रामशरण न्याैपानेभ्रष्टाचार दबाउने मिसन
बोल्दैनन् जति नै हडप्छ परको आएर पाटो यहाँ गर्छन् शासन देशभक्त बिचमा पारेर फाटो यहाँ हाँसी मौन बसेर साँधतिरका खम्बा सरे धेर ती भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥

रामशरण न्यौपाने
खेती केवल झूटको छ बढिया यो देश नेपालमा
नेपाली जन झन् पराजित हुँदै पर्दै गए जालमा
नारा भाषण मात्र लोक हितका पर्रा छुटाए अति
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥१
ठान्छन् देश हरे निकृष्ट जनले पाए जितौरीसरि
गर्छन् दोहन घोर चार खुट नै दाह्रा धसी बेसरी
मोटाए छलुवा निरीह जनता छन् ख्याउटे धेर ती
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥२
चिन्दैनन् जन धेनु गर्धभ अझै नित्तान्त लाटा बनी
हत्यारा र खुनी दलालकन नै पुज्छन् खुदाझैँ अनि
हाँडीमा कनिका समान जनका प्रज्ञा भुटे मुद्दती
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥३
थैलोमा भुसको परेर कनिका खाएर बस्छन् जन
दौडिन्छन् तिनकै सुसारतिर पो सुम्पेर नै जीवन
झोले बन्न युवा तयार छ यहाँ लाजै नमानी रती
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥४
बोल्दैनन् जति नै हडप्छ परको आएर पाटो यहाँ
गर्छन् शासन देशभक्त बिचमा पारेर फाटो यहाँ
हाँसी मौन बसेर साँधतिरका खम्बा सरे धेर ती
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































