साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो घरमा नागपूजा

अक्षता, सुपारी, दुबो र सिक्का नागको चित्रको बीच सिरानमा पर्ने गरी चाँजोपाँजो मिलाएर गोबरकै सहयोगले टाँसेपछि विधि विधानपूर्वक धमाकेदार नागपूजा सम्पन्न गर्न सकेकोमा मैले आफ्नो नाक घिरौँलाजत्रो भएको महसुस गरेँ।

Nepal Telecom ad

युगल बसेल :

नागलाई नाक बुझेर कसैलाई त यो लठुवाले ठुलै नाकको पूजा गर्न लाग्यो कि भन्ने पनि पर्ला । चुच्चे नाकको पूजा होला कि थेप्चे नाकको होला, घिरौँले कि फुरौले नाकको पूजा होला भन्ने खुलदुली पनि सँगसँगै पाठकको गिदीमा नसलबलाउला भन्न सकिन्नँ।

नाकपूजा होइन, नागपूजा हो भन्ने कुरो खुलस्त भएपछि भने मुलुक र जनतालाई डस्ने विषालु नागहरूको पूजा पो यस अकिञ्चन लेखुवाले गर्न लागेको हो कि भन्ने अनुमान पनि पाठकले गर्न सक्नुहुन्छ र मैले नकाम गर्न लागेको ठहर गर्दै धारे हात पनि लगाउन सक्नुहुन्छ ।

प्रसङ्ग यहाँ देश वा देशवासीलाई डस्ने नागको नभएर साउन सुदीको पञ्चमी तिथिका दिन मेरो घरमा सम्पन्न गरिएको नागपूजाको हो । नागपञ्चमीको दिन बिहानै “आज त तिम्रो विशेष दिन, शुभकामना छ है” भनेर श्रीमतीजीलाई के शुभेच्छा टक्र्याएको थिएँ, फणा फिँजारेकी कडा नागिन बनेर झन्डै उनले मलाई डसिनन् । पछि माफी पाउँ भनेर कान समात्दै सात पटक उठबस गरेपछि भने म उनको डसाइबाट उम्कन सफल भएको थिएँ अनि मात्र नागपूजा गर्ने दिशामा आफ्ना अग्रगामी पाइला बढाएको थिएँ ।

मेरा बाजे पण्डित र बुबा चाहिँ पुरेत भएकाले मेरो बाजेले घिउ भात खाए मेरा हात सुँघ सुँघ भनेझैँ गरेर म आफूलाई चमत्कार देखाएर नमस्कार पाउने हकदार र उम्दा दक्षिणा पाउने उम्मेदवार ठान्छु । एकातिर सुका मोहर झर्ला त कान्छो बाबु मर्ला भन्ने खालको उच्च कोटिको किरन्टोकी भएको अर्कोतिर तँ जजमान म बाहुन , घरका पैसा कहिँ नजाऊन् भन्ने महामन्त्रको बेहद ज्ञाता भएकोले मैले मेरो घरमा नाग टाँस्न अरू बाहुन बाजेलाई निषेध गरेँ अनि आफै नागपूजा गर्न तम्सिएँ । यस हल्लुँडेले कस्तो नागपूजा गरे होला भन्ने तपाईंको मनमा खसखस पैदा भयो होला। नआत्तिनुहोस् ,म मेरै जुवानी, आफ्नै कहानी रिठ्ठो नबिराई तपाईँलाई इतिवृति सुनाउँदैछु ।

एक जुवाली माथि घाम आएपछि म सरजाम ठिक्क पारेर नागपूजा गर्नलाई तमतयार भएँ। पूजा गर्ने ठाउँमा राता सेता धजा बाँध्दै थिएँ, माइलो भाइ दिग्गज जान्ने सुन्ने हुँदै बकिहाल्यो -“रातो नाना र तातो खाना नागपूजाका लागि प्रयोग गर्यो भने त नाग देवता भाग्छन् रे नि त, दाइ।”

हिजोको फुल, आजको चल्ल जान्ने पल्टेको देखेर मेरो कम्पारो तातिहाल्यो अनि म बम्की हालेँ- “पढ्ने बेलामा गुच्चा खेलेर सात पल्ट परीक्षामा गुल्टाङ खाएको मान्छेले मलाई सिकाउने ? नाग भागे के भो त, बेसै त भो नि । नागलाई घरभित्र ओछ्यानमा सुताएर राख्ने हो र ? कुचाले बढार्ने घुर हावाले नै उडाइदियो भने के चाहियो त ?”

मेरो मापाको माइलो भाइले मेरो खप्की के पचाउन सक्थ्यो र । ऊ पनि गडेको मुर्दा उधिन्दै गर्जिहाल्यो- “´तपाईँ पनि कुन ड्याङको मुला हो र ? आरनेकी ठुली छोरीसँग खोल्सा खोल्सा कुदेर जन्तरमन्तर गरेको हामीले बिर्सेका छौँ र ?”

अब माइलाको मुखमुखै लागेर खैरियत छैन भन्ने बुझेर उसले लगाएको इलजाम को खण्डन गर्नतिर लाग्नु भन्दा सुनेको नसुनै गरेर टार्नु नै मनासिब ठहर गरेँ। अनि त म पूजाको लागि मगन भएको भान पार्दै विधिविधानपूर्वक नागपूजा गर्न तम्सिएँ । शिरपोस र पाउपोस दुवै नफुकाली पूजा गर्न तम्सिएको देखेर श्रीमतीले टोकसिन्- “खुरुक्क पहिले टोपी र जुत्ता फुकाल्नुस् । जेठा मामाको त भाङ्ग्राको धोती ,कान्छा मामाको झन् कुन गति भनेझैँ जेठो बाठो भनाउँदोले यस्तो दशा देखाएपछि भाइ छोराहरूको झन् के दशा होला ?”

आज्ञाकारी बालकले झैँ श्रीमतीको हुकुमबमोजिम मैले टोपी र जुत्ता फुकालेँ अनि पूजा गर्न अग्रसर भएँ । कुनै मन्त्रसन्त्र वाचन नगरी फूल अक्षता मात्रै चढाएको देखेर श्रीमतीले फेरि टोकिन्- “पण्डितको नाति ,पुरेतको छोरा भएर पनि कुनै मन्त्र स्तोत्र नै नभनी कस्तो पूजा गरेको ?”

मैले हिङ नभए पनि हिङ बाँधेको टालो त छ नि भन्ने आफ्नो गौरवमय इतिहासलाई मनन गर्दै सहसा प्राथमिक विद्यालयमा प्रार्थनाको बेलाको लागि घोकेको सरस्वतीको स्तोत्र सम्झेँ अनि फलाकेँ- “सरस्वती मया दृष्ट्वा विणा पुस्तक धारिणी…. त्वमेव माता च पिता त्वमेव … ।” सँगसँगै मैले दशैंमा टीका थाप्दा मान्यजनबाट सुनेको शलोक- आयु द्रोण सुते श्रियं दशरथे… को पनि जोडजोडले उच्चारण गरेँ अनि मनमनै आफ्नो स्मरणशक्ति बेजोड छ भनेर आफ्नो तारिफ आफै गरेँ। अरू त कसले पो मेरो तारिफ गरिदिन्थ्यो र !

मेरो मन्त्र पाठ सुनेर पल्लाघरे काकालाई काउकुती लागेर खपिनसक्नु भएछ क्यारे , हत्केलाले चोसो थुनेर हाँसोको खित्कालाई दबाएको मैले प्रष्टै देखेँ । यता मेरा भाइ छोरा र श्रीमती भने मन्त्र स्तोत्रमाथिको मेरो पकड देखेर मन्त्रमुग्ध भएर मेरो काबिलियतको मनमनै तारिफ गरेको संकेत पनि सँगसँगै मैले महसुस गरेँ।

यसपछि बेला भयो गोबरको कुण्डमा दूध र लावा चढाउने। अब दायाँ कुण्डमा दूध चढाउने कि लावा चढाउने भन्ने दुविधा मेरो अगाडि तेर्सियो। मेरो चमत्कारी दिमागले वामपन्थीहरू सत्तामा प्रधानाताका साथ विराजमान भएको बेला भएकोले बायाँ कुण्डमै दूध चढाउनु तर्कसंगत एकल निर्णय गर्योए तर त्यति नै बेला छोराले मुद्दा उठायो- “सर्पले दुध पिएको कहिल्यै देखिएको छैन बरु मुसा खाएको देखिएको छ। त्यसैले दूध होइन अब मुसा चढाऊँ। आजै मुसेरीमा बल्झिएको ताजा मुसा छँदैछ।”

उसको प्रस्ताव नाजायज त थिएन तर बाउबाजेले नगरेको काम क्रान्तिकारी छलाङका साथ एकैचोटि गर्ने हिम्मत मलाई आएन। त्यसैले मैले उसको प्रस्ताव ससम्मान अस्वीकार गरेँ । त्यसै बेला मेरो दिमागमा फेरि गजबको बेजोड जुक्ति फुरिहाल्यो- मानव देहको दायाँबायाँ दुवै खण्डमै दूधका स्रोत स्तन हुने हुनाले दुवै कुण्डमा दूध अर्पण गर्नु प्राकृतिक र युक्तिसंगत हुन आउँछ । फुरेको जुक्तिअनुसार मैले दुवै कुण्डमा शुद्ध जल मिसिएको खाँटी दुध चढाएर पूजास्थल र नागको चित्रमा यत्रतत्र लावा छर्किदिएँ। सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने गजबको काइदा अपनाउन सकेकोमा मैले आफूलाई धन्य ठानेँ ।

यसैबेला छापाखानामा मुद्रित नागको चित्रको सिरानमा लेखिएको- अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च … अनन्तो वासुकी पद्म…. भन्ने पंक्तिहरूमा मेरो नजर पर्यो । अघि मन्त्रपाठ गर्दा यी पंक्ति पनि वाचन गरेको भए मेरो पूजाकौशल थप प्रभावकारी हुन्थ्यो भन्ने मैले ठहर गरेँ । यस्तो मौका गुमाएर अपूरणीय क्षति व्यहोरेकोमा भने म मनमनै थकथकाएँ, पछुताएँ ।

यसपछि मैले धुप सल्काएँ, घन्टी बजाएँ र हिन्दी भाषाको प्रसिद्ध आरती- ओम जय जगदीश हरे पनि घोक्रो सुक्ने गरी जोड जोडले गाएँ । घरको मूलढोका नजिकैको भित्तामा गोबर, धजा, अक्षता, सुपारी, दुबो र सिक्का नागको चित्रको बीच सिरानमा पर्ने गरी चाँजोपाँजो मिलाएर गोबरकै सहयोगले टाँसेपछि विधि विधानपूर्वक धमाकेदार नागपूजा सम्पन्न गर्न सकेकोमा मैले आफ्नो नाक घिरौँलाजत्रो भएको महसुस गरेँ। घरपरिवारका सदस्यले पनि मेरो घिरौँले नाकलाई सम्मानपूर्वक नियालिरहेको महसुस गरेपछि त म भुइँ न भाँडामा भएँ ।

०००
सन्धिखर्क

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
राम प्रवेश
राम प्रवेश
8 months ago

धन्यवाद मित्र ।तपाईंको नाग पुजालाई अरु आफन्त होच्चा अग्ला लामा छोटा,सिकुटेडल्ले,जुन जस्तोले अवमूल्यन ,पुनर्मुल्यन,अधिकमुल्यन जेजस्तो गरेपनि तपाई आफ्नो लौका जस्तो नाकलाई घिरौला सित दाजेर प्रतिस्पर्धा गराउनु भएको हुँदा पाठकलाई आफ्नो नाकको मापन गर्न तर्फ ध्यानाकर्षण गराएको जस्तो लाग्यो ।

युगल बसेल
युगल बसेल
8 months ago

🙏

Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
2
0
Would love your thoughts, please comment.x
()
x