कलानिधि दाहालसत्ता र शासक !!
शासक ! कहिल्यै कोही कहीँ पनि असल हुन्न असलले सत्ता खोज्दैन खोज्ने कहिल्यै असल हुन्न प्राकृतिक न्यायको उद्घोषण हो यो सर्वोच्च मानव विधायिकाको सान हो यो !!

सुषुप्तिमै अवस्थित
लोभको सानो अंश
मल्जल भएर
फराक ब्याड्मा
जाँगरिलो किसानसँगै
बीउ उम्रेर लहराएझैँ
खराब मनको ब्याड्मा
एकाएक हल्किदिन्छ सत्ता
बिस्तारै
हिजो ? विस्मृतिभित्र
के थिएँ ? विस्मृतिभित्र
कोसँग रहें ? विस्मृतिभित्र
हिट्लर
उपज हो यसकै
हाम्रा हिट्लरहरू
दस्तावेज सामुमै छन्
विवेक
एकाएक
क्रूरको अङ्कुर
पुट्पुटाउँदै वैँसन्छ निरन्तर
मावता
चितुवा देखेर शावक भागेझैँ
सुदूर दौडिन्छ अदृश्यमा
अनाहक
-आसेपासेको जमात
-किचेनक्याविनेटको हुल
-सण्डेमुसण्डेका माँशल मसलहरू
-अतीत विषमलिङ्गी
-प्रेमिल आलिङ्गनहरू
मानस् चाहनाका
सङ्कीणर्
फोहोरी विकासको
चरम रूप हो सत्ता
असत्यको आसनमा
सत्यको वचन चुहुन्न
स्यालको राजभित्र
कहीँ कतै
कुनै पोथीले
दूध पिलाउन्न शावकलाई
कण्टेनरको किचेनमा
कसैले
पटुकी बाँध्दैन इन्द्रेणीको
फोहोरमा परेपछि
सुवास रित्तिन्छ इन्द्रकमल
देख्नुभएकै छ सदनमा
झुुठको खेती
सत्ताको मापन यन्त्र
प्यारामिटर हो एउटा
नमङ्गा जोगीको भिक्षामा
शासक छर्छ चामल
भिक्षुणीका अङ्कमालमा
बनाउँछ रातारात
विलासका महलहरू
र बाहिर निस्कदै
बजाउँछ तिनै थोत्रा
खरी ओसिएका मादल
ठान्छ- “अहा ! कति मीठो सङ्गीत !!”
झरना
सुन्ने कान बन्द
इन्द्रकमल
सुँघ्ने नाक बन्द
हृदय
छाम्ने हात बन्द
हतास
बाढी उम्लन्छ
-किचेन क्याविनेटको
-माश मसल मूर्ख उन्मादको
-वकिल,न्यायाधीश
-जनकर झोली उन्मादको
-प्रेमिल आलिङ्गन
-विगत बैँस उन्मादको
हिट्लर निस्कन्छ
बन्दुक बोकेर
छिर्छ विवेकवाहक समिति
नियम निर्धारक उपसमिति
केन्द्रीय
र संसदीय सर्वत्र तेर्सिएका
निरङ्कुश बन्दुकमा
ज्वाला छुट्छ अहँको
-किचेन क्याविनेटको अहँ
-माँश मसलको मूर्ख अहँ
-प्रेमिल महलको यौनिक अहँ
शरदमा
भङ्गाला फाटेका नदीहरू
वर्षामा
बाढी जुटेझैँ जुट्दै
-एउटा अहङ्कार पिण्ड
-एउटा अस्वस्थ्य कण्टेनर
-एउटा दुर्गन्ध भट्टीभीड गर्जन
-एउटा अस्वस्थ्य दम्भविश्वासको हुङ्कार
अटाउने आसन हो सत्ता
र केही क्षण
भलै किन नहोस्
त्यसमाथिको
जानाजान
वा अनजान
मानसिक
वा शारीरिक
हल्का
वा गम्भीर
चाहेर
वा नचाहेरै
हिँसात्मक लिलिपुट हो-शासक
यसर्थ
प्रकृतिको विधानमै
असलहरू
सत्ता अलग
बुद्धले त्यागे
सम्भावित सत्ता
गान्धी नजिक पुग्न
चाहेनन् विषवत् सत्ताको
जयप्रकाश
वाच्डग बने जीवनभर
विश्वेश्वर
फालिए सौदाविहीन
सत्ताको कालकोठरीबाट
असल व्यक्ति
शासक हुँदैन कहिल्यै
शासक !
कहिल्यै
कोही
कहीँ पनि असल हुन्न
असलले
सत्ता खोज्दैन
खोज्ने
कहिल्यै असल हुन्न
प्राकृतिक न्यायको
उद्घोषण हो यो
सर्वोच्च मानव
विधायिकाको सान हो यो !!
०००
कलेकुटी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































