फित्काैली डटकमसराेवरकाे असार शृङ्खला : असारे गीतमा दोहोरी घन्काइयो
संयोजक गोपीचन्द्र कार्कीको अध्यक्षता र साहित्यकार नरनाथ लुइँटेलको प्रमुख आमन्त्रित्वमा सम्पन्न कार्यक्रममा डा. बालचन्द्र मिश्र, लोकगायक कृष्ण बस्नेत, रामबहादुर खत्री, भक्तबहादुर नेपालीलगायत विशिष्ट अतिथि हुनुहुन्थ्याे ।

काठमाडौं । चन्द्रागिरी साहित्य सरोवरको ५४ औँ शृङ्खला ‘असारे गीत विशेष’ कार्यक्रमका रुपमा सम्पन्न भएको छ ।
असार महिनाको यस शृङ्खलालाई असारे भाकाका गीति प्रस्तुति र लोकसांस्कृतिक चर्चा गर्दै सम्पन्न गरिएको हो ।
सरोवरका संयोजक गोपीचन्द्र कार्कीको अध्यक्षता र साहित्यकार नरनाथ लुइँटेलको प्रमुख आमन्त्रित्वमा सम्पन्न कार्यक्रममा डा. बालचन्द्र मिश्र, लोकगायक कृष्ण बस्नेत, रामबहादुर खत्री, भक्तबहादुर नेपालीलगायत विशिष्ट अतिथि रहनु भएको थियो ।
संयोजक कार्कीले असारे गीतिलयमै लेखिएको गीत सिर्जनाबाट स्वागत मन्तव्यसहित आरम्भ भएको कार्यक्रममा बाबुराम तिमल्सिना, राजु महत, कृष्ण भारती, कृष्ण बस्नेत, श्रृया सिग्देल, जगन्नाथ तिमल्सिना, राजु लामिछाने लगायतले असार र किसान केन्द्रित सिर्जना वाचन गर्नु भयो ।
डा. बालचन्द्र मिश्र र भक्तबहादुर नेपालीले असारे भाका तथा काँठेगीतको लोक परम्पराको ऐतिहासिक सन्दर्भबारेमा चर्चा गर्दै यसको संरक्षणमा स्थानीय पालिकाहरू अग्रसर हुनु आवश्यक रहेको बताउनु भयो । उपत्याका र छिमेकी जिल्ला धादिङ, नुवाकोट काभ्रे र मकवानपुरतिर मात्रै यो मौलिक गीति परम्परा रहेको बताउँदै उहाँहरूले आआफ्ना सिर्जनासमेत प्रस्त्तुत गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणका रुपमा काँठेभाकामै केन्द्रित रहेर दोहोरीगीत प्रस्तुति रहेको थियो । रामबहादुर खत्री, हरि दाइ, सावित्री अधिकारी, पवित्रा खरेल बिच दोहोरी प्रस्तुति निकै मनोरञ्जक रह्यो ।
त्यसै गरी लोक गायक खत्री र गायिकाहरु शोभा तामाङ, मञ्जु र ललिता थापाको समूहविच पनि दोहोरी गीत प्रस्तुत गरियो । मानौ मुनाल क्लवको सभाकक्षले असारे रोपाइँको रौनक दिने खेतको झल्को दिइरहेको थियो ।
प्रमुख आमन्त्रित साहित्यकार नरनाथ लुइँटेलले कार्यक्रममा प्रस्तुत गीतिसिर्जना र प्रस्तुतिको संक्षिप्त समीक्षा गर्नुभयाे । उहाँले असारे वा काँठेभाकाको गीति परम्परा कहिलेदेखि शुरु भएको होला भन्दै सङ्कलन र लेखनमा चाहिँ धादिङका कवि केवलपुरे किसानको २००९ सालमा प्रकाशित ‘बाघ आयो’ कृतिको स्मरण गर्नु भएको थियो ।
विमला महर्जनले सहजीकरण गर्नु भएको कार्यक्रममा स्थानीय स्रष्टा एवम् समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो भने उज्यालो सामुदायिक सिकाई केन्द्रको सक्रिय सहयोग रहेको थियो ।
०००
गोपीचन्द्र कार्कीको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































