सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुलिभरको यात्रा- (३)

मेरो बायाँ गोडा बाँधिएको सिक्रीहरू दुई गजजति लामा थिए । यी सिक्रीले मलाई अर्ध चन्द्राकार  रुपले अगाडि पछाडि सर्न मलाई अलिकति छुट दिएका थिए र द्वारको चार इन्चभित्र मलाई भित्र छिर्न मिल्ने गरी किलामा बाँधिएका थिए । मेरो पूरै जिउ तन्काएर लम्पसार पर्न पनि सकिने भयो ।

Nepal Telecom ad

जोनाथन स्वीफ्ट :

अनुवाद :: श्यामल

गुलिभरको यात्रा सन् १७२६ मा पहिलोपल्ट प्रकाशित भएको व्यङ्ग्य-आख्यान हो । आगामी सन् २०२६ मा यसले प्रकाशनको तीन शताब्दी पार गर्नेछ । त्यस समयमा लोकप्रियता र आकर्षणका दृष्टिले यस आख्यानका अति थोरै प्रतिस्पर्धी पुस्तकमध्ये ड्यानियल ड्युफोको रविन्सन क्रुसो मात्र एक थियो । यस आख्यानलाई विश्वमै सदावहार कृति मानिन्छ । यस विश्व विख्यात कृतिको यस अनुवादमा नेपाली पाठकहरूको सुविधाको लागि करीब तीन सताब्दीअघि प्रचलित बेलायती अंग्रेजी भाषाका कठिन तर हाल अप्रचलित संरचनालाई सरल बनाउन तथा पाठलाई सहज र अधिकतम बोधगम्य बनाउन वाक्यहरूलाई छोट्याइएको छ र अनुच्छेदहरू पनि पठनयोग्य हुने गरी विभाजन गरिएको छ । फित्कौली डटकमको आग्रहमा यो अनुवाद गरिएको हो, र पहिलो अध्यायलाई पनि क्रमशः तीन खण्डमा विभाजित गरिएको छ । प्रस्तुत छ तेस्राे खण्ड– श्यामल

तिनले मलाई ती दुई खडकुला तलतिर फ्याँक्न भनेर इशारा गरे । तर त्यसअघि ठूलो आवाजमा तल बाटोमा बसेका सबैलाई बाटो छोडेर छेउमा उभिन ‘बोराच मिभोला’ भन्दै आदेश दिए । ती खडकुलाहरू हावामा देखेपछि सबैले एकै स्वरमा ‘हेकिना देगुल’ भनेर कराए । उनीहरू मेरो जिउमाथि कहिले अघि कहिले पछि गरी हिंडिरहँदा धेरैपल्ट पहिले मेरो हातको पहुँचमा आइपुगेका ती अघिका पचास जनालाई मेरो जिउबाट थुत्त थुतेर भुईंमा मिल्काइदिऊँ जस्तो लागेको थियो भन्ने कुरा यहाँ म स्वीकार गर्छु । तर उनीहरूले मलाइ सके जत्ति गरेको अति खराब व्यवहारको अनुभव मैले गरेको सम्झँदा र मैले उनीहरूप्रति आदरपूर्वक व्यवहार गर्ने वाचा गरेको सम्झँदा मेरोे दिमागबाट छिटै नै त्यस्ता कल्पना हटे । यस अतिरिक्त, म आफूलाई त्यति बिघ्न महंगो र भव्यतापूर्वक सत्कार गर्ने मानिससँग अतिथि सत्कारकर्ताका नियमहरूमा बाँधिएर व्यवहार गर्नुपर्ने निस्कर्षमा पुगेँ ।

जे भए पनि म मेरो सोचाइमा मेरो जिउमा उक्लेर हिँड्ने यी मरणशील प्राणीहरूको नीडरताप्रति त्यति बढी अचम्भित हुन सकिन जब कि मेरो एउटा हात त खुलै थियो ।

केही छिनपछि, तिनीहरूले मैले अझ बढी मासु नमागेको देखे । तब सम्राटकहाँबाट पठाइएको एकजना उच्च पदस्थ व्यक्ति मेरो अगाडि देखा परे । ती महामहिम आफ्ना दर्जनजत्ति मानिसको लस्कर सहित मेरो दायाँ खुट्टाको सानो औंलाबाट माथि उक्लिरहेको र मेरो अनुहारतिर अघि बढिरहेका थिए । उनले शाही बाहुलीनिसानको मुनिबाट ओहोदाको प्रमाण निकालिरहेका थिए र त्यसलाई मेरो आँखानजिकै ल्याएर क्रोधको कुनै सङ्केत नदेखाइकन सुनिर्धारित समाधानको भावसहित दस मिनेट जति बोले । यसरी बोल्दा उनी अगाडितर्फ सङ्केत गर्थे (पछि मलाई थाहा भो, त्यो त राजधानी सहरतर्फ संकेत गरिएको रहेछ) करीब आधा मील टाढा । र सम्राटले मलाई त्यो कुरा सुनाइदिन राजपरिषद्मा मन्जुर गरिबक्सेको रहेछ ।

मैले केही शब्दमा उत्तर दिएँ र कुनै खास उद्देश्य विनै खुकुलो हात अर्को हातमा राखेर संकेत गरेँ (तर महामहिमको टाउकोभन्दा माथि हात ल्याएर, छलेर, किनभने उनको शिरमा वा उनका पछाडि लर्को लागेका मानिसहरूलाई कहीं कतै चोटपटक लागिहाल्ला कि भन्ने डर थियो) र त्यसपछि मेरो आफ्नै शिर र शरीरमाथिबाट लगेर राखें । यसो गर्नुको अर्थ मलाई स्वतन्त्र छाडिदेऊ भनी सङ्केत गर्नु थियो । उनले मेरो आग्रहलाई राम्ररी बुझेको देखियो किनभने उनले अस्वीकृतिसूचक टाउकोे हल्लाए । र, मलाई एक कैदीको रुपमा लैजाने हो भनी सम्झाउन बुझाउन हात बाँधेर देखाए । जे होस्, मलाई बुझोस् भनेर उनले अरु खालका संकेत पनि गरे, जस्तै मलाई पुग्दोगरी मासु र पेयपदार्थ दिइनेछ र मसंग अति राम्रो व्यवहार गरिनेछ भनी देखाए ।

एकपल्ट मलाई सारा बन्धन चुँडाल्ने कोशिस गरुम् कि जस्तो विचार आएको पनि हो । तर फेरि मेरो हात र अनुहारमा तिनीहरूका वाणहरूको घोचाइ सम्झँदा त्यसो गरिहाल्न सकिन । ती तीरहरू छालाको धोक्रोमा राखिएका थिए र कति त अझै मेरा जिउमा टाँसिएकै छन् । अनि मेरा शत्रुहरूको संख्या धमाधम बढ्दै गएको देखेर मैले उनीहरू जे गर्दा खुशी हुन्छन् त्यै गरुन् भनेर बुझून् भन्ने अभिप्रायले त्यत्तिकै मन मारें ।

यस्तैमा धेरै सभ्यतापूर्वक हर्षोल्लसित मुद्रामा हुर्गो र उनकोे पछाडिको लर्को फिर्ता भयो । तत्कालै मैले छिछिटो दोहोर्‍याई तेहर्‍याई ‘पेप्लोम सेलान’ भन्ने शब्दहरू कराएर उच्चारण गरेको सुनें । ठूलो संख्यामा रहेका उनीहरूले मेरो देब्रेतिरको डोरी यस प्रकारले खुकुलो बनाइरहेका थिए कि म दाहिने कोल्टो फर्कन सक्ने भएँ । पिसाब गर्न पनि अलि सजिलो हुने भो । मजाले पिसाब गरें ।

मेरो हलचलबाट म अब के गर्न लाग्दैछु भन्ने कुराको अनुमान गर्दै उनीहरूले मबाट निस्केको धारोको आवाज र त्यसबाट उत्पन्न हुने हिंसा हुन नदिन दायाँ बायाँतर्फ खोले । तर यसअघि, उनीहरूले मेरो अनुहार र दुबै हातमा तेलजस्तो पदार्थले पुछे । त्यस पदार्थको वास्ना मिठो थियो । केही मिनेटमै उनीहरूले आफ्ना तीरहरूबाट सबे चुच्चा झिके । उनीहरूले दिएका पोसिला खाना र पेयपदार्थले मलाई निद्रा पो लगाए । पछि मलाई बताइए अनुसार म करीब आठ घण्टा सुतें । सम्राटका हुकुमले डाक्टरले मदिरामा अलिकति निद्रा लगाउने तत्व मिसाइदिएको रहेछ ।

मेरो अवतरणको लगत्त,ै शुरुमै सम्राटले म भुईंमा सुतेको चाल पाएको देखिन्छ र त्यसैले राजपरिषद्मा मलाई जस्ताको तस्तै बाँधेर राख्ने (मलाई राती सुतेकै बेला बाँधिएको थियो), मेरा लागि यथेष्ठ मात्रामा मासु र पेय पदार्थ पठाउनुपर्ने र मलाई राजधानी सहरसम्म ल्याइपुर्‍याउन एउटा मसीन पनि तयार गर्नुपर्ने निर्णय गरेको हुनुपर्छ ।

यो काम सायद अलि बढी हक्की खालको र खतरनाक पनि हुन सक्थ्यो । र मलाई जहाँसम्म विश्वास छ, युरोपका कुनै पनि राजकुमारले यस्तो अवस्थामा यस्तो कामको नकल गर्न सक्तैनथे । जे भए पनि, मेरो विचारमा, यो काम एकदमै विवेकपूणर् र उदारमना भावले गरिएको थियो । मानौं, यी मानिसहरूले म निदाइरहेकै बेला भाला र तीरहरू हानेर मलाई मार्ने कोशिश गरेका भए, म निश्चय नै पहिलो तीरले घोचेको थाहा पाउने बित्तिकै ब्युझन्थें हुँला । त्यसले मेरो शक्ति र क्रोध बढाइदिने थियो र मैले मलाई बाँधिराखेका ती सारा बन्धनहरू चुँडालिदिन सक्थें । जसका कारण उनीहरूको सहनशीलताको बाँध पनि भत्किन्थ्यो र दयाभावको अपेक्षा पनि गर्न सकिन्नथ्यो ।

यी मानिसहरू अब्बल दर्जाका गणितज्ञ थिए । सिकाई विद्याका प्रख्यात संरक्षक रहेका सम्राटको दृष्टिकोण तथा प्रोत्साहनका कारण उनीहरू यन्त्र बनाउन निपुण मिस्त्री बनेका थिए । यी राजकुमारसंग रुखजस्ता अति गर्‍हुंगा वस्तुहरू ओसार्ने गुड्ने चक्का भएका कैयौं मसीनहरू थिए । उनी धेरैजसो अति ठूलो लडाकुको फौज बनाउँथे र तीमध्ये केही त जंगल हुर्कने ठाउँमा नौ फुट लामा काठहरू र समुद्रको तीन वा चार सय गजसम्म यिनै इन्जिनमा राखेर ओसार्थे ।

उनीहरूसंग भएको सबैभन्दा ठूलो इन्जिन बनाउन तत्कालै पाँच सय जना काष्ठकर्मी र इन्जिीनियरहरू लगाएका थिए । यो जमीनदेखि पाँच इन्च माथि उठेको बाइस वटा चक्कामा राखेर गुडाइएको काठको करीब सात फुट लामो र चार इन्च चौडा फ्रेम थियो । मेरो अवतरण भएपछिका चार घण्टापछि हुनुपर्छ, मैले यो इन्जिन ल्याउँदा निकालेको आवाजको होहल्ला सुनें । यसलाई म पल्टेको समानान्तर राखिएको थियो । तर मुख्य कठिनाई त यसलाई उठाएर त्यस वाहनमाथि मलाई राख्नुमा थियो । यसका लागि असीवटा एक एक फुट उँचा खम्बाहरू गाडिएका थिए र अति नै बलिया डोरीलाई अंकुशमा कसेर यी कर्मीहरूले मेरो घाँटी, हात, खुट्टा र शरीर वरिपरि थुप्रै ठाउँमा पट्टी झैं बाँधेका थिए ।

यसरी थुप्रै पुल्ली लगाउँदै खिचेर डोरी ती खाँबाहरूमा कस्नको लागि अति बलिष्ठ नौ सय जनालाई लगाइएको थियो । यसैले तीन घण्टाभन्दा कम समयमै मलाई उठाएर उनीहरूले एकदमै छिटो त्यस गाडीमाथि राखेर बाँधेका थिए । मलाई दिइएको पेय पदार्थमा मिसाइएको दबाईको प्रभावले गर्दा म मजाले निदाइरहेको अवस्थामा यी यावत् काम सम्पन्न गरेका सबै कुरा मलाई पछि सुनाइएको थियो । मलाई आधा मील मात्र टाढा रहेको महानगरतर्फ खिचेर लैजानका लागि सम्राटका करीब साडे चार इन्च उचाईं भएका १५ सय विशाल घोडाको प्रयोग गरिएको थियो ।

करीब चार घण्टापछि हामीले यात्रा शुरु गर्‍यौं । यात्राको बीचमा भएको बडो हास्यास्पद् खालको दुर्घटनाका कारण म ब्युँझिएँ । मेरो वाहन केही खास कारणले बिग्रन गएपछि ठीकठाक गर्नका लागि रोकिएको थियो । त्यसै अवधिमा तीन चार जना रैथाने युवाहरूलाई म सुतेको बेला कस्तो देखिँदो रहेछु भन्ने कौतुहल लागेर मलाई हेर्न खोजेका रहेछन् । यसै क्रममा उनीहरू गाडीमा चढे र विस्तारै विरालोको चालजस्तो गरी मेरो अनुहारतर्फ अघि बढे ।

तीमध्ये एउटाले मेरो नाकको बायाँ पोराभित्र तिखो भालाको टुप्पो राखिदिएछ । यसले गर्दा मेरो नाकभित्र परालले काउकुती लगाएको जस्तो भयो र बेस्सरी हाछ्युँ आयो । यो कुरा उनीहरूले थाहा नपाए जस्तो गरी लुकाउन खोजे पनि तीन हप्ता अगाडि मलाई अचानक रोकिनुुपरेको कारण थाहा भयो । बाँकी दिन हामी आनन्दसंग यात्रामा रह्यौं र राती मेरा वरिपरि प्रत्येक स्थानमा प-पाँच सय गरी थुप्रै अंगरक्षकहरूसहित आराम गरियो । तीमध्ये आधाजति मानिससंग हातमा उज्यालोको राँका थिए र आधा जतिका हातमा म उठेर हलचल गर्न लागेका खण्डमा मतिर हान्ने भाला र तीरहरू थिए ।

भोलिपल्ट बिहान घाम उदाउने बेला फेरि हाम्रो यात्रा जारी रह्यो र दिउँसो मध्यान्हतिर सहरको प्रवेश द्वारको दुई सय गज जति नजिक पुगियो । सम्राट आफ्ना सबै भारदारहरू सहित हामीलाई भेट्न सवारी भो । तर मौसुफका महान् अफिसरहरू मौसुफलाई कुनै पनि हालतमा मेरो गाडीमाथि चढाएर कष्ट दिने पक्षमा थिएनन् ।

मेरो वाहन रोकिएको ठाउँमा, एक प्राचीन मन्दिर ठडिएको रहेछ । यो अधिराज्यभरको सबैभन्दा मन्दिर ठूलो मानिदो रहेछ जुन केही वर्षअघि अप्राकृतिक हत्याका कारण प्रदुषित भएको रहेछ । ७ र त्यहाँका मानिसहरूको इच्छाले गर्दा त्यसमाथि एकछिन हेरेझैं गरेपछि आ प्रयोगमा ल्याउने गरिएको रहेछ । त्यहाँका सबै आभूषण र फर्निचरहरू पनि निकालियो र यसै भवनलाई मेरो आवासका लागि तयार गरियो । उत्तरतिर फर्केको ठूलो द्वार चार फीटजति अग्लो र करीब करीब दुई फीट जति चौडा थियो जसबाट म सजिलै छिर्न सक्थें । द्वारको प्रत्येक छेउमा जमीनभन्दा छ इन्च जति अग्लो एउटा सानो झ्याल र त्यसको बायाँतर्फ राजाका शिल्पीहरूले युरोपमा लेडिज घडी झुण्ड्याउन बनाइने सिक्रीजस्तो कुनै चीच बनाइरहेका थिए । तीमध्ये एउटा ठूलो चैं सिक्रीले तीसवटा ताला प्रयोग गरेर मेरो बायाँ गोडा बन्द गरियो ।

यस मन्दिरको अगाडि ठूलो राजमार्गको अर्कोतर्फ बीस फीट जतिको दूरीमा कम्तीमा ५ फीट उँचो एक बुर्जा थियो । मलाई भनिए अनुसार, सम्राट मलाई नजर गरिबक्सने क्रममा आफ्ना मुख्य मुख्य भारदारहरूसंग यही बुर्जामा चढिबक्स्योे । म भने उनीहरूलाई देख्न सक्तिनथें । यसरी मलाई हेर्न भनेरै करीब एक लाख निवासीहरू पनि सशरबाट बाहिर निस्के । र, मेरा अंगरक्षकहरूको साटो, मलाई विश्वास भएसम्म, करीब दस हजार जति मानिसहरू भर्‍याङ चढेर कैयौं पटक मेरो शरीरमाथि उक्ले । तर अब यस्तो कामलाई बन्देज लगाउन एक घोषणापत्र जारी गरियो ।

मलाई खुकुलो हुनका लागि असम्भव जस्तो हुने देखेर कर्मीहरूले मलाई बाँधिराखेका सबै डोरी काटे । अब म मेरो जीवनमा कहिल्यै प्राप्त नभएको मुक्ति पाए जस्तो गरी म उठें । तर म उठेको र हिँडेको देखेपछि त्यतिका मानिसहरूका मुखबाट निस्केको कौतुहलपूणर् स्वरको बयान गरी साध्य छैन । मेरो बायाँ गोडा बाँधिएको सिक्रीहरू दुई गजजति लामा थिए । यी सिक्रीले मलाई अर्ध चन्द्राकार  रुपले अगाडि पछाडि सर्न मलाई अलिकति छुट दिएका थिए र द्वारको चार इन्चभित्र मलाई भित्र छिर्न मिल्ने गरी किलामा बाँधिएका थिए । मेरो पूरै जिउ तन्काएर लम्पसार पर्न पनि सकिने भयो ।

०००
तस्वीर : गुगलेश्वर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गुुलिभरको यात्रा- (२)

गुुलिभरको यात्रा- (२)

जाेनाथन स्वीफ्ट
गुलिभरको यात्रा- (१)

गुलिभरको यात्रा- (१)

जाेनाथन स्वीफ्ट
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी