सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अहिले पाका मान्छेका कुरा किन ?

त्यस्ता सामग्री र जानकारीलाई सम्बन्धित निकाय र सरोकारवालाले सर्बसाधारणको सहज पहुँचको व्यवस्था पनि गर्नुपर्दछ । यस प्रक्रियालाई गुणात्मक र सङ्ख्यात्मक बृद्धि गरी, बढी भन्दा बढि वडातहमा कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

Nepal Telecom ad

पृथ्वीमा उत्पत्ति भई विकसित हुँदैगएका सबै प्राणिहरू आआफ्नै प्राकृतिक आवश्यक्ता अनुसार बाँचेका र लोप भएका छन् । कैयौँ जीवहरू क्रमिक विकासमा रहेका अझै सामान्य फेरबदलमा जीवनयापन गरिरहेका छन् । धेरै अमेरुदण्डिय प्राणीमा साथसाथै देखिए पनि सामाजिक प्रणाली बलियो भेटिन्न । कीरा समुहमा कमिला, माहुरी आदिमा सिक्नयोग्य सामाजिक प्रणाली, अनुसाशन, कार्य विभाजन र भण्डारणको अतुलनिय क्रियाकलाप देखिन्छ । वैज्ञानिक हक्सलेले आफ्नो सामाजिक प्रणालीमा स्तुत्य व्यवहार गरेकाले एक पटक भनेका थिए आकारमा सानो भए पनि कमिला प्रजातिको मगज संसारको सबैभन्दा अनौठो र बहुमूल्य कण हो । त्यसरी नै मेरुदण्डिय प्राणीहरू विकास भएपछि स्तरअनुसार माछा, भ्यागुता, सरिसृप, चरा र स्तनधारी समुहमा मगजको क्षमतामा बृद्धिसँगै आनीबानी र व्यवहार थप जटिलतातिर बढदै गयो । पाका सदस्यको व्यवहार सबैभन्दा जिम्बेवार भएको र सानाले उमेरअनुसार अनुशासित भएको पाइन्छ । सबैभन्दा पछि आएको र विकसित भनिएका मानव प्रजाति पन्ध्रबिस हजार वर्षको छोटो कालखण्डमा नै विभिन्न सामाजिक चरणमा परिबर्तन र विकसित हुँदै गएको छ ।

मानव प्रजातिले उत्पत्तिसँगै प्राकृत बासस्थानमा समुहसमुहमा मुख्यगरी शिकारी जीवन बितायो भने बिस्तारै बनका फलफूलमा रमायो । समुह बढदै गयो, खाना र सुरक्षाका लागि त्यस युगमा अनुभवी पाका मानिसको अगुवाई र बलिया वयस्कका सक्रियतामा जीवनयापन हुन्थ्यो । त्यसैले महिला र पुरुष दुबै पाका मान्छेको मानमनितो हुनु समुहका हरेक सदस्यको चरित्र बन्यो । मौसमी फलफूल, निकै शक्तिजुक्ति लगाएर उपलव्ध हुने शिकार र बढ्दै गएको सङ्ख्याले फिरन्ते जीवन कठिन बन्दै गयो । जानेर अथवा भवितव्यले आगो र शिकारी हतियारको जोगाड गर्न सकेको मान्छे प्रजातिले अब वर्षभरी सुनिश्चित खान र सुरक्षित बस्न उपाय खोज्यो ।

जानेर नजानेरनै बिउबाट ईच्छित फल दिने बिरुवा उमार्न, फलाउन र बढि भएको सञ्चिता गर्न प्रयाश गर्‍यो । भोकै मर्न नपर्ने सफलताले मानव प्रजातिलाई कृषि युगमा ल्याई पुर्‍यायो । क्रमिकरुपमा मानव प्रजातिमा बस्तिको विकास र हावापानी अनुकुल खेतीप्रणाली विकसित हुँदैगयो । यस युगमा खेतीको आवश्यक्ता अनुरुप परिमार्जन गर्न जान्यो भने शिकारी युगदेखिको स्वभावलाई केही मात्रामा भए पनि कायम राख्यो । यसरी सुखका दिनहरू उदाउँदै जानमा समुहका पाका मान्छेको ज्ञान, सिप र अनुभवको सहयोग आधारभूत आवश्यक्ताको रुपमा सबै परिवार र समुह सदस्यहरूले स्विकार गर्दै रहे । फलस्वरुप पाका मान्छेको सल्लाह नै समुहको हित र विकासको द्योतक हो भन्ने मान्यताले जरो गाड्यो । सामाजिक बरव्यवहार मात्र होइन शासन र प्रशासनमा समेतमा पाका मान्छेका कुरा मान्य र न्यायसङ्गत भएको दरिन पुग्यो ।

कृषिमा आधारित मानव समाजमा थप हाँगाबिँगा लाग्दै सामन्ती युग मौलायो र प्रबृत्तिमा समेत फेरबदल भएर मानव बिचमा मानवनै दाश हुने साथै महिला र पुरुषमा विभेद सुरु भयो । काम र सिपका आधारमा बनेका समुहमा ईज्जतका लागि बनेका जातप्रथामा घृणित विभेद उदायो । काम र सम्पतिका आधारमा पाका मान्छेनै बलशाली भए पनि बर्ग विभेदले आफ्नै समुहमा रहे पनि अन्तरसमुहमा सबै पाका मान्छेको हैसियतमा तुषारापात भयो । त्यसै युगमा मानिसका कल्पना, परीक्षण, जाँगर, सिप र ज्ञानका विविधतासँगै समाज प्रणालीमा विविधता थपिए । आवश्यक्ता र श्रमको गठजोडले समाज बिस्तारै परम्परागतभन्दा प्रविधितिर आकर्षित भयो । एक कालखण्डसम्म चित्त बुझाइएको विकासले पनि पाका मान्छेका अनुभव र क्षमतालाई स्विकार गरिनै रह्यो । फलस्वरुप पारिवारिक व्यवसाय, उद्योग, कलकारखाना र व्यापारमा पामा मान्छेको मानिलो स्थान निरन्तर कायम भयो । गत शताब्दी अघिको मानव समाज संसारभरी त्यस्तै रह्यो र पाका मान्छे समाज र परिवारका लागि ज्ञान, सिप र निणर्यको शीर्षस्थ स्थानमा रहे ।

प्रविधिको बर्तमान समयः
गत शताव्दीको मध्येसम्ममा संसारभरी आएका सामाजिक राजनीतिक उथुलपुथुल, मानव प्रजातिले बिकास गरेको प्रविधि, बजारबाद र नाफानोक्सानको व्यक्तिवादी धारणाले मानव समाज सामुहिकता बिमुख हुँदै जान लाग्यो । सांस्कृतिकरुपले अलि अघि स्खलित भएका केही देशका भौतिक उन्नतिनै मानव विकासका उत्तम नमुनाको उपमाको विषय तिनै देश र मतियारहरूले अरुमाथि थोपर्न थाले । ‘सैयौँ पटक एउटै गलत अभिव्यक्ति दोहोर्‍याए साँचो सावित हुन्छ’ भन्ने मान्यताका पृष्ठपोषक ती साइँदुवाले प्रविधिको विकासमार्फत करबल आफ्ना कुराको बजार भेटे । यतिखेर धेरै देशका मानव समाजमा बजारको आकर्षण, नाफानोक्सान र हरेक व्यक्तिको महत्वका नाममा सामुहिक मानव हितलाई लत्याइनु केन्द्रीत प्रणालीे भएको छ । फलस्वरुप विभिन्न समुदाय एकअर्काप्रति त्रसित, आक्रान्त र शिष्टाचाररहीन हुनपुगेको छ भने पाका मान्छेहरू मानव इतिहासमा सबैभन्दा बढि अर्घेलोमा परेका छन् ।

विकासको नाममा बजारवादले गाँजेर व्यक्ति उन्नतिमा लागेकाहरू आफन्तको अभावमा संयुक्त पारिवारिक समाजबाट धर्मपुत्र धर्मपुत्री लैजाने क्रम बढ्यो । त्यतिले नपुगेपछि अब आफ्नै समाजमा कसरी समन्वय ल्याउने भन्ने चिन्ताको अभिव्यक्ति नै ज्येष्ठ नागरिक सम्मान र हेरबिचारको कुरा अघि सारे । त्यसैको अचेल बिकसित र भौतिक सुबिधाको स्वर्ग भनिएका मुलुकहरूमा विभिन्न अधिकारमुखी संस्थाहरू पाका मान्छेका हिमायत भन्दै सक्रिय भइरहेका छन् । फलस्वरुप पछिल्लो खेप सरकारी सामाजिक सुरक्षाको प्रत्याभूतिले नपुगेर जनस्तरमा ज्येष्ठ नागरिक समुह र संस्थाहरू व्यापकरुपले निर्माण हुँदैछन् ।

अन्तर्राष्ट्रिय चासोः
अन्तर्राष्ट्रिय उमेरिनेहरूको महासंघ (आईएफए)को स्थापना ज्येष्ठ नागरिकहरूको जीवनशैली र कल्याणलाई बिचार गरेर सन १९७३ मा भयो । यस संस्थाले १९९२ देखि दुई वर्षको फरकमा विविध मूलनारा र विषयका साथ सन २०१८ सम्म चौधौँ सम्मेलन आयोजना गरिसकेको छ । सन १९८२ मा अष्ट्रियाको राजधानी भियनामा संयुक्त राष्ट्र संघनै अघि सरेर ज्येष्ठ नागरिक सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भयो । त्यसलाई ज्येष्ठ नागरिक सम्बन्धी अन्तर्राष्ट्रिय कार्ययोजना पनि भनिन्छ ।

विश्व जनसंख्या आँकडाको तथ्याङ्कमा महाद्विपअनुसार ६५ वर्ष माथिका २०१९ सम्ममा पाका मान्छेको प्रतिशतः युरोपमा १८%, ओसेनिया १२%, उत्तर अमेरिका ११%, एसिया ९%, ल्याटिन तथा क्यारेवियन ८%, अफ्रिका ३% रहेको देखिन्छ । सामान्यतया हेर्दा हावापानीको सुमधुरता, स्वास्थ्य चेतनाको विकास र भौतिक उन्नतिको कारण मानिसको सरदर आयुमा बृद्धि भएको पाइन्छ । त्यसैले पाका मान्छेको उमेरमा पनि बृद्धिनै भएर मानिसहरू अल्पायुमानै निधन भभई सङ्ख्यात्मक बृद्धिसमेत देखिएको हो । औशतमा युरोप सबैभन्दा बढि पाका मान्छे भएको महाद्विप भए पनि देशअनुसार हेर्दा जापानले अग्रस्थान लिएको छ । सन २०१९ मा जापान कुल जनसङ्ख्याको २८%, जर्मनी २१%, फ्रान्स २०%, बेलायत १८%, नर्वे १७%, अस्टे्लिया  १६% अमेरिका १६% पाका मान्छे रहेको आँकडा छ ।

देशीय हिसाबले हेर्दा भौतिक र परम्परागत असल पक्षको गठजोडले जापानले स्वस्थ्य बढि उमेरका पाका मान्छे हुर्काउने देशमा सबै मुलुकलाई देखाएको छ । युरोप पछिको पाका मान्छे बढि भएको देशमा अमेरिकालाई उछिनेर अस्टे्रलिया अघिल्लो पङ्क्तिमा उभिएको छ । सबैभन्दा बढि प्रतिशत ६५ वर्ष माथिका पाका मान्छे भएका पाँच शीर्ष देशहरूमा सन २०२० को आँकडामा जापाननै २९.१८ प्रतिशत पारेर संसारमा पहिलो श्रेणीमै छ । युरोपमा जर्मनीले आफ्नो कूल जनसङ्ख्यामा थपि २२.९९% गराई दोश्रोनै पाका मान्छे हुने देश भएको छ । त्यसपछि ग्रीस २२.४३%, फिनल्याण्ड २२.२६%, ईटली २२.०८% ले पाका मान्छे भएको देशमा अघि बढेका छन् ।

यस अबधिमा एसियाबाट संसारका पाका मान्छे धेरै हुने देशको हारमा ६०औँ स्थानमां रहे पनि चिनले १२.३४% मा उभिन आइपुगेको छ । यो हारमा आफ्नो कूल जनसङ्ख्यामा विश्वसँग दाँजिन भारत १०० नम्बरमा ६.७२% पाका मान्छे लिएर उभिन आएको छ । त्यस्तै २०१९मा विश्वका केहि विकासशील देशमा ६५ वर्ष माथिका पाका मान्छेको प्रतिशत हेर्दा चिन १२%, ब्राजिल ९%, पेरु ८%, नेपाल, भारत, ईरानमा ६%, ईथियोपिया र ईजिप्टमा ४%, सोमालिया ३% भएको आँकडा देखिन्छ । यस आँकडाले पनि भौतिक परिस्थिति र सामाजिक संरचनाले जनताको आयुमा पारिरहेको असर र कमजोर स्वास्थ्य अवस्थाले पाका मान्छेको भोगाईको धरातलनै प्रष्ट पार्दछ । सार्क राष्ट्रमात्रका पाका मान्छेका आङ्कलन गर्दा श्रीलङ्का ८%, नेपाल, भारत र भुटान ६%, बङ्गलादेश ५%, माल्दिभ्स र पाकिस्तान ४% तथा अफगानिस्तान ३% देखिन्छ । सामाजिक आर्थिक विभेद र राजनीतिक अस्थिरताले जनसङ्ख्याको विभिन्न उमेरसमुहलाई प्रभाव पारेको सार्क देशहरूलाई गाँजेको प्रष्ट देखिन्छ । यसरी २०१९ को आँकडा अनुसार समग्रमा हिसाब गर्दा त विकशित देशमा ६५ वर्ष नाघेका १९% र विकासशील देशमा ७% मान्छे रहेका देखिन्छन् ।

पाका मान्छेका प्रतिशतबाट सहजै बुझिन्छ कि जति बढि राजनीतिक स्थिरता, भौतिक सुबिधा र स्वास्थ्यको हेरबिचार हुन्छ त्यति धेरै पाका मान्छेको सङ्ख्यामा बृद्धि भएको पाइन्छ । गरिबी, अशिक्षा, आधुनिक उपचारमा कमी र हावापानीको प्रभावले मानिसकाे बाँच्नसक्ने आयु छोट्टिँदो रहेछ । एसियामा मात्र होइन विश्वमा जापान अगाडि हुनु र अफ्रिकामा पाका मान्छे अत्यन्त न्युन हुनुमा त्यही रहस्य निहित भएको होइन त ? सार्क राष्ट्रमा अफगानिस्तानको आँकडाको स्थितिले संसारमा एक सय नम्बरमा परेको दक्षिण छिमेकी भारतका विभिन्न प्रान्तका अवस्थासँग तुलना गर्न मिल्छ । भारतमा प्रान्तीय राजनीतिक गठजोड, शैक्षिक स्तर, आयस्रोत र हावापानी अनुसारनै विभिन्न प्रान्तमा पाका मान्छेको प्रतिशत भएको देखिन्छ । हेर्नुहोस् त २०२० को आँकडाअनुसार केही प्रान्तको पाका मान्छेको आँकडा प्रतिशतः केरल १६.५, तमिलनाडु १३.१, पञ्जाव १२.६, आन्ध्रप्रदेश १२.४, ओडिसा ११.८, मध्यप्रदेश ८.५, झारखण्ड ८.४, असम ८.२, उत्तरप्रदेश ८.१, बिहार ७.७ । सबैभन्दा शिक्षास्तर र सामाजिक शुरक्षा बढि भएको राज्य केरल र गरिबीको मार खपिरहेको बिहारको पाका मान्छेको प्रतिशत कस्तो छ ? सामाजिक चालचलन, संस्कार, शिक्षा र राज्यको दायित्वको स्तर अनुसार नै पाका मान्छेको बाँच्ने आयुमा प्रभाव परेको होइन होला र ?

नेपालमा पाका मान्छेः
नेपालमा सेवा निवृत्तहरूका लागि विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरूको आआफ्नै कल्याणकारी योजनाहरू बनेका थिए । नेपालमा गैह्रसार्वजनिक सेवामा योगदान गरेका ज्येष्ठ नागरिकसमेतलाई ध्यानमा राखेर सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरियो । १९९४ अर्थात २०५१ पुसदेखि ७५ वर्ष माथिकालाई केही मासिक भत्ता दिने भयो भने २०५२ साउनदेखि ६० वर्ष माथिका एकल महिलालाई पनि सो कार्यक्रममा संलग्न गरियो । अलिअलि गर्दै मासिक भत्ताको रकम बढ्दै गयो भने २०६५ सालबाट ज्येष्ठ नागरिक घोषणा गर्ने उमेर ७० वर्ष कायम रह्यो । हेक्का रहोस्, सुस्त गतिमा विकसित सामाजिक अवस्थामा अभ्यस्त आजका पाका मानिस परिबर्तनलाई जति आत्मसात् गरिरहेका छन, अब आउने पुस्ताकाले द्रुतगतिको विकासलाई पच्छ्याउन कठिन पर्नेछ । त्यसैले अबका किशोरकिशोरी र वयस्कहरूले दुर्दशा भोग्न नपरोस् भनेर नै पाका मान्छेका हितमा समाजव्यवस्था बनाउन आजैदेखि लाग्नुपरेको हो ।

नेपालमा राजनीतिक प्रणालीमा आएको परिवर्तनसँगै परम्परागत संस्कार र मान्यतामा मध्यवर्ती बर्गसम्म बजारवादको प्रभाव सतहमा देखापर्न थाल्यो । एक दशक अघिसम्म महिनाको दुईतीन जना बेवारिसे पाका मानिसका लाश भेटिने नेपालमा अचेल ३०/३५ जना पाका मान्छे भेटिएको खबर आइसकेको छ । नेपाली समाजको विद्यमान आर्थिक अवस्थामा परम्परागत संस्कारमा आएको बिचलनले उडन्ते व्यवहार पलाएको छ । यसले गर्दा पाका मान्छेप्रति गरिने परिवारका सदस्यहरूको सम्बन्ध विद्यमानको नाफानोक्सानतिर गएको छ । बिगतका मिहेनतले परिवारको उन्नति गर्ने आजका पाका मान्छे सुखशयल, मानमनितोको कुरा छाडौँ, सामान्य मानविय रेखदेख तथा उपचारको अभावमा सक्षम वयस्कहरूका व्यवहारले परित्यक्त भएर अलपत्र पर्ने अवस्था आइरहेको देखिन्छ ।

सरकारले मत बटुल्ने फोस्रा चुनावी भाषणभन्दा अभरमा कामलाग्ने पूजामा चढाउने अक्षेताजस्ता केही रकमको भत्ता अब पाका मान्छेलाई प्यारो लाग्छ । यसलाई वैज्ञानिक बितरण तथा सहज पहुँचको व्यवहार लागु गर्न बाँकि छ । अझ विभिन्न बहानामा राजश्व कुम्ल्याउने नियतमा परिवर्तन गरेर आजका पहुँचवालाले नीतिनियममा संशोधन गरेर भए पनि भोलि आफ्नै हितमा हुने पाका मान्छेको सुविधा र सुरक्षामा बृद्धि गर्नुपर्दछ । किन कि धनार्जनमा व्यस्त आजका वयस्कलाई भोलि यीनका सन्तानले आधुनिक पाटीमा (केयर होम, ज्येष्ठनागरिक आवास आदि) थन्क्याउने न हुन् । समाजलाई सानै उमेर र किशोर किशोरीहरूदेखिनै शिक्षित गराउँदा पछिका पाका मान्छेले आजकाले भोगेका दुखकष्ट भोग्न कम होला भनि भर्खरै विद्यालय शिक्षामा बुढ्यौली बिज्ञान विषय नेपालमा समावेश गरिएको छ । यसले कम्तिमा विद्यमान समस्यालाई प्राज्ञिक हिसाबले सैद्धान्तिकरुपमा भए पनि अध्ययनयोग्य बिधाको क्षेत्र हो भनि उजागर गर्नेछ र समाजको सोचाईमा लोकलाजकै लागि भए पनि केहि परिवर्तन आउने छ ।

अहिलेको राजनीतिकवसात प्रदेशमा पाका मान्छेको प्रतिशत आँकडाले प्रदेशअनुसार भएको हावापानी, आयस्रोत, चेतनास्तर र स्वास्थ्यसेवामा पहुँचलाईनै ईङ्गित गर्न खोजिरहेछ । नेपालको कुल जनसङ््ख्या २६,४९४,५०४ र पाका मान्छे मानिएका २,१५४,००३ आँकडा बि.सं. २०७५मा रहेको लेखोट पाइन्छ । त्यसकै आधारमा प्रदेश १ मा प्रदेशको पूरा जनसङ्ख्यामा ८.१ प्रतिशत पाका मान्छे रहेका थिए भने नेपालको कुल पाका मान्छेको सङ््ख्याको १८.२ प्रतिशत हुन आउँछ । त्यस्तै तुलनात्मक आँकडामा प्रदेश २ मा ७.२ प्रतिशत र कुल नेपालमा भएका पाका मान्छेमा १८.८ प्रतिशत हुन्छ । प्रदेश ३ मा ८.२ र देशभित्र पाका मान्छेमा २१.२ प्रतिशत, प्रदेश ४ मा ११.८ छ भने देशभरीकासँग तुलना गर्दा १३.१ प्रतिशत हुनुहुन्छ । प्रदेश ५ मा त्यहाँको आवादीको ७.५ प्रतिशत पाका मान्छे देशको कुलसँग दाँजिदा १५.५ प्रतिशत पाका मान्छेमा पर्नुहुन्छ । प्रदेश ६ मा ५.६ प्रतिशत पाका मान्छे देशको कुलसँग दाँजिदा ४.१ प्रतिशत मात्र हुनुहुन्छ भने प्रदेश ७ मा त्यहाँको सबै उमेर समुहमा ८.६ प्रतिशत रहेकोमा देशभरिका पाका मान्छेको ८.९ प्रतिशतमात्र हुनुहुन्छ । आफ्नै प्रदेश भित्र विभिन्न कारणले दिर्घ जीवन नभएका प्रदेश २, ५ र ६ का पाका मान्छे न्युन सङ्ख्यामा भए पनि देशको सरदर प्रतिशतमा दाँजिन अरु प्रदेशका अधिक आँकडाको सहारा लिनु परेको छ ।

नेपालमा ६० लाख भन्दा बढि विभिन्न कारणले विदेशिएका सरकारी आँकडा पाइन्छन् । मताधिकार भएका १,१७,३३,७२७ उमेर पुगेका मानिस नेपालमा छन् । तीनचार वर्षअघिको करिब २५,२१,००० पाका मान्छे ६० वर्ष माथिका रहेको तथ्याङ्क अहिले पनि मान्दा २१.४९ प्रतिशत पाका मानिस रहेको प्रमाणित हुन्छ । त्यसमा अनौपचारिक एक करोड लगभग वयस्क विभिन्न कारण विदेशिएको आँकडा मान्ने हो भने वास्तवमा बर्तमानमा बढिनै पाका मान्छे हुनुहोला । नातिनातिनाको तेलभिसा, स्नातक समारोह र विभिन्न तरिकाले छोराछोरीको अनुकुलतामा विदेश गएका पाका मान्छे बढिमा छ महिना अस्थाई विदेशिएको केही देखिन्छ । केहीलाई छाडेर घुमिफिरी रुम्जाटार भनेझैँ अल्पकालका लागि बिदेशिएका पाका मान्छे बानीव्यहोरा र सामाजिक कारणले स्वदेशनै फर्किन्छन् । फर्किएपछि उहाँहरूको सङ््ख्या अन्यन्त्र नभए पनि सुविधायुक्त सहर भएका ठाउँहरूमा बढ्ने छ । यसले नगर र महानगरभित्र मुख्य समस्याको रुपमा पाका मान्छेको आवश्यक्ता, सहयोग र निर्भरताको व्यवस्थापनमा सरोकारका सबैमा जिम्बेवारी थप हुनेछ ।

नेपालभित्र स्वास्थ्य सुबिधा भएका ठाउँमा पाका मान्छेको बाँच्ने उमेरमा परिबर्तन आइरहेछ भने परम्परागत सामाजिक प्रणाली दिन प्रतिदिन अस्थिर र सयुक्त परिवार बिपरित बन्दै गइरहेछ । त्यस्तो परिस्थितिमा नेपालमा एकल काममा गएकाले छाडेका केटाकेटी र काम गर्न नसक्ने पाका मान्छेमात्र भएको समाज बन्दैछ । यसले सक्रृय जनशक्ति र पाका मान्छेका बिचमा समन्वयको खाडल झनझन ठूलो बन्दैगएको अनुभूत भइरहेछ । त्यसैले त हिजोआज ज्येष्ठनागरिक स्याहार केन्द्र, दिनको हेरबिचार केन्द्र, आश्रमलगायत पाका मान्छेका गैर्‍हसरकारी सँस्था बन्दैछन् । सरकारले पनि समस्या पहिचान गरेर नियमकानुन बनाउन बाध्य भइरहेछ ।

अन्त्यमा,
कूल जनसङ्ख्याको पाँच भागको एक भाग भनेको कुनै पनि देशका लागि ठूलो मात्रा हो । सामाजिक बिखण्डन र मानविय सोचाइमा आएको नकारात्मक प्रभावले नेपाली समाज स्वभाविक गतिमा विकसित भइरहेको छैन । यस्तोमा पाका मान्छेका उमेर समुह सबैभन्दा बढि परित्यक्त समुहमा परेका छन् र बिलौनामा समय बिताउन बाध्य भएका छन् । पाका मान्छेमानै केन्द्रित भएर कथा, कविता, नाटक, हँस्यौली र सिद्धान्तका पुस्तकहरू बजारमा व्यापक ल्याउनु पर्छ । स्वास्थ्यस्थिति र रोगव्याध बारेमा पनि सोधखोज सबैतिर भएका छन र नेपालमा पनि बामेसर्ने गतिमा अघि बढेको पाइन्छ । फरकफरक सामाजिक स्थितिमा हुनसक्ने मनोविज्ञान, वयस्कहरूको सोचाई र सरकारी लिखतअनुसारको व्यवहारका पक्षमा धेरैतिर संयोजित विधा कम छन् भने बालबालिकालाई पाका मान्छे मैत्री सामग्री नेपालमा त छँदैछैन भन्दा हुन्छ । त्यसर्थमा नेपाली समाजको सन्दर्भमा पाका मान्छेका कुरा सामाजिक मनोविज्ञानमा केन्द्रित रही लेखिएका सरल गद्य सामग्री र निबन्धहरूको सँगालो नयाँ बिधाकोरुपमा नेपाली पाठकहरू बिच ल्याउनु पर्दछ । त्यसमा पाका मान्छेको भोगाई मात्र होइन परिवार र सम्बन्धित सरोकारीहरूले मनन गर्नुपर्ने केही अँश पनि दिशानिर्देश गर्नसक्ने हुनुपर्दछ । त्यस्ता सामग्री र जानकारीलाई सम्बन्धित निकाय र सरोकारवालाले सर्बसाधारणको सहज पहुँचको व्यवस्था पनि गर्नुपर्दछ । यस प्रक्रियालाई गुणात्मक र सङ्ख्यात्मक बृद्धि गरी, बढी भन्दा बढि वडातहमा कार्यक्रम सञ्चालन गर्नु पर्दछ । त्यसरी सर्वसाधारणलाई सुसूचित बनाई सरकारको मुख्य योगदानमा नेपाल देश भविष्यमा पाका मान्छेको जिउँदो स्वर्गको रुपमा स्थापित गराउनु अहिलेको आवश्यक्ता हो ।

०००

२०७९ असोज ३

लेखकका यस्तै सामग्रीः
१. पाका मानिसलाई घरमै राख्ने (१) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
२. पाका मान्छेका तथ्यकुरा बुझौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, १८ जुन २०२२, असार ४, २०७९
३. पाका मानिसलाई घरमै राख्ने (२) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन २१, असार ७, २०७९
४. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
५. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
६. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम अनलाईन, १७ जुलाई २०२२, साउन १, २०७९
७. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, १९ जुलाई २०२२, साउन ३, २०७९
८. पाका मान्छेलाई यत्तिभए पुग्छ ! क्यानाडा नेपाल डट कम अनलाईन, २२ जुलाई २०२२, साउन ६, २०७९
९. पाका मान्छेका नियम आयो रे ! फित्कौली डट कम अनलाईन, ३० जुलाई २०२२, साउन १४, २०७९
१०. पाका मान्छेबाट यत्ति आश गरौँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, ६ अगस्त २०२२, साउन २१, २०७९
११. पाका मान्छेले कसरत गर्न हुन्छ, किन ? फित्कौली डट कम अनलाईन, १० अगस्त २०२२, साउन २५, २०७९
१२. पाका र अति पाका मान्छेले कति गर्न हुन्छ ? मकालुखबर डट कम अनलाईन, १४ अगस्त २०२२, साउन २९, २०७९
१३. पाका मान्छेका आनन्द कस्तो हुन्छ ? फित्कौली डट कम अनलाईन, २० अगस्त २०२२, भदौ ४, २०७९
१४. पाका मान्छेमा बिर्सनु कस्तो हुन्छ ? फ्रेसन्युजनेपाल डट कम अनलाईन, २१ अगस्त २०२२, भदौ ५, २०७९
१५. पाका मान्छेको सँस्मरण र बिस्मृतिका कुरा ! फित्कौली डट कम अनलाईन, २ सेप्टेम्बर २०२२, भदौ १७, २०७९
१६. पाका मान्छेले सिकाऊँः पिरमा के गर्ने ? फ्रेसन्युजनेपाल डट कम अनलाईन, ३ सेप्टेम्बर २०२२, भदौ १८, २०७९
१७. पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, १७ सेप्टेम्बर २०२२, असोज १, २०७९

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे