मालिक आउनुभयो
मालिकको कोशेली खाऊँ त म फेरि गुलाम हुनेछु, मालिकको कोशेली फ्याँकिदिऊँ त मेरो परिवार भोकभोकै हुनेछ । तपाईं नै भनिदिनुहोस न- मालिकको कोशेली म के गरौँ ?
मालिक…. आउनुभयो
आहा ! आहा !! बर्षौँपछि
रातको सन्नाटालाई चिर्दैचिर्दै
अनुहारमा मुखट्टा बाँधेर
हातभरि कोशेली बोकेर आउनुभयो ।
यो रात थियो- चौपट्टै रात
छोरीकी आमाले सपना देख्दै गर्दा,
छोराछोरीहरू भोकभोकै भएपनि
हातखुट्टा फ्याँकेर निदाएको बेला,
मालिक गम्भीर अनुहार लिएर आउनुभयो,
बर्बरिक उठ् रे भन्दै
साउतीमा बोलाउनुभयो,
हातको कोशेली दिनुभयो,
छेउको मुढामा अँध्यारो ओढेर बस्नुभयो ।
मालिक…. आउनुभयो,
एक किलो सुँगुरको मासु
दुई किलो चामल
एक पोको तेल
एक बोतल घरचुवा रक्सी
पान सयेको नयाँ नोट
मालिकले लिएर आउनुभयो ।
मालिक….. आउनुभयो,
जन्मिनै लागेको नयाँ विचारलाई छोप्न
एक मुट्ठी पुरानो विचार लिएर आउनुभयो,
उठ्नै लागेको क्रान्तिको ज्वारलाई दाब्न
एक भुँडी जुठो लिएर आउनुभयो,
सल्किनै लागेको बिद्रोहको ज्वाला निभाउन
एक बोतल रक्सी लिएर आउनुभयो ।
मालिक आज खासै केही बोल्नुभएन,
तीखा आँखाले
ईशारामा थोरै बोल्नुभयो,
मलाई केही नबोल्न भन्नुभयो,
मालिक बिरालोको चालमा
अँध्यारो बोकेर आउनुभयो,
सपना दिएर जानुभयो ।
मालिकको कोशेली खाऊँ त
म फेरि गुलाम हुनेछु,
मालिकको कोशेली फ्याँकिदिऊँ त
मेरो परिवार भोकभोकै हुनेछ ।
तपाईं नै भनिदिनुहोस न-
मालिकको कोशेली म के गरौँ ?
०००
मोरङ