कृष्ण प्रधान‘लभ यू टु कृष !’
फेरि यो घोर्ले स्याल पनि बेला-बखत राजनीतिकै तीर र झीरले उनिएर पनि घरि यता, घरि उता गर्न चाहिँ छोड़ेको छैन ।

मेरो हृदयका राजा,
हजूरको चरणस्पर्श गरेँ । अँगालोमा बाँधेर माथचुम्बन गर्नोला । हजूरले मलाई हजूरको गहकिलो बाहुपाशमा अँठ्याए मेरो माथचुम्बन गर्दा मलाई हजूरकै मुटुको सिरानमा बसेँजस्तो लाग्नु मात्र होइन तर विशाल प्रणयाङ्गणमा विचरण गरिरहेकी हुन्छु । तर यहाँका नेताहरू मात्तिएर, पात्तिएर, पलापिएर जुलूस फलाकेको सुन्दा म झसङ्ग हुन्छु । हजूरको न्यानो, स्नेहालु मायाको तिर्सनाले हरहरती भएर काकाकुली कुर्लिरहेछु ।
जे होस्, यो पाली चिट्ठी डाकबाट नपठाएर वाट्सएपबाटै पठाएँ ल । मैले वाट्सएप चलाउनु बल्ल.., बल्ल सिकेँ नि ! पोष्ट अफिस जानु मनै लागेन । अहिले बजार गई नसक्नु छ हजूर । मेरो छात्ती (दार्जिलिङ)-भरि एक-एक छिनमा के-के हुन्छ हुन्छ ! यहाँ छिनछिनमै के के हुनथालेको हिजोआज देखिको होइन । उहिल्यैदेखिको । को कोसित लाग्यो अरे ! कसको ब्रेक भयो अरे…। यस्ता कुराहरू ता धारामा पो सुन्नुपर्छ ता । अहिले फेरि यता र उताको हावा चलेको छ । धारामा गयो यता र उताकै कुरा । बजार गयो उही कुरा । मरौमा गयो उही कुरा । यो यता र उताको कुराले कान पाकिसक्यो । यो यताको र उताको कुरा सुन्न नपरोस् भनेर पोष्ट अफिस जानु दिक्कै लागेर वाटसएपमै पठाएँ ल ।
हजूरले मलाई ‘आई लभ यू दार्जिलिङ’ लेख्नुभएछ । हजूरको लभलाई मुटुमै सँगालेर राखेकी छु । मबाट पनि ‘लभ यू टु कृष’ । हजूरलाई ‘कृष’ भनेँ है । नरिसाउनोला । यहाँका तरुणीहरूले उनेरको लभर्सलाई अचेल !; ‘दाजु’, ‘दा’ कि चाहिँ नामै काढ़ेर बोलाउन थालेका छन् । आफ्नै लोग्नेलाई ता ‘दा’ भनेर वा नाम काढ़ेर बोलाउँछन् यहाँका विवाहित स्वास्नी मानिसहरूले । खासमा ता भारतीय हिन्दू नारीहरूले कहिल्यै आफ्ना पति महोदयको नाउँ काढ़्दैनन् होइन हजूर ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई सखरखण्ड । म ता मेरो हजूरको नाम काढ़ेर कहिल्यै ‘कृष्ण’ भन्दिनँ… मलाई ता हजूरलाई ‘कृष’ भन्नु नै मनपर्छ ।
मेरो मुटुको ढुकढुकी कृष ! मलाई हजूरले ‘कस्तो छ्यौ ?’ भनी लेख्नुभएको रहेछ । कस्तो छ भन्नु र हजूर ! बिसञ्चो छु । बिसञ्चो भनेको अर्कै बिसञ्चो नसम्झिनुहोला नि फेरि ! शारीरिक होइन मानसिक बिसञ्चो । खै के भनुँ कृष ! अचेल ता मलाई यहाँको गतिविधि, चालचलन देख्दा र सुन्दा मेरो भरिलो वैंसलाई बजार बीचमा झुण्ड्याएर रातभरि यता उता गर्नेहरूको कलेटी परेको ओंठमा जबरजस्ती टँसाउन खोजेजस्तो लाग्छ । खै यो यता र उता गर्नेहरूले के गर्न चाहेका हुन् को’नि ! मेरै सन्तान भएकाले मैले मेरो वैंसलाई मारी-मारी उनीहरूको वैंससित छिल्लिनु खोजिरहेछु । राजनीतिको प्रणयाङ्गणमा छचल्किँदै, छिल्लिँदै, इत्रिँदै, पलापिँदै म राजनीतिको वैंसलाई मेरो मदमस्त, झर्झराउँदो वैंस समर्पण गर्न चाहन्छु । तर यहाँको राजनीतिपनि लाटाको धोती नै बराबरी छ अनि । मभित्र कहिल्यै निको नहुने घाउ छ…मभित्रको यो घाउ कहिल्यै भरिएन । मेरो लोभलाग्दो स्तन राजनीतिको छातीमा हजारौंपल्ट माडारि़इँदैछन् । उताबाट यता आउनेले उताबाट यता आउनेहरूका वीर्य हजारौंपल्ट मेरो छत्तीमा स्खलन हुन्छन् । मेरो कुमारी वैंसलाई राजनीतिले बलात्कार गरिरहन्छ । मेरो छात्ती (दार्जिलङ)ले एक दिन ‘आफ्नै निजी देश’ जन्माउला भनेर म राजनीतिको बलात्कार सहिदिन्छु । उनीहरूको एकता तर स्खलन भएपछि मेरो गर्भलाई चिचिलामै झार्ने धम्की दिन्छन् यी यता र उता गर्नेहरूले । चूपो लागि सहिदिन्छु ।
जब-जब मेरो छात्तीबाट हजारौं पाइतालाहरू जुलूस फलाँक्दै अघि बढ़्छ, जब जब तल बजारमा यता र उता गर्नेहरूले गाली मात्रै गरेको भाषण सुन्छु, मेरो हजूर ! मलाई लाग्छ म राजनीतिको बेडमा लम्पसार भई राजनीतिको गाहकीलाई खुशी पारिरहेकी छु । मलाई सिँगार्न तम्सिने मालीहरू वीर्यको घमण्डले आफै स्खलन भएको देख्दा हे भगवान् ! मैले यस्ता हुतिहारा मालीहरूलाई किन के भनेर जन्माएछु, कुन आँट र भरोसाले ती हुतिहाराहरूलाई मेरो स्तनमाथि बुर्कुसी मार्नु दिएछु भन्ने प्रश्नले रातदिन चिर्थोछ । म दुख्छु मेरा कृष…साँच्चै म दुख्छु । तर मलाई सर्काउऩे र फुर्काउनेले मेरो मल्हमपट्टी गर्ने समय निकाल्न सकेनन् । तर एक मनले सोंच्छु, उनीहरू आफै ता पिँध नभाको गाग्रोजस्तो पुल़्डुङ्-पुल्डुङ् यतै पनि लडि़जाने उतै पनि लडि़जाने खालका भइसकेका छन् । आफ्नो सन्तुलन मिलाओस् कि अरुको सन्तुलन मिलाओस्….?
मेरो हजूर ! आरम्भमा यी यताबाट उता, उताबाट यता गर्नेहरूकै पूर्खाहरूका राजनीतिले आरम्भमा मेरो ओंठ मात्र चुम्बन गरेको थियो…. तर तिनका नाति-पनातिहरूले चुम्बन मात्र होइन अब ता ओँठै निचोरेर गर्नु गरिसके । मेरो हात समातेर यहाँको राजनीतिले मलाई यहाँको चेप-चेप, गल्ली-गल्लीमा नाङ्गो नृत्य गराइरहेको छ । राजनीतिको कामुकता मेरो उन्मत्त फिलामा चढ़ाउनु बाहेक मेरो गर्भमा मेरो देश थुपार्नु सकेन । अचेल ता यहाँ नारा फलाक्न लाउने र जुलूस चिच्याउन लाउनेहरूको अनुहार सम्झिँदा यस्तो नपुंसक छोरो जन्माउने कुन हुतिहारा आमा होलान् भनी आमासित रिसाउन थालेकी छु ।
अहिले यो मेरो छात्ती (दार्जिलिङ) म आफैलाई नयाँ लाग्न थालेको छ । मुसलधारे पानी एकतमासले परेर मेरो छात्तीलाई अङ्कमाल गरेको गऱ्यै छ । यो अङ्कमाललाई मैले मेरै ‘कृषू’ हजूरको अङ्कमाल सोंचिरहेकी छु । मज्जाइलो आनन्दानुभूति भइरहेछ । यस्तो पानी झरीमा पनि यताको उता, उताको यता गर्नेहरू राजनीतिको कट्टु लाएर सेता पिँड़ालु देखाउँदै मात्तिएका, पात्तिएका, पलापिएका देख्दा मलाई लाग्छ बक्सिङ रिङमा हजारौंपल्ट नक आउट भइसकेका हुतिहाराहरूले आउने दिनहरूमा राजनीतिको बक्सिङ रिङमा टिक्न सक्लान् के ता (?) भन्ने प्रश्नले बाहिरबाट आएको चिसो हावा पनि छक्क परेर बाहिरै लाग्न थालेको छ ।
बाहिर चिसो हावा पनि एकतमासले बहिरहेको छ । यहाँ पैह्रो जावोस्… घर सोहोरेर लगोस्… वास्ता छैन तर राजनीतिको छातालाई यहाँको चिसो हावाले फेरि उड़ाउँला कि भन्ने शङ्का लागिरहेको छ । यहाँको राजनीतिको छाताका करङहरू कतिचोटि राजनीतिकै हावा-हु़ण्डरीले भाँचिसके त्यसको हिसाबै छैन । छाताको करङ बऩाउने छातावालहरू आफै करङजस्तो भएपछि इन्द्रेको बाबु चन्द्रे आए पनि केही लछारपाटो लाउन सक्ने होइन क्यारे !
मेरो हजूर ‘कृष’ ! हिजोआज म आफूलाई नै सातगाछियामा काँचो मासुको पसल थापेर बस्नेजस्तो ता होइन तर पक्कै पनि राजनीतिको पसल थापेर बस्नेजस्तो लाग्न थालेको छ । किनभने यहाँको राजनीतिले मेरो ओँठ चुम्यो, स्तनलाई पनि बेस्सरी… । कहिले स्वास्नी बनेर, कहिले आमा बनेर, कहिले पातकी बनेर मैले राजनीतिलाई सही बसेँ । हिजोआज म नग्न गन्हाउने भएकी छु । राजनीतिको नाङ्गो आङ-आङमा मेरो यौनाङ्ग सुम्पिसकेकी छु । घरि यता, घरि उता गर्नेहरूका सन्तान-दर-सन्तानले कहिले मलाई राजनीति हावाजहाजमा चढ़ाएर शहाजहाँ र मुमताजको मायाको कहानी सुनाउन आग्रा पुऱ्यायो; कहिले बलभद्र र अमरसिंह थापाहरूका पराजित गाथा सुनाउन खलङ्गा ता कहिले भाक्सु पुऱ्यायो । आग्रामा पुगेर गाग्रा बोकी घर ल्याइपुऱ्यायो । कसलाई विश्वास गर्नु; कसलाई विश्वास नगर्नु; कसलाई पत्याउनु; कसलाई नपत्याउनु मेरो हजूर ? मलाई ता तपाई ‘कृष’ हजूरको मात्रै विश्वास लाग्छ । तर एउटा कुरा तपाई पनि घरि यता, घरि उता गर्ने जता मल्खु उतै ढल्खु नहुनुहोस् ल मेरो हजूर ।
तपाई चाँढ़ै आउनोस्…. हजूरलाई शहर घुमाउँछु, माल, चौरस्ता, लभ पोइण्ट, भाले ढुङ्गा, घिर्लिङ, बर्चचहिल जहाँ-जहाँ भन्नुहुन्छ त्यतै लगेर घण्टौंसम्म हजूरसित प्रेमालाप गर्न मन लागेको छ । तर अहिले मेरो यौनमत्त छाती (दार्जिलिङ) भरि राजनीति वैंस घोर्ले स्याल कराइरहेछ । फेरि यो घोर्ले स्याल पनि बेला-बखत राजनीतिकै तीर र झीरले उनिएर पनि घरि यता, घरि उता गर्न चाहिँ छोड़ेको छैन नि हजूर ।
मैले राजनीतिको डाइसमा झण्डीमा मात्रै दाउ छोप्छु भनी हजूरले भन्नुभएको कुरा हृदयभित्रबाटै स्वीकारेँ । के गर्नु मेरो हजूर ‘कृष !’ यहाँको राजनीतिक जिन्दगी झण्डीमै बाँच्न सकिरहेको छ । डाइसमा भोटे, पाना, चिडि़या, मुकुटमा दाउ छोप्यो भने मेरो वैंस राजनीतिको बजारमा लिलाम हुन बेर लाउँदैन नि हजूर । म लिलाम हुन चाहन्नँ… पटक्कै राजनीतिको बजारमा लिलाम हुन चाहन्नँ । म जे छु ; जहाँ छु; जस्तो छु, त्यसैमा ठिक छु । त्यस्तै भएर बाँच्न चाहन्छु ।
हजूरले मलाई ‘आई लभ यू दार्जिलिङ’ लेख्नुभएको रहेछ । कम्ति ता खुशी लागेन मेरो हजूर । दस चोटि पढ़ेँ । मलाई अचेल यहाँ तपाई हजूरले जस्तै ‘आई लभ यू दार्जिलिङ’ भन्ने नै को छ र हजूर ? दाउ पऱ्यो भने, ‘खाई लभ यू दार्जिलिङ’ भन्न बेर पनि लाउँदैनन् तीर र झीरमा उनिएकाहरूले । के ठेगान मोराहरूको हई !
हजूरलाई पनि…..
‘लभ यू टु कृष !’
हजूरको मुटुकै सिरानमा निदाउन चाहने
हजूरको ज्यान ।
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































