निर्वाचन प्रचार सामाग्री

झमझम इस्टकोट

हामीले यही लोकगीतलाई राष्ट्रिय गीत बनाउनु पर्छ रिमालद्वारा रचित राष्ट्रिय गीत गाउने हाम्रो हैसियत छैन । हामी बेकम्मा पात्रहरू इतिहासले हाम्रो उपहास गर्नेछ ।

मेरो भलो चाहने एक डोको मित्रहरू छन् । एकपटक त एकजना मित्रले मलाई पनि प्वाक्क भनिहाले- “तैले जिन्दगीमा खासै भन्ने हो भने केही पनि हल्लाउन सकेको छैन, कम्तिमा पनि एकजोर कुर्थापाइजामा र इस्टकोट त हल्ला ।”

“ठीक छ, कुर्थापाइजामा र इस्टकोट त हल्लाउँला तर गिङ्रिङ्ग हाड र हरिया नसा देखिने घाँटीमा चाहिं के हल्लाउने नि ?” मैले ठट्टामा भनें ।

“सुनको सिक्री हल्लाउने नि, त्यति पनि थाहा छैन तँलाई लठपुङ ?” मलाई मूर्ख बनाउँदै ती मित्रले औधी सरल समाधान प्रस्तुत गरे । वास्तवमा सुन भन्ने चिज साधारण मानिसका लागि आकाशको फल आँखा तरी मर भने जस्तो छ यी साँखुल्ले मित्रको सल्लाह ठीक ठाउँमा परेन । म तस्कर हुँइन, कमिसनखोर हुँइन, पकाउ परेको सुन छुटाए बापत भुँडे भाग दाबी गर्ने जखमले पार्टीको मूल्य र आदर्शको ठेकेदार नेता पनि हुँइन । म जस्ता मानिसहरूले कहाँबाट ल्याउने सुनको सिक्री र घाँटीमा झुन्ड्याउने ? हाम्रो समस्या त सुनको होइन, नुनको हो फेरि, अर्को मनले सोच्छु घाँटीमा छापावाल सुनको सिक्री टलक्क टल्किएन भने कुर्थापाइजामा भिर्नुको मजै पो के रह्यो र !

मलाई मूर्ख बनाएर आफूलाई बुद्धिमान साबित गर्दै हिंड्नेहरूको ठूलो बथान छ कोही स्वाँगे हितैषीका रूपमा, कोही कृपालु आफन्तका रूपमा आफूलाई पेस गर्छन् र मलाई कुर्थापाइजामा किन्न कर गर्छन् । तेल नहेर्नु तेलको धारो हेर्नु भनेझैँ म पनि उनीहरूलाई होइन, उनीहरूले हल्लाएको गोरखपुरे कुर्थापाइजामा र इस्टकोटलाई हेर्छु, जब म उनीहरूलाई पुतलीसडकतिर, रत्नपार्क, भोटाहिटी र नयाँ सडकतिर भेट्छु, उही रेडिमेड प्रश्न दोहोरिन्छ- “जाने होइन बल्खुपाखा ? जाने होइन टेकु अफिस ? जाने होइन वालुवाटार ?” म वाल्ल पर्छु उनीहरू झमझम कुर्थापाइजामा र इस्टकोट हल्लाउँदै स्याँ स्याँ र फ्याँ-फ्याँ गर्दै दौडिरहेका हुन्छन् ।

प्रजातन्त्रको ट्रेडमार्क गोरखपुरे खाँडी हो, कुर्था र पाइजामा हो जसले यस असली पोसाकलाई धारण गर्छ, त्यही असली प्रजातन्त्रवादी हो, त्यागी र तपस्वी हो । गोरखपुरे खाँडी हारालुछ विक्री हुनु भनेको नेपालमा प्रजातन्त्र आउनु हो ! शहीदको सपना भन्ने जिनिस बजारमा बेचिने माल मात्र हुन् । कुर्थापाइजामा भिरेर कपटी छटेलहरूले एक मिनेट मौनधारण गरी शहीदहरूको ऋण तिरिरहेका छन् । लाग्छ, तुलसीको माला लाएर बढेमाका ढाडे बिरालाहरू वैष्णव धर्मको श्रेष्ठताबारे श्रीमद्भागवत् प्रवचन दिँदैछन् । विचरा मुसाहरू शास्त्रलीन भएर ताली बजाउँदैछन् । खाँडी कुर्थे प्रजातन्त्रमा यी सबै सामान्य कुरा हुन् । विहारमा लालु यादवले फुर्ती र जोससँग भाषण ठोके रे- “जब तक रहेगा समोसामे आलु, तबतक रहेगा बिहारमे लालु…। भाइयों, बहनों एक बार प्रेमसे नारा लाइए- लालु यादव- जिन्दावाद सारा ‘जनसमूह’ले चिच्याएर भनेछ- जिन्दावाद ।” हामी पनि एकचोटि चिच्याएर नारा लगाऔं- ‘गोरखपुरे खाँडी जिन्दावाद । कुर्थापाइजामा जिन्दावाद, भक्तपुरे घरबुना मुर्दावाद । नेपाली जनसंस्कृति- गेट आउट ! गेट आउट ! भाइयों, बहनो, जबतक रहेगा बाँसझाङमे भालु तबतक रहेगा नेपालमे प्रजातन्त्र चालु ।” (परर्र ताली) धन्यवाद ।

आजका मन्त्रीहरूलाई समाजसेवी, बुद्धिजीवी र प्रभावशाली नेताहरूलाई वेग्लावेग्लै भौगोलिक तथा सांस्कृतिक परिवेशका कम्तिमा पनि तीन थान पोसाक अनिवार्य नै छ- पहिलो खाले पोसाकमा दौरा-सुरुवाल, कालो टोपी र आकाशे रङको कोट पर्दछ बेइमानी र लुटका लागि इमानदारिताको शपथग्रहण गर्न यस्तो पोसाक चाहिन्छ । जुनसुकै बेला मन्त्रीमण्डलमा भुकम्प आउन सक्छ । गठन र पुनर्गठन हुने हुँदा एकजोर राष्ट्रिय पोसाक ह्याङगरमा सुरक्षित हुनु पर्दछ । दिउँसो मात्र किन मध्य रातमा पनि मन्त्री हुनुहोस् भन्ने अफर आउन सक्छ । त्यस्तै, डलर भत्ताको निगुरो टिप्नका लागि एकजोर सुटटाई नभई हुँदैन । सेतो कुर्थापाइजामा र घिउ रङको इस्टकोट वा ज्वारीकोट चाहि चुनाउको मौसममा आवश्यक पर्दछ दुःखीले देख्ने, सुन्ने र अनुभव गर्ने भनेको कुर्थापाइजामा र घिउ रङको इस्टकोटभित्र बटारिएको ज्यान, मीठो तर कुटिल मुस्कानसहितको ढाँट आश्वासन र धतुङ्गे भाषण त हो नि ।

एउटा मान्छेसँग एउटै मात्र आङ हुन्छ, दुइटा तीनटा हुँदैन । एउटा आङमा कहिले कुर्थांपाइजामा, कहिले दौरासुरुवाल, कालो टोपी, अनि कहिले चाहिं सुटपेन्ट. टाई यिनीहरूलाई भौगोलिक बनोट, सांस्कृतिक भिन्नता, मौसम र निजी रुचिहरूको विविधतासँग कुनै सरोकार छैन । यिनीहरू आफ्नो निहित स्वार्थ सुहाउँदो पहिरन भिर्छन् । भाषा र भेषलाई एकै ठाउँ जोडेर नारा लगाउनेहरूको बाचा पनि देखिइसकिएको छ । तिनीहरूले नै दौरा, सुरुवाल र कोट टोपी फालेर मुर्जे कुर्था र पाइजामा किन्न सवभन्दा अघि गोरखपुर टाप कसेका थिए । यो देखेर डाबर लालदन्त मञ्जनको टि.भि. विज्ञापनमा जस्तो बाँसको कप्टेराले देखाउँदै मलाई पनि भन्न मन लाग्छ- “राजु, यो हो तिम्रो दांतको बनावट !”

अहिले देशको नाजुक स्थिति सम्झने हो मन कुनै पनि इमानदार र मानिसको छाती चरक्क चिरिन्छ । कतिसम्म भने उद्योग, वन्दनपार, संचार र बजार जस्ता महत्त्वपूर्ण कुरा समेत हाम्रा हातमा छैनन । अरूले ने हल्लाइरहेका छन् । सरकारदेखि साँधसीमानासम्म, स्वतन्त्रतादेखि सार्वभौमिकतासम्म अरूले नै हल्लाउदै आएका छन् । बाँकी जलस्रोत, नदीनाला र विद्युत ऊर्जा पनि अरूले नै हल्लाउने हो । भने हामी जस्ता नालायकहरूले यस जम्बुद्वीपमा कुर्थापाइजामा बाहेक के हल्लाउने ।

अहिलेका हकमा भन्ने हो भने गोपालप्रसाद रिमालद्वारा रचित ‘जंगी निसान’ ले होइन ‘बावरी फूलको बोट चाहिं वर्तमान यथार्थको राम्रो प्रतिनिधित्व गर्दछ । बावरी फूलका बोटहरू पाइजामा र इस्टकोट झमझम हल्लाउदै भोटमा घरघरमा आइरहेछन् । उनीहरूलाई देख्नासाथ मलाई पनि गीत गाएर नाच्न मन लाग्छ, ‘तिम्लाई मैले चांचरी चिनेको छैन ? बावरी फूलको बोट, आयो हल्लाउदै झमझम इस्टकोट… ! हामीले यही लोकगीतलाई राष्ट्रिय गीत बनाउनु पर्छ रिमालद्वारा रचित राष्ट्रिय गीत गाउने हाम्रो हैसियत छैन । हामी बेकम्मा पात्रहरू इतिहासले हाम्रो उपहास गर्नेछ ।

०००

‘विर्सिस्यो कि ?’ निबन्ध सङ्ग्रह

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो