फित्काैली डटकमजंगे कुकुरको सुरक्षा
तल लाखे नाँच सकेर उनीहरुलाई विदा गरेपछि जंगे कता गएछ भनेर खोजिनिति हुँदा जंगे त तलामाथिको अगाडि कोठाको खाटमुनि लुकेको अवस्थामा पो भेटियो।

रमेश पी. काेइराला :
मैले पहिले नै कतै लेखी सकेको छु, हाम्रो घरको जंगे कुकुरको बारेमा। तर धेरैलाई थाहा नहुन पनि सक्दछ, जंगे कुकुर तेही कुकुर हो जो म कक्षा नौमा पढ्दा हाम्रो दावाँको (भोजपुर) घरमा सानो छाउरोको रुपमा ल्याइएको थियो। मैले तेसबेला सोलुखुम्बुमा कार्यरत मेरो पिताजीसँग मलाई एउटा राम्रो भोटे कुकुर चाहियो, त्यहाँ सोलुखुम्बुबाट ल्याइदिनु होला भनेर असाध्यै रोढ्याइँ गरेकोले हुन सक्छ, उहाँ छुट्टी लिएर घर आएको बेला एउटा भोटे कुकुरको छाउरो ल्याइदिनु भएछ। मैले रहर गरेकोले मेरो निमित्त नै ल्याइदिएको भनेकोले त्यो कुकुरमा अरू भन्दा बढी मेरो मोहीयाना हक लागेको छ भन्ने मैले तेस बेला सोच्दथेँ।
शुरू शुरुमा नजानेर त्यसले दलान या आँगनमा गोबर गरिदियो भने पनि त्यो सफा गर्ने काम मेरो मोहियानी हक लागे जस्तो मेरो नै ड्युटी थियो, कोही अरूको दावी-बिरोध उठ्दैन थियो। तर त्यसकाे त्यो समस्या धेर समय रहेन, कुकुर बढेर ठूलो हुँदै गएपछि त्यो दलान आँगन भन्दा पर गएर नित्य क्रिया गर्दथ्यो । बारी अलिक ठूलै थियो, बारीको कुन कुनामा त्यसले आफ्नो ड्यूटी गर्दथ्यो हामीलाई थाहा हुने कुरा पनि भएन। यो समझदार भएकोमा मैले भने राहत पाएँ।
बुवाले बताए अनुसार त्यो कुकुरको जन्म सोलुखुम्बुको कुनै भेडीगोठमा भएको रे। त्यो छाउरो ल्याइदिनेले बुवालाई भने अनुसार त्यो कुकुरको परिवार डरलाग्दो र जंगी स्वभावको हुन्छन् रे। जंगी स्वभावको हुन्छ भन्ने सुनेकोले हाम्रो घर सल्लाह अनुसार त्याे कुकुरको नाम हामीले जंगे भनेर राखी दियौँ। त्यसबेला स्कुलमा हामीले उहिले नेपालमा राणाहरूले राजा र प्रजालाई खुव दुख दिएको र त्यसरी दुख दिने राणा शासन बारे पढेकोले त्यसकाे मूख्य मुखिया जंगबहादुरको नाममा पनि हामीले कुकुरको नाम जंगे राख्न सहमत भयौं। थोरै भए पनि राणासँगको रिस फेर्न पाइयो।
नाम अनुसार हाम्रो जंगे पनि अलिक छुच्चो नै भएर निस्कियो। टाइम पिच्छे यसको मूड फेरिइरहन्थ्यो। मसँग खेल्थ्यो जिस्किन्थ्यो, भुक्थ्यो, झम्टिन्थ्यो। बिस्तारै यसले निकै ठूलो आवाज निकाल्न थाल्यो र अलिक डरलाग्दो पनि हुँदै गयो।
हाम्रो घरमा विभिन्न किसिमका मान्छे आइरहन्थे। खेतबारीमा काम गर्न खर-खेताला, गफ गर्न छर-छिमेकी आदि। झम्राङ झुम्रुङ लुगा लगाएका सीधा साधा मान्छे आउँदा जंगेले चिथर्ला जस्तो गरेर झम्टेर ढिम्किन दिँदैन थियो। एक पटक त म पनि त्यस्तै झुम्रे लुगा लगाएर उसकाे नजिकमा पुगेँ क्यार, मेरो दाहिने खुट्टाको बुढी औँलानेर क्याक्क टोकी दियो। बेसरी रिस उठ्यो, नजिकैको लठ्ठीले बेसरी बजारेँ, आँखा चिम्लेर दुई पटक। कुईं कुईं गर्दै भाग्यो। कुईं कुईंको आवाज सुनेर घर भित्रबाट शायद आमाले के हो भनेर सोध्नु भयो, मैले केही हैन भने। त्यस दिनको त्यो टोकाइको खत निको हुन कैयौँ वर्ष लाग्यो।
तर जंगेले सर्ट पेण्ट लगाएका अलिक सुकिला मुकिला मान्छे आउँदा भने देखेको पनि नदेखै गरेर चुप लाग्दथ्यो। ओहो, कस्तो जाति कुकुर रहेछ भनेर स्यावासी पनि पाउँथ्यो। यो कुकुर पनि आजकालका कारिन्दा जस्तै थियो, अलिक झुत्रेसँग पैसा खाने, सुकिला मुकिलासँग चाहिं माग्न नसक्ने। जंगेको यो बानी देखेर मलाई भने यसले हामीलाई सुरक्षाको ग्यारेन्टी देला भन्नेमा अलिक शंका हुन्थ्यो। तर, जे भए पनि ठूलो आवाज र झुत्रेमुत्रेलाई झम्टेको हिसावले यसले हाम्रो घरको रक्षा गर्छ भन्नेमा मलाई पूरा विश्वास थियो, या भनौं प्रशस्त ढाडस थियो।
जंगेको भरोसा र ढाडस त तेसबेला गर्ल्यामगुर्लुम भयो जति बेला हाम्रो घरमा लाखे आयो।
म पढ्ने हाई स्कुलमा विद्यार्थीको जम्मा संख्या थियो अठसठ्ठी। सरहरू हुनुहुन्थ्यो दश-वाह्र जना। हामी विद्यार्थीले दिने नगन्य फिस र त्यसबेला सरकारले दिने अनुदानले पनि स्कुलमा पैसाको सधैं टुम-टुम हुने। यसो अतिरिक्त आमदानीको निमित्त गाईजात्रामा बजारमा निकालेको लाखेलाई हाम्रो जस्तो गाउँको घर-घरमा डुलाएर नचाएपछि केही पैसा संकलन हुने आसमा सवैको घरमा पालै पालो आउने क्रममा लाखे हाम्रो घरमा पनि आयो। लाखे मात्र आएन, लाखेसँग एक हुल मान्छेले ढोल र झ्याम्टाहरू पनि ठटाएर हल्ला गर्दै आए।
बिचरा जंगे कुकुरले उसकाे जिन्दगी भरमा न त यति धेरै मान्छे एकसाथ देखेको थियो, न त मकुण्डो लगाएको लाखे देखेको थियो। नयाँ मान्छे आउँदा भुकेर झम्टेर हामीलाई सुरक्षा दिने धर्म निर्वाह गर्नु पर्ने, त्यत्रो सोलोखुम्बुको भेडीगोठबाट ल्याएको भोटे कुकुर त थाहै नपाई लुसुक्क घरभित्र पो छिरेछ। घरभित्र मात्र छिरेन, त्यो त भर्याङ चढेर माथिको अगाडि कोठाको खाटमुनि लुकेर बसेछ। तल लाखे नाँच सकेर उनीहरुलाई विदा गरेपछि जंगे कता गएछ भनेर खोजिनिति हुँदा जंगे त तलामाथिको अगाडि कोठाको खाटमुनि लुकेको अवस्थामा पो भेटियो। अझ अचम्म त तेसले त्यहाँ बस्दा डरले खाटमुनि बित्यास समेत गरेर यत्रो ह्रास पनि लगाएछ। त्यो दिनदेखि जंगे कुकुरले हाम्रो घरको सुरक्षा गर्नेछ भन्ने हाम्रो ढाडस चकनानुर भयो। हामी यो भ्रमबाट मुक्त भयौँ।
००
धेरै समय बित्यो। अब त जंगे कुकुर पनि याद छैन। तर परस्थिति भने घुमीफिरी फर्कंदो रहेछ। हामी त्यो भोजपुरको गाउँ छोडेर शहरवासी भयौँ। अझ राजधानीवासी भयौँ। हाम्रो सुरक्षा गर्न देशले खटाएका एक से एक तालीम प्राप्त प्रहरीहरु तैनाथ गरिए। अब हाम्रो सुरक्षा निमित्त हामीले जंगे कुकुरमा भर पर्नु परेन। हामी आधुनिक भयौँ। यो वर्षको भदौ २३ गतेसम्म हामी यस्तै सोच्दथ्यौँ, अथवा म यस्तो सोच्दथेँ।
तर त्यो २३-२४ गते राजधानी लगायत देशैभरी एकै चोटी लाखे नाच भयो। नयाँ नयाँ मकुण्डो लगाएका लाखेहरूले हामी सवैलाई तर्साए। म दिनभरि मलाई तोकिएको ड्यूटी पूरा गर्दै अफिसमा बिताएँ। मैले त त्यस दिनभरी सोचेँ, जानिराखेका लाखेहरू हुन्, आफ्नो नाच देखाउँछन्, अनि जान्छन्। तर हेर्दाहेर्दै एक हुल लाखेहरू मेरै अफिस घेर्न आए र तोडफाेड गर्ने भनेर फाँ फूँ गर्न थाले। मसँग मेरो अफिसमा काम गर्ने अरू सहकर्मी थिए। कोही विदेशी थिए। विदेशीमा पनि दुईजना भर्खर वीस पार गरेका केटी मान्छे समेत थिए। म एक्लो हुँदो हूँ त अफिसबाट पैदल हिँड्दथेँ होला। तर हामी त ग्रुपमा थियौँ। हामीले मोटरमा नै निस्कनु पर्ने थियो, विदेशीहरूलाई सही सलामत उनीहरुको होटलसम्म पुग्न सकिन्छ भन्ने ढाडस दिनु थियो। हामी हिँड्यौँ।
केही किलमिटर परसम्म त रमाइलो भयो। तर अलिक पर पुगेपछि भने हामी अगाडि बढ्न नसकिने स्थिति आयो। लोकल मान्छेहरुले हामीलाई अगाडि नजान भने। हामी पछाडि फर्कन सक्ने पनि थिएनौं। कसो गरी मेरो मोवाइलमा हंसराज काकाको फोन रहेछ जो नैकापवासी हुनुहुन्थ्यो। मैले फोन गरेर उहाँको घरमा आउने खवर गरें र म र करिव पौने दर्जन पाहुनाहरू उहाँको घर खोजेर तेस घरमा शरणार्थीको रुपमा बितायौँ। हामी डाँडामा रहेको तेस घरको कौशीमा गयौँ र पारिपट्टी दुगडको कारखानामा दनदनी दन्काइएको धुवाँको मुस्लोमा अट्टहास गरी रमाएर नाचिरहेका लाखेहरुको नाच हेर्यौं। हामीलाई यस्तो अलौकिक नाच हेर्न अवसर जुटाइ दिनु भएकोमा भगवानलाई धन्यवाद भन्यौँ।
चारै तर्फ घेरिएको निष्पट्ट धुवाँको बीचमा हामीले त्यहाँबाट सुरक्षित रुपमा निस्कन सकेसम्म सवैतिर फोन गरी रह्यौँ । चिने जानेका प्रशासकहरु, प्रहरीहरू र सैनिक हाकिमहरु। सवैले केही गर्न सक्ने सामर्थ्य नभएको ब्यहोरा सुनाई रहे। ती तिनै हाकिम साहेवहरू थिए, हिजोसम्म यिनीहरुले जे पनि गर्न सक्दछन भन्ने सोच मैले राखेको थिएँ। तर हामीले कतैबाट सहयोग पाएनौँ। अर्काको घरको एउटा कोठामा कोचिएर बसेको पीडा त छँदै थियो, सकेसम्म सवैलाई सुरक्षित रुपमा वासस्थान पनि पुर्याउनु पर्ने आवस्यकता थियो। राति दशबजेसम्म पर्खियौँ, अब त लाखे नाच सकियो होला भन्ने सल्लाह भए पश्चात हामी विदेशी सहकर्मीहरूसहित सडकमा निस्कियौँ।
मेरो मन ढुकढुक गरे पनि डर लागेको भाव अनुहारमा आउन दिएको थिइनँ। सुनसान रात निशव्द थियो, सडक भरि केही बेर अगाडि खरानी बनाइएका मोटरहरुको कंकालबाट पोल्ने राप आइरहेको थियो। तर सवै चिज सही नहुने रहेछ। रिङरोडको एक ठाउँमा हामीलाई हातमा रड र बोतल लिएका त्यस दिनका लाखेहरुले रोके र बिना कुनै पैरवी, बिना कुनै बहश, हामीलाई मार्ने र हाम्रो मोटर जलाइदिने फैसला सुनाए। लाखेहरुको चालढाल देख्दा यो बारको यो जुनी यतिकै रहेछ जस्तो लाग्यो। कट्टु शायद भिजेको हो कि जस्तो भयो। तै पनि सास हुञ्जेलको आस भन्छन् नि, हरेस खाएको स्वरमा हामीसँग विदेशी पनि छन् भनेर जान दिनको निमित्त पुन: अनुनय विनय गरेँ। मुखमा रक्सी बेसरी गन्हाउने लाखेको टोली नेता जस्तोले रूखो स्वरमा यो कताको मोटर हो, सरकारी मोटर होला, हामीलाई ढाँटेको हो ? भनेर बल्ढ्याङ्ग्रे आँखाले हेर्यो। मैले अझ नम्र भएर मेरो परिचय दिएँ र अफिसको नाम भनेँ। खै के सनक चढ्यो त्यसलाई या हाम्रो भाग्य बलियो हो, उसले त सजिलैसँग राम्रै पाराले जानुस् भन्यो। मनमा तेसबेला यहाँ त पार पाइयो, तर अगाडि के होला भन्ने तर्कना आइरह्यो। तर त्यसपछि त्यस्तो लाखे ग्रुप फेला परेनन्। अनि हामी केही बेरमा गन्तब्यमा पुग्यौँ।
त्यसबेला मैले बाटाभरि हाम्रो त्यही जंगे कुकुरलाई सम्झेर बसेँ। अनि सम्झें, हाम्रो सुरक्षाको सिंगो प्रणाली जसले हामीलाई हिजोको दिनसम्म दिएको ढाडस त्यसै गरी गर्ल्याम्म भत्कियो, जसरी ऊ बेला घरमा लाखे आएको दिन त्यो जंगे कुकुरसँगको सुरक्षा-भरोसा भत्केको थियो।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest










































