भाेज अर्यालचर्चित हुने हैन त ?
आउनु होस् हामी पनि जेन्जीहरुले झैं फेसबुक चलाउन पाउँ भन्दै आन्दोलन गरौँ । यही हो चर्चित हुने काइदा ! माग पुरा भयो कि सबैलाइ फाइदै फाइदा ! म त चर्चित भै नै सकेँ । अब तपाइँ पनि चर्चित हुने हैन ?

भोज अर्याल :
अहिलेको जुग जमाना नै यस्तो आएको छ । कि सबै जनालाई केही न केही उखरमाउॅंलो गरेर चर्चित हुन परेकै छ । अझ भनौं सामाजिक सञ्जाल हुन कि जञ्जाल नामका पसलहरु खुले सॅंगै आफू असल हुन खोज्नेहरुको संख्या यो संसारमा ह्वात्तै बढेको छ । उता खास असलहरु कि त भूइँमा लडेका छन् । कि त ज्ञानगुनका कुरा किताबका ठेली पल्टाउँदै घरमा बसेर पढेका छन् । उनीहरु कि त किर्नो झैं टाँसिएर किताबमा नै गढेका छन् । तर मिडिया चौतारीतिर नाटक मञ्चन गर्ने दौँतरीहरुलाई चर्चा कमाउँनकै पिरलो मात्र छ । चौबिसै घण्टा अनलाइनमै झुण्डिएको छ ! गजब न छ कुरा ! मने धारिलो छुरा ! भिडियोमा आएकै छ न्यूज । बटुलेकै त छ नि गतिलो भ्यूज !
नाटकको कुरो अर्नु पर्दा उहिल्यैको जमानामा हो सायद । अंग्रेजीका साहित्येकार विल्यम शेक्सपियर बाजेले भनेका रहेछन् । कि यो संसार नै एउटा नाट्यशाला हो । मानिसहरु एक द्वारबाट मञ्चमा प्रवेश गरिवरि देखा पर्चन् । आफ्नो रोल मतलव भूमिका पुरा गरि सधैंको लागि विदा हुन्छन् । मने उनीहरु संसार छोडेर सधैको लागि परमधाम जानेकाम गर्छन्। उनको यो जीवन दर्शनलाई आजका मानिसले खुवै बुझेको छन् कि क्या हो झैं लाउँछ ! नबुझेको भए यति जाद्रो नाटक मञ्चन हुने नै थिएनन् । हामीले सुनि मात्र हैन बुनी आएकै कुरा पनि हो । मानिसहरु भन्ने गर्छन्, कि यो हाम्रो दुइ दिनको चोला । आज रमाऊँ भोलि ता के होला होला । यो सबै कसलाई पो थाहा छ र ? भए पनि भन्न पनि त कहाँ भा छ र !
पहिले पहिले आफू चर्चामा आउॅंन कै लागि मानिसहरुले पर्चा बाडेका हुन्थे । कोही व्यक्ति विशेष वा पार्टी वा धर्म कर्मवालाहरु बाटा बाटैमा चिच्चाउँदै पर्चा बितरण गर्थे । पढ्नेहरु फेरि के होला यो भनेर बडो चक्करमा पर्थे । आज भोलि हाईसन्चो छ । पर्चाको झमेलामा खर्च नगरे पनि हुन्छ । नानाभाँतीका सोसल मिडिया आएकै छन् । वाचन गर्नेदेखि गाउँनेहरु घोक्रो फुलाएर कविता पढेकै छन् । गीत पनि त गाएकै छन् । उता लाउँनेहरुले पटट ताली पनि लाएकै छन् । सामाजिक सन्जाल पनि चलेकै छन् । अनि धनी मानिहरुका घरमा चुल्हो पनि बलेकै छन्।
आज भोलि बजारमा कार मात्र बढेका छैनन् । बेकारका त नभनौ बरु कलाकार लेखक कवि तथा साहित्यकार यति धेरै बढेका छन् । मानौं कि त्यसको कुनै हिसाब किताब नै छैन । हरेक क्षत्रमा च्याउ उम्रे जस्तै भएकोले कसैलाई त झ्याउ नै लाग्दो होला । सबैतिर नयाँहरु उदाउँदा त पुरानाहरुको निद्रा नै भाग्दो होला । भनेर भन्न मन त लाग्छ तर कन्न मन लाग्दैन । किन भने म पनि नयाँ नै हुनाले आफूले आफैलाइ मया गर्नुको विकल्प नै छैन । यहा अरुले मया गर्छन भन्नु र लेखक भएर पैसा झर्छन् भन्नु उस्तै कुरा हो । लेखक हुनु त एउटा रहरको कुरा मात्र हो । कुनै कहरको कुरा भने हैन । अझ भनौं फेसबुक कि ठेस बुकतिर बिन्ती गर्दै लेख्नेहरुको कुनै गिन्ती नै छैन । जुकर्वर्ग काकाले यो फेस बुक नबनाइदिएका भए तिनेरु कहाँ गएर भट्टाउँथे होला । मानिसहरु कहिले चर्को कहिले झर्को स्वरमा बाेलेर कसरी चर्चित हुन्थे होला ? बगेको खोला ! मरिजाने चोला ।
हुन पनि यो सोसल मिड्या चलाएर कोहि ठुला वडा भए झैं गर्छन् । कोही विद्वाननै भए झैं गर्छन् । कोही हल्का रमाइलो भन्दै पोस्टाएर बस्छन् । न्वारनदेखिको वल लगाएर रमाइलो गर्ने अनि भन्दा हल्का भन्नै पर्ने ! क्या बात ! नगरौं न हो यति धेरै विश्वासघात !
कोही फोटो लगेर फेसबुक मा हाल्छन् अनि बसेर लाइक कमेन्ट गन्न थाल्छन् । फोटोको सिरान तिर हेर्यो भने क्याप्सन पनि गजबकै हुन्छ । “आज हामी यता !“ सायद भोलि उता ! पर्सि फेरि कता ? भएको जति सबै कुरा देखाउनै पर्ने । तपाइँ हामी सिधा जनता अब के गर्ने । अरुको तमासा कति दिन हेरिदिनु पर्ने !
चर्चित वा फेमस हुने अर्को काइदा हो पोष्ट सँगै ट्याग् गर्नु । हुँदो न खाँदोको कुरा पोस्ट गर्ने । दर्जनौं जनतालाई सर्लक्क ट्याग् गर्नै पर्ने ! यो भन्दा अर्को बिडम्बना अरु कुनै होला र ? जे होस् गर्नेले गरुन् । रात दिन फोन र फेसवुक मै चरुन् । यो सबै जुकर्वर्गको नासो हो ।गर्ने ले मनलाग्दी गरेकै छन् । हामीलाइ अब किन चासो भो ।
अब अरुका मात्र कुरा कति गर्नु । लाजको मर्नु । म पनि फेसबुके कवि वा लेखक नै परेँ ! बरु यहि आएको हुनाले म पनि हत्तपत्त लगेर पोस्टाएकै छु । आफ्नो भजनकिर्तन म पनि त गाएकै छु । आउनु होस् हामी पनि जेन्जीहरुले झैं फेसबुक चलाउन पाउँ भन्दै आन्दोलन गरौँ । यही हो चर्चित हुने काइदा ! माग पुरा भयो कि सबैलाइ फाइदै फाइदा ! म त चर्चित भै नै सकेँ । अब तपाइँ पनि चर्चित हुने हैन ? नहुनुहोस् भनेर त मैले भनेकै छैन् । टेबुलमाथि काइँयो र ऐना छ । सोंचे झैं जिन्दगी रैनच ! एउटा गीत गाउँ टिकट्वाकमा रमाउँ । नाम कमाऊँ ! दाम समाऊँ ! सबैको जय होस् !
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest










































