टङ्कराज ढकाल ‘तितेपाती’फेरौं अर्को जनमत छाता
सुर्ता के को मुलुक रुवायौ, थाली तामा सुन किन खायौ ? भ्रष्टाचारी दमन चलायौ, उल्का भारी दलन रचायौ ।

लोभी पापी दलपति कस्ता
गैंडा हात्ती अरि खल जस्ता
चोरी गर्छन् रनवन सस्ता
मुर्दा चाला कपट छ दस्ता ।१
गुण्डागर्दी अविरल चल्दा
आमा रुन्छिन् सहज नचल्दा
धर्ती बेच्छन् महल बदल्दा
कालो मैलो जहर छ धन्दा ।२
खोलानाला मिच गर फन्दा
पोको पार्ने कलुषित चन्दा
नारा दिन्छौ अविरल कुन्दा
घाती पारा शकुनि नचिन्दा ।३
सत्ता खोज्दै पर पुग दिल्ली
कुत्ता जस्ता अबुझ र सिल्ली
काटो खाऊ अजगर खिल्ली
माटो बेच्ने पतित छ झिल्ली ।४
सुर्ता के को मुलुक रुवायौ
थाली तामा सुन किन खायौ
भ्रष्टाचारी दमन चलायौ
उल्का भारी दलन रचायौ ।५
रक्सी पैसा असुर छ खाता
बिक्छन् सित्तै अझ मतदाता
गाला पार्छन् किन किन राता
फेरौं अर्को जनमत छाता ।६
आयो बेला सघन उतारौं
दम्भी काला नयन पछारौं
सत्ताधारी कुलत हजारौं
मासौं छासौं मुलुक सपारौं ।७
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































