पदम भण्डारीअपराधको वैधानिकीरण गरौँ
अब चोरी, डकैती, गुण्डागर्दी, बलात्कारजस्ता अपराधहरुको वैधानिकीकरण गरौं, समाजका लागि गम्भीर खतरा हुने विषयहरुलाई कानुन बनाएर व्यवस्थित गरौं । बिरोध गर्नेहरुले गर्दै गर्छन्, कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ ।

पदम भण्डारी :
समाजका लागि शान्ति, स्थायित्व र नैतिकता अत्यावश्यक तत्वहरु हुन् भन्नेहरु मुर्ख हुन् । कानूनी संरचनाहरु नैतिक मूल्यहरुको रक्षा गर्न र समाजलाई सभ्यतातर्फ लैजानका लागि विकास गरिएका हुन्छन् भन्नेहरु झनै पटमुर्ख हुन् । प्रजातन्त्रमा जसले जे सक्यो त्यहि गर्ने हो । रुप हुनेले रुप बेच्ने हो, धन बेच्नेले धन बेच्ने हो, पाखुरा हुनेले पाखुरा बेच्ने हो यौवन हुनेले यौवन बेच्ने हो, वाकपटुता हुनेहरुले भाषण बेच्ने हो, किसानहरुले अनाज बेच्ने हो । अहिले पनि समाजमा यी कुराहरु भैराखेका छन् । यसलाई नियन्त्रण गर्नुभन्दा कानुन बनाएर व्यवस्थित गर्नुपर्छ । यदि कुनै पनि व्यक्तिले चोरी, डकैती, बलात्कार, गुण्डागर्दी, यौन व्यवसाय इत्यादिलाई कानूनी मान्यता दिइयो भने समाजलाई व्यवस्थित गर्न सकिन्छ सरकारलाई पनि राजस्व आम्दानी हुन्छ । सबै व्यवस्थित भएपछि समाजमा अराजकता पनि कम हुन्छ, कुनै खतरा हुँदैन ।
त्यसैले नेपालमा यौन व्यवसायलाई वैध बनाउने विषयमा संसदमा बहस उठाइएको छ । केही सांसदहरुले तर्क गरे कि यसलाई वैधानिक बनाउनाले कर प्रणालीलाई व्यवस्थित गर्न, श्रम अधिकार सुनिश्चित गर्न र अपराध नियन्त्रण गर्न सकिन्छ । जसले यसको बिरोध गरे तिनीहरु खराब सांसद हुन् । समाजमा जुन अपराध भैरहेको छ त्यसको वैधानिकीकरणको सम्भावित सकारात्मक प्रभावहरुको बारेमा नबुझेर हो ।
कानून समाजमा न्याय, सुरक्षा र निष्पक्षता सुनिश्चित गर्नका लागि बनाइन्छ। त्यसैले यदि बलात्कार, गुण्डागर्दी, चोरी, डकैतीजस्ता अपराधहरुलाई वैध मान्ने अवधारणा लागू गरियो भने समाजमा कानूनी शासनको शुरुवात हुनेछ, कानूनको पालना गराउने संयन्त्र सक्रिय बन्नेछ। न्यायप्रणालीको सफलता देखिनेछ, अपराधीकरणलाई संरक्षण दिन खोज्ने सोंचले अन्यायलाई प्रश्रय दिनेछैन् । समाजले उसलाई राम्री चिन्नेछ । नैतिक मान्यताहरुको बिजारोपण हुनेछः अपराधलाई सामान्यीकरण गर्ने प्रवृत्तिले सामाजिक संरचना बलियो हुन्छ । समाजमा आर्थिक स्थिरता हुनेछ, व्यवसायहरु सुरक्षित बनाउने र लगानीकर्ता आकर्षित हुने अवस्था सिर्जना हुनेछ । महिला र कमजोर वर्गमाथि न्याय हुनेछ, यदि बलात्कारलाई वैध बनाइयो भने महिलाहरुको सुरक्षाको ग्यारेन्टी हुनेछ । अतः अपराधलाई वैध बनाउनु भनेको समस्याको समाधान हो, अझ बढी सामाजिक सन्तुलन सिर्जना गर्ने काम हो।
नेपालको कानूनी व्यवस्थाअनुसार यौन व्यवसाय गैरकानूनी छ। यद्यपि, यौन व्यवसाय विभिन्न क्षेत्रमा गोप्य रुपमा सञ्चालन भइरहेको छ। हालै नेपालमा केही सांसदहरुले संसदमा यौन व्यवसायलाई वैध बनाउने प्रस्ताव राखेका थिए । यदि यो पेशाले वैधता पायो भने सबैभन्दा पहिले ती सांसद महोदयले आफ्नी आमा, श्रीमति, दिदी, बैनी, छोरी, बुहारीलाई यौन पेशामा लगाउन प्रेरित गर्न सक्थे । त्यसले उनको घरको आर्थिक स्थिति सुध्रने थियो । आर्थिक स्थिति बलियो भएपछि झोले कार्यकर्ता, चुल्ठे, मुद्रे, मुसुण्डे पालेर फेरि चुनाब जित्न सजिलो हुन्थ्यो ।
नेपालको संसदमा यौन व्यवसायलाई कानूनी बनाउने तर्क राख्ने सांसदले राजस्व वृद्धिका लागि यौन व्यवसायबाट कर संकलन गर्न सकिने, यौनकर्मीहरुको स्वास्थ्य तथा अधिकार सुरक्षित गर्न सकिने, मानव बेचबिखन न्यूनीकरण हुने, गैरकानूनी मानव तस्करी रोक्न सकिने कति राम्रो तर्क पेश गरेका थिए । अरुहरुले कुरै नबुझि बिरोध गरे । सामाजिक मूल्यको ह्रास हुन्छ, यो नेपालका धार्मिक तथा सांस्कृतिक मूल्यविपरीत हुन्छ, मानव तस्करीको वृद्धि हुन्छ, नियमनको नाममा दलालहरु अझ सक्रिय हुन्छन्, नैतिक तथा पारिवारिक विघटन हुन्छ, परिवार प्रणाली कमजोर हुन्छ जस्ता कुतर्कहरु पेश गरेर बिरोध गरे । ती सांसदहरु बिकास विरोधी हुन्, समाजलाई व्यवस्थित गर्न नखोज्नेहरु हुन्, नकारात्कम सोंच भएकाहरु हुन् । तिनीहरुले यो विषयमा थप अनुसन्धान नगरि बिरोधको नाममा बिरोध गरेका हुन् ।
यौन व्यवसाय वैध गर्दा समाजमा कानूनी शासनको शुरुवात हुन्छ । कुनै पनि देश कानूनी शासनद्वारा सञ्चालित हुन्छ। यदि सरकारले सामाजमा भैरहेको अपराधलाई कानूनी रुपमा ब्यवस्थित नगर्ने हो भने त्यसले सम्पूर्ण न्याय प्रणालीलाई नै कमजोर बनाउनेछ। अपराधीहरु निर्भय भएर अपराध गर्न थाल्नेछन्, जसले गर्दा कानूनको अस्तित्व नै संकटमा पर्नेछ । नैतिकता समाजको मेरुदण्ड हो। अपराधलाई वैध बनाएपछि युवा पुस्ता गलत मार्गतर्फ आकर्षित हुँदैनन् । यो अपराध होइन भनेर सामान्य मान्न थाल्छन् जसले समाजको मूलभूत संरचना खण्डित नभई झण बलियो हुन्छ ।
यौन व्यवसायमात्र होइन यदि चोरी, डकैती जस्ता कार्यलाई वैध बनाइयो भने, बैंक तथा वित्तीय संस्थाहरुको मनोमानी कम हुन्छ । दीर्घकालीन रुपमा यो राष्ट्रको आर्थिक स्थायित्वका लागि राम्रो साबित हुनेछ।
अहिले समाजमा बलात्कारका घटनाहरु घटिरहेका छन् । यदि बलात्कारलाई वैध बनाइयो भने महिलाहरुको सुरक्षा हुन्छ उनीहरुमाथि यौन दुराचार कम हुन्छ । यसले यौन शोषणको दर घट्नेछ, बालबालिकाहरु समेत शोषणको शिकार बन्ने सम्भावना कम हुनेछ । केही देशहरुले यौन व्यवसायलाई कानूनी मान्यता दिएका छन् । तर, यसको सकारात्मक प्रभावभन्दा नकारात्मक प्रभावहरु बढी प्रचार प्रसार भैराखेको छ । नेदरल्याण्ड्स, जर्मनी, नर्वे, भारत आदि मुलुकहरुमा यौन व्यवसायलाई वैध बनाइएको छ । हेर्नुहोस् न ती देशहरु कति आर्थिक रुपमा सम्पन्न छन् । ती देशहरुमा हाम्रो जस्तो मुलुकले मानव तस्करी गरेर आर्थिक आर्जन गरिरहेका छौं । अब यहिं वैधता भयो भने मानव तस्करीको दीर्घकालीन समाधान हुनेछ । मेक्सिकोमा केही राज्यहरुले लागू औषधको प्रयोगलाई वैधता प्रदान गरे । परिणामस्वरुप लागू औषध तस्करी व्यवस्थित बन्ये । तस्करी गर्नेहरुले पनि मजाले यो पेशा गर्न पाएकोले देशमा राजस्व बढेको छ । यसले देखाउँछ कि गलत कामलाई नीति बनाएर लागू गर्दा समस्या समाधान हुन्छ ।
यौन व्यवसाय तथा अन्य आपराधिक गतिविधिहरुलाई कानूनी मान्यता दिंदा सरकारले शिक्षा र जनचेतना कार्यक्रमहरु संचालन गर्ने, न्याय प्रणालीलाई प्रभावकारी बनाउने, यौनकर्मीहरुको पुनःस्थापना कार्यक्रम ल्याउने, मानव बेचबिखन तथा हिंसाविरुद्ध कडा नीति अपनाउने केहि पनि गर्नु पर्दैन । त्यसपछि त के चाहियो र हाम्रो समाज राम-राज्यजस्तै समाज हुनेछ ।
झोले कार्यकर्तालाई टिकाउने राजनीतिक रणनीति भनेको अपराधलाई वैधानिकता दिनु हो । यदि कुनै पनि राजनीतिक दलले अपराधको वैधानिकीकरण गरेर झोले कार्यकर्ताहरु टिकाइ राख्छ भने त्यो पार्टी सबैभन्दा ठूलो हुन्छ । अहिले झोले कार्यकर्ताले जुन असामाजिक गतिविधिहरु गरिराखेका छन्, त्यसलाई वैधता दियो भने त्यो राजनीतिक दलको प्रभाव बढ्छ र देश स्थिरतातर्फ जानेछ ।
त्यसैले यौन व्यवसायलाईमात्र होइन अब चोरी, डकैती, गुण्डागर्दी, बलात्कारजस्ता अपराधहरुको वैधानिकीकरण गरौं, समाजका लागि गम्भीर खतरा हुने विषयहरुलाई कानुन बनाएर व्यवस्थित गरौं । बिरोध गर्नेहरुले गर्दै गर्छन्, कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ । जसले बिरोध गरेका छन्, तिनीहरुले कानूनी संरचनालाई कमजोर बनाउने, नैतिक मूल्यहरुलाई ध्वस्त पार्ने र नागरिक सुरक्षामा ठूला चुनौतीहरु निम्त्याउने खेल खेलेका हुन् । कानुनी राज्यको परिकल्पना तिनीहरुको बुतोभन्दा बाहिरको कुरा हो ।
कुनै पनि सभ्य समाजले यस्तो नीतिलाई स्वीकार गर्छ । नेपालको सन्दर्भमा, यौन व्यवसायको वैधानिकीकरणबारे गहिरो छलफल आवश्यक नै छैन । हाम्रा सांसद विद्वान हुन्, उनलाई हामीले जिताएर सांसद बनाएर पठाएका हौं । जनताको भलो बाहेक उनले अरु कुनै कुरा सोंच्नै सक्दैनन् । उनले सामाजिक, नैतिक, कानूनी तथा आर्थिक प्रभावको विस्तृत अनुसन्धान र मूल्याङ्कन गरेर भनेका हुन् ।
आजबाटै यौन व्यवसायमात्र हैन, बलात्कार, गुण्डागर्दी, चोरी, डकैतीजस्ता अपराधहरुलाई वैध मान्ने अवधारणा लागू गरौं, सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन, नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर पठाउन, मान्छेलाई जिउँदै ईंट्टाभट्टामा हालेर पोल्न, भ्रष्टाचारीहरुले लुटेको धनलाई राजनीतिक दललाई चन्दाका नाममा नगद तथा जिन्सी उपहारस्वरुप लेनदेन गर्न कानुन नै बनाएर व्यवस्थित गरौं, हाम्रो विकास र भविश्य त्यसैमा सुनिश्चित छ ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































