डा. बमबहादुर जितालीउँधो गति : उँभो खति
शान्तिक्षेत्र कता गयो ? कान्ति पनि गयो मौका मिल्ला भन्ने थियो भाँडभैलो भयो । यस्तै चाला-माला रहे जान्छ उँधो गति क्रान्तिकारी जुटे भने हुन्छ उँभो खति ।

डा. बमबहादुर थापा ‘जिताली’ :
घरै थियो पिँडालु त ! ससुराली जाँदा
पिँडालु नै पाएजस्तो भयो आलु खाँदा ।
मन डढी जङ्गलमा भौँतारिँदै आएँ
जङ्गलमा डढेलो झन् लगाएको पाएँ ।
राजनीति फाँटतिर राजा धेरै पाएँ
भद्रगोल, भाँडभैलो भरिएको पाएँ ।
दायाँ-बायाँ, तरपायाँ जता गए पनि
उठे पनि, बसे पनि नेता भए धनी ।
खामभित्र नाम राख्न आए बडा-बडा
जत्ति पनि खर्च गर्न नेता भए खडा ।
सर्वहारा जनताका नेता भए कस्ता ?
पुँजीपति दलालका अधिपति जस्ता ।
पुँजीपति दलालीमा गए सत्ता-भत्ता
भूमिपति भुलाएर भए नेता मत्ता ।
सर्वहारा जनता झन् भएका छन् लुला
हकारेर डकार्दछन् नेता हुने ठूला ।
शान्तिक्षेत्र कता गयो ? कान्ति पनि गयो
मौका मिल्ला भन्ने थियो भाँडभैलो भयो ।
यस्तै चाला-माला रहे जान्छ उँधो गति
क्रान्तिकारी जुटे भने हुन्छ उँभो खति ।
बङ्गालको देखेर जात्रा ।
यता पनि होला नि गाईजात्रा ॥
०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ








































अति सुन्दर राष्ट्रभावकाे कविता