आर.आर. चौलागाईंभ्यु टावरबाट के-के देखिन्छ ?
भ्यु टावरबाट के-के देखिन्छ ? नयाँ राजा रानीहरूको सवारी देखिन्छ घाँटीभरि टनाटन माला देखिन्छ ।

भ्यु टावरबाट के-के देखिन्छ ?
तुइनबाट मान्छेहरूले खोला तरेको देखिन्छ
शहरमा थुप्रिएको फोहर देखिन्छ
सडक बालकहरूको कन्तबिजोग देखिन्छ
माग्न बसेका भिखारीहरूको ताँती देखिन्छ
पानी नआउने धारा देखिन्छ
बन्द भएको कारखाना देखिन्छ
बाँझो पल्टेको जमीन देखिन्छ
सुकुम्बासीहरूको बस्ती देखिन्छ
आफैँ रोगी भएको अस्पताल देखिन्छ
भत्किएको पाटीपौवा र टुँडाल देखिन्छ
बन्दाबन्दै छोडेको पुल देखिन्छ
भ्यु टावरबाट के-के देखिन्छ ?
भ्यु टावरबाट के-के देखिन्छ ?
नयाँ राजा रानीहरूको सवारी देखिन्छ
घाँटीभरि टनाटन माला देखिन्छ
असङ्ख्य तलाहरूको सपिङ कम्प्लेक्स देखिन्छ
पैसावालाहरूको सिभिल होम देखिन्छ
पार्टीहरूको जुलूस देखिन्छ
नेताहरूको पिर्के सलामी देखिन्छ
होचो हुँदै गएको हिमाल देखिन्छ
डोजरले भत्काएको पहाड देखिन्छ
सुरुङ खन्न ठिक्क पारेको भित्तो देखिन्छ
रङ खुइलिएको साइनबोर्ड देखिन्छ
शिलान्यास गरेको एअरपोर्ट देखिन्छ
खण्डहर भएको सभागृह देखिन्छ
भ्यु टावरबाट के-के देखिन्छ ?
हाम्रो देशमा अहिले
भ्यु टावर ठड्याउने होडबाजी चलेको छ
भन्नैपर्दैन हाम्रो देश अहिले
समाजवादमा प्रवेश गरिसकेको छ
हामी नेपाली त कति खुसी कति खुसी !
हामी नेपाली त कति सुखी कति सुखी !!
२०७८ चैत्र १९
Subscribe
Login
0 Comments
Oldest






































