साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार श्याम गोतामे : जीवनी तथा व्यक्तित्व (५)

हास्यव्य‌ङ्ग्यको आधुनिक काललाई समृद्ध पार्न उनको रचनात्मक योगदान सर्वथा महत्त्वको रहेको छ। यसैको जगमा गोतामेको हास्यव्यङ्ग्यकार व्यक्तित्व खडा भएको छ। 'म अमर हुन चाहन्न' जस्ता हास्यव्यङ्ग्य सिर्जनाले नै उनलाई अमर बनाएका छन्।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाैतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक

गाेतामेले पुरस्कार तथा सम्मान 
तीन दशक अटुट रूपले साहित्य सिर्जनामा जुटेका श्याम गोतामे उनकै त्तमकालीन विशिष्ट हास्यस्स्रष्टा भैरव अर्यालको नाममा स्थापित भैरव हास्यव्यङ्ग्य पुरस्कार २०४९ द्वारा पुरस्कृत भएको देखिन्छ। यो पुरस्कार नै उनको जीवनको पहिलो र अन्तिम दुवै थियो। त्यही पुरस्कारबारे पनि उनको तीखो टिप्पणी थियो-‘२०४९ सालमा भैरव पुरस्कार पाउँदा मैले ठाडै भनिदिएँ- तपाईले मेरो मुख हेरेर दिनुभएको भए म लिन्छु तर रचना हेरेर दिनुभएको भए मलाई पुष्टि गर्नुपऱ्याे कि तपाई यसकारणले पाउन लायक हुनुहुन्छ । (श्याम गोतामे अमृत दाहालसँगको कुराकानीमा आधारित, पूर्ववत्।) उनले अझ अगाडि भनेका थिए- ‘२०५३ सालमा पिंडालीलाई दिइएको वासुदेव लुइँटेल पुरस्कार शक्तिबल्लभ अर्याललाई या मलाई दिइनु पर्थ्यो, किन भने ०५३ सालभरि मैले नै बढी हास्यव्यङ्ग्य प्रकाशित गराएको थिएँ कि हैन भने पुरस्कार यस कारणले दिइयाे र यस कारणले दिइएन भनेर खुलाउनु पर्यो। मूल्याङ्कन समितिमा बसेका ३-४ जनामध्ये एउटाले फलानालाई दिने भनेर तोक्छ र समितिलाई बोलाउँछ। त्यसकारणले यहाँ तजविज र हैकमको कुरा मात्र छ।’ (श्याम गोताम- पूर्ववत् ।)

पुरस्कार र सम्मानबारेमै पनि यस्तो खरो र खस्रो कुरा गर्ने श्याम गोतामेलाई हास्यव्यङ्ग्य समाज नेपालले सम्मान गर्दै मृत्युपरान्त एक आदरपत्र अर्पण गरेको पाइन्छ। गोतामेको त्यही पुण्य तिथिका दिन हासनेद्वारा आयोजित श्रद्धाञ्जलि समारोहमा हासनेका अध्यक्ष रामकुमार पाँडेद्वारा गोतामेका सुपुत्र प्रकाश गौतमलाई हस्तान्तरण गरिएको उक्त आदरपत्रमा उल्लेख गरिएको छ- ‘नेपाली हास्यव्यङ्ग्यका विशिष्ट स्रष्टा श्याम गोतामेलाई खरो दह्राे शैलीमा वाड्मयका विकासका लागि जतिसुकै दुःख आइपर पनि डटेर २५ वर्ष निरन्तर सिर्जनाको सेवा पुऱ्याई हास्यव्यङ्ग्य निबन्धलाई उच्चतामा पुऱ्याउन र हासने कार्यकलापमा सघाई योगदान गरेवापत यो आदरपत्र मृत्युपरान्त प्रदान गरिएको छ।’

‘साहित्यिक जीवनका २९ वर्षको आरोह अवरोहमा मेरो लागि कसैले लेखेकाे छैन र म मेरो बारेमा कसैले लेखिदेओस् भन्ने पनि चाहन्न।’ यसो भन्ने गोतामेको साहित्यिक योगदानको जति कदर हुनुपर्थ्यो त्यो भएको भने देखिन्न ।

संस्थागत संलग्नता
श्याम गोतामे केही साहित्यिक संस्थाहरूमा संलग्न रहेको देखिन्छ। रा.वा.वै.को जागिरको सिलसिलामा उनी केही वर्ष सिराहामा रहेका थिए। २०४५ सालतिर गोतामेकै पहलमा सिराहा साहित्य परिषद गठन भएको थियो। गोतामेकै सक्रियता र नेतृत्त्वमा १७६ औं जन्मजयन्ती मनाउने क्रममै भानुभक्तको शालिक प्रतिस्थापन गरिएको थियो। उक्त शालिकको अनावरण प्रज्ञाका तत्कालीन उपकुलपति माधव घिमिरेले गरेका थिए। (सूवसेन आली- पूर्ववत् ।) पछि काठमाडौंमा हास्यव्यङ्ग्य साहित्यिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले हास्यव्यङ्ग्य समाज नेपालको स्थापना भएको छ। यस सस्थाको स्थापना कालदेखि नै श्याम गोतामे सक्रिय रूपमा संलग्न रहेका थिए।

गोतामे एकजना राम्रो प्रूफरिडर पनि हुन्। प्रकाशन गर्नुपर्ने सामग्रीको उचित पारिश्रमिक लिएर शुद्ध ढङ्गले पाण्डुलिपि सानें, टाइप गर्ने, छपाइको निम्ति प्रूफरिडिङ गरिदिने एउटा संस्था स्थापना भएको थियो। यो संस्था संगठित गर्ने कार्यमा प्रमुख भूमिका गोतामेकै रहेको पाइन्छ। यस्ता केही संस्थाबाहेक गोतामेको अरु कुनै राजनीतिक पार्टी वा संगठनसँग संलग्नता रहेको देखिन्न । पछिल्लो चरणमा ०५० सालमा नेपाल राष्टि्य एकता परिषद नामको संस्था स्थापित भएको छ । गोतामेले उक्त संस्थाको सदस्यता लिएको र उक्त संस्थाको केन्द्रीय निकायमा रहेर साहित्य कला र संस्कृति क्षेत्रको जिम्मेवारी लिएको पाइन्छ ।” (सुबसेन ओली- पूर्ववत् ।)

गोतामेको व्यक्तित्व
श्याम गोतामेको सि‌ङ्गो जीवन एकातर्फ जागिरे जीवनका रूपमा बितेको छ भने अकर्कोतिर ३० वर्षसम्म अनवरत साहित्य सिर्जनामा बितेको छ। आफूलाई लागेको कुरा प्वाक्क भनिहाल्ने गोतामेको बानी नानीदेखिकै थियो। खरो र खस्रो स्वभाव गोतामेको व्यक्तित्वकै पर्याय हो भन्दा फरक पर्दैन। वैयक्तिक शारीरिक संरचनाका दृष्टिले गोतामेको वाह्य व्यक्तित्वमा मझौला कद, अलि रातो रक्तवर्णको कल्सौँदो भन्न सुहाउने सामान्य अनुहार, केही खुइलिएको तालु, कपाल आधा सेतो र आधा कालो भइसकेको, दारी र जुंगा दुवै सफासँग काट्ने गरिएको, सर्ट पाइन्टको साधारण लवाईमा गोतामे यस्तै देखिन्थे। शिष्टाचार र औपचारिकताबाट असम्पृक्त गोतामेको व्यक्तित्वलाई मूलतः पाँचवटा खण्डमा विभाजन गरी अध्ययन गर्न सजिलो हुने छ : ( क) हास्यव्यङ्ग्यकार व्यक्तित्व (ख) अनुवादक तथा सम्पादक व्यक्तित्व (ग) जागिरे व्यक्तित्व (घ) छपाई शुद्धिमा पोख्त व्यक्तित्व (ङ) खरो, खस्रो र निर्भीक व्यक्तित्व ।

हास्यव्यङ्ग्यकार व्यक्तित्व :
सार्वजनिक जीवनमा प्रकट भएको गोतामेको सर्वाधिक चर्चित व्यक्तित्व नै उनको हास्यव्यङ्ग्यकार व्यक्तित्व हो। २०२४/०२५ सालदेखि हास्यव्यङ्ग्य लेखन प्रारम्भ गरेर २०५५ साल वैशाख १९ गते उनको मृत्यु भएको अघिल्लो दिनसम्म उनका रचना प्रकाशित भएका देखिन्छन्। उनको प्रकाशित पहिलो रचना ‘मैले पिउन सिकें’ गोरखापत्रमा २०२५ साल माघ २६ गते प्रकाशित भएको थियो भने उनी बाँचुञ्जेलको प्रकाशित पछिलो रचना ‘निफुल्किएका कुराहरू’ शीर्षकको रचना देखिन्छ। यो रचना कान्तिपुर’ दैनिकको ०५५ वैशाख १७ गतेको अङ्कमा प्रकाशित भएको थियो। एकै खालको जीवन ढाँचा र जीवनभरि एउटा विधामा मात्र कलम चलाउने नेपाली हास्यव्यङ्ग्यका सष्टा श्याम गोतामेका चारवटा हास्यव्यङ्ग्य कति र करीव २ सयवटा फुटकर रचना प्रकाशित भएको देखिन्छ । उनका प्रकाशित कृतिहरू बारे यसै परिच्छेदको अघिल्लो “पुस्तकाकार कृति तथा फुटकर रचना” शीर्षक अन्तर्गत उल्लेख गरिसकिएको छ भने ती कृतिहरूको अध्ययन विश्लेषण पछाडिको परिच्छेदमा गरिनेछ । कृति सङ्ख्याको हिसावले थोरै देखिए पनि गोतामेका यी कृतिहरूले एउटा सशक्त हास्यव्यङ्ग्य सष्टाको रूपमा उनलाई स्थापित गरेका छन्। निबन्ध विधालाई आत्मसात गरेर सामाजिक, आर्थिक, राजनीतिक एवम् साहित्यिक विसङ्गतिलाई रचना सिर्जनाको मूल विषयवस्तु बनाई गोतामेको हास्यव्यङ्ग्यकार व्यक्तित्व नै सवभन्दा चहकिलो, सवभन्दा प्रखर र सवभन्दा प्रभावशाली व्यक्तित्त्वका रूपमा सार्वजनिक भएको छ।

‘मलाई लाग्छ, दुःख र पीडा जति व्यङ्ग्यमा व्यक्तिन्छ त्यति कवितामा व्यक्तिदैन। परिवारमा म आफू सबैभन्दा विपन्न र स्वाभिमानी। सबैभन्दा वढी ठक्कर पनि मैले नै खानुपर्यो। शायद व्यङ्ग्य त्यसैको उपज हो। म त भन्छु, दुःख नपाईकन व्यङ्ग्य लेख्नै सकिदैन।” (श्याम गोतामे- अशेष मल्लसँगको कुराकानीमा आधारित. पूर्ववत् ।) यसो भन्ने गोतामेका धेरैजसो रचना आत्मपरक शैलीमा लेखिएका छन्। समाजका कुप्रचलन, कुप्रथा, राजनीतिका ऐंजेरू र झ्याउ, मानवजन्य अस्वाभाविक भूल. त्रुटी र दुर्गुणलाई आफैमाथि उनेर आफैलाई समेत क्रूर व्यङ्ग्य गरेका छन् गोतामेले। यस्ता रचनाहरूलाई आत्मव्यङ्ग्य भन्ने प्रचलन छ। आफ्ना भोगाई, हेराई र देखाईलाई अनुभूतिको तराजुमा राखेर व्यङ्ग्यमा सर्लक्क ओराल्न गोतामे सिपालु मात्र होइन सफल र सशक्त सष्टा हुन् ।

मपाई (२०२६) हास्यव्यङ्ग्य सङ्ग्रहबाट उठेको उनको हास्यव्यङ्ग्यकार व्यक्तित्व जदौ। (२०२७), कायेनवाचा (२०३३) र श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य (२०४६) सम्म आइपुग्दा क्रमशः परिपुष्ट र परिस्कृत हुँदै आएको देखिन्छ। ०३३ सालदेखि ०४६-०४७ सालसम्म तुलनात्मक रूपले अलि कम लेखे पनि त्यसपछिको अवधिमा अत्यन्त क्रियाशील देखिने श्याम गोतामे हास्यव्यङ्ग्य रचना सिर्जनाका एक सशक्त साधक तथा स्रष्टा व्यक्तित्वका रूपमा स्थापित एवम् परिचित रहेका छन्। तीन दशकसम्म अनवरत हास्यव्यङ्ग्यको सिर्जना र साधनामा जुटेर यसको श्रीवृद्धिमा गोतामेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। हास्यव्य‌ङ्ग्यको आधुनिक काललाई समृद्ध पार्न उनको रचनात्मक योगदान सर्वथा महत्त्वको रहेको छ। यसैको जगमा गोतामेको हास्यव्यङ्ग्यकार व्यक्तित्व खडा भएको छ। ‘म अमर हुन चाहन्न’ जस्ता हास्यव्यङ्ग्य सिर्जनाले नै उनलाई अमर बनाएका छन्।

क्रमश : अर्काे शनिवार

०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x