शेषराज भट्टराईआकस्मिक आन्दोलन
दुनियाँ नेपालीको गणतन्त्रे सरकारप्रति गर्वले हौसिएको छाती नराम्ररी खुम्चियो । सायद यही रहेछ, जनताले भोग्नुपर्ने भूपरिवेष्टित भूमिको नैवेद्य सारा नेपालीले ग्रहण गरेका छन् ।

शेषराज भट्टराई :
आकस्मिक जम्काभेट, आकस्मिक बैठक, आकस्मिक आन्दोलन एउटै ड्याङका मूला हुन् । अन्य आन्दोलनहरू पूर्वसूचना तथा चेतावनी दिएर सुरु हुन्छ भने आकस्मिक आन्दोलन अकस्मातै सुरु हुन्छ । कसैलाई सूचना दिएर सुसूचित गराउने झन्झट यसले व्यहोर्दैन । अन्य आन्दोलनको तुलनामा यस्ता आन्दोलनलाई हल्का रूपले लिनुहुँदैन । हलुका रूपले लियो भने यस्तो आन्दोलनले तहल्का मच्चाउन पनि सक्छ । त्यसैले होला यस्ता कठोर तथा जटिल आन्दोलनहरू व्यवहारमा उत्रिन सकेको छैन । तथापि चरम कष्टकर जीवनयापनको दौरानमा आतङ्ककारीले भै अकस्मात् शिर उठाउन सक्छ ।
आकस्मिक आन्दोलन अलिक कठोर कर्कश र क्लिष्ट हुन्छ । मन्त्रिपरिषद्को आकस्मिक जमघटबाट अपर्झट मूल्य उचालियो भने कर्मचारी, ब्रह्मचारी र कृषक नराम्ररी यचारिन्छन् । यसरी थचारिंदा लुप्त सुषुप्त अवस्थामा रहेको चैतन्य धरातलको ढोका उग्रिदा काम बिग्रिन र पीडित जनावरहरूले सडक ढाक्न र अतिचारीलाई डाक्न सक्छन् भने होस्टेमा हैसे गर्ने आकस्मिक आन्दोलनकारीको तपसीलका मागहरू जायज र अपरिहार्य पनि हुनसक्छन् ।
आन्दोलन विधिवत् आरम्भ र विधिवत् विसर्जन भएको पाइँदैन नानाभाँतीका कार्यक्रमहरूमा मन्त्री तथा सरकारप्रमुखले मुसाले वस्त्र काटेझै खुलेआम रिवन काटेर उद्घाटन गरिराखेका हुन्छन्, तर आन्दोलनको उद्घाटन मन्त्री तथा सरकार प्रमुखबाट नगराउनुको हेलचेक्रयाइँलाई मैले अपसगुनको रूपमा लिएको छु ।
आकस्मिक आन्दोलन हाम्रो कालखण्डको भन्दा पनि अनिकालखण्डको ऐतिहासिक र अपत्यारिलो आन्दोलन हो । यस्तो अपूर्व आन्दोलनबाट अबोध जनतादेखि उम्रिदैका तीनपाते सरकारसमेत लाभान्वित हुने कुरामा दुईमत नहोला ।
सरकारले मन्त्रिपरिषद् गठन गरेपछि प्रमुख आन्दोलनकारीले पनि आकस्मिक तथा नियमित आन्दोलनकारीको गठन तथा पुनर्गठन गरेर हर्दम आन्दोलन गरिराख्न जारीराख्नु नै आफ्नो धर्म ठान्नुपर्छ । जसरी सरकारले नानाथरीका देशव्यापी काममा अल्झिराख्छ, उसै गरी आकस्मिक आन्दोलनकारीले पनि वारिपारि हर्दम विभिन्न वाहना गरी नानाभाँतीका राष्ट्रिय आन्दोलनको ताँती जारी राख्नु अहो ! बद्धिमानी हनेछ । यसो गर्नलि निदाएको सरकार झस्किन, खस्किन वा मस्किन र ब्यूँझन सक्छ । तब पो जागेपछि केहीं सिन्को भाँचिन्छ कि भनेर आश गर्न मिल्छ नत्र के नाकले आश गर्ने नि ‘स्वादे जिब्रो अल्छे तिघ्रो’ भनेझैँ ।
आजसम्म भएका जति पनि आन्दोलनहरू छन् तिनमा जति पाखुरा सुर्किए पनि औलो ठड्याउने ठाउँ छैन, तथापि पहिला विष्ट्याउने र पछि ढोका देख्ने काममात्र भएको चाहिँ अवश्य हो । सरकारले महगीको मुग्रो जनताको थाप्लामा बजार्छ, तब असरहीन एवं कदरहीन हलुका आन्दोलनको फेहरिस्त प्रतिपक्षबाट जेनतेन तयार गरिन्छ । जसले सरकारको रौं पनि हल्लिँदैन । कोणसभा होस् वा त्रिकोणसभा, कालोपट्टि बाँधून् या रातोपट्टी, सुख्खा नारा जुलुस होस् या मसाल जुलुस, क्षणिक बत्ती निभाऊन् या बालुन्, सरकार प्रमुखलाई विरोधपत्र बुझाउन या सपोटपत्र, सरकारलाई घेरून्, बेरून् वा हेरून्, टेरून्, या नटेरून् मजबूत सरकारसँगको पौठेजोरीमा यस्ता मरन्च्याँसे आन्दोलनको खासै दम हुँदैन, तथापि यस्तो आन्दोलनले महँगी घट्छ भने हुटिट्याउँले पनि सगर थाम्त कसो नसक्ला ।
त्यसैले अब आन्दोलनको पूर्ण ढाँचामा फेरबदल गर्नुपर्ने समय र सरकार को माग भएबमोजीम नै आकस्मिक आन्दोलनअन्तर्गत राष्ट्रव्यापी खाना पनि नखाने र नाना पनि नलाउने । रातोदिन नेपाल बन्दको बन्द गरेरै छाड्ने, सञ्चार सुविधामा ऐठन जारी राख्ने, प्रत्येक प्रमुख जलविद्युत् आयोजनामा गएर पूर्ण रूपले चौबीसै घण्टा लोडसेडिङको ताण्डवनृत्य प्रस्तुत गर्ने र यति गर्दा पनि माग पूरा नभए अब पैदा भएका वा जन्मिएका बालबच्चाहरू सिंहदरबारमा लगेर पूर्ण लालनपालनको लागि आजीवन जिम्मा लिन लगाउने । तदुपरान्त सरसफाइ र थाङ्ना ध्वाइमै सरकारको दिन जान्छ र पो आकस्मिक आन्दोलनदेखि घिन मान्छ र सयमा सय माग पूरा गर्छ । नत्र त उही हो ‘काग कराउँदै छ पिना सुक्दैछ ।
गुनासो सबै जायज हुन सक्दैनन् तर आफ्नो गुनासो सबैलाई जायज लाग्छ । तर सरकारले भाउ बढाउने भन्नासाथ जनताले हुन्छ भन्नुपर्ने बाध्यता छ भने ‘भाउ घटाऊ भन्दा सरकारले हुँदैन, मिल्दैन भन्ने यो कहाँको नियम हो ? रातारात सरकारले महँगी बढायो । जनतालाई खुत्रुक्कै पार्यो । सर्वसाधारणको पहुँचभित्रको मट्टीतेल एकाएक पहुँच बाहिर भयो । स्टोभमा भरर पारेर खाना पकाउने प्रमोसनमा जङ्गल र गुँइठाको शरण पर्ने पर्ने डिमोशनको बुलन्द घण्टी बज्यो । दुनियाँ नेपालीको गणतन्त्रे सरकारप्रति गर्वले हौसिएको छाती नराम्ररी खुम्चियो । सायद यही रहेछ, जनताले भोग्नुपर्ने भूपरिवेष्टित भूमिको नैवेद्य सारा नेपालीले ग्रहण गरेका छन् । फलतः सरकारको चिप्लो, चिल्लो राहत र भरोसामा महँगीको ज्वालामुखीका लाभाहरू हरनेपालीको देहमा नाच्ने गर्छन् । त्यसैले लोकलयमा आकस्मिक आन्दोलनका नाराहरू देहायबमोजिम हुने अनुमान लगाउन सकिन्छ ।
म जनता बिचरा भन्छुः तपाइँहरूले भीरमा फलेको फर्सी भन्नू ।
म जनता बलिको बोको भन्छुः तपाइँहरू पर्सि कि नपर्सि (चट्) भन्नू ।
म कमाइ सानु भन्छुः तपाइँहरू खानु छ मानु भन्नू ।
म भरिन्न आन्द्रा भन्छुः तपाइँहरू चलेको छ गानु भन्नू ।
म कमाई छ सोझो भन्छुः तपाइँहरू खै आडमा धजो भन्नू ।
म जनता ढ्याङ्ग्रो भन्छुः तपाइँहरू सरकार चैं गजो भन्नू ।
म बजा ढोले भन्छुः तपाइँहरू सबै ‘सै राजा, सै सै’, ‘सै रानी से सै’ भन्दै उफ्रिनू ।
०००
शिवशक्तिमार्ग , फूलबारी ११ पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest




































