दुष्यन्त भट्टराईबङ्करबाट विलौना
अचम्म छौँ बङ्करभित्र हामी लाग्दैन चाँडै सकिने सुनामी उद्दारको अन्तिम एक आशा आशा नपारेस् कहिले निरासा !! नेपालमा देख्छु विवाद धेरै नेताहरू पक्ष विपक्ष मेरै न पक्षमा हो न विपक्षमा म चाहान्छु आफ्नै घर शीघ्र फिर्न !!

दुष्यन्त भट्टराई
अस्तित्व हाम्रो खतरा छ धेरै
गाजा उठ्यो आज निकै सबेरै
हानेर ईज्रायलमा रकेट
हो अन्त्य वा हुन्छ कि फेरि भेट !!१!!
म देश छाडी परदेशमा छु
आदेश भन्दा उपदेशमा छु
संसारमा युद्ध अनेक देख्दा
अन्योलको यो परिवेशमा छु !!२!!
निस्कूँ भने बाहिर युद्ध चल्दै
बसेँ यहीँ बङ्करभित्र छल्दै
चारै दिशा बारुद पड्किँदैछ
रोकिन्छ झैँ सास छ अड्किँदैछ !!३!!
आए यतै बन्दुकसाथ देखेँ
कुना गएँ लुक्न र दृष्टि छेकेँ
निस्के त्यही बन्दुकबाट गोली
खेल्छन् अहो! राक्षस रक्त होली !!४!!
पानी भनी मित्र कराउँदैछ
लुकेर बस्ने ‘म’ डराउँदैछ
छन् शस्त्रले सज्जित सामु मेरा
के गर्न सक्थेँ म कुना बसेर !!५!!
मर्दैछ साथी छ अगाडि मेरो
छेवै छ त्यो राक्षसझैँ चमेरो
निस्कूँ भने हुन्छु म नै शिकार
‘बाँचेँ’ भयो जीत कि तुच्छ हार !!६!!
ग्रिनेड फालेर गए सबै ती
पड्क्यो सबै बङ्कर माथि-माथि
विभत्स देखेँ जब मृत्यु मैले
धिक्कार यो जीवन लाग्छ ऐले !!७!!
बल्दैछ यो बङ्करभित्र आगो
लाग्दैछ झन् काल समीप आयो
मर्ने मरे जीवित घाइते छौँ
अत्यासमा शक्ति सबै हरायो !!८!!
आँखा बगेनन् र बने अहाल
स्वयं खडा देख्दछु दुष्ट काल
भयो यही बङ्कर अस्पताल
सुधारको छैन कुनै कमाल !!९!!
हमास जस्तो छ कि यो मुहार
ईज्रायलीझैँ छ कि यो मुहार
जो आउँछन् बन्दुक ताक्न थाल्छन्
हाम्रा भने ईश्वर भाक्न थाल्छन् !!१०!!
पर्दा न सक्छौँ सहयोग गर्न
लुकेर बस्छौँ डर लाग्छ मर्न
आयो कसैले इतिहास खायो
गोर्खा स्वयं आज ममा लजायो !!११!!
अचम्म छौँ बङ्करभित्र हामी
लाग्दैन चाँडै सकिने सुनामी
उद्दारको अन्तिम एक आशा
आशा नपारेस् कहिले निरासा !!१२!!
नेपालमा देख्छु विवाद धेरै
नेताहरू पक्ष विपक्ष मेरै
न पक्षमा हो न विपक्षमा म
चाहान्छु आफ्नै घर शीघ्र फिर्न !!१३!!
विदा दियौ रे सरकार आज
विदा दिँदा पाउँछ के समाज ?
पीडा र यो दु:ख न घट्छ धुन्छ
आफन्त आनन्द कतै न हुन्छ !!१४!!
हमास ईज्रायलको लडाईं
हामी फसेका नगरेर दाईं
लिँदै सबैको अपनत्व आफै
आओस् बचाओस् सरकार आफै !!१५!!
०००
२०८०/६/२२
Subscribe
Login
0 Comments
Oldest





































