अर्जुन दाहाल (क)आधा सत्य, आधा भ्रम- ३४
झाँक्री म्यामले बोल्ने अधिकार पाएकी छिन् भन्ने खबरपछि उनले मुखमा लगाएको कालो टेप अब पार्टी जोड्न प्रयोग गरिने कुरा आजै भ्रान्तिपुरमा छापिएको छ।

अर्जुन दाहाल (क) :
कवि शिव फलासले “भ्यागुत्ताको धार्नी हुँदैन” भनेर लेखेको देखेपछि वैज्ञानिक सिस्नु जोशीले “हुन्छ कि हुँदैन” भनेर पत्ता लगाउने निर्णय लिएछन्। उनले करिब दसवटा दुई जिउवाला (गर्भवती) भ्यागुत्ता भेला पारेछन्। किन नपुग्नु — आखिर डेढ धार्नी नै भएछ! अनि त्यसपछि पत्ता लाग्यो — भ्यागुत्ताको पनि धार्नी हुने रहेछ।
अब प्रसङ्ग जोडौँ प्रचन्न–माधौ पार्टी एकताको।
कम्निस पार्टी (आखे), कम्निस पार्टी (माके), कम्निस पार्टी (राँके), कम्निस पार्टी (चाखे) लगायतका दस कम्निस पार्टीहरूको एकता भेला भर्खरै सम्पन्न भयो।
“धार्नी नपुग्ने” भनेर व्यङ्ग्य गर्ने शिव फलासलाई झड्का दिँदै प्रचन्नको पार्टीका नेता–कार्यकर्ताको संख्या जोड्दा करिब ९० लाख पुगेको छ। सोही कार्यक्रममा ७८ वर्षे ‘जेन (X)’ अर्थात् जेन एक्सपायर्डका प्रतिनिधि हरामदेव गौतामले निकट भविष्यमा पार्टी सदस्य संख्या १ करोड पुग्ने घोषणा गरेका छन्।
गतसाल नेपालमा कम्निस पार्टीहरूको वास्तविक संख्या पत्ता लगाउन डा. सुरेन्द्र केसीको संयोजकत्वमा एउटा आयोग गठन गरिएको थियो। आयोगले काम त सुरु गर्यो, तर एकीन संख्या निकाल्न सकेन। आजको संख्या भोलि मिल्दैन किनभने पार्टीहरू घण्टैपिच्छे जुट्ने–फुट्ने हुँदा ठ्याक्कै संख्या पत्ता लगाउन गाह्रो हुनु स्वाभाविकै हो।
ओलीबा र बस्नेत छोराको कम्निस पार्टी चाहिँ तत्काल फुट्ला जस्तो देखिँदैन। झाँक्री म्यामले बोल्ने अधिकार पाएकी छिन् भन्ने खबरपछि उनले मुखमा लगाएको कालो टेप अब पार्टी जोड्न प्रयोग गरिने कुरा आजै भ्रान्तिपुरमा छापिएको छ।
०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।)
Subscribe
Login
0 Comments
Oldest







































