अमर अधिकारीसमृद्ध नेपालमा बाबाहरूको बिगबिगी
अन्धभक्तहरूबाट सहजै पैसा खिच्ने खिचुवा बाबा र जति खाए पनि नअघाउने घिचुवा बाबा पनि जमेका छन् हामीकहाँ । कोब्रा झैँ विषालु कोबरे बाबा र गोबर झैँ गन्हाउने गोबरे बाबाहरूको सङ्ख्या त कति हो कति ?

अमर अधिकारी :
बगरमा कुटी बनाएर बस्ने बगरे बाबादेखि नगरको पाँचतारे होटेलको कोठालाई नै आश्रम बनाएर बस्ने नगरे बाबाहरूको बिगबगी छ अनि जगजगी छ यहाँ । अहिले भारतमा मात्र होइन नेपालमा समेत विभिन्न किसिमका बाबा वा गुरुहरूको आश्रममहरू मजाले चलेका छन् । कम्पनी, उद्योग र अन्य व्यवसायहरू धरासायी हुँदै जाँदा आश्रमहरू भने राम्रै मुनाफामा चलिरहेका छन् । यस्ता आश्रमहरूलाई न कानुनको परिधिमा बाँध्न सकिन्छ न त करको दायरामा राख्न सकिन्छ । यस्ता आश्रमहरूले चितवन र नागार्जुनमा सरकारी जमिन हडपेका समाचारहरू पहिले पक्कै पढ्नुभयोहोला र सुन्नुभयो होला । क्या आनन्द छ है नौटङ्कीवालाहरूलाई अर्थात् राजनीतिक पार्टीहरूका लागि भोट बैंक बनेका आश्रम अनि धाम आदि आदिका नाइकेहरूलाई ।
कोही ज्यानमारा बाबा त कोही लुटेरा बाबा अनि कोही धोकेवाज बाबा । त्यस्तै चोर बाबा, बलात्कारी बाबा, ठग बाबा, पाखण्डी बाबा, ढोँगी बाबाहरू अहिले नेपालमा बग्रेल्ती नै देखिन्छन् । घाटमा बसिरहने घाटे बाबा र माटोमा बसिरहने माटे बाबा अनि लुतो कन्याइरहने लुते बाबा अनि लगौँटीमै मुत्दै हिँड्ने मुते बाबा सलबलाइरहेका छन् हाम्रो देशमा- जगल्टाभित्र जुम्रा सलबलाए झैँ । बङ्गारो झरेका बङ्गारे बाबा र दाह्रा निस्किएका दाह्रे बाबा पनि यहाँ नभएका होइनन् । चुल्ठे बाबा, गोज्याङ्ग्रे बाबा, फतफते बाबा, छेरौटे बाबा त कति हो कति ।
त्यस्तै कमजोर बाबाहरूमा बेढङ्गे बाबा र लठेब्रे बाबा पनि छन् यहाँ । पिउसे बाबा, रिठे बाबा, काले बाबा, लट्टे बाबा, कोदे बाबा, पत्थरे बाबाको जमात हेरिनसक्नु छ । शिकारी बाबा चाहिँ भिकारी बाबाभन्दा खतरनाक बाबा हुन्, यिनले सुन्दरी शिष्य देख्नैहुन्न । आश्रममा आउने चेलीको सम्वेदनशिल अङ्गमा हात पुर्याइहाल्छन् । बिहानै उठ्ने बिहाने बाबा र चिहानको छेउँमा बस्ने चिहाने बाबाको पनि कमी छैन यहाँ । भागीभागी हिँड्ने भगन्ते बाबादेखि दैलोदैलो चाहारेर माग्दै हिँड्ने मगन्ते बाबा समेत छन् । जन्तर बेच्दै हिँड्ने जन्तरे बाबा र मन्तरहरू बेच्दै हिँड्ने मन्तरे बाबाको पनि कमी छैन हाम्रो समृद्ध मुलुकमा । स्त्रीलाई पुरुषमा र पुरुषलाई स्त्रीमा परिवर्तन गर्ने ती जन्तरे र मन्तरे बाबाको मन्त्र १३ सय रुपियामा विक्री गरिरहेको बाबाको बारेमा त यो लेखक जानकार नै छ, उठीहरूलाई ठगी धन्दा चलाउन शतप्रतिशत छुट छ ।
दुब्लाएर चाउरे बाबा बनेका र लाहुरबाट फर्केर ब्यापारमा घाटा खाएका लाहुरे बाबा पनि यहीँ नै छन् । राँगे बाबा, बोके बाबाबाट चलाइएका आश्रमबाट चेलीहरू विशेष चनाखो हुनुपर्ने हुन्छ। मन्दिरमा बसेर भक्त महिलालाई बलात्कार गरेको समाचार धेरै वर्ष पुरानो होइन। राम्ररी बोल्ननसक्ने लठेब्रे बाबालाई भने घाटै छ, बोल्ने कला नभएपछि यस्तालाई बाँच्न गाह्रो छ । चेलाचेलीहरूलाई शाकाहारी बन्नुपर्छ भन्ने तर रातपरेपछि मासु र रक्सीमा जम्ने मांशाहारी बाबाको पनि कमी छैन यहाँ। टोड्के बाबा, लड्के बाबा, कुकुर बाबा, ढुकुर बाबा ।
आहा ! कति राम्रा ती बाबाहरूका नामहरू पनि ? बगालै बनाएर हिँड्ने बगाले बाबा घरबार बेचेर सकेर बाबा बनेका कंगाले बाबा र एक्लै हिँड्न रुचाउने एक्ले बाबा, अनुहारमै कोइला दले झैँ देखिने लङ्गुरे बाबा, बंगुर जस्तो मोटाएका बंगुरे बाबा, फट्याङ्ग्रो उफ्रे झैँ उफ्रिने फट्याङ्ग्रे बाबा, नाक हेर्दै गैँडाको खाग जस्तो देखिने गैँडे बाबा पनि यत्रतत्र छरिएर बसेका छन् हाम्रो देशमा, योगीहरू अनेक भेषमा । कोरोने बाबा, क्यान्सरे बाबा, थाइराइडे बाबा, खाइराइडे बाबा ठाउँठाउँमा छन् । परी देख्यो कि र्याल काढ्ने परी बाबा, झरीमा रुझेर हिँड्ने झरी बाबाका चर्तिकलाहरू हेरिनसक्नुको छ ।
बोक्सी पन्छाउँछु भनेर पैसा कमाउने बोक्से बाबा र भट्टीमा पसेर मदिरा पिउने रक्से बाबा छन् यहाँ । तमासा देखाउने तमासे बाबा र जति खाए पनि नअघाउने हसुरे बाबा, अन्धभक्तहरूबाट सहजै पैसा खिच्ने खिचुवा बाबा र जति खाए पनि नअघाउने घिचुवा बाबा पनि जमेका छन् हामीकहाँ । कोब्रा झैँ विषालु कोबरे बाबा र गोबर झैँ गन्हाउने गोबरे बाबाहरूको सङ्ख्या त कति हो कति ? बाबाहरूका प्रकार वा किसिमको बयान गरेर साध्य नै छैन । चिलाउने बाबादेखि बिलाउने बाबासम्म छन् यहाँ । देशमा अब काङ्ग्रेसलाई चाहिने थाङ्ग्रेस बाबा र बामपन्थीलाई चाहिने खामपन्थी बाबा अनि राजावादीलाई चाहिने खाजावादी बाबाको अति नै खाँचो छ है ! जनताहरूमा सूचना अनि चेतना भया !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































