साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरदेखि सावधान !

मुखमा सिगार च्यापी सेतो हाफप्यान्ट लगाई केराको थामझै तिघ्रा देखाउँदै लामो सिक्रीमा तपाईंको बुलडगलाई पछाडि लगाई बिहान वा बेलुका हावा खान निस्कँदा तपाईंको रौव देखेर सबै थरथर हुनेछन् ।

Nepal Telecom ad

शारदा कोइराला :

शहरका ठूल-ठूला घरहरू, घरवरिपरि लगाइएका कम्पाउन्डहरू, कम्पाउण्डको गेटमा लगाइएको ठूलो बोर्डलाई आँखा च्यातेर हेर्छु, लेखिएको हुन्छ- कुकुरदेखि सावधान । मनमा चिसो पस्छ, कलवेल बजाउँछु – कुनै कुकुरले भुकेर स्वागत गर्ला कि ? भनी । त्यो घरमा पसेपछि थाहा पाउँछु त्यो घरमा कुनै कुकुर नामको चारखुट्टे जन्तु नै हुँदैन । म बुझ्दिनँ- ‘कुकुरदेखि सावधान !’ लेखेको अर्थ के हो ? विश्वका समस्त कुकुरदेखि सावधान हुनुपर्दछ भनेको, कुकुरदेखि सावधान भनेको हो वा यो घरका मान्छेको व्यवहार कुकुरजस्तो भएको हुनाले सावधान हुनुपर्छ भनेको हो ? अर्थ खुल्दैन, बरु ‘कुकुरदेखि सावधान ।’ लेखेको बोर्डमा नै घर मालिकको रौद्र रूपको गलामा पट्टि लगाएको लामो जिब्रो निकालेको दुवै हातको पन्जा देखाई झम्टिन खोजेजस्तो नक्सा पेन्ट नै गरेर राखे केही अर्थ खुल्थ्यो कि ?

एउटा घर मालिकको पाल्तु कुकुरले आगन्तुक पाहुनालाई भुक्दै झम्टन्छ । पाहुना आत्तिँदै यता उता दगुर्छ। माथि कौसीबाट हेरिरहेको घरमालिकले हाँस्दै भन्छ- ‘भुक्ने कुकुरले टोक्दैन’ भन्ने उखान पढेको छैन ? पाहुना दगुर्दै जवाफ दिन्छ- “मैले त पढेको छु तर यो कुकुरले पढेको छ/छैन, मलाई थाहा छैन ।”

कुकुर थरी-थरीका हुन्छन्- भुस्याहा कुकुर, खिच्चा कुकुर, नमकहराम कुकुर, बेलायती कुकुर आदि-आदि इत्यादि । भुस्याहा कुकुरले कहिल्यै प्रगति गर्दैन- जसले जति लात हाने पनि सही रहन्छ, विद्रोह गर्दैन- त्यसैले यसको कुनै मूल्य हुँदैन । धेरै मात्रामा पाइने कुकुर यस्तै प्रकारका हुन्छन् । जसलाई देखे पनि ‘ख्याउ-ख्याउँ’ गर्ने कुकुरको नै महत्व हुन्छ । दुध-भात खाएर यस्तै कुकुर नै बसेका हुन्छन् । कुन देशको कुकुर हो ? नाम नजाने यस्ता कुकुरलाई बिदेशी कुकुर भने पनि हुन्छ ।

कुकुर पाल्दा केही फाइदा पनि छ । तपाईलाई कसैसँग रिस उठेको छ भने आफ्नो प्यारो कुकुरको नाम त्यही राख्न सक्नुहुन्छ । जस्तो- रामबहादुरसँग रिस उठेको छ भने रामे, कालिबहादुरसँग रिस उठेको छ भने काले आदि । जय रामबहादुर तपाईंको घरमा आउँछ, तपाईं शानसँग भन्न सक्नुहुन्छ “रामे, यता आइज-साहेबलाई सलाम गर” आदि । यसबाट तपाईले आफ्नो मनमा अनन्त शान्तिको अनुभूति गर्न पाउनुहुनेछ, जुन यहां शब्दद्वारा व्यक्त गर्न सकिँदैन ।

साहेवनी वा साहेवनीकी छोरीको ककरपति आसक्ति अन्त्यमा साहेवद्वारा कुकुरलाई गोली हानेर मारेको घटनाहरूलाई लिएर जति कथा बनाए पनि हुन्छ- जति रामायण, महाभारत लेखे पनि हुन्छ । च्यान्टे र भुन्टेलाई भात छैन- साहेवनीको टामी मासु नभइ ज्युनार गरिसिन्न । “सन्चो भएन मेरो बाबा ।” भन्दै कुकुरको मुख चाटेको देख्दा मानव जातिको नै उपहास गरेजस्तो लाग्छ । कुकुरको परिभाषा गर्न समस्या यहां देखा पर्दछ । साहेवनीको ककुरको विषयवस्तु कहिल्यै पुरानो हुँदैन, सधैँ नवीनपन बोकिरहेको हुन्छ ।

एउटा डाक्टरले मान्छेको मुटुको अपरेशन गर्दा बिग्रिसकेको पाएर हतारमा मान्छेको मुटु नपाएर कुकुरको मुटु राखिदिएछन् । अपरेशन सफल भयो, रोगी निको भई घर फक्र्यो । एक-डेढ महिनापछि रोगी पुनः डाक्टरकोमा आउँदा डाक्टर झस्केछ र भनेछ- तपाईंको कुनै समस्या छ ? रोगीले भनेछ- ‘खास समस्या त केही छैन डाक्टर साहेव तर पनि किन हो कुन्नि मलाई हिजो- आज भित्तो देखेपछि खुट्टा उचाल्न मन लाग्छ ।’ बाटाघाटामा भित्ता देखेपछि खुट्टा उचाल्ने प्राणीलाई कुन श्रेणीमा राख्ने ? यो लेखमा पनि सोही समस्या देखा परेको छ ।

कुकुर पाल्नु सभ्यता सम्पन्नताको प्रतीक हो । जुत्ता हेरेर मान्छेको व्यक्तित्व पहिचान भएझै कुकुर हेरेर घरवालाको औकात जान्न सकिन्छ । सम्झनोस्, पालेको ककर जस्तो छ घरवाला त्यस्तै स्वभाव र स्तरको हुन्छ । उदाहरणस्वरूप ठूलो ब्लडाग पाल्ने व्यक्ति धनी र सम्पन्न साथै स्वभाव बुलडगकके हुन्छ । सानो बेलायती कुकुर पाल्ने व्यक्ति उच्च-मध्यमवर्गीय व्यक्ति वा भनौँ उच्चवर्गतर्फ अग्रसर हुँदै गइरहेको व्यक्ति हुन्छ । उसको स्वभाव त्यही बेलायती कुकुरझै कसैलाई देख्नेबित्तिकै विशेष आफूभन्दा तल्लो स्तरको व्यक्तिलाई ख्याउँ ख्याउँ गरी खेदिहाल्ने स्वभाव हुन्छ ।

बफादार, आज्ञापालक, स्वामिभक्त लात खाएर पुच्छर हल्लाउने प्राणीको नाम लिएर यी कुनै पनि गुण नभएका स्वार्थी, लालची आत्मपरक प्राणीलाई सम्बोधन गर्दा यो प्राणीको बेइजत भएको होइन र ? बिचरा । अदालत आएर गाली-बेइज्जतिमा मुद्दा हाल्न सक्दैन । हुन त यो प्राणी साहेवनीको वन्धनमा हुँदा साहेवनीले कहिले घाँस नहाल्ने ! साहेवको मुखबाट “प्रभुजी मलाई कुकुर बनाऊ” भनी घुँडा टेकी दुवै हात उचाली करुणामय दृष्टिले आकाशतर्फ हेरी बिन्ती गर्ने ! नसुनेको कहाँ हो र ? भान्सामा साहेवनीको प्यारो डेजीलाई मायापूर्वक दूध, मासु, अन्डा दिई आफूलाई तिरस्कारपूर्वक दाल, भात दिँदा साहेबको मन कुँढिनु र कल्पिनु स्वाभाविकै हो ।

तपाईंले घरमा आफ्नो प्रतिरूप कुकुर पाल्नुभएको छ भने खुशी हुनोस् – तपाईं ठूलो मान्छे हुनुभयो । समाजको संभ्रान्त वर्गमा पर्नुभयो । मुखमा सिगार च्यापी सेतो हाफप्यान्ट लगाई केराको थामझै तिघ्रा देखाउँदै लामो सिक्रीमा तपाईंको बुलडगलाई पछाडि लगाई बिहान वा बेलुका हावा खान निस्कँदा तपाईंको राेव देखेर सबै थरथर हुनेछन् । तपाईं त्यो परम आनन्द पाउनुहुनेछ, जुन तपाईकी अर्धाङ्गिनीलाई लिएर हिँड्दा पनि पाउनुहुन्न ।

सबै कुकुरले चार खुट्टा टेक्नै पर्दछ भन्ने जरुरी छैन । कहिलेकाहीं ब्रम्हाको कार्यशालामा भुल हुन जान्छ र खुट्टाको सङ्ख्या घट्न सक्दछ । त्यस्ता कुकुर चिन्न समय लाग्छ, त्यसैले कुकुरदेखि सावधान हुन जरुरी छ त्यो महान् वाणी घर-कम्पाउन्डको ढोकामा मात्र होइन, भेटेसम्म शहरका सबै पर्खालहरूमा टाँसे अझै उचित हुन्थ्यो कि !
अनुरागवर्ष ८, पूर्णाङ्क १३ (२०५६)

०००
झापा
‘पोथी बासेको घर’ (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पिउनुको मज्जा !

पिउनुको मज्जा !

शारदा काेइराला
सिफारिस माहात्म्य

सिफारिस माहात्म्य

शारदा काेइराला
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x