फित्काैली डटकमअविरल यात्रामा कवि होमशङ्कर बास्तोलाका एक दर्जन कविता
साहित्य सदन नेपालका अध्यक्षसमेत रहनुभएका कवि, प्रसिद्ध समालोचक प्रा.डा.हेमनाथ पौडेल प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा रहनुभएको उक्त विशेष समारोहमा विशेष अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी हुनुहुन्थ्याे ।

काठमाडाैं । साहित्य सदन, नेपाल, रामहिटी, बौद्धको सभाकक्षमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ११० औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, राष्ट्रसेवा, सामाजिक–साङ्गठनिक नेतृत्व, साहित्यिक सङ्घसंस्थामा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा होमशङ्कर बास्तोलाका एक दर्जन कविता तथा गजल सुनियो, परिचर्चा गरियो ।
साहित्य सदन नेपालका अध्यक्षसमेत रहनुभएका कवि, प्रसिद्ध समालोचक प्रा.डा.हेमनाथ पौडेल प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा रहनुभएको उक्त विशेष समारोहमा विशेष अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्रा.डा.बद्रीविशाल पोखरेल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष नमुना शर्मा र महासचिव आर.सी.न्यौपाने उपस्थित हुनुहन्थ्यो भने अतिथिहरूमा प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंह, प्रा.डा.विदुर चालिसे, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा.फणीन्द्रराज निरौला, आर.एम.डङ्गोल, डा.लेखराज खतिवडा, प्रहलाद पोखरेल, डा.नवराज रिजाल, कविनायककी जीवनसङ्गिनी रोजु गौतम, कुशल बोगटी, खेमराज निरौला, शिव अधिकारी, गङ्गा पौडेल कर्माचार्य, प्रशान्त खरेल, ओमप्रसाद कोइराला, साधुराम नेपाल, लक्ष्मण तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
विशेष समारोहको पहिलो चरणमा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा प्रमुख अतिथिबाट भण्डारीको तस्बिरमा माल्यार्पण गरिएको थियो । कवि खेमराज निरौलाले मदन भण्डारीप्रति समर्पित कविता वाचन गर्नुभएको थियो भने नमुना शर्माले मदन भण्डारीद्वारा लिखित गीत गाउनुभएको थियो । समारोहका प्रमुख अतिथिले मदन भण्डारीप्रति समर्पित कविता वाचन गर्नुभएको थियो । विशेष अतिथि प्रा.डा.बद्रीविशाल पोखरेलले मदन भण्डारीको व्यक्तित्व र योगदानका बारेमा प्रकाश पार्नुहुँदै मदन भण्डारी र उनको चिन्तनका बारेमा अझै यथार्थपरक अध्ययन हुन बाँकी रहेको; जनताको मन जितेर राजकीय नेतृत्व हासिल गर्नुपर्ने भण्डारीको धारणा रहेको; पूर्वजले आर्जन गरेका पूर्वीय दर्शनलाई ग्रहण गर्दै छान्दै छान्दै परिमार्जन गरेर रूपान्तरणप्रेमी विचार सम्प्रेषण गर्ने अत्यन्त अनुकरणीय कौशल मदन भण्डारीसँग रहेको; समाजलाई बदल्ने हामी लेखक वा राजनीतिज्ञ सबैले आफ्नो मनोजगत् परिवर्तन गर्नुपर्ने भण्डारीको विचार रहेको; जातीय, भौगोलिक, सङ्कीर्णता, विभेद आदि सबै सबै पक्षमा रूपान्तरण गर्नुपर्ने अत्यन्त सुस्पष्ट विचार भण्डारीले अगाडि सारेका; लोभ, मोह, स्वार्थ आदि कुराबाट मुक्त नेतृत्वले मात्र रूपान्तरणको अगुवाइ गर्नसक्ने विचार राखेका; रिसाउने मान्छेका चार प्रकार हुने र पहिलो ज्ञानी विद्वान दुई घण्टा रिसाउने, दोस्रो तहको दुई दिन रिसाउने, तेस्रो तहको दुई वर्ष रिसाउने र चौथो चाहिँ जीवनपर्यन्त रिसाउने वा प्रतिशोध साँध्न लागिपर्ने भनेर वर्गीकरण गरेका; राजनीतिमा कलात्मक हस्तक्षेप आवश्यक हुन्छ र मन, वचन र कर्मले सेवाभावमा जुटेमा मात्र रूपान्तरण सम्भव हुन्छ भन्ने अत्यन्त सुस्पष्ट विचार राख्ने मदन भण्डारीको यो विचार नेपाली राजनीतिमा सदैव अनुकरणीय रहेको र रहिरहने धारणा राख्नुभयो ।
दोस्रो चरणको कार्यक्रमको प्रारम्भ गर्दै सभाध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायक होमशङ्कर बास्तोलालाई माल्यार्पण गर्नुभयो र समाज रूपान्तरणको मूल हतियार साहित्य हो । आज चाहिँ हामी साविकमा कार्यक्रम गरिरहेको राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष पुतलीसडकभन्दा थोरै टाढा साहित्य सदनको यो भव्य सभाकक्षमा आएर यो विशेष समारोहको आयोजना गरिरहेका छौँ । सामाजिक रूपान्तरणको साहित्यिक अभियानका मियो रमेश विकलको अथक प्रयत्नले स्थापित र उहाँको सम्मानमा समर्पित यस गरिमाय संस्थामा भिन्न र गुणात्मक उपस्थितिका बिचमा हामी यो विशेष समारोह सम्पन्न गरिरहेका छौँ । हरेक महिना दोस्रो शनिबार हुने यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु हो । वर्तमानमा अलि प्रतिकूल अवस्था सिर्जना भएको भए पनि हामी स्रष्टा रूपान्तरणका पक्षमा नै जस्तो परिस्थितिमा पनि लागिरहने मान्यताका साथ आफ्नो काम निरन्तर गरि नै रहन्छौँ ।
आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिएर हामी तथा कविनायकलाई हौसला प्रदान गरिदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलगायत सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक स्वागत गर्दछु । २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ११० औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता, गीत, गजल सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेषसमेत भइसक्नुभएको छ । समसामयिक विशेष विषयमा बहस तथा छलफल गर्ने, सडक कविता अभियान चलाउनेसमेतको हाम्रो यो अभियानमा महिला सहभागिता कमजोर भएको टिप्पणीका सन्दर्भमा भने हामी महिला नै निस्किन नखोजेर हो भन्ने मलाई लाग्छ ।
आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सिङ्गो जीवन राष्ट्रसेवा, साहितियक सङ्घसंस्थामा समर्पित गरेका अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा होमशङ्कर बास्तोलालाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि हाम्रो लक्ष्य रहेको छ । सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्य सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका कुशल र सक्रिय सर्जक आजका स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक होमशङ्कर बास्तोलाले एक दशकभन्दा लामो समयदेखि सञ्चालन भइरहेको यो गरिमामय, उद्देश्यमूलक अविरल जनसाहित्य यात्राको ११० औँ शृङ्खलामा आपूm जोडिन आइपुगेकोमा गर्वबोध गर्दछु । यद्यपि यो अभियानमा लामो समय म आपूmसमेत संलग्न रहेको थिएँ । आजको यो विशेष समारोहमा नेपाली प्रगतिशील साहित्यका मर्मज्ञ एवम् वरिष्ठ समालोचक प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलज्यू प्रमुख अतिथिको रूपमा उपस्थित भइदिनुभएको छ भने मलाई प्रोत्साहन गर्न तपाईँ बौद्धिक व्यक्तित्वहरू, मेरा परिवारजन तथा इष्टमित्र उपस्थित भइदिनुभएको छ । त्यसैले पनि मलाई अत्यन्त गौरवबोध भएको छ, त्यसमा पनि मजस्तो साधकलाई स्थान दिनुभएकोमा खुसी पनि लागेको छ । मेरो लेखनको उद्देश्य मेरा कविताले नै बोल्ने छन् तापनि त्रिशूलीमा गिटी कुटेर जीवन निर्वाह गर्ने श्रमजीवीको अवस्था देखेपछि, जनयुद्धपछि जनताका सपना बेवारिस भएको अनुभूत भएपछि, गाउँ अझै अविकसित रहेको र रूपान्तरणको उज्यालो पुग्ननसकेको देखे÷भोगेपछि, आन्दोलनका नाममा ऐतिहासिक धरोहर सिंहदवार जलाइएकोमा चित्त नबुझेपछि, जिउँदामा उपेक्षा गर्ने तर मरेपछि सालिक बनाउने प्रवृत्ति अनि त्यही सालिक पनि उपेक्षित नै भइरहेको देखेपछि, चुनावताकाका प्रतिबद्धता जनप्रतिनिधिले पूरा गर्नुपर्नेमा बिर्सिएपछि, तमसुक गरेर ऋण काडेर सपना साँच्दै खाडी जान बाध्य भएका युवालाई त्यही तमसुकको त्रास रहेको र सपना पसिना बनेर बगिरहेका छन् तर बाहिरिने क्रम नरोकिएको र गाउँसहर वृद्दाश्रम भइरहेका देखेपछि, जनताका अभावका पीडा नजिकैबाट देखेपछि, समसामयिक राजनीतिक–सामाजिक विषयले मन छोएपछि अनि उज्यालाका पक्षमा कलम चलाउनुपर्छ भन्ने आफ्नै चेतनाले घच्घच्याएपछि मैले कविता सिर्जना गरेको हुँ भन्दै कविताका रचनागर्भका बारेमा जानकारी गराउँदै ‘त्रिशूलीमा गिटी कुट्नेहरू’, ‘घाम’, ‘सालिक’ ‘नदेख अपूरा सपना’, ‘ओडारे माइलाका भोका सपनाहरू’ शीर्षकका गद्यकविता र एउटा गजल गरी छओटा अत्यन्त सुन्दर, सशक्त र रूपान्तरणका पक्षका कविता वाचन गर्नुभयो ।
त्यसैगरी सहयोगी कवि डा.नवराज रिजालले ‘विश्वास भत्केको वेलामा’ शीर्षकको, कवि गणेशकुमार मिश्रले ‘कैशाङ र तीनपाने’ शर्षिकको, कवि त्रिलोचन आचार्यले ‘के दोष थियो सिंहदरवारको !’ शीर्षकको, कवि विकल त्यागीले ‘गजल’, कवि बोधराज पौडेलले ‘तमसुक’ शीर्षकको र रोजु गौतमले ‘गजल’ त्यत्तिकै सुन्दर, सशक्त कविताहरू र गजल वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्दै अतिथि एवम् समालोचक आर.एम.डङ्गोलले अविरल जनसाहित्य यात्राको यो उद्देश्यमूलक अभियान ११० औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको छ । त्यसैले सर्वप्रथम म आजका कविनायकलाई बधाइ दिन्छु र मलाई टिप्पणीकारको भूमिकामा आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर प्रदान गरेकामा म आफू पनि धेरै वर्ष जोडिएको यो मेरै संस्थालाई हार्दिक धन्यवाद पनि दिन्छु । आजको यो शृङ्खलामा प्रगतिवादी वैचारिक चिन्तन बोकेका सङ्घर्षशील व्यक्तित्वका एक दर्जन कविता हामीले सुनेका छौँ । ओखल्ढुङ्गा जिल्लाको कुइभिरमा माता वेदमाया बास्तोला र पिता नारयणप्रसाद बास्तोलाका सुपुत्रका रूपमा जन्मिएर खोटाङ जिल्लाको दुवेकोल ७ मा बसोवास भई हाल कपन काठमाडौँमा स्थायी बसोवास रहेका बास्तोलाले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तरसम्मको शिक्षार्जन गरेका छन् ।
साढेदुई दशकदेखि राष्ट्रसेवकका रूपमा सेवारत रहेका, साहित्यिक सङ्घसंस्थामा त्रियाशील रहेका बास्तोलाका ‘आँसुका झरनाहरू’ कथासङ्ग्रह २०५८, ‘घाम हराएको दिन’ गजलसङ्ग्रह २०६१, ‘बन्दुकको छायाँ’ कथासङ्ग्रह २०६७, ‘हिमाल–पहाडका कथा’ सङ्कलित कथासङ्ग्रह २०७१, ‘भोका सपनाहरू’ कवितासङ्ग्रह २०७८ र ‘रगतको मूल्य’ कथासङ्ग्रह २०८२ जस्ता कृतिहरू प्रकाशित भएका छन् । ‘अन्तरबोध’ साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादन दुई दशकभन्दा लामो समयदेखि गरिरहेका बास्तोलाले ‘कपन कविता क्यालेन्डर’ र ‘कपन दर्पण’को पनि सम्पादन गरेका छन् । साहित्य लेखन तथा सम्पादनको कर्म गरेवापत बास्तोलाले करिब आधा दर्जन मान, सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् भने करिब पौने एक दर्जन साहित्यिक सङ्घसंस्थामा अहिले पनि क्रियाशीलता देखाइरहेका छन् । उनको सिर्जनायात्रा २०५४–५५ सालदेखि थालनी भएको देखिन्छ । आजको यो विशेष समारोहमा उनका तीनओटा गजल सुनिए भने नौओटा गद्यकविता वाचन गरिए । गजलको विषयवस्तु सामाजिक रहेको र जननी, राष्ट्रप्रेम, जीवनको बिब्ल्याँटो परिवेशको सुन्दर चित्रण गरिएको छ । कवितामा गाउँ र सहरको तुलना गरिएको छ र हार्दिकतामा गाउँ अगाडि रहेको निष्कर्ष निकालिएको छ । बेथितिको चक्र अझै पनि उस्तै रहेकोमा चिन्ता जाहेर गरिएको छ । गिटी कुटेर जीवन धान्ने विपन्नका पीडालाई जीवन्त र मर्मान्त रूपमा चित्रण गरिएको छ । कर्जा लिँदा गरिएको तमसुकको त्रास र युवापलायनको पीडा अनि खाडीको अत्यन्त कष्टसाध्य जीवनको मार्मिक चित्रण गरिएको छ ।
कथित जेनजी आन्दोलन विध्वंसको प्रतीक बनेको र त्यसले ऐतिहासिक धरोहर सिंहदरवार जलाइएको प्रति कवितामा आक्रोश व्यक्त गरिएको छ । उज्यालोको प्रतीकका रूपमा घाम कविता आएको छ । कविले आफ्ना कवितामा आलोचनात्मक चेत खुलस्त रूपमा देखाएका छन् । तीनपाने (रक्सी)का कारण विशेष गरी ग्रामीण मानवजीवन क्षतविक्षत भइरहेको सामाजिक यथार्थको जीवन्त चित्रण गरिएको छ । अत्यन्त विपन्न ओडारमा वास बस्नुपर्ने बाध्यतामा रहेका नेपाली जनताका प्रतिनिधि पात्र ओडारे माइलाहरूको मर्मान्त पीडा कवितामा अभिव्यक्त भएको छ । जनप्रतिनिधिहरूले चुनावताकाका बाचा बिर्सिने प्रवृत्तिका प्रति कटाक्ष गरिएको छ । प्रायः सबै कवितामा भुइँमान्छेलाई नै विषयवस्तु बनाइएको छ । जीवित हुँदा उपेक्षा गर्ने र मरेपछि सालिक निर्माण गर्ने अनि त्यही सालिक पनि उपेक्षित नै हुने यथार्थलाई उजागर गरिएको छ । जनयुद्धका नायकको क्षयीकरणले जनविश्वास गुमेको यथार्थ कविताले उजागर गरेको पाइन्छ । प्रकाशित कवितासङ्ग्रहबाट छओटा र नयाँ तीनओटा कविता आज कविले यहाँ सुनाएका हुँदा लामो शीर्षक सकभर नराख्ने, कवितामा विवरणात्मकता कम गर्ने पक्षमा ध्यान दिन कविलाई आग्रह गर्दछु र साधना निरन्तर रहिरहोस् भन्ने अपेक्षाका साथ हार्दिक बधाइ दिन्छु भन्नुभयो ।
समारोहका प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेलले आजको यो विशेष समारोहमा दुइटा कार्यक्रम सम्पन्न भएका छन् । मदन भण्डारीको हीरक जयन्तीका सन्दर्भमा भण्डारीलाई सम्मान गरियो र उनको योगदानको चर्चा पनि गरियो । भण्डारीको पुख्र्याैली थलो तेरथुमको पौँठाक भए पनि पछि ताप्लेजुङमा बसाइँ सरेर ९ कक्षासम्मको शिक्षार्जन गरी वृन्दावनमा गएर पूर्वमध्यमा, मध्यमासम्मको शिक्षा हासिल गरेका र फेरि त्यहाँबाट बनारस गएर शास्त्रीसम्मको शिक्षा हासिल गरेका भण्डारीको सङ्गत पुष्पलालसँग भएको र पछि युद्धप्रसाद मिश्रको संयोजकत्वमा मुक्तिमोर्चा गठन गरेका हुन् । सानैदेखि विद्रोही स्वभाव भएका मदन भण्डारी पढेको वा सुनेको कुरालाई पूरै कण्ठ गर्नसक्ने विलक्षण प्रतिभा भएका व्यक्ति हुन् । त्यसैले उनले नेपाली वामपन्थी राजनीतिमा तरङ्ग ल्याउने ‘जनताको बहुदलीय जनवाद’ विषयक नौलो विचारको प्रतिपादन गरेका हुन् ।
दोस्रो चरणमा हामीले अहिलेको समयका अत्यन्त क्रियाशील कवि होमशङ्कर बास्तोलाका एक दर्जन कविता र गजल सुन्यौँ । कविताका बारेमा समालोचक आर.एम.डङ्गोलले सुन्दर समीक्षा गरिसक्नुभएको छ । कविता सूत्रात्मक हुनुपर्ने, विम्ब र प्रतीकका माध्यमबाट बोलिनुपर्ने, विवरणात्मक वा व्याख्यात्मक हुनुनहुने मात्र होइन रूप र अन्तरवस्तुको सन्तुलित समन्वय कवितामा आवश्यक हुन्छ । आज सुनिएका कवितामा भन्दा गजलमा कवि बढी सफल देखिएका छन् । यद्यपि गजल बहरमा लेख्ने कि बेबहरमा लेख्ने भन्ने विवाद रहेको छ । मुलुकको अहिलेको परिवेश निरङ्कुशतातिर जाने देखिएको छ । दलाल पुँजीवादले गणतन्त्रलाई भड्खालोमा हाल्ने त्रास अहिले झनै बलियो बनेर आएको देखिएको छ । अबको साहित्य कस्तो हुनुपर्छ भन्ने दिशा दिनु आवश्यक छ र त्यसको अगुवाइ प्रगतिशील लेखक सङ्घले गर्नुपर्ने आवश्यकता छ । विचारलाई जगेर्ना गर्ने वा जोगाउने दायित्व अहिले हाम्रासामु रहेको छ र यो वर्तमानको तामझाम त खहरे न हो, यो त सुक्छै सुक्छ ।
अहिले पनि स्रष्टाहरूले या त डरले वा अवसरको आसले विचार सम्प्रेषण नगरेको अवस्था छ ! अहिलेको अवस्थामा सबै रूपान्तरणप्रेमीहरू एकताबद्ध भएर वैचारिक प्रतिवाद गर्नु आवश्यक छ । डरले लुगलुग भएर रूपान्तरणको लक्ष्य प्राप्त गर्नसकिँदैन । विचारले प्राथमिकता पाउनुपर्छ । आज साहित्य सदनको यो सभाकक्षमा यो महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ । यो साहित्य सदन भनेको जनप्रज्ञाप्रतिष्ठान हो । नेपाल प्रज्ञाप्रतिष्ठानमा कार्यक्रम गर्न पैसा नतिरी नपाइँने र जनपक्षीय कार्यक्रम गर्ने ठाउँ नभएको अवस्थामा बैकुण्ठप्रसाद लाकोलले रु.एक लाख मात्र सहयोग गर्नुभएपछि अमिर थापा र रमेश विकलको सक्रियतामा र अग्रसरतामा साहित्य सदन नेपालको परिकल्पना÷स्थापना भएको हो । अहिले हामीले कार्यक्रम गरिरहेको यो भव्य भवन काठमाडौँ महानगरपालिकाको सहयोगमा बनेको हो । यस संस्थाले चर्चेको जमिन भने नेकपा एमालेको अल्पमतको सरकार रहेको २०५१ सालमा भोगाधिकार प्राप्त भएको हो । यो साझा संस्था हो । यो संस्थाले पाँचओटा पुरस्कार तथा सम्मान अर्पण गरिरहेको छ र हरेक वर्ष राष्ट्रिय कविता प्रतियोगिता पनि आयोजना गरिरहेको छ भन्ने जानकारीसमेत दिनुहुँदै आजको यो विशेष समारोहमा प्रमुख आमन्त्रितका रूपमा उपस्थित हुने र आफ्ना धारणा राख्ने अवसरका लागि म हार्दिक धन्यवाद व्यक्त गर्दछु भन्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू र सहभागी सबैलाई सङ्घका उपाध्यक्ष रमेश पोखरेलले धन्यवाद दिनुभयो । राष्ट्रसेवा, सामाजिक–राजनीतिक रूपान्तरण अभियान, साहित्यिक सिर्जना क्षेत्रमा क्रियाशील स्रष्टा होमशङ्कर बास्तोलालाई आज हामीले सुन्यौँ । कवितामा सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता सिर्जना गरेर मुलुकको सामाजिक यथार्थको चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा चित्रण गर्ने, विद्रोहका स्वरका साथ आसेपासेवादको बिगबिगी रहेको वर्तमानको यथार्थलाई कविताले सशक्त रूपमा उजागर गरेको, निरङ्कुशतालाई खुल्ला चुनौती दिने, श्रमको सम्मानका पक्षमा, राष्ट्रवादका पक्षमा र प्रकृतिप्रेमको वकालत गर्ने स्रष्टाले इमानदारिताका साथ वैचारिक कविता सिर्जना गरेका छन् । हामी स्रष्टाले जहिल्यै जोखिम मोल्नुपरिरहेको र अहिलेको परिस्थिति पनि त्यस्तै रहेको हुँदा चुनौतीको सशक्त सामना गर्ने साहस अभिव्यक्त भएको, बेइमानीको बाटोमा हिँडेको अहम्का प्रति आक्रोश व्यक्त गरिएको, मानवता बिकेको वर्तमानका प्रति आक्रोश व्यक्त गरिएको, परिष्कृत दृढ वैचारिकता कवितामा अभिव्यक्त भएकाजस्ता विषय हामीले आजका कवितामा सुन्यौँ र रूपान्तरणको स्पष्ट आग्रह रहेको पनि पायौँ ।
सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नु कवि बास्तोलाको विशेषता रहेको पाइयो । आजको यो शृङ्खला हामी सबैका लागि अविस्मरणीय रहेको छ । अब हामी असारको दोस्रो सातामा १११ औँ ‘अविरल जनसाहित्य यात्रा’मा सुर्खेतमा रहेर नेपाली प्रगतिवादी साहित्यमा कलम चलाइरहेकी निरञ्जना चन्द ‘निरु’लाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई आमन्त्रण गर्ने छौँ भन्नुभयो र कविनायकलाई सम्झनाको चिनो प्रदान गरिदिन प्रमुख अतिथिलाई अनुरोध गर्दै अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
०००
रमेश पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































