माधव पोखरेल गोज्याङ्ग्रेनाक पुराण
कतिपय नाकले फुल्ने अवसर पाउँछन, कतिपय नाकले सुक्ने अवसर पाउँछन । फुलेर सुक्ने र सुकेर पछि फुक्ने नाक वा भनौँ सुक्दै फुल्दै सुक्दै फुल्दै गर्ने नाकको भरोसा नगर्दा पनि हुन्छ ।

माधव पोखरेल गोज्याङ्ग्रे :
पुराण कति थरिका हुन्छन् भन्ने कुरा व्यशासनमा बसेर कुर्सी पुराण भन्नेलाई समेत ज्ञान छैन । कुर्सीमा बसेर व्यशासन पुराण भन्नेलाई त झन थाहै हुँदैन । नाक जोगाउन पनि धौ धौ पर्छ । कुर्सी पुराणमा व्यस्त हुनेलाई । अझ नाक पुराणको कुरा गर्दा त नाक नै फुलेर लौकाभन्दा ठूलो हुन्छ होला ।
साँच्चै आम मानिसको नाक लौका जत्रो भै दिएको भए वा ब्रह्माजीले नाकको संरचना बनाउँदा लौका जस्तौ लामो अथवा फर्सी जस्तो गोलो, डल्लो बनाएको भए मान्छेको रूप कस्तो हुन्थ्यो होला ? उसले आफ्नो नाकको बखान कसरी गर्दथ्यो होला । यदि ऊ व्यशासनमा बसेर पुराण भन्ने पण्डित हुन्थ्यो भने पुराणभन्दा बढी आफ्नो कुरुप नाकको बारेमा नै पुराण सुनाउँथ्यो होला ।
ब्रह्माजीले गल्ती चाँहि गरेकै हुन् भन्ने निष्कर्षमा पुगेको छु म । किनभने मान्छेको नाक मान्छेकैलागि नसुहाउने बनाएका छन् । लामो सलक्क परेको, चुच्चे, नेप्टे, थेप्चे, कोप्चे यि विविध थरिका नाकको आ आफ्नै खाले विशेषता हुन्छन । कसैको नाक सुन्दर हुन्छ । भनौँ कोही मानिस नाकले नै सुन्दर देखिन्छन भने कोही नाककै कारण कुरुप पनि देखिन्छन । यो सबै ब्रह्माजीको भेदभाव पूर्ण प्राविधिक कार्यले भएको हो भन्न सकिन्छ । सबै मानव एउटै फर्माबाट बनाउनु पर्नेमा फरक फरक फर्माबाट बनाएका कारण नाक पनि फरक फरक भएको हो कि भन्ने लाग्छ मलाई ।
दस टाउके ब्रह्माजीको भेदभाव कतिसम्म छ भने आफू दसवटा टाउको मालिक बनेर हिड्ने तर अरुलाई चाँहि एउटा टाउको बनाइ दिएर अन्याय गरेका छन् । नाकका सवालमा जसको ठूलो नाक हुनु पर्ने हो त्यसको सानो बनाइदिएका छन् । जसको सानो नाक हुनु पर्ने हो त्यसको ठूलो बनाइदिएका छन् । जसको शरीरमा नाक राख्नु पर्दैनथ्यो त्यसलाई नाक बनाई दिएर टुप्पोमा राखेका छन् । भनौँ नाक अनुहार बिगार्न बनाए जस्तो भएको छ कसै कसैकालागि । यो कसै कसैलाई त नाक बिनाको अनुहारमा उभ्याएको भए पनि केही फरक पर्दैनथ्यो होला जस्तो लाग्छ मलाई । यो नाकका कारण मान्छेलाई आफ्नो नाक आफैलाई भारी भएको छ जस्तो लाग्छ । आफ्नो शरीरको अङ्ग भारी हुने मान्छेको नाक काटेर ब्रह्माजीले आफ्नै दसवटा मध्ये कुनै एक वा अलि सानो ठानिएको नाकमा टाँसो लगाई दिएको भए के बिग्रन्थ्यो र उनको ।
नाक मान्छेदेखि पशुपंक्षी किटपतङ सबैको हुन्छ । सबैको नाकको आ आफ्नै खाले महत्व पनि हुन्छ । तर नाक मध्ये कालो दलिने, देखिने, सुनिने भनेको मान्छेको नै हो । चाहे त्यो नाक कुनै पनि आकार प्रकारको होस् कालो लागेपछि कहिल्यै सेतो हुँदैन । मान्छे आफैले नाकमा कालो दल्ने काम नगरोस् तर अरुले पनि उसको नाकमा कालो दल्न सक्छ्न भन्ने कुराको उदाहरण सबैले जाने बुझेका छन् । यहाँ कतिपय भने आफ्नो नाकको आफैँ बखान गर्न छाड्दैनन् । अरुले कालो दलिदिएको नाक उसको लागि सेतो हुन्छ । तर दुनियाँले कालो देखेका नाकमा ऊ आफैले सेतो भनेर दावी गर्नु भनेको नाकको अपमान गर्नु हो भन्दा कुनै फरक पर्दैन ।
नाक यस्तो चिज हो ठूलाको नाकमा कालो दाग बस्दा ऊ सेतै रहिरहन्छ तर सानाको नाकमा कालो दलियो वा कालो दाग देखियो भने कहिल्यै पुछिदैन र मेटिदैन पनि । नाकका बारेमा पनि कति भेदभाव छ हाम्रो समाजमा । यो सबै ब्रह्माजी कै कारणले भएको हो भन्न मलाई लाज लागेको छैन । नाक जस्तो भए पनि आखिरी अनुहारलाई रूपौलो बनाउने वा कुरुपौलो बनाउने त्यो ब्रह्माजीले परिकल्पना गरे अनुसार नै हुन्छ । ठूलो मान्छेको नाक धाक लाउन योग्य हुने तर सानो मान्छेको नाकले लगाएको धाक कसैले नसुन्ने गरी ब्रह्माजीले बनाइदिएका छन् । यस्तो भेदभाव पूणर् नाकका कारण देशमा बेला मौकामा विद्रोह पनि हुने गरेको छ । यो सबै कर्तुत विष्णुले नाइटोबाट उत्पादन गरेको दस टाउके ब्रह्माजीका कारण भएको हो भन्न मलाई फेरि पनि लाज लागेको छैन ।
नाक कति प्रकारका हुनछन् भन्ने कुराको बखान घोडे नाक भएका, वा लौके नाक भएका, सुगा ठुडे नाक भएका, घिरौले नाक भएका, चरी टुडे नाक भएका माइकलालहरूले पनि सक्दैनन् । भनौँ नाक पुराण वाचन गर्न सहज छैन । सिगाने नाकको त अझ यहाँ चर्चा नै भएको छैन । भेडोको जस्तो सिगाने नाक भएकालाई नाकको पुराणका बारेमा सोध्यो भने आफ्नो सिगान चुहिरहेको नाक देखाउला । तर सितल निवासको नाक र सिंहदरबारको नाकले त्यो नाकलाई नाकै मान्दैनन् । हुन त् सबैखाले नाक एउटै हो तर नाकको परिभाषा सितल निवास र सिंहदरबारले फरक तरिकाले लगाउँछ । फेरि बार्दली घरेले, बुढानिलकण्ठेले नाकको परिभाषा आ-आफ्नै पाराले लगाउँछन । जस्तो आफ्नो नाक हो त्यस्तै अरुको पनि हो भन्ने कुराको ज्ञान र ध्यान नभएका ब्रह्माजीका प्रतिनिधिले आफ्नै नाक बचाउन सकेका छैनन् भने अर्काको नाक त बचाउने कुरा नै भएन । यो नाकले पनि गर्नु गरेको छ नेपालाँ । थरि थरिका नाकले कसैलाई गाँस न बास पनि बनाएको छ । कसैलाई नाक नै चिन्हाउनु छ भने कसैलाई सबै नाक बराबरी हो भन्ने भाव बुझाउनु छ । दुई आँखा मुनिको लामो डाँडीमा ठडिएको ओठमाथिको दुई प्वाल लिएर हामीलाई सधै जिस्क्याइँ रहने सिगानको भकारी फोहरी जावो नाक प्रतिष्ठाको विषय बन्नु भनेको नेपालीका लागि दुर्भाग्यको कुरा हो ।
नाक खसी, बाख्राको पनि हुन्छ । गाई, भैसी, गोरु, राँगा, साँढे, बाघ भालु सिंह स्याल कुकुर बिरालो लगायतका सबै पशु र्पक्षीको भए पनि मान्छेको नाक जस्तो घृणित कसैको हुँदैन । मेरो नाक पनि घृणित नै छ । कुनै न कुनै कुरामा मेरो नाक दोषी भएर ठडिएको हुन सक्छ तर त्यो मलाई जानकारी छैन । यस्तै हिसाबले अरु मान्छेको नाकले पनि आ आफ्नो ठाउँमा प्रतिष्ठा कमाएको होला । मेरो नाकले प्रतिष्ठा कमाउन सकेन होला किनभने म भुइँ मान्छे परे । अग्लो मान्छेको नाक अग्लै हुन्छ । तर नाकको बनावट फरक हुन्छ । बनावटकै आधारमा नाकको वर्गीकरण गर्ने हो भने नाकले अस्तित्व नै गुमाउन सक्छ ।
नेपाली समाजमा नाकको जुन महत्व छ त्यो महत्वलाई नाकले नै ओझेलमा पार्ने काम गरेको छ । नाकको महत्व न सितल निवासले बुझेको छ न सिंहदरबारले । बार्दली घरेले वा बुढानिलकण्ठेले पनि नाकको महत्वलाई बुझेको जस्तो लागेन । कतिपयको नाकमा कागले विष्ट्याई दिएको छ । कतिपयको नाकमा कालो कोठी जीवन भरिका लागि जमेर बसेको छ । त्यो न पखाल्दा जान्छ न धुँदा जान्छ । खुर्कन थाल्यो भने नाक नै ताछिएर जान्छ । यदि नाक बस्यो भने त्यसमा पनि घाउ निको भएर कालो दाग देखिन्छ ।
नाक मान्छेको शरीरमा हुँदा पनि त्यसले मान्छेलाई होचो पार्ने गरेको छ । नहुँदा पनि मान्छेलाई कुरुप बनाउने र तल झार्ने । फेरी मान्छेलाई मात्र यो समस्या आउनुमा पनि ब्रह्माजीकै कालो कर्तुत हो जस्तो लाग्छ मलाई । मान्छेमा नारी र पुरुष दुबैको नाकले धाक लाउन त पाएको छ तर नाकले मान्छेलाई पिरोलेको पनि छ । अझ भन्ने हो भने नारीको नाकको भूमिका समाजमा सबैभन्दा महत्वपूर्ण हुन्छ । आफ्नो नाक ठाडो पार्न हरेक राम्रा काम गर्छिन् नारी तर समाजले कुरा काटेर ठडिएको नाकलाई कुरुप बनाई दिन्छ । भनौँ हाम्रो समाजले राम्रो काम गर्नेको नाक देख्नु हुँदैन । त्यो नाकलाई कसरी पत्रु बनाउने भन्ने सोंचमा समाज लागि परेको हुन्छ ।
समाजले नाकका बारेमा धाक त लाउँछ तर समाजका प्रत्येक नागरिकको नाक नै समाज हो भन्ने कुरा बिर्सेको हुन्छ । त्यही बिर्सेर नै नारी र पुरुषको नाकका बारेमा अनावश्यक हल्ला र हुँदै नभएको मिथ्या कुरा गरेर हुर्मत लिने काम यही समाजले गर्दछ । नाकको शक्ति पनि हुन्छ त्यसैले कतिपयले नाकको भक्ति पनि गरिरहेका हुन्छन् । ठूला ठूला सभा सम्मेलनमा नाकको बल मिच्याई हुन्छ । कतिपय नाकले फुल्ने अवसर पाउँछन, कतिपय नाकले सुक्ने अवसर पाउँछन । फुलेर सुक्ने र सुकेर पछि फुक्ने नाक वा भनौँ सुक्दै फुल्दै सुक्दै फुल्दै गर्ने नाकको भरोसा नगर्दा पनि हुन्छ ।
गन्धे कुरा चाँडै थाहा पाउने हाम्रो नाकको पुराण जति सुकै वाचन गरे पनि थोरै नै हुन्छ । नाकले नाककै बेइज्जत गर्दा त्यही नाक रमिते बनेर तमासा हेर्छ भने सक्कली नाक भन्न पनि मन लाग्दैन । नाकको कुरा निकै गहिरो र मर्मस्पर्शी पनि हुन्छ । नाक कै कारणले कुकुरले कस्तो कस्तो अपराधी समातेर पुलिसले कार्वाही गरेको समाचार हामीले पढेका छौँ र सुनेका पनि छौँ । तर हामी मान्छेको नाकले सुघेर फोहर कुरा बाहेक अरु केही पत्ता लाउँछ जस्तो लाग्दैन । मान्छेको नाक बेकामको नाक हो । बदेल, सुँगुरको नाकले खेत बारी खनेर ट्रयाकटरको काम गर्छ । तर मान्छेको नाक देखाउन र अनुहारमा शो गर्न मात्र ब्रह्माजीले राखिदिएको जस्तो छ ।
यो नाकका बारेमा धेरै कुरा के गर्नु । यस अघि मैले नाकसभाका बारेमा पनि लेखेकै थिएँ । अहिले पुराण लेख्दै छु । यो नाक पुराणका बारेमा थरिथरिका नाक हुनेले समेत नाकको बखान गर्न सक्दैनन् भन्ने कुरा मैले पहिले नै लेखिसकेको छु । जोसँग गतिलो ओजनदार नाक छ उसले पनि आफ्नो नाकको बारेमा ओजनदार कुरा जान्दैन भने म मुला सानो नाक भएको मान्छेले के सक्नु र लेख्नु । तै पनि कनिकुथी सिंगाने नाकको बारेमा जानेबुझेको देखेको कुरा लेखि टोपले । बुच्चे नाकको फुच्चे कुरा, चुच्चे नाकको लुच्चे कुरा, सेतो कालो जस्तो भए पनि नाककै हो कुरा । म नाक विज्ञ पनि होइन । बदेल, सुँगुर, कुकुरको नाक जतिको पनि काम नगर्ने हाम्रो नाक धाक लाउन मात्र रहेछ भन्ने कुरा सबैले बुझौँ र घरतिर कुदौँ । जय साहित्य जय व्यङ्ग्य ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































