दुष्यन्त भट्टराईप्यारी र दाह्रीको जुहारी
तिम्रै इच्छा म उपर भयो जीत पायौ तिमीले, तिम्रै सत्ता मुलुक मनमा मीत लायौ, तिमीले कोकोहोलो नगर अब यो, काट दाह्री भनेर आऊ प्यारी अब बस भयो छेउमा टाँसिएर !!

दुष्यन्त भट्टराई :
इच्छा मेरा पनि कति हुनन् हो यही जिन्दगीमा
इच्छा तिम्रा पनि कति हुनन् चाहको हुन्न सीमा
इच्छा पुग्ने अवसर सधैँ पाउला के र कोही
इच्छा तिम्रा म उपर बसे गर्छु बिन्ती नरोई !!
यौटा इच्छा अतिशय थियो पाल्छु दाह्री रमेर
पर्खेँ धेरै सहमत तिमी बन्न सक्छ्यौ भनेर
तिम्रा आफ्नै रहर मनका जो थिए बोझ पारी
दिन्छ्यौ धम्की नजर नपरोस् चुस्स वा झुस्स दाह्री !!
पालेँ दाह्री अनुमतिविना प्रेयसी हुन्न भन्छ्यौ
अर्पेँ सारी तर पनि खुसी प्रेयसी हुन्न भन्छ्यौ
गर्थ्यौ माया मुख अधरले आजभन्दा अगाडि
गाला हेरी अहँ अब कतै हातले छुन्न भन्छ्यौ !!
कस्तो होला हृदय पनि त्यो रूपमा प्रेम खोज्ने
कस्तो होला वचन अहिले च्वास्स आएर घोच्ने
इच्छा आफ्ना पनि अब यसै मार्नु पर्ने भएँ म
तिम्रा जिद्दी अडिगपनमा हार्नु पर्ने भएँ म !!
देऊ केही दिवस मनको चाहना पूर्ण पार्छु
देऊ केही अधरबिचको मन्दमुस्कान सार्छु
देऊ मौका रहर नमरी भोग्न पाऊँ म आज
तिम्रै होला अनि बरु सबै जिन्दगीका हिसाब !!
तिम्रै इच्छा म उपर भयो जीत पायौ तिमीले
तिम्रै सत्ता मुलुक मनमा मीत लायौ तिमीले
कोकोहोलो नगर अब यो काट दाह्री भनेर
आऊ प्यारी अब बस भयो छेउमा टाँसिएर !!
०००
मेचीनगर, झापा
Subscribe
Login
0 Comments
Oldest





































