरहँदा पनि सहेर बस्छे । हाम्रै देशको बिजुलीको उपयोग गरि पेट्रोल डिजेल र खाना पकाउने ग्यास आयात पुरै बम्द गर्न नलागेकोमा यो नखरमाउली बिजुलीले केही गर्दै गर्दिनँ । कम्ता कि छे र यो पनि ! के थाहा भूपरिवेष्टित देश र घुस परिवेष्टित शासन भएको देश भएपछि यसले पनि घुस खाएर नबोलेकी पो हो कि !?

अझ यो भन्दाबढी कैयौँ कथा व्यथा यो बिजुलीको योजना आयोजना गयोजना खायोजना भित्र लुकेका होलान् । कृत्रिम र अस्थायी बिजुलीको इन्भर्टर जेनेरेटर आदिको सम्बन्धमा छुट्टै महाभारत होला । चुनावताका उद्योगीले दलहरूनामका देश र जनतलाई असाध्यै दल्ने पेल्ने दलाललाई दिएका चन्दाको धन्दाले महसुल नतिर्ने अरबैं रोक्ने काण्डमा के कस्तो भूमिका खेलेको छ कुन्नि ।

सबै कुरो बिझ्न जान्न पाएको भए त यो बखान एउटा ठुलै ग्रन्थ बन्थ्यो होला ! बुझ्दै नबुझिकन लेखैं भने करेन्ट लाग्ला भन्ने डर । त्यसैले यो बिजुली बखानबाट अहिलेलाई जदौ ।

०००
चितवन
२०८१ साउन २४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
सिङ्बिहिन तिखे गोरु

सिङ्बिहिन तिखे गोरु

रामकृष्ण ढकाल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x