खगेन्द्र नेउपानेहल्दार कान्छा !
तिमी हल्दार तिमीभन्दा दशौं तलामाथि बस्छन् चोरहरू तिम्रो बुटभन्दा कडा छन् तिन्का सोरहरू ।

अहिले पट्याङ्ग गालामा दिउँ ?
मैले घुस नखाऊ भनेको होइन ?
पर्यौ कि परेनौ त अख्तियारको फन्दा
खुच्चिङ् ! मैले भनेको नमान्दा
समातियौ त
हल्दार कान्छा !
हल्दार कान्छा !
भ्रष्टाचार तिम्ले गर्ने होइन
तिम्रो योग्यताले दिंदैन
भ्रष्टाचार गर्न खप्परमा लिएर आउँनुपर्छ
उपरवालाले दिएर आउँनुपर्छ
माथि डाँडामा उक्लेर शहर हेर त हल्दार कान्छा !
ती अग्ला हाकिमका घरहरू
आफ्नै तलबले बनेका हुन् ?
सचिव र मन्त्री हुन सकेनौ त
बाउ बाजेले त्यसै भनेका हुन् ?
ती मार्बलले टालेका सिसमहल देखेर
अख्तियार पनि डराउँछ
ती भब्यताको तिलश्मी झकिझकाउमा
प्रमाणहरू पनि हराउँछ
भ्रष्टाचार त त्यसरी पो गर्नुपर्छ हल्दार कान्छा !
हल्दार कान्छा !
भ्रष्टाचार त त्यसरी पो गर्नुपर्छ
फलानुले त शहरमा प्रगति गर्यो भनुन्
गाउँ पस्ता पनि भद्र भलाद्मीमा गनुन्
अख्तियारमा आफ्नै म्यारिजे यार हुन्
नेता मन्त्री चन्द्रमा झैं दाहिने बनुन्
त्यसरी पो घुस खानुपर्छ त हल्दार कान्छा !
ठिङ्गग उभिएर रोडमा होइन
फाइबस्टारमा करोडमा बार्गेनिङ् गर्नुपर्छ
दायाँबायाँ तलमाथि अलिअलि मानाचामल भर्नुपर्छ
योजना लुकाउँनु पर्छ
मुहान सुकाउँनु पर्छ
बत्ती निभाउँनु पर्छ
बहर गोरु दाउँनु पर्छ
तिमीले त बिचरा नुन चामलको पोका खोतलेपछि
खुस्रुक्क सय दुईसय लिएर चलेपछि
पक्राउ त परिहाल्छौ त हल्दार कान्छा !
हल्दार कान्छा !
तिम्रो त कुखुरे छाती
अझ कुखुराको जस्तै चारो खाएपछि
तिमी आफैं कुखुरा
तिम्री बुढी कुखुरीले चार हजारको सारी माग्न हुन्छ ?
गजल रेष्टुराँको के कुरा
माघे मेलामा जाने इच्छा जाग्न हुन्छ ?
साधारण सुट नभएर सालोको विहेमा जान नसक्ने तिमी
दमाहा जत्रो छातीको कल्पना गर्न हुन्छ ?
तिमी हल्दार
तिमीभन्दा दशौं तलामाथि बस्छन् चोरहरू
तिम्रो बुटभन्दा कडा छन् तिन्का सोरहरू
त्यसैले हल्दार कान्छा
तिमी शुद्ध राष्ट्रसेवक
तिमी शुद्ध जागिरे
भ्रष्टाचार गर्ने कल्पना नगर
खै तिम्रो भ्रष्टाचार गर्ने योग्यताको सर्टिपिकेट ?
जागिर त्यै हो
गड्याम्म बुट ठोक
हिलो आली र खोलामा
भि आइ पि हरू बोक
तिम्रो छाप्रो बनाउँने सपना बोकेर
नेताहरूको घर सुरक्षा गर सलाम ठोक
यता जाउ गाली खाउ उता जाउ लाठी बर्षाउ
उनिहरू जुलुस गरीरहन्छन्
तिम्रो टाउकोमाथि ढुङ्गा झरिरहन्छन्
अविचलित कर्तब्यनिष्ठ प्रहरी बन
तिमी गरिबको छोरा
त्यसैले सबैले तिम्लाई अर्घेलो देख्छन्
तर
हल्दार कान्छा !
तिम्रो योगदान उच्च छ
तिमी अरुलाई सलाम गर्छौ
मेरो तिम्लाई सलाम छ
तर कृपया भ्रष्टाचार चैं नगर
पवित्र पोशाकमा मैलो दाग नछर ।
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest






































