साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा, आमा तपाईंहरू वृद्धाश्रम कहिले जानु हुन्छ ?

आजकल त नेपालमा बाउ आमा बितेपछि अन्तिम संस्कार गर्न विदेशबाट छोरा छोरी नआइञ्जेल मृत मान्छे राख्न अस्पतालहरूले फ्रिजको व्यवस्था गरेका छन् रे ! बा, त्यसैले हजुरले यसबारे चिन्ता लिनु पर्दैन,

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

आदरणीय आमा बा,
म तपाईंहरूको छोरो,
अमेरिकाको शहरदेखि
सास्टाङ्ग दण्डवत् गर्दछु !

बा,आमा,
हजुरहरूको आशिर्वादले,
तपाईंकी बुहारी,
नाती,नातिना सहित यता हामी सबै आरामै छौँ !
हजुरहरूको पनि !
आरामी तथा कुशलताको कामना गर्दछु !

प्रिय बा,
अन्यथा नलिनु होला,
सालीको नातिको पास्निका कारण
हजुरको चौरसी पूजामा आउन पाइनँ !
चौरासी पूजामा आउन नसकेकोमा,
हजुरकि बुहारीले पनि धेरै नमज्जा मानिन् !
मलाई पनि थकथकि लागिरहेको छ !

पल्ला घरे कान्छाले फेसबुकमा
चौरासी पूजाका फोटाहरु हालेको रहेछ
तीनै फोटोहरु देखेर चित्त बुझाईयो !
चौरासी पूजा राम्रोसँग सम्पन्न भएछ !
बा, आमाको पशुपतिनाथले रक्षा गरुन् !
यहि प्रार्थना गर्दछु !

बा !
आमा पनि अब त असी वर्ष पुग्नु भएछ ,
आमा लडेर थला पर्नु भएको कुरा थाहा पाएर
साह्रै दुःख लागेको छ !
अब त आमालाई
यताउता गर्न पनि सहारा चाहिने भएको छ रे !
आमाको छोरा, बुहारीको सेवाको खाँचो पर्ने बेला हो यो !
तर के गर्नु बा,
हामी त टाढा छौँ,
भनेको बेला आउन, जान सक्दैनाैँ,
सधँैको लागि त्यहाँ बस्ने गरी आउ भने पनि
छोरा छोरीलाई छोडेर नेपालमा कसरी आउनु ?
तपाईंकि बुहारी पनि काममा नै व्यस्त छिन् !
आउन मिल्दैन !
बरू, बा
केहि सय डलर पैसा आजै बैंकबाट पठाई दिन्छु ,
आमाको औषधिमूलो राम्रोसँग गराउनु होला !

आदरणीय बा !
छोरो नेपाल आएन भनेर,
कति पनि मन नदुःखाउनु होला,
टाढा बसे पनि हामीलाई त
हजुरहरूको चिन्ता लागि रहन्छ,
हामीले यहाँ हजुरहरूको फोटो भित्तामा
टाँसेका छौ,
त्यै हेरेर मन बुझाएका छौ !
मैले त पर्समै बा,आमाको फोटो राखेको छु

बा, आमाले हाम्रो चिन्ता कति पनि लिनु पर्दैन,
हजुरहरूको आशिर्वादले
यहाँ हामीलाई एक पेट खान
एक सरो लाउन पुगेकै छ,
गाडी, बङ्गला सबै छन् !

आदरणीय बा,
मैले पल्लाघरे रामेलाई फोन गरिदिएको छु,
हाम्रो सट्टा अब उनले
आवश्यक पर्दा हजुरहरूको रेखदेख
गर्ने छन् !
उनैलाई हेरेर हाम्रो न्यास्रो मेट्नु होला !

प्रिय बा, आमा !
हजुरहरूलाई कस्तो लाग्छ कुन्नि !
आजकल त नेपालमा पनि वृद्धाश्रमहरु,
भकाभक खुल्दै छन् रे,
विदेश बस्ने हामी जस्ता धेरैले
आफ्ना वृद्ध बा, आमालाई तिनै
वृद्धाश्रमको जिम्मा लगाएका पनि छन् रे,
अब हजुरहरुलाई पनि तीनै वृद्धाश्रममा
पो राख्नु पर्छ होला ?
म त्यो बारे यहाँ घर सल्लाह गर्दै छु !
उमेर मिल्दा दौँतरीहरू भेट्न पाइने
हजुरहरूलाई दिन काट्न पनि सजिलो हुने,
हामीलाई पनि यहाँ ढुक्क हुने,
हजुरकि बुहारीको पनि चाहना यस्तै बुझेको छु !

बा आमा, अन्यथा नलिनु होला,
पैसा दिएर सेवा किन्ने जमाना हो !
वृद्धाश्रम पनि नराम्रो हुदैन !
त्यसको लागि लाग्ने,
पैसा हामीले यहिँबाट पठाउने व्यवस्था गर्ने छौँ !

प्रिय बा, प्रिय आमा,
अघिल्लो महिना
तपाईंको नातिको बिहे सम्प्पन्न गरियो !
बिहेमा सयौँ मान्छेहरुलाई निमन्त्रणा बाँडियो,
बिहे खुब रमाइलो भयो ! गरियो !
तर,
बिहे अपर्झटमा गर्नु परेकोले
नेपालमा हजुरहरुलाई खबर गर्न भने
भ्याइएन,
आऊ, जाऊ गर्न पनि त बा आमालाई
असजिलो हुँदैन अब,
बुढाबुढी मान्छेको व्यवस्थापनमा
खट्ने मान्छे पनि यहाँ कोही थिएन !
हजुरहरूलाई के दुःख दिनु जस्तो लाग्यो,
खबर गरिएन !
तर पनि बिहेभरि हजुरहरूको अभाव खट्किरह्यो !

हजुरको नातिको बिहेका फोटाहरू पठाएको छु !
ती नै फोटा हेरेर चित्त बुझाउनु होला !
नातिको बिहेमा समेत सम्झेनन् भनेर
बा, आमाले आफ्नो मन सानो नबनाउनु होला !

मेरो प्रिय बा,
पोहोर साल गैह्री खेत बेचेर
हजुरले पठाई दिएको पैसा
छोराको बिहेमा खर्च गरेर नै सकियो !
विदेशमा जति पैसा कमाए पनि नपुग्दो रहेछ !

अब त छोरा अर्थात हजुरको नातिले पनि
अर्को शहरमा घर किन्ने कुरा गर्दै छ,
तपाइकि नातिनी बुहारीले पनि
नयाँ गाडी चाहियो भन्दै छे ,
तपाईंकि बुहारीले पनि
अहिले बस्दै गरेको घर
पुरानो भयो भनेर भनेको धेरै भयो,
बा, म यी सबैका इच्छा र आवश्यकताका
कुराहरू सुनेर आजित भएको छु !

बा, भन्न त नहुने हो मैले,
तर आफ्नो जन्म दिने
बा, आमालाई नभनेर कसलाई भनूँ र ?
अब हामी नेपाल आएर बस्ने होइन,
हजुरहरूको शेषपछि,
आखिर सबै सम्पत्तिहरू हाम्रै हुने त हुन् !
बा,
अब तपाईहरू पनि वृद्धाश्रममा बस्ने भएपछि,
त्यो घर, त्यो घडेरी र
ती खेत, बारीहरूको हजुरहरुलाई के काम छ र ?
सरकारले बाँड््ने वृद्ध भत्ताले ,
हजुरहरुको चिया गर्जो टरिहाल्छ !
म पनि यहाँबाट
पुगनपुग म हेरिहाल्छु !

त्यसैले बा,
अब हजुरले मन ठूलो बनाएर
घर, खेत बारी जे जे हुन्छ
ढिलो नगरी बेचिदिनु होला,
हजुरले पैसा पठाई दिएपछि
मेरो यहाँको पैसाको गर्जो
सजिलोसँग टर्ने थियो !
मेरो बा, यसो भयो भने,
यस अमेरिकाको शहरमा,
तपाईको छोरोले पनि
टाउको ठाडो परेर हिँड्न सक्थ्यो !

मेरो प्यारो बा,
मेरी प्यारी आमा,
धन्ना कत्ति मान्नु पर्दैन
बा आमाको न्यास्रो मेट्न
हरेक हप्ता हजुरहरूसँग
बोल्ने समय मिलाएको छु !

मेरो बा आमा
मनमा कुनै पीर चिन्ता नलिनु,
हजुरहरूकै सुख र शान्तिको लागि
हजुरहरूलाई छिटो भन्दा छिटो वृद्धाश्रममा
राख्ने व्यवस्था गर्ने छु !
एउटा असल छोराको कर्तव्य निभाउने
प्रतिज्ञा गरेको छु !

प्रिय बा ! तपाईले हामी मरेपछि
दागबत्ती कसले दिन्छ?
सद्गत कसले गर्छ ?
भनेर चिन्ता गर्नु भएको छ रे,
बा, यस कुरामा चिन्ता किन गर्नु हुन्छ ?
आजकल कसका बा, आमाले
अन्तिम समयमा
छोरा छोरीको हातको पानी
पिउन पाएका छन् र नेपालमा ?
आजकल त नेपालमा
बाउ आमा बितेपछि अन्तिम संस्कार गर्न
विदेशबाट छोरा छोरी नआइञ्जेल
मृत मान्छे राख्न
अस्पतालहरूले फ्रिजको व्यवस्था गरेका छन् रे !
बा, त्यसैले हजुरले
यसबारे चिन्ता लिनु पर्दैन,
हामी पनि समयको
माग र आवश्यकता बुझ्नु पर्छ,
समय अनुसार चल्न,
हजुरको छोराले पनि जाने कै छ,
जे हुन्छ राम्रैका लागि हुन्छ
यहि सोच्नु होला !

लेख्दा लेख्दै गन्थन लामै भएछ !
नाथेले के लेख्यो भनेर
बाले पढ्न झर्को नमान्नु होला,
आमालाई पनि यो पत्र पढेर सुनाउन
नभुल्नु होला !

बा, अब अहिलेलाई यो पत्र यहि टुङ्ग्याउने अनुमति माग्दछु !

अन्तमा,
पुन : बा आमालाई सेवा ढोग छ !
तपाई को उही…
छोरा
हाल अमेरिका

०००
गोरखा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x