रामप्रसाद अर्याल ‘अविराम’जसोतसो
सरकार बन्छ र ढल्छ, देशै चल्छ, जसोतसो । तर जसोतसोको अपवाद के छ भने कर्मचारीले घुस खान्छ र आन्दोलनकारीले जुस खान्छ, ढुक्कसँग । भ्रष्टाचार ढुक्कसँग सदाचार डराई डराई हुन्छ ।

रामप्रसाद अर्याल ‘अविराम’ :
बुवा सन्चै हुनुहुन्छ ? जसोतसो बाँचिएकै छ । आमा अझैसम्म पनि काम गर्दै हुनुहुन्छ ? जसोतसो घरको काम टारेकी छु, भातभान्सा उतारेकी छु । कृषक रोपाइँ गर्छन् जसोतसो । बिउ खोपाइ र भल छोपाइ गर्छन् जसोतसो । बटुवा बाटो तर्किन्छन् जसोतसो । ढँटुवा घर फर्किन्छन् जसोतसो । कोही पढ्न कोही पढाउन जान्छन् जसोतसो । अन्नले पेट भरिएको र आफन्तसँग भेट गरिएको छ, जसोतसो । काम जसोतसो गरेपछि दाम पनि जसोतसो र माम पनि जसोतसो हुने नै भयो । दुनिया जसोतसोमै अडेको छ । म पनि आज यो निबन्ध लेख्न रमाएको र हातमा कलम समाएको छु जसोतसो । र अहिले तपाईं यो निबन्ध पढ्दै हुनुहुन्छ जसोतसो ।
यो जसोतसो भनेको कसो हो ? भन्ने प्रश्न उठ्ला र म जवाफ दिउँला । येनकेन प्रकारेण काम चलाउनु धिपिधिपी दियो जलाउनुलाई जसोतसो भनिन्छ । यो शब्द क्रिया विशेषण हो, व्याकरणको भाषामा भन्ने हो भने विशेषण भनेको विशेषता हो । जसोतसो हाम्रो ढङ्ग, ढाँचा र विशेषता नै हो ।
मानौँ हामीले आफूले गर्नु पर्ने र नगरी नहुने काम पनि जसोतसो गर्छौँ । करले गर्छौँ । देखाउन गर्छौँ । दुःखले गर्छौँ । झारा टार्न गर्छौँ । जसोतसो गर्छौँ मुस्किलले गर्छौँ । आफ्नो मानो खानु छ रोई रोई भने जस्तो गरी । जसोतसो हाम्रो संस्कृति नै बनेको छ । यसले हामीलाई ओरालो झर्न सजिलो बाटो खनेको छ । यसलाई बाटोमा टुकुटुकु हिँड्ने र गुड्नेदेखि लिएर हवाइ मार्गमा उड्नेसम्मले आफ्नै भनी अपनाएको पाइन्छ । त्यसैले यसलाई अपसंस्कृति भन्न मिल्दैन ।
जस्केलाबाट हत्केला उठाउँदै कसैले प्रश्न गर्ला कि जसोतसो गरेर काम टार्ने भएपछि दुःख किन गर्ने ? किन अघि सर्ने ? जो अघि सो त्यो फेला पर्यो भन्ने उखान नै छ । त्यसैले अघि सर्नुभन्दा पछि पर्नु नै श्रेयस्कर छ । अर्को मत आउन पनि सक्छ । बाल्यकालमा बालश्रम गरे युवावस्थालाई सुख हुन्छ । युवावस्थामा श्रम गरे बृद्धावस्थामा सुख हुन्छ र वृद्धाश्रममा श्रम गरे परमधाममा सुख हुन्छ । मेरो भनाइ के छ भने काल्पनिक परमधाममा पुगिन्छ, पुगिदैन, सुख हुन्छ, हुँदैन तर वर्तमानमा साँझ बिहान ताउलीमा एक माना जाउली पकाएर पेटभरि खान पाइयोस् । जसोतसो होइन । यही हालतले पेटभरि खान नपाउने हो भने बालकहरूले युवावस्थामा टेक्छन्-टेक्दैनन् ? वृद्धावस्था देख्छन्-देख्दैनन् भन्न सकिन्न ।
हामीकहाँ जसोतसो हविगत विगतैदेखि चलिआएको छ । यसले निम्न वर्गसँग त झनै मितेरी लाएको छ । एउटा किसानले अर्काको मेलो गर्छ, जसोतसो । ज्याला पाउँछ, जसोतसो । छोरा छोरीलाई स्कुल पठाउँछ, जसोतसो । फिस तिर्छ जसोतसो । परीक्षाफल प्रकाशित हुने बेला मापदण्डभित्र छिर्छ, जसोतसो । एस.एल.सी.मा तीन बल्ढेङ खाएर अङ्कमा फुली लाएर पास हुन्छ, जसोतसो । अरू कुरा जसोतसो बल्ढेङ चाहिँ मजाले ।
सबै गाउँ, सबै ठाउँ, सबै मान्छे जसोतसो सिद्धान्तको पुच्छर पक्रेर पालिएका छन् । जसोतसो पास हुने विद्यार्थीले जसोतसो जागिर पाउला । जसोतसो घर गृहस्थी चलाउला भन्नुहोला त्यो चाहिँ होइन । सत्यवती बहिरी बज्यैकहाँ जोर परेवा उडाए पनि रिसाहा भैरवकहाँ खोरको बोका चढाए पनि छोराछोरीले लोकसेवा र शिक्षा सेवा आयोग पास गर्न सक्तैनन् । बरु जसोतसो रिन-धन गरेर भिसा मिलाएमा सात समुद्र पार गर्लान् । अनि मुर व्याज तिर्लान्, जसोतसो ।
धेरै धेरै साहु थोरै थोरै खाऊ भन्ने उखान धेरै अघिदेखि चलिआएको छ । यो गरिबमारा उखान हो भने ऋणं कृत्वा घृतं पिवेत् भन्ने कविता साहुको विपक्ष र गरिबको पक्षमा छ ।
आदिम साम्यवादी युगको समाप्ति सँगै गरिबको पक्षमा गुरुवाका छाउरा छाउरीका रमाइला दिनका रङ्ग र ढङ्ग समाप्ति भएको हो । त्यसपछि त सुरु भयो जसोतसोको इतिहास । ठुला बडाको लागि मोज र मस्ती साना सानाको लागि खोज्नको सास्ती । कसैको लागि मिठा मिठा परिकार छालाले धानुन्जेल लेघ्रोले तानुन्जेल छ । एउटा युगको समाप्ति हुँदा नयाँ आशाको व्याप्ति हुन्छ । तर, जति युग सकिए पनि जति जति नयाँ युग थपिए पनि औसत गरिबको स्तर गिर्दो छ मन चिर्दो छ ।
पैलौँटी स्वास्नी सुत्केरी हुन, वनबाट रुन, घरमा आइपुग्छिन्, जसोतसो । यो सङ्कटको बेला, पिपासुको खेलासँगै घाँस दाउरा गर्न गएका संगिनीहरू घरमा फिर्न सक्छन् सक्दैनन् ? यसै भन्न सकिन्न, तर भाग्न सके भने आउलान्, जसोतसो ।
अर्को कुरा अहिलेको युग वैज्ञानिक युग । सञ्चारको क्षेत्रमा विश्व एउटा घर । हाम्रा नेताको भाषणको भर । जनताको घरदैलो टेक्न र दुरावस्था देख्न हेलिकप्टर चढ्छन्, जसोतसो । नेताले जसोतसो भन्दछन् जनताले त्यसै त्यसै गर्दछन् तर नेताले त्यसै, त्यसै गर्दैनन् । उनीहरू त जसो जसो पर्ला त्यसै त्यसै टर्ला भनेर काममा बखेडा झिक्न खडा हुन्छन् ।
कुनै दललाई खाने बेला रिस उठ्छ, कुनै दललाई जाने बेला । जाने बेला भनेको चुनावमा जाने पनि हुन सक्छ र मन्त्री पद खाने पनि हुन सक्छ । त्यसैले कुनै कुनै नेता जे जे भन्दछन् त्यो गर्दैनन् र जे भन्दैनन् त्यो गर्दछन् । जस्तो हाम्रो पार्टी एक जुट छ भने भनी उनीहरूको पार्टीभित्र फुट छ भन्ने बुझिन्छ । विधान बनाउँछौँ भने बनाउँदैनौँ । देश विकास गर्छौँ भने गर्दैनौँ भन्ने बुझिन्छ व्यवहारमा ।
मानौँ हाम्रो इतिहास जसोतसोको इतिहास हो । चुनाव हुन्छ भने जसोतसो बहुमत आयो, जमानत जोगियो, जसोतसो बिरामी हस्पिटल पुग्छ, डाक्टर भेट हुन्छ, उपचार गरिन्छ र बाँच्छ जसोतसो । रोग, भोक, शोकसँग लडिरहन्छ जसोतसो । श्रम पनि जसोतसो र खाना खाने पनि जसोतसो ।
स्कुल गएको छोरो, बजार गएकी छोरी घर फर्कन्छन् जसोतसो । सरकार बन्छ र ढल्छ, देशै चल्छ, जसोतसो । तर जसोतसोको अपवाद के छ भने कर्मचारीले घुस खान्छ र आन्दोलनकारीले जुस खान्छ, ढुक्कसँग । भ्रष्टाचार ढुक्कसँग सदाचार डराई डराई हुन्छ । बलको तुजुक बाटोभरि छिरलिएको बेला बुद्धि बट्टाभित्र । हामीले वैयक्तिक काम ढुक्कसँग गछौँ र सामाजिक काम झारा टार्ने गरी । भनाइ नै छ, सरकारी काम कैले जाला घाम । योग्यताको प्रर्दशन ढुक्कसँग गर्ने हो भने तेजोबध हुन्छ, चरित्रको हत्या । त्यसैगरी आफ्नो शौर्य प्रदर्शन गर्ने जमाना यो होइन । भीमसेन थापा र मदन भण्डारी वा किसुनजी र गणेशमान अन्यअन्यको जीवनको हविगत बेहोर्नुभन्दा काम जसोतसो गरौँ । अधमरो बाचौँ । सुख मरेपछि जाने स्वर्गलाई नै साँचौँ । कि कसो, जसोतसो ।
०००
पाल्पा
‘घुस्सा’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest






































