विनाेद खनाललबर पाँडेको रत्यौली
मुखमा आएको कुरा कसले छाड्ने ! मन्त्री, सांसद र कर्मचारीले गाडी जथाभावी प्रयोग गरे जस्तै उसले पनि चबायो मर्याङ मर्याङ, चबाएपछि पो थाहा भयो कि त्यो चीज त पिंडालुको सेला पो रहेछ, कोक्याएर चौपट ।

कुरा केही समय अघिको हो । गाउँमा लबर पाँडेको बिहे हुने भयो । लबर पाँडेको बिहेमा जन्ती जान गोबर गणेश, हावासिङ र फाइँफुट्टीराज निकै तात्तिएका थिए । बेहुलो अन्भाउने साइतमै गोबर गणेशलाई दिसा आयो, ‘लगनका बेला हगन’ भनेको यही हो, प्रधानमन्त्री बन्ने निश्चित भएपछि,आमा सोर्गे भए जस्तो भयो गोबर गणेशलाई । कुदेर घरमा आएर दिसा गरेर जाँदा जन्तीले अघि डाँडो काटिसकेछन । थाहा पाइहाल्नु भयो होला गोबर गणेशले कति लामो दिसा गरेछ ! अनि बिचरो ऊ एक्लै कता जाओस् ! थच्चियो तेत्तिकै, लबर पाँडेको बिहेमा को गएन र जन्ती ! गाउँका आउरे, बाउरे, चाउरे, दाउरे, लाउरे, छाउरे, घाउरे सब गए, तर त्यतिखेर अहिले जस्तो आइमाईको गोठ जन्ती जाने चलन चैं थिएन है ।
उसको नाम लबर पाँडे ! किन उसको नाम लबर पाँडे भयो ? यो भने एउटा खुल्दुलीकै विषय थियो । सोर्सफोर्स पुग्ने हो भने त यस विषयमा शोधपत्र नै तयार हुने हो तर लुते निम्सरालाई यो जमानामा कस्ले पो पुस्छ र ! तापनि उसका नामका बारेमा भने विभिन्न शंका उपशंका भएकै हुन् । एउटाले अन्दाज गरेछ, उसको घर लबरको रुखनेर थियो र उसलाई लबर पाँडे भनिएको हो । अर्कोले तर्क दिएछ, ऊ चैं खाली लबरको जुत्ता मात्र लगाउने भएकोले उसको नाम लबर पाँडे भनिएको हो ।
तेस्रोले बलियो संभावना देखायो, ऊ चैं अत्यन्त धेरै केटीसँँग लभ गथ्र्यो र सबैले उसलाई लभर लभर भन्दाभन्दै उसको नाम लबरपाँडे भएको हो । यदि यसै भएको हो भने दुनियाँका यत्रा विधि केटीसँग लभ गर्ने पाँडेको बिहे यति ढिलो हुनु चैं चिट चोर्दा चोर्दा परीक्षा पास गर्न नसक्ने विद्यार्थीकै जस्तो रहेछ भनेर बुझ्न सकिन्छ । तर उसको नाम लबर पाँडे हुनुको असली कारण चैं अर्कै थियो । नामलाई छरितो र सुन्दर बनाउने धुनमा लागेका कवि, लेखक पत्रकारझैं लक्ष्मणबहादुर पाण्डेले आफ्नू नामको अघिल्लो अक्षर ‘ल’ बहादुरको ‘ब’ र थर जोडिदियो पाण्डे । तर गाउँका मान्छे न हुन् राम्रो नाम पनि बिगारेर नराम्रो बनाउने अनि लबर पाण्डेलाई भन्न थाले लबर पाँडे ।
कुरो थियो रत्यौलीको तर बयान चैं न्वारनको पो गरिएछ । उहीँ परराष्ट्र मन्त्रीले बन्ध्याकरण क्याम्पको उद्घाटन गरे जस्तो । हुन त रत्यौलीको बयान के पो गरिराख्नु र ! नेपालको संसद अधिवेशन हेरे र सुने पुगिहाल्छ । तैपनि रेडियो र टिभीले यथार्थलाई अलिक बङ्ग्याएर मात्र समाचार प्रसारण गर्ने हुनाले सबैले यथार्थ जान्न पाउँदैनन् ।
अब जाउँ प्रसङ्गतिर, अँ, लबर पाँडे बरियाँत लिएर हिँड्ने बित्तिकै गाउँका आइमाईहरू रत्यौलीको तयारीमा जुटे, सांसद चुनावको परिणाम आउने बित्तिकै पार्टी भोजमा जुटेका कार्यकर्ता जत्तिकै । खस्रा केरा, निबाराका दानाहरू निकै भेला भए । बूढाका थोत्रे कोट, ठुटे सुरुवाल र बिर्के टोपीको पनि इन्तिजाम भयो । सबेरै भात खाएर रत्यौलीमा जाने सल्लाह नेता पत्नीहरूले मन्त्रीको सालाको छोराको पास्नीमा जाने सल्लाह गरे जस्तै कन्फर्म गरियो । तर आपत चैं त गोबर गणेशलाई पो थियो त, घरमै सुतोस् भने बूढी रत्यौलीमा गइहाली, रत्यौलीमा जाओस् भने कुनै मन्त्रालयमा सर्वसाधारणलाई छिर्न नदिए जस्तै आइमाईहरूले रत्यौलीमा छिर्न दिने होइनन् ।
पार्टीहरूले सत्ता समीकरणको विकल्प खोजे जत्तिकै ऊ पनि विकल्पको खोजीमा लाग्यो, आखिर विकल्प त निस्किहाल्यो । जसरी नीति र घोषणापत्रमा विल्कुल बिपरित देखिने पार्टी पनि सत्ता, भत्ता, कमिसन र कुर्सीको लोभमा ल्याप्पै मिल्छन, त्यसैगरी ऊ पनि रत्यौली हेर्न जाने नै भयो । रत्यौलीमा जाने तयारीमा ऊ आफ्नू धोक्रे सुरूवाल धुँइधुँती खोज्न थाल्यो तर कहीं भेटेन । बूढी चैंले लाएर हिँडिछ अनि के भेटोस् ! अनि ऊ पनि के कम, स्वास्नीको पेटीकोट र पटनी बेरेर आफ्नू दुबैतिर गोजी भएको सर्टमा घर मुन्तिर फलेको नाइटे ज्यामिर टिपेर दुबै गोजीमा लाएर हिँड्यो ।
मङ्सिरको बेला, कोदोबारीको डिलमा बसेर ऊ रत्यौलीको तमासा हेर्न थाल्यो । नाना किसिमका पहिरन लाएर रत्यौलीमा नाचेका आइमाईहरूका बीचमा आफ्नो पेन्ट र भेस्ट लाएर नाचेकी आफ्नी स्वास्नीलाई पनि देख्यो, उसलाई चल्नसम्मको झ्वाँक चल्यो तर के गरोस् र जाने आँट कस्को त्यहाँ ! आइमाईहरू कति बौलाएका थिए भने जनआन्दोलनपछिका जनता के बौलाएका थिए र ! गोबर गणेशले मकैबारीको डिलबाटै चित्त बुझायो ।
“माली न गाईको एक थुन छैन, आजको रातलाई छेकथुन छैन” भन्दै नाचेका बूढीबूढी आइमाईहरूको नाच देख्दा उसलाई आजकलका सिनेमामा नाच्ने हिरोइनको भन्दा राम्रो लाग्यो नाच । हातको तालीको भरमा मनकी सालीलाई तानेर अभिनय गर्ने अहिलेका सोर्स र पैसाको भरमा भएका हिरो हिरोइनको अभिनयभन्दा राम्रो लाग्यो उसलाई । जाडो पनि छिप्पिएको र रात पनि निकै बितिसकेकोले घर जाने विचार गर्दै थियो ऊ, निद्राले पनि निकै चापिसकेकोले हा…ई…. गरिरथ्यो; उसको मुखभित्र एउटा चीज आएर स्वात्त पस्यो ।
त्यसरी मुखमा एक्कासि खानेकुरा पस्दा बिना परिश्रम नै कमिसन पाउने व्यक्ति जत्तिकै भाग्यमानी सम्झ्यो उसले आफूलाई र खुशी भयो । मुखमा आएको कुरा कसले छाड्ने ! मन्त्री, सांसद र कर्मचारीले गाडी जथाभावी प्रयोग गरे जस्तै उसले पनि चबायो मर्याङ मर्याङ, चबाएपछि पो थाहा भयो कि त्यो चीज त पिंडालुको सेला पो रहेछ, कोक्याएर चौपट । निल्नु न ओकल्नु भयो, उहीँ अण्डा खाँदै गरेको पुरोहितलाई जजमानले देखेजस्तै भयो । था.. था र थू…. थू … गर्न थाल्यो, वा… र वा…. गर्न थाल्यो, बोको कराए जस्तै । अनि त आइमाईहरूले थाहा पाइहाले, खेदे भेला भएर । ऊ पनि भाग्दै भाग्दै गएर घरको खाटमुनि पस्दो भयो ।
०००
मो नं ९८४२७१५५३२
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest







































