शारदा काेइरालापिउनुको मज्जा !
रक्सी पिएर नै आधुनिक र सभ्य बनिन्छ भने किन नबन्ने ? त्यस कारण यस्तो जीवनदायिनी, शक्तिदायक रक्सी पिउनै पर्छ। रक्सी पिऔं। मज्जा गरौँ !

शारदा काेइराला :
शीर्षक देखेर सोच्नुहोला यो कुनै रक्सी पसलको एजेन्ट पो हो कि। वा रक्सी उत्पादक संस्थासित कमिसन पो खान्छ कि । तर उपभोक्ताको दृष्टिकोणबाट फाइदा देखेर नै मैले यो भनेको हूँ, किनभने साँझ साँझपख वर-पर चोरले झै पुलुक्क हेर्दै, लुसुक्क रक्सी बेच्ने झुप्रोभित्र पसेर ठाडो घाँटी लाउँदै जुन आनन्द आउँछ, त्यो रक्सी नखानेलाई के थाहा ।
एक जमाना थियो- जतिखेर म कोकाकोला पिउन पनि डराउँथे, किनभने कोकाकोला रक्सीझैं लाग्दथ्यो। कोकाकोला चिसो पेय’ भन्ने जान्नेवित्तिकै लाजले भुतुक्क हुँदै पिउन शुरु गरेँ। साथीहरू भन्दथे- “यस्तो पनि पिउने हो वियर पिउनुपर्दछ, बियर । क्या आनन्द आउँछ ।”
“वियरमा तीन प्रतिशत अल्कोहल हुन्छ ।” मैले मसिनो स्वरमा विरोध गरेँ।
“धत् ? कस्तो लाटो रै’छ। दवाई त खान्छस् नि । त्यसमा झन् कति प्रतिशत हुन्छ?” साथीले प्रश्न गरे ।
केही लागेन । साथी-भाइ भनेर मरिहत्ते गर्ने मान्छे। साथी भाइ भनेर नै वियर पिएर बाहिर निस्कंदा आफूलाई अब महान् महसुस गर्न लागे लाग्दथ्यो वरिपरिको सेरो फेरो सबै मेरो हो, तर म खुत्रुक्कै भए साथीहरूले मलाई. जिस्क्याउन थाले- “पिएपछि पनि यस्तो ‘लेडिज डिड्क’ पिउने हो ? पिउनुपर्दछ जीन, क्लियोपेट्रा, खुकुरी, रेड ड्रागन। अझ सिक्किमे रक्सी पाए गजब हुन्छ । विदेशी रक्सीको त झन् एक थोपो मात्र पाए पनि वैतरणीपारि हुइन्छ । बुझिस् त ?
साथीहरूको भनाइ सुनेर आफूमा हीन भावनाले सतायो । नपिउने, पिएपछि के बाँकी राख्ने त बस। शुरु गरेँ। पहिले-पहिले अप्ठ्यारो लागेको थियो । अब त भन्नै पर्दैन । बेलुका भएपछि नभई हुँदैन । पाएपछि राम्रै र नपाए पनि ‘दुद्धिया’ र ‘लोकल’ले पनि चल्दछ ।
आहा, त्याे विशेषता छ त रक्सीमा । रक्सी पिएपछि आफूलाई हिटलरभन्दा कम्ती सम्झिदैन । रक्सी पिएपछि, जे पायो त्यही बोल्दै हिडे पनि भै’गो । सुन्नेले भन्छन्- “के गर्ने ? पिएको छ ।” अरु बेला कुकुरको पुच्छरजति पनि नसम्झिने श्रीमतीजी पिएर घर फर्कदा डरले चरचर हन्छिन, घरमा ज्वाइँको भन्दा चौखण्ड वेसी स्वागत-सत्कार हन्छ । लागेकोभन्दा चौखण्ड बेसी अभिनय गरेर आओछ्यानमा गएर पल्टिनुपर्दछ बस श्रीमतीजी आइपुग्छिन् जत्ता खोल्न अनि स्त्रीयाचरित्रम को विशेषता आँखाबाट तुरुतुरु आँसु झारी साडीको टुप्पोलाई ओठले टोकी भन्न थाल्छिन्- “हजुरलाई सत्ते। अब नपिइवक्सियोस् न ।”
केटाकेटी त घर पुगुन्जेलमा निदाइसकेका हुन्छन् । ननिदाए पनि पिएर फर्किएको देखेपछि आफूभन्दा दश हात परतिरै भाग्छन् । बस । त्यो रात न श्रीमतीज्यूबाट छिमेकीबारे दिएको राय नै सुन्नुपर्छ, न नून-तेल सकिएको पुराण नै सुन्नुपर्छ । जसरी भए पनि खाने कुरा पाकेकै हुन्छ। नपाकेको भए पनि के फरक पर्छ र? आफूले उधारै भए पनि सेकुवा र बोतल चढाएकै हुन्छ । आफू भएपछि यस्ता छोरा-छोरी र स्वास्नी त जति पनि पाइन्छन् । भोका हुन् कि नाङ्ङ्गा ?”
यसो मोज-मज्जा गर्न पनि त पाइन्छ । रक्सी पिउनेले पिएको निउँमा यसो रक्सी बेच्ने कान्छीलाई, अंध्यारामा बाटामा हिँड्ने सज्जन स्त्रीहरूलाई छामछाम-छुमछुम गर्न पनि पाइन्छ आफ्नै स्वास्नीलाई जतिकै गरेर । देख्नेले भन्छन् – “ए। पिएको रै’छ ।” बस । काम-कुरा सकियो ।
घनिष्ठ साथी बनाउनुपर्ने हो भने पनि योभन्दा सजिलो उपाय के छ र ? रक्सी पिएको सुरमा स्वास्नीहरू साटासाटसम्म त हुन्छ अरु कुरा त परै जावोस् । काम पट्याउनुपर्ने अधिकृत पियक्कड छ भने त बस । रक्सीको बोतलबाट नै ‘प्रमोसन’ हुन्छ, ‘डिमोसन’ हुन्छ, सरुवा हुन्छ, अमिल्ने काम फत्ते हन्छ, उचित-अन्चित हेरिदैन, न योग्यतालाई हेरिन्छ- ‘काम फत्ते ”
आहा, पिएपछि भीमसेनलाई पनि सिनकिया पहलमान देखिन्छ- सात फिटेलाई पनि डेढ फिटे देखिन्छ । आफूभित्र समस्त पाण्डवको बल समावेश भएजस्तो लाग्दछ आफूलाई हिन्दी फिल्मको हिरोजस्तो लाग्दछ । यस्तो शक्तिदायक टनिक, यस्तो जीवनदायिनी सजीवनी पिउनै पर्छ, त्यसैले पिऔं । मजा गरी ॥
रिक्सामा चढेपछि पैसा नतिरे पनि भइहाल्छ । पैसाको ठाउँमा गाली र मुड्की दिए पनि हुन्छ । सोझै रिक्सावाल भोकले मर्छ भने पनि मरोस्। स्वास्नी-छोराछोरी नखाइकन प्रतीक्षामा ढोकामा उभिएर निदाउँछन् भने पनि निदाऊन् । के फरक पर्छ र ? आफू त दिनभरि सडकको किनारमा रहने र रात परेपछि सडकमै तेर्सिने, नालीमा आराम फर्माइरहेको हुइन्छ । कहिलेकाहीँ कुकुरले खुट्टा उचालेर मुखमा अमृतवर्षा पनि गरिदिन्छ- फलस्वरूप वरत्र र परत्र दुवै कल्याण हुन्छ ।
देशको अर्थतन्त्रमा वषैपिच्छे ज्यादा मात्रामा योगदान दिएर (बजेट भाषणले प्राय सधै रक्सीको मूल्यमा वृद्धि हुने भएकाले किन सहयोग नगर्ने ? रक्सी पिएर नै आधुनिक र सभ्य बनिन्छ भने किन नबन्ने ? त्यस कारण यस्तो जीवनदायिनी, शक्तिदायक रक्सी पिउनै पर्छ। रक्सी पिऔं। मज्जा गरौँ !
०००
युगज्ञान साप्ताहिक, (वर्ष ९, अङ्क ३९ (२०३५)
Subscribe
Login
0 Comments
Oldest







































