डम्बर घिमिरेमहादेवले घोक्र्याइदिए
असक्त, वृद्ध बाबुआमालाई वृद्धाश्रममा लगेर थुपारीछस् । नमीठो वचन लगाई कुटपीट गरेर खेदिछस्, दिदीबहिनीहरूको धन सम्पत्ति, सुन, चाँदी ठगेर खाइछस् । स्वदेशको मूर्ति चोरी फूर्ति लगाइछस् । कम्ती दाइजोको कारणले श्रीमती हत्या गरिछस्।

डम्बर घिमिरे :
धेरै दिनको न्यास, ध्यान, जप-तप र तपस्यापछि शिवरात्रिको दिन साङ्गे गर्ने गरी शिवभक्तले पुराण लगाए । पुराणहरूले भन्ने गर्दछन् सत्य, त्रेता, द्वापर युगमा जस्तो धेरै कठोर तपस्या कलियुमा गर्नु पर्दैन । साङ्गेकाे दिन शिवभक्तले धुमधामका साथ शिव उत्सव मनाए । गाई दान, सुन दान, भूमि दान, शैया दान, वस्त्रादि दान, रूपियाँ दान गरे। रातमा जाग्राम बसे । स्ताेत्र, भजन, कीर्तन आदि गरे । नाचगान गरे। शिव खुसी भए ।
शिवभक्तले देख्ने र बाेलेकाे सुन्ने गरी शिवजी प्रकट भए, शिवजीले भने हे भक्त, म तिम्रो भक्तिदेखि खुसी भएँ, के भन्न मन छ लौ भन-
– शिवमक्तले भने- “हे परम्ब्रह्म परमेश्वर, यो दुःखीको दुःखकष्ट मेरा पुस्तौंपुस्ताका लागि नाश गरिदिनुहोस् । धन-दौलत, ऐस-आराम, सुख, पद-प्रतिष्ठा, उच्च शिखरमा पुगोस् । मेरो बोली सिद्ध होस् । मेरा दुश्मन वैरी कोही नहुन्, सन्तान दर सन्तानमा मेरो मागअनुसार चलिरहोस् प्रभु ।”
यति धेरै माग त तिम्रा कर्मले मात्र प्राप्त हुन्छन् । तिम्रा प्रारम्भदेखिका कर्म, कुकर्म, छन् कि सुकर्म छन् म ध्यान दृष्टिले हेर्छु अनि मात्र भन्छु भनेर शिवजी ध्यान गर्न लागे । ध्यानपश्चात् शिवजीले भने- हे मनुष्य तँलाई म भक्त भन्दै थिएँ, तँ त एक नम्बरको फटाहा रहिछस् । पुराण लाउनु भनेको पहिले सक्दो कुकर्म कुकृत्य गर्नु अनि मात्र पुराण लाउनु भन्ने बुझिछस् । त्यसो होइन, पहिले तँ तैँले गरेका कुकर्मका फल भोग अनि मात्र सुकर्मको केही फल प्राप्त गर्न सक्तछस् । सुन तैंले कति कुकार्य गरिछस् । तेरा जवानीकालका, विद्यार्थी कालका, शिक्षककालका, गृहस्थीकालका, राजनीतिकालका, धार्मिककालका कथाहरू ।
विद्यार्थीकाल-
बालपन कटेपछि जब विद्यार्थीकालमा लागिस् सात/आठको श्रेणीमा पुगेपछि तेरा चरित्र विद्यार्थी चरित्र रहेनन् । कानमा कुण्डल लगाउने, पाइन्ट दूलो पारेर पानपत्ताको आकार बनाइ टाल्ने, बाटामा नक्कले गीत गाउँदै हिंड्ने, किताब च्यापेर विद्यालय नगई सिनेमा हलतिर जाने, कक्षामा बसेका बेला होहल्ला मच्चाउने, केटीतिर कागजका पाेका र ससाना ढुङ्मा हान्ने, टिनको छानामा ढुङ्गा वर्षाउने, शिक्षकहरूलाई कहिले
तरवार र ढुङ्गाले छोप्ने, नम्बर थोरै आयो भनेर अफिसमा उजुर गर्ने, घरमा बाबुआमालाई काम नसघाउने, नचाहिँदो खर्च गर्न पैसा माग्ने, आफूभन्दा साना विद्यार्थी साथीहरूलाई कुटपिट गर्ने, अपशब्द बोली अरूलाई गानीगलोज गर्ने, तेरा व्यवहारले अरू आतङ्कित हुने आदि तेरा चरित्र रहेछन् ।
शिक्षककाल-
एउटै कार्य क्षेत्रमा लागेका सहकर्मी शिक्षक साथीहरूलाई अधिक तलबको घमण्डले, पदको मातले, बैसको अभिमानले, लावण्यको दम्भले बाटाघाटामा, कक्षा कोठामा, सार्वजनिक ठाउँमा, पाहुना-अतिथि आएको बेला आफ्नु बडप्पन देखाउन निम्नस्तरका शिक्षकहरूलाई हप्काउने-दप्काउने, शिक्षक-विद्यार्थीको बीचमा बेइज्जती गर्ने, चियोचर्चा गरेर प्र.अ.को प्यादा भई पोल सुनाउने र प्र.अ.बाट आफ्नो अनुकूल काम हात लगाउने, टाढा घर भएका शिक्षकहरूले पूजाआजा, बिहे, व्रतवन्धमा श्रद्धासाथ बोलाउँदा नजाने आदि ।
पूर्ण जवानी र गृहस्थीकाल-
घरकी गृहलक्ष्मीसित सन्तोष नमानी गाउँभरि हातपात गर्ने, चोरी डकैती गर्ने, समाजमा उद्दण्डता, अशान्ति, उच्छ्ङ्खलता मचाउने, घरमा काम नगर्ने, मीठोमीठो खान चाहिने, राम्रोराम्रो लाउन चाहिने, तेरो नाममा समाजमा बारम्बार कचहरी छलफल गरिरहनुपर्ने आदि ।
राजनीतिकाल –
राजनीतिमा एउटा स्पष्ट नीति नभएको, एक छोडी अर्को पार्टीमा लागेको जुनजुन पार्टीमा गयो त्यहाँ भाँडभैलो मच्चाएको, पार्टी फुटाएको, जहाँ-जहाँ गए पनि पानी, पैसा, परी र पदको निम्ति हुरुक्क हुने ।
साहित्य र कला-
साहित्यमा लागेर व्यक्ति वा संस्थाको प्रशंसा र गुणगान गर्ने, म र मेरा पक्षका साहित्यकार, कलाकार राम्रा, असल, अरू कमसल भन्ने, विकृति विसङ्गतिलाई व्यङ्ग्य हान्ने, हास्यव्यङ्ग्यकार भएर आफैं विकृतिको पात्र बन्ने, काठमाडौँमा बसें भनी अहंपना बोकेको, मोटरसाइकल र मोवाइल आफूसित रहेको धम्की दिने, रूप लावण्य, पोसाक र उमेरको आधारमा मोफसलकारहरूलाई तिरस्कार गर्ने हास्यव्यङ्ग्यकार भएको, काठमाडौँवासी नै एकेडेमीका योग्य पात्र हुन् भन्ने गरेको आदि विकृतिको पात्र आफै हो।
वृद्धावस्था र धार्मिक अवस्था-
अहिले वृद्ध अवस्थामा पितृको श्राद्ध, रूद्री, पूजा, पुराण, यज्ञयज्ञादि गरेको, चारधाम तीर्थ व्रत गरेको, केवल समाजमा प्रतिष्ठित हुन, सबैभन्दा उच्च भएर बस्ने तेरो ध्येय रहेछ। दानधर्म निःस्वार्थ हुनुपर्छ, भाेकालाई भोजन, नाङ्गालाई वस्त्र र पाटीपौवा, बाटोघाटो, मठमन्दिर, घाट पानीका लागि, साहित्यिक सङ्घ-संस्थाको लागि, विकास निर्माणका लागि केही दिएको रहेनछस् । वरू उल्टै गाली गलोज गरेर चित्त दुखाएर पठाएको रहिछस् । तीर्थ, वर्त पनि, संस्कृति परम्परा पनि, विदेशीमै भई बल गरेको रहिछस् । नेपाली संस्कृति, सभ्यता. परम्परालाई बिर्सिएर अन्य देशको परम्परामा लागिछस् ।
छोराछोरीको विहे गर्दा नौमती बाजा पञ्चैबाजा छोडेर व्याङपाटेबाजा बजाइछस् । दमाहाँ, नर्सिङ्गा, कर्नाल, ट्याम्को, झ्याली, मुजुरा, झ्याम्टा, सहनाई, सारङ्गी, विनायो, मारूनी, सङ्गिनी, ढोलक, दौरा-सुरूवाल गुन्यू चोलो सबै बिर्सिछस् । आफ्नै देशका धामहरू अर्जुनधारा, सतासी धाम, पिण्डेश्वर, वराहक्षेत्र, हलेसी, मुक्तिनाथ, पशुपतिनाथ, गुह्येश्वरी पनि भुलिछस् । अनि बोल बम, विश्वनाथ. जगन्नाथ, हरिद्वार, ऋषिकेश, केदारनाथ, वृन्दावन, वनारस मात्र डुलिछस् । वहाँ मात्र भगवान प्राप्त हुन्छन् भन्ने बुझिछस्, स्वदेशका गाउँठाउँ नघुमी, आफ्नु देशका जनताको भोक तिर्खा नबुझी विश्वका ठूलाठूला राष्ट्रको भ्रमण गरेर आफू प्रचारमा आउन खुव प्रचार-प्रसार गर्दाे रहिछस्, त्यसैले तैले यी अनुचित कार्यको प्रायश्चित गर्न कठोर भूमिका खेल्नुपर्नेछ ।
अझै सुन, असक्त, वृद्ध बाबुआमालाई वृद्धाश्रममा लगेर थुपारीछस् । नमीठो वचन लगाई कुटपीट गरेर खेदिछस्, दिदीबहिनीहरूको धन सम्पत्ति, सुन, चाँदी ठगेर खाइछस् । स्वदेशको मूर्ति चोरी फूर्ति लगाइछस् । कम्ती दाइजोको कारणले श्रीमती हत्या गरिछस्। धेरै श्रीमती बटुलीछस्, तेरा कुकृत्यको बयान गरेर साध्य छैन । त्यसैले अब तैले तेरा कुकर्मको फल पहिले भोग्नुपर्छ अनि मात्र सुकर्मको फल पाउनेछस्, अहिलेलाई मेरो नाम नली लठुवा भनेर शिवजीले घोक्र्याई दिएछन् । अनि ढ्न्मुनिंदै बाटो तताएछ ।
०००
झापा
२०६४, जेठ
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)
Subscribe
Login
0 Comments
Oldest






































