अमर अधिकारीअरु बेला भगवान बन्न तँछाडमछाड…
बाबा वा गुरुले छुँदाबित्तिकै सबै रोग चट रे। अस्पतालको के काम ? औषधिको के काम ? त्यस्ता महाठगहरुले रोग निको पार्ने भए त भैहाल्थ्यो नि ! रोगहरु दूर दूर गैहाल्थ्यो नि !!

अमर अधिकारी :
नेपाललाई भड्खालोमा जाकिदिने काम खराब नेताहरुबाटै भएको हो भन्ने कुरा सबैमा जगजाहेर नै छ। अहिले चाहिँ तातो न छारोका अभियन्ताहरुको उदय भएको छ। जसका पछाडि कुरै नबुझी केही मनुवाहरु लागिरहेका छन्। उहिले अपराधका काम गर्ने अनि अहिले चाहिँ देशभक्ति देखाएर उरण्ठेउला अन्धभक्तहरुको लर्को लगाउने मान्छेको कमी छैन यहाँ। त्यसैगरी च्याउ झैँ उम्रिएका बाबा-सन्त-गुरुहरु पनि के कम ? दुनियाँको घरबार तहसतहस पार्दै आफ्नो पोल्टामा तन-मन-धन खिचिरहेका छन् सोझा नेपाली जनताहरुबाट।
“मेरो पाउमा सारा देवीदेवताको बास हुन्छ” भन्ने महापाखण्डीलाई भगवान तुल्याउन उनका अन्धभक्तहरु मरिमेटेका छन् आफ्नो घर व्यवहार लथालिङ्ग पार्दै। विशेषगरी महिला त्यसमा पनि गृहिणीहरु फस्ने गरेका छन् त्यस्ता ढोँगीहरुका अखडाहरुमा। ठगीखानेको अखडा अर्थात् कथित आश्रम वा धामको आँगनमा त्रिशुल गाडिएको हुन्छ, भित्तामा गाईको ठूलो चित्र र ॐ अक्षर लेखिएको पाता टाँसिएको हुन्छ। यति देखेपछि मान्छेहरु अन्धभक्त बन्दै पस्छन् त्यस्ता अखडाहरुमा जय गुरुदेव ! जय बाबा ! अनि लाग्दै नलाग्ने आशिर्वाद पनि लिन्छन्। आफ्ना चेलीहरुमाथि यौन शोषण गर्ने त्यस्ता पाखण्डीहरुको जयजयकार भैरहन्छ। त्यस्तालाई कारवाही जस्तो गरेर छोडिन्छ। अन्धभक्तहरुको आँखामा भ्रामक विचारको बाक्लो पट्टी लगाइएको हुन्छ त्यस्ता ठग बाबा वा गुरुहरुबाट। आश्रम वा धामको नाममा नेपालमा कैयन सरकारी जमिन हडपिएका छन् त्यस्ता अखडाहरुबाट। नेताहरु नै त्यस्ता पाखण्डीहरुबाट आशिर्वाद लिने भएका कारण उनीहरुले जतिसुकै लुटे पनि कारवाही हुँदैन, उल्टै वाहवाही हुन्छ अन्धभक्तहरुबाट।
अपराधीलाई पनि भगवान मान्ने हामी कस्ता? भस्मासुर दिमाग भएका जस्ता। यो कलियुगमा पनि कोही भगवान हुन्छ ? द्वापर, त्रेता, सत्य युग हो यो? ‘कली धमक्कै बली’ भन्ने कुमार बस्नेतले गीत त्यसै गाएका हुन् र? कली युग त नक्कल-झक्कल-आडम्बर-अहंकार देखाउने युग हो, यो कली युगमा सत्यता भेटाउनै गाह्रो। केही दिनअघि सरकारले त्यस्ता कथित सन्यासीका अखडाबाट आफ्ना सुरक्षाकर्मी फिर्ता बोलाइएको सुखद समाचार आएको छ।
भारतमा हत्या र बलात्कार केसमा र जोगीको भेषमा भएका कतिपय मनुष्यहरु उतै जेलको हावा खाइरहेका छन्, उनकै जयजयकार गर्ने हामी भक्तका रक्त पनि कालै छ कि क्या हो? रातो र तातो नभएर। बास्नादार अगरबत्ती बाल्नुस्, घन्टी र शंख बजाउनुस्, बाउबाजेका पालादेखिका धर्म पालना गर्नुस्, त्यस्ता अर्बपति-करोडपति व्यापारी जोगीको भक्ति कदापि नगर्नुस् र उनीहरुको थैलो नभर्नुस्। त्यस्ता पाखण्डीलाई हजारौँ-लाखौँ चढाउने अनि घरमा पतिदेवको प्रेसर बढाउने ? गुरुदेव ठूलो कि पतिदेव? पतिको गति बिगारिदिएर त्यस्ता ढोँगीका अगाडि गएर कम्मर मर्काइमर्काइ नाच्न लाज लाग्दैन? अझ महिला अधिकारको कुरा गर्ने ? के त्यस्ता महाठगका अगाडि गएर नाच्नु भन्छ महिला अधिकार हो ? अर्काकी श्रीमतीसँग र अर्काको श्रीमानसँग आँखा जुधाइजुधाइ नाच्नुपर्ने कस्तो खालको आश्रम वा धाम हो त्यो ? त्यो त रेडलाइट एरिया भने पनि हुन्छ।
गुरु वा बाबा भनेपछि उनीहरुको मलमूत्र समेत खान तयार हुने अन्धभक्तहरु आँखा खोलेर घर व्यवहारमा लाग्नु, नत्र घर छोडेर तीनै जोगिसँग भाग्नु। बाबा वा गुरुले छुँदाबित्तिकै सबै रोग चट रे। अस्पतालको के काम ? औषधिको के काम ? त्यस्ता महाठगहरुले रोग निको पार्ने भए त भैहाल्थ्यो नि ! रोगहरु दूर दूर गैहाल्थ्यो नि !!
केही अन्धभक्तहरुले आफूले भगवान मान्दै आएका र अरुले ढोँगी वा पाखण्डी ठान्दैआएकाहरुले आफू भगवान बन्न खोजिरहेका छन् भने परमधाम भइसकेका करोडपति गुरु वा बाबालाई उनका सन्तान र एजेन्टहरुले भगवान तुल्याउन मरिमेटेका छन् र कसैकसैको त मूर्ति र मन्दिर समेत बनिसकेका छन्। विगतमा अदालतले समेत दोषी ठहर गरिएका त्यस्ता कथित महापुरुषको भक्ति गरेर केही फाइदा छैन, केवल समयको बर्वादी र घर व्यवहार तहसनहस बाहेक। पशुपतिमा सय रुप्पे पर्ने माला हजारमा समेत बिकाउने काम गर्छन् यस्ता अखडाहरुका सञ्चालकहरुले। भारतमा केही ज्यानमारा तथा बलात्कारी बाबा वा गुरुलाई जेलमा कोचिएको छ भने उनका अन्धभक्तहरु यता जयजयकार गर्दै दिन बिताउदैआएका छन्।
तपाईँ पनि मीठो बोल्नुस्! लठ्ठ पार्नुस् आफ्ना अन्धभक्तहरुलाई ! तपाईँले चाहेको जे पनि गर्न सक्नुहुनेछ उनीहरुलाई। स्वीकार गर्ने चेलीलाई त जे पनि गर्नु सक्नुहुनेछ। तर अस्विकार गर्ने चेलीबाट तपाईँले उजुरी र मुद्दाको सामना भने गर्नुपर्ने हुन्छ। एकजना ज्यानमारा बाबालाई पनि अहिलेसम्म कता लुकाइयो अत्तोपत्तो छैन। हुन त दुईजना बाबा गुरुबाट यस्ता हर्कत गरे वापत मुद्दा खेपे, पक्राउ परे, आखिर झिनो धरौटीमा छुटे। नेताहरुले पैसो हसुरेर त्यस्ता पाखण्डी वा ढोँगीहरुलाई छुटाए अनि नेताहरुले जनताको दिमाग भुटे।
केही हप्ताअघि ढ्याङ्ग्रो ठोक्ने एक झाँक्रीले आफ्नो नामको अगाडि डा. लेखेर साइनबोर्ड नै झुण्डाएछन् आफ्नो आश्रममा। कुन चाहिँ जेनजीले उनको आश्रम खरानी बनाइदिएपछि टिकटकमा निकै रोए कराए। पोखरामा रामधुलाई खाएको भिडियो पनि देखियो ती डा. झाँक्रीको। पढ्नुसढ्नु कुकुरको के मा भने झैँ ती झाँक्री फेरि ठगिखाने दाउमा देखिएका छन्। अन्धभक्तहरुले त उनलाई पनि भगवान भनेर पुकारेका छन्।
यस्तै यस्तै ताइनतुइका विचार राख्ने तोरिलाउने मान्छेहरुले नेताहरु मोटाउदै र जनताको आयु छोटाउदै गएको टड्कारो देखिन्छ। यो कलियुगमा कोही पनि भगवानतुल्य हुँदैन। भगवान त्यो हो जसले जनकल्याण र समाजकल्याणकामहरु गरेको हुन्छ। जोगीको भेषमा आश्रम खोल्दैमा त्यो भगवान हुनसक्दैन। मीठो बोलेर मान्छेलाई लठ्ठ पारेर तन-मन-धन तान्ने कुनै पनि जोगीले गर्नुहुँदैन। अरुबेला भगवान बन्न तँछाडमछाड र बेलुकी तरुनी र जाँड चाहिने यस्ता कथित जोगीहरुलाई बेलैमा चिनौँ। यताबाट लुटिएको धन सीमापारी तारे होटेलमा सेयर लगानी गरिने र उनकै सातपुस्ता सन्तानलाई मोजमस्तीमा काम लाग्ने हुँदा यस्ता लुटेराहरुबाट समयमै बचौँ र अरुलाई पनि बचाऔँ।
हरि ॐ तत्सत् !
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest









































