साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को ठूलो ?

म भेडी गोठालो बाख्रा गोठालो, भैसी गोठालो, भए पनि मै ठूलो । व्यापारी, उद्योगी, ठेकेदार भए पनि वास्ता गर्दिनँ, त्यसैले म ठूलो । ढाक्रे भए पनि, झाँक्री भए पनि त्यसैले म ठूलो । पहरेदार, झाडुबडारु गर्ने भए पनि त्यसैले म ठूलो ।

Nepal Telecom ad

डम्बर घिमिरे :

मै हूँ ठूलो
अनि किन भने कारणहरु धेरै छन् –

मान्छेहरु राष्ट्रपति ठूला भन्छन् तर हैन राष्ट्रपति राष्ट्रका लागि ठूलो ऊ आफ्नै लागि ठूलो तर जब यो धर्तीमा म जन्मिएँ मेरा लागि मै ठूलो म भन्दा ठूलो अरु कोही हुन सक्दैन किन भने म छु र यो राष्ट्र छ, आकाश छ धर्ती छ, विश्व ब्रम्हाण्ड छ, सूर्य छ, चन्द्रमा छ, ताराहरु छन्, ग्रहहरु छन्, दिन छ, रात छ, ऋतुहरु छन्, अयन छ, सम्वतसर छ, तिथीहरु छन्, महिनाहरु छन्, गाउँघर छन्, नातागोता छन्, इष्टमित्रहरु छन्, माता पिता छन्, दिदी बहिनीहरु छन्, दाजु भाइ छन्, भिनाजुहरु छन्, ज्वाइँहरु छन, सम्धी सम्धिनीहरु छन्, कुल कुटुम्बहरु छन्, खेतिपाति धन दौलत, सुन चाँदी, हिरा, मोती, मणि माणिक्यहरु छन्, बस्त्र आभूषणहरु छन्, श्रीमतीहरु, छोराछोरीहरु छन्, फुपू फुपाजूहरु छन्, भान्जाभान्जीहरु छन्, जो जे छन जो जो जात छन्, नाम छ, ईज्जत छ, मान मर्यादा छ, सम्मान छ, अभिनन्दन छ, पुरस्कार छ, विभूषण छ, आभूषण छ, जागिर छ, पेन्सन छ यी सबै म छु अनि छ त्यसैले म भन्दा ठूलो अरु हुन सक्दैन ।

ठूलो मै हूँ । अरुको बाली सप्रेर आयो धान, कोदाको ठूला ठूला बाला लागि मकैका ठूला ठूला घोगा लागे मेरोमा राम्रो फलेन भनेर म अरुको रिस गर्दिन त्यसैले म ठूलो अरु दाजु भाइले आमा बाबु घरमा राखेर सेवा गरेनन् भनेर म रिस गर्दिन बरु म आफैँ सेवा गर्छु त्यसैले म ठूलो, अरुकी श्रीमती राम्री भनेर म आँखा लाउँदिन आफ्नैमा सन्तुष्ट हुन्छु, त्यसैले म ठुलो अरु दाजु भाइ धनी भए म गरिब भएँ भनेर गुनासो गर्दिन आफू जस्तो छु त्यसैमा सन्तोष गर्दछु त्यसैले म ठूलो, अरु दाजु भाइले ठूलो जागिर खाए उनीहरुका छोराछोरीले पनि ठूलो उन्नति प्रगति महान भए मेरा सामान्य भए भनेर चित्त दुखाउँदिन त्यसैले म ठूलो भएँ ।

अरु साहित्यकार ठूला ठूला भए म भइन भनेर चित्त दुखाउँदिनँ त्यसैले म ठूलो । अरु कलाकार महान विशिष्ट भए म भइनँ भनेर दुखेसो गर्दिनँ त्यसैले म ठूलो कुनै पनि चेली बेटीलाई हेला होचो अपमान गर्दिनँ त्यसैले म ठूलो, म समालोचक भएँ भन्दैमा अरुका कृतिको अपमान हेला होचो गर्दिनँ त्यसैले म ठूलो । अरु दाजुभाइ भन्दा आफुले धेरै कमाउने भएँ भन्दैमा ससुराली लगेर पैसा लुकाउँदिन त्यसैले म ठूलो । दाजु भाइ सोझा र लाटा छन भनेर म ठान्दिन त्यसैले म ठूलो । बाबु आमा गरिब छन् झुत्रे झाम्रे लगाउँछन भारी बोक्छन् भन्दैमा शहरमा भेट्न आए भने ठूला वडा धनी महाजनका छेउमा जान म रोक्दिनँ । मेरा बाबु आमा तिनै हुन भन्छु आदर गर्छु औकात अनुसारको मिठो चोखो खान दिन्छु त्यसैले म ठूलो । अरुको घरमा घर झगडा भयो भने एउटालाई उचालेर झन झगडा चम्काउँदिन त्यसैले म ठूलो ।

म हलो जोत्छु, म भारी बोक्छु, म भैसी पाल्छु, बाख्रा पाल्छु, म मौरी पाल्छु त्यसैले म ठूलो । म हली बस्छु, गोठालो बस्छु, म खेतालो जान्छु, त्यसैले म ठूलो । म फ्याप्लो खान्छु, म ढिँडो खान्छु, म खोले फाँडो खान्छु, त्यसैले म ठूलो । म फलाम पिट्छु, म औजार बनाउँछु, गाउँमा अभर पर्दा सघाउँछु, सकेको सहयोग गर्छु, त्यसैले म ठूलो । म झुपडीमा बस्छु, टपरीमा खान्छु, गुनासो छैन त्यसैले म ठूलो । म ढाँटेर राजनीति गर्दिनँ, भ्रष्टाचार र अनैतिकताले भकारी भर्दिनँ त्यसैले म ठूलो ।

अर्काकी छोरी बुहारी नराम्री देखेर म निन्दा गर्दिनँ त्यसैले म ठूलो । म कालो भए पनि ठिकै छु, थोत्रो थाम्रे लाए पनि ठिकै छु, शहरिया भए नि ठिकै छु, गोरो भए नि ठिकै छु, गाउँले भए नि ठिकै छु, सिस्नु साग खाए पनि ठिकै छु, निगुरो पात खाए नि ठिकै छु, त्यसैले म ठूलो ।

म साँझमा पनि ठिकै छु, म बिहानीमा पनि ठिकै छु, रातमा पनि ठिकै छु, म दिनमा पनि ठिकै छु त्यसैले म ठूलो । म उकालीमा पनि ठिकै छु म ओरालीमा पनि ठिकै छु, दम दमेमा पनि ठिकै छु, सम्ममा पनि ठिकै छु, त्यसैले म ठुलो । खोलाको किनारमा बसेपनि ठिकै छु, बारीमा बसे पनि ठिकै छु, कटेरोमा बसे पनि ठिकै छु, महलमा बसे पनि ठिकै छु, त्यसैले म ठूलो । म लाटाका बिचमा पनि ठिकै छु , बाठाका बिचमा पनि ठिकै छु सोझाका बिचमा पनि ठिकै छु त्यसैले म ठूलो । म मन्त्रीहरु भन्दा पनि ठूलो, म राष्ट्रपति भन्दा पनि ठूलो, म गणपति भन्दा पनि ठूलो, म सेनापति भन्दा पनि मै ठूलो ।

म आमा बाबा भन्दा ठूलो हैन, देवी देवता भन्दा ठूलो होइन, ईश्वर भगवान भन्दा ठूलो होइन, राम, कृष्ण, विष्णु, शिव, गणेश भन्दा ठूलो होइन, देवी भगवती काली भन्दा ठूलो होइन, म गुरु भन्दा ठूलो होइन, म ठूलो कवि भएँ भनेर पोज देखाउन सकिनँ त्यसैले म ठूलो । म ठूलो समालोचक हूँ भनेर अरुको कृति र स्रष्टालाई हेला होचो गर्दिनँ, त्यसैले म ठूलो । म भेडी गोठालो बाख्रा गोठालो, भैसी गोठालो, भए पनि मै ठूलो । व्यापारी, उद्योगी, ठेकेदार भए पनि वास्ता गर्दिनँ, त्यसैले म ठूलो । ढाक्रे भए पनि, झाँक्री भए पनि त्यसैले म ठूलो । पहरेदार, झाडुबडारु गर्ने भए पनि त्यसैले म ठूलो ।

राष्ट्रपति, महामन्त्री, मुख्यमन्त्री, मुख्यसचिव, भए पनि केही फरक पर्दैन चर्चित कलाकार, भए पनि महान्यायधीश भए पनि कुनै फरक पर्दैन वकिल डाक्टर भए पनि ईन्जिनीयर भए पनि नामुद वैज्ञानिक भए पनि केहि असर पर्दैन महाधीश, न्यायाधीश भए पनि केही फरक पर्दैन समग्रमा सक्कली भएर जन्मिएपछि सक्कल सोच बिचार हुनु पर्ने हो सक्कली कर्म गर्नु पनि हो दुनियाँलाई ढाँटेर ठूलो मान्छे हुने अनि दुनियाँलाई उपकार गर्नुको सट्टा उल्टै दुःख दिने आफ्नै भुँडी भर्ने अनि आफैँ मात्र ठूलो असल सज्जन विद्वान जानिफकार भनेर सोचेर पुग्दैन कर्म पनि धर्म पनि मर्मस्पर्शी हुनुपर्छ म त्यसो गर्दिनँ, त्यसैले म ठूलो ।

०००
झापा, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x