साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाउरा उत्पादन उद्योग

हेर, मैले मेरा खुसीले तिमेर्लाई पाको होइन । वाको वलमिच्याईले तिमेरु आको हौ। आ. को हौ को हौ भनेर मैले स्याहार नगऱ्या भए त्याँ तिमेरु डान्स गर्दै हिंड्न कहाँ पाउँथ्यौ ?

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

नानी, मैले तँलाई दस दस महिना पेटमा पालेर, निस्तो ढिडोले भोको पेट टालेर, ज्यानलाई हत्केलामा हालेर त्यसै जन्माएको होइन । होइन, तं यहाँ पहाडाँ बसुन्जेल त कामरेड सामरेड भन्थिस्, मैलामुक्ति, असत्तीकरण के के जाति भन्थिस् । जातिजाति कुरा मात्रै गर्ने त उता सहराँ गएपछि केजाति डान्स रेस्टेन कि के भन्ने हुटेलउँदी नाँच्न थालिस् अरे । अरे नानी, नाच्नै परे पनि अलि राम्रो ठाउँमा, जीउ ढाक्ने लुगा लगाएर सबैले इज्जोत् गर्ने ठाउँमा नाचेकी भए पनि त हुने । हुनेखाने भएनौ भन्दैमा भातै खानलाई नाइटो टल्काउनु र आवारा केटाहरूलाई पल्काउनुपर्ने खालका थिएनौ नि छोरी ।

छोरी, तेरो दाजु घर नआएको चार वर्ष भयो, तैले भेटिस् कि लखन्तरेलाई ? लखन्तरे लखरलखर गर्दै त्यही घुमिरा’छ भन्छन्, जागिर खोज्दै । खोज्दैमा पाइने भए त मै पनि खान्थेँ । खानैलाई मात्र जन्मेका तिमेर्का वाले हो नानी, तिमेरु सबैलाई यस्तो भुर्महत्तेमा पारेका । परेर पनि पटक्कै नचेत्ने तिनको बच्चैदेखिको बानी ।

बानी पनि कस्तो भने, गल्ती आफू गर्ने दोषजति मेरो टाउकामा । टाउको फनफनाउँदै कनाउँदै घरबाट फुत्त निस्क्यो, चिया दोकानमा टुप्लुक्क । टुप्लुक्क घाम नअस्ताउन्जेल च्या खायो, खाल जमायो । दाल खान घरमा हुँदैन, ऊचाहिँ भट्टी पसलमा । सलमा भन्ने आइमाईसँग सल्केर एकपल्ट त सप्पै रित्याकाचे घरको पैसा, अन्न । धन्न, धनबहादुर धामीले धुप-धुवार गरेर मुहूनी छुटाएपछि बाँचेँ म। म एउटीकै त तिमेरु सोर सोरजना हुँदारछौ । त्यो बोक्सी पनि आकी भए सत्र जन्माउँथे कुन्नि पापी बुढाले ।

पापी बूढाले कस्तो फत्तुर थाप्न जान्या छन् भने, भगवान् र म मिलेर तिमर केटाकेटीलाई वर्षेपिच्छे जन्माको जन्माकै गर्यो अरे । हेर असति वुढा, सम्झ्‌यो भने चिथोर्नुजस्तो हुन्छ । होस् न अब, छोराछोरी धेरै नजन्माऊँ, पाल्न सकिदैन भन्ने म । मलाई परपरै पार्दै भन्थे- पख् न, उद्योग गर्छु, पैसो कमाउँछु अनि त पाल्न सकिहालिन्छ नि उ‌द्योग गरेर ।

उद्योग त उही छाउरा उत्पादन उद्योग पो रैछ बूढाको । बूढाले कारखानाचाहिँ मलाई वनाकार’छन्, थुक्क बूढा । ढुक्कसँग तेइवेला परियार न्योजन गरौँ भनेर मैले भनेको मान्द्या भए तिमेर्ले यसरी जिउँदै नरक देख्नुपर्थेन । नरकभन्दा के फरक पारे र तिमेर्का वाबुले हाम्रो जुनी, हरे ।

हेर, मैले मेरा खुसीले तिमेर्लाई पाको होइन । वाको वलमिच्याईले तिमेरु आको हौ। आ. को हौ को हौ भनेर मैले स्याहार नगऱ्या भए त्याँ तिमेरु डान्स गर्दै हिंड्न कहाँ पाउँथ्यौ ?

पाउनसम्म दुःख पायौ छोरछोरी हो, के गर्नु दैवले गर्दा । दैवलाई किन दोष लाउनु, बुद्धि पुऱ्याउनेहरू यीं गाउँमा बसेर पनि सुखी नै छन् केरे ।

केरे जेठाले केरा बेचीबेची कत्रो पुरुषार्थ गर्यो । पुर्षोत्तमेले तर्कारी फलफूल लगाएर पैसो कमाइरा’छ । दमाइ माइलाले पनि अलिअलि गर्दागर्दै घरेलु उ‌द्योग खोलिसक्यो । खोलीघरेले बाँसवेतको धन्ना गरेर उतै सहरा लगेर बेच्छ अरे । अररे भँडारीका संगतमा लागेर तेरा बाचाहिं साह्रै नराम्ररी बिग्रे । बिग्रेको थोत्रो टिभी किनेर ल्याइरछन्, रातभरि घार्र र घुर्र पार्छन् । मार्छन् जस्तो छ नानी, भोकभोकै तेरा भाइबैनीलाई । भाइवैनीको पढाइ कता, मेरो विमारी कता ! वेपत्तासँग बत्तासियो, गफ चुट्यो ।

गफ चुट्ने पनि यताको हो र । उता अम्रिका, जापानका लडाइँका र चुनाउका । चुनाउमा उठ्ने अरे अबको पल्ट काग्रेसबाट । कांग्रेस भनेपछि देख्न सक्तैनथे, अस्तिसम्म । असत्ती कांग्रेस भन्थे पैले, ऐले कमलेस्ट छाडेर राम्रैसित कत्रो ठूलो कांग्रेस हुँ भन्छन् । हुँ भनेर के गर्नु, गाउँकाले होस् भने पो, कसैले एक कौडीको गन्ने होइन ।

होइन, यो गाउँ किन यसरी बिग्रेको, बिग्रिने तेरा बामात्रै होइनन्, अरू पनि छन् थुप्रै । बजारमा थुप्रियो, गफ गो‌द्यो, किरिमबोट हान्यो, चुरुट तान्यो, पार्टीका कुरा गर्यो । मर्यो छोरी मर्यो, गाउँ त भुतुक्कै मर्यो । मर्यो भन्दा पो सम्झे, त्यो रातमाटेको पाटीमा बस्ने धर्मात्मा साधुनी थिई नि लाटी, त्यसलाई त गाउँकै कुन कुन केटाले नराम्रो काम गरेर घाँटी थिचेर आम्मै सम्झ्यो भने पनि आङ जिरिङ्ग हुन्छ । भाङ धतुरो खाने हुल्या केटाहरूले तेस्तो गऱ्या भन्छन् ।

कस्तो आयो आयो बाबै, यो गाउँमा त पर्जातन्त्र पनि ।

०००
लाठीचार्ज, (२०६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x