मोहनराज शर्मामानवताको राष्ट्रिय परीक्षा
त्यहाँ लेखिएको थियो “मानवता सुधारगृहमा यहाँलाई स्वागत छ, यहाँ तपाईँलाई जीवबाट मानव बन्ने अवसर प्राप्त हुनेछ । तसर्थ मोबाइल, स्मार्ट घडी तथा अहँकार र तर्कवितर्क बाहिरै राखेर आउनुहोला ।”

प्रमोद गिरी :
टाढा कुनै एक देश थियो राष्ट्रपुर । त्यस देशका जनतामा मानवता हराएको भान हुन थालेको वषौँ भएको थियो ।
एक पटक त्यस देशको सरकारको ‘असामान्य बुद्धि मन्त्रालय’ ले एउटा एतिहासिक निर्णय गरेर ‘मानवताको राष्ट्रिय परीक्षा’ घोषणा भयो । हरेक बालिग नागरिकले सो परीक्षाको लागि निःशुल्क आवेदन दिन उर्दी जारी गरियो । यदि कसैले कुनै विशेष परिस्थिति वाहेक सो परीक्षामा सम्मिलित नभएको पाइएमा रु. पचास हजार जरिवाना र एक वर्ष जेल सजाय हुने घोषणा पनि भयो साथै जेलबाट रिहा भइसकेपछि मानवताको परीक्षा दिनुपर्ने नियम पारित भयो ।
उत्कृष्ट हुने परीक्षार्थीहरुलाई आकर्षक पुरस्कारको पनि घोषणा गरियो भने उत्तिर्ण हुनेजति सबैले नागरिकताको विकल्पको रुपमा ‘मानवता प्रमाणीकरणको परिचयपत्र’ पाउने अनि फेल हुनेलाई भने मानवता सुधारगृहमा परीक्षाको नतिजाको आधारमा फरक फरक अवधिका लागि पठाउने साथै सुधारगृहबाट बाहिरिएपछि पुनः परीक्षा दिनुपर्ने निर्णय भयो ।
योजना अनुरुप नै लिखित तथा प्रयोगात्मक परीक्षा निर्धारित समयमै सम्पन्न भयो ।
उक्त परीक्षा दिनेमा एकजना नागरिक बुद्धिराम पनि थिए । उनि विभिन्नसामाजिक सञ्जालमा सकृय थिए । उमेरले भर्खर पच्चिस टेकेका बुद्धिरामको सामाजिक सञ्जालका खाताहरुमध्ये कुनैमा बाईस हजार फलोअर थिए भने कुनैमा बत्तिस हजार । उनले पोष्ट गरेका सामग्रीहरुमा पनि तुरुन्तै सकारात्मक प्रतिक्रीयाको लाम नै लाग्ने गर्थ्यो ।
निर्धारित समयमा परीक्षा शुरु भयो । बुद्धिराम पनि परीक्षा हलभित्र थिए । बुद्धिरामले दिएको उत्तर तल उल्लेख गरिएको छ ।
१) तपाईँ आफ्नो जन्मदिनमा दिनको शुरुवात कसरी गर्नुहुन्छ ?
क) विहान स्नानादिपछि मन्दिरमा दर्शन गरेर ।
ख) दान–पूण्यादि कार्य गरेर ।
ग) सामाजिक सञ्जालमा आफ्नो जन्मदिनबारे अरुलाई जानकारी दिएर ।
घ) साँझको ककटेल पार्टिको तयारी गरेर ।
बुद्धिरामको जबाफ– ग)
२) सामाजिक सञ्जालमा तपाईँलाई कसैको विचार मन नपरे के गर्नुहुन्छ ?
क) मौन रहनुहुन्छ ।
ख) उसलाई ब्लक गर्नुहुन्छ ।
ग) आफ्नो तर्क सञ्जालमा पेश गर्नुहुन्छ ।
घ) उसको तस्वीर एडिट गरेर ट्रोल बनाएर उसलाई बदनाम गर्नुहुन्छ ।
बुद्धिरामको जबाफ– घ)
३) तपाईँको विचारमा सत्य केलाई भन्ने ?
क) जुन कुराले बजारको माहोल तताउँछ त्यसैलाई सत्य भन्ने ।
ख) तपाईँको विचारलाई जुन कुराले समर्थन गर्छ त्यहि सत्य हो ।
ग) प्रामाणिक कुरालाई ।
घ) जुन कुरा तपाईँलाई मन पर्छ त्यो नै सत्य हो ।
बुद्धिरामको जबाफ– क) (उनले अरु विकल्प पढ्दै पढेनन्)
सय वटै प्रश्नमा बुद्धिरामको जबाफ यस्तै थियो ।
केहि दिनपछि परीक्षाफल प्रकाशित भयो । बुद्धिराम भने उत्तिर्ण हुने कुरामा ढुक्क देखिन्थे अनि अनलाईनमा नतिजा हेर्न आफ्नो ल्यापटप खोलेर बसे । तर बुद्धिरामको नतिजामा रातो अक्षरले ‘अनुत्तिर्ण’ लेखिएको थियो । उनले पचासौँ पटक अनलाईनमा नतिजा खोलेर हेरे, तर कहिल्यै उत्तिर्ण लेखेको देखेनन् । अनि उनले परीक्षामा धाँधली भएको भनेर दुई पेजको पोष्ट टाईप गर्न थाले । पोष्ट पूरा हुनैलागेको थियो, उनको ढोकामा घण्टी बज्यो । ढोका खोली हेर्दा मानवता सुधारगृहका कर्मचारीहरु उनलाई लिन आएका रहेछन् । सामाजिक सञ्जालमा पोष्ट गर्न नपाउँदै उनि सुधारगृहमा जाने भए, झोला बोकेर ।
उनलाई सुधारगृह पुर्याइयो । मूलगेटबाट भित्र पसेपछि मोटरबाट ओह्रालियो । त्यहाँ मानवता सुधारगृहको साइनबोर्डको मुनी अर्को बोर्डमा उनका आँखा पुगे । त्यहाँ लेखिएको थियो “मानवता सुधारगृहमा यहाँलाई स्वागत छ, यहाँ तपाईँलाई जीवबाट मानव बन्ने अवसर प्राप्त हुनेछ । तसर्थ मोबाइल, स्मार्ट घडी तथा अहँकार र तर्कवितर्क बाहिरै राखेर आउनुहोला ।”
दोश्रो दिनबाट उनको कक्षा शुरु भयो ।
प्रशिक्षक : बुद्धिरामजी, तपाईँ मानव बन्न मनदेखि नै प्रतिवद्ध हुनुहुन्छ ?
बुद्धिराम : छु सर । तर पहिला म मोबाईल अन गर्न चाहन्छु , सामाजिक सञ्जालमा मेरो एउटा जरुरी पोष्ट गर्न बाँकी छ ।
प्रशिक्षक : मोबाईल होइन, तपाईँको मन अन गर्नुहोस्, मोबाईल त छ महिनापछि अन गर्न पाउनु नै हुनेछ ।
प्रशिक्षण प्रत्येक दिन नियमितमा चल्दै गयो । करीव एक वर्ष त्यो मानवता सुधारगृहको बसाईपछि बुद्धिराम जब बाहिर आए, उनी संपूर्ण रुपमा बदलिइसकेका थिए ।
अब उनी सामाजिक सञ्जालमा कुनै समाचार देख्नासाथ शेयर गर्दैनन् , बरु त्यसको सत्यताको पूष्टि भएपछि मात्र शेयर गर्छन् । कुनै नारीवादी पोष्ट देखेभने त्यसको समर्थनमा सम्मानपूर्ण भाषामा प्रतिक्रीया दिन्छन् । कसैको पोष्ट मन नपरेको खण्डमा त्यस व्यक्तिलाई सामाजिक सञ्जालमा गाली गर्नुभन्दा त्यस्ता व्यक्तिलाई ब्लक गर्दछन् । कस्तो पोष्टमा कस्तो रियाक्ट गर्ने उनि राम्ररी जान्दछन् ।
आज उनको ‘मानवताको राष्ट्रिय परीक्षा’ को पुनः परीक्षाको दिन हो । उनि समयमै परीक्षा हलमा प्रवेश गरेर परीक्षा दिनका लागि तयार छन् । केहिबेरमै परीक्षा शुरु हुँदैछ ।
०००
हाँडिगाउँ, काठमाण्डौँ ।
Subscribe
Login
0 Comments
Oldest






































