बिन्दु दहाल ‘मूकदर्शक’बाबा
छानामा घरका निदाल सिकुवा ढोकाहुँदो देख्छु बा बट्न्यौटो घुममा मुढा सुकुलमा यो काव्यमा देख्छु बा फेरी रूप अनन्तसम्म जिउने हुन् बा बडा गौरव बाबा बन्न सकिन्न सूक्ष्म मनले सोचौँ सबैले अब ।

बिन्दु दाहाल मुकदर्शक :
डोका फुर्लुङमा कुला नहरमा ढुङ्गा तथा बालुमा
मेरा बा जहिले म देख्छु जिउँदो बोडी सिमी आलुमा
डाँडामा वनमा हलो र हटिया भन्ज्याङपल्लापटि
बाबा देख्छु सधैँ तरक्क पसिना झार्दै गरेका बसी ।
माटामा जलमा उँभो गगनमा धारा फलैँचा कतै
बारीका डिलमा गरा बगरमा मेरा बुबा छन् जतै
यी विद्यालयका कलेज घरका भित्ता कुनामा सधैँ
बा जीवन्त म देख्छु नित्य किन हो संस्कारमा छन् अझै ।
माघी बालन देउडा र झिझिया लाखे र रोदीघर
गुम्बा मन्दिर धाननाच सब नै खोज्छन् बुबाकै भर
साना यी झुपडी ठुला महलमा ती वृक्ष गाछीतिर
बाबाकै प्रतिबिम्ब हुन्छ जहिले छाती भरी आखिर ।
मेरा पुस्तकमा मसी कलममा सग्ला बनी अक्षर
बस्छन् ढुक्क बुबा खुला हृदयले त्यागेर आडम्बर
मेरा जीवनका हरेक पलका रङ्गीन पाना सब
मेरा रक्त नसा शिरा र धमनी डुल्छ्न् बनी गौरव ।
नाम्लो या बरियो मुढा हरिसमा ठेकी मदानी जुवा
तोक्मा खर्पनमा तुलो कमिजमा देख्दै छ मेरा बुबा
ती दौरा सुरुवाल चप्पल सँगै मान्द्रो भकारी बुनी
थुन्से मादल बाँसुरी सँगसँगै काट्छन् बुबाले जुनी ।
छानामा घरका निदाल सिकुवा ढोकाहुँदो देख्छु बा
बट्न्यौटो घुममा मुढा सुकुलमा यो काव्यमा देख्छु बा
फेरी रूप अनन्तसम्म जिउने हुन् बा बडा गौरव
बाबा बन्न सकिन्न सूक्ष्म मनले सोचौँ सबैले अब ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest






































