सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुुलिभरको यात्रा- (२)

उनीहरूले फेरि अर्को खेप पेय पदार्थ ल्याए । मैले उसै गरी सिनित्त पारेँ र अरु थप ल्याउन सङ्केत गरेँ । तर तिनले मलाई दिएनन् । म चकित भएर यी सारा आश्चर्य हेर्दै थिएँ, उनीहरू खुशीले चिच्याए, पहिले जस्तै ‘हेकिना देगुल’ भनेर ठूलो स्वरले कराउँदै मेरो छातीमा नाचे ।

Nepal Telecom ad

जोनाथन स्विफ्ट :

अनुवाद :: श्यामल

गुलिभरको यात्रा सन् १७२६ मा पहिलोपल्ट प्रकाशित भएको व्यङ्ग्य-आख्यान हो । आगामी सन् २०२६ मा यसले प्रकाशनको तीन शताब्दी पार गर्नेछ । त्यस समयमा लोकप्रियता र आकर्षणका दृष्टिले यस आख्यानका अति थोरै प्रतिस्पर्धी पुस्तकमध्ये ड्यानियल ड्युफोको रविन्सन क्रुसो मात्र एक थियो । यस आख्यानलाई विश्वमै सदावहार कृति मानिन्छ । यस विश्व विख्यात कृतिको यस अनुवादमा नेपाली पाठकहरूको सुविधाको लागि करीब तीन सताब्दीअघि प्रचलित बेलायती अंग्रेजी भाषाका कठिन तर हाल अप्रचलित संरचनालाई सरल बनाउन तथा पाठलाई सहज र अधिकतम बोधगम्य बनाउन वाक्यहरूलाई छोट्याइएको छ र अनुच्छेदहरू पनि पठनयोग्य हुने गरी विभाजन गरिएको छ । फित्कौली डटकमको आग्रहमा यो अनुवाद गरिएको हो, र पहिलो अध्यायलाई पनि क्रमशः तीन खण्डमा विभाजित गरिएको छ । प्रस्तुत छ पहिलो खण्ड । – श्यामल

जहाँसम्म मेरो कुरा छ, भाग्यले जता डोर्‍यायो उतैतिर म पौडेंँ र वायुको प्रवाह र ज्वारको शक्तिले जता हुत्यायो, त्यतै पुगें । प्रायः मेरा खुट्टा चल्नै छोडे, र फेद पनि छ भन्ने कुराको अनुभवै नगरी कता हो कता बतासिएँ । जब म करीब करीब सिद्धिनै लागें, अझै संघर्ष गर्नें मेरो आँट हरायो, म झन् गहिराईमा डुब्न थालेँ र यसबेला आँधीको वेग धेरै कम भइसकेको थियो । मेरो उचाईको गति यति कम थियो कि किनारमा पुग्नअघि झण्डै एक माइल हिँडे हुँला, मेरो अनुमानमा, साँझ करीब आठ बजेतिर पुगेँ हुँला ।

त्यसपछि म लगभग आधा मीलजति अघि बढें, तर घर वा त्यहाँ बसोवास गर्नेहरूको नामो निशानसम्म पत्ता लाउन सकिनँ । अवस्था यतिसम्म कमजोर थियो कि मैले देखिन भनौं । एक त म अति नै थाकेको थिएँ, त्यसमा पनि मौसमको तातो, जहाजबाट निस्कँदा पिएको आधा पिण्ट ब्राण्डी, म त बेस्मारी निदाउन पो थालें । छोटो र नरम घाँस थियो, त्यसैमा पल्टेँ । यति मस्तले सुतेछु कि मेरो जिन्दगीभर त्यति गहिरो निद्रा मैले सम्झेसम्म कहिल्यै परेको थिएन । यसो गणना गरी हेर्दा नौ घण्टापछि म ब्युँझदा त झलमल्ल घाम पो लागेको थियो । मैले उठ्ने कोशिस गरेँ, तर उठ्न सकिनँ । म पिठ्युँका भरमा उत्तानो परेर सुतेको थिएँ, मेरा हात गोडाहरूलाई चारैतिरबाट बेस्सरी कसेर जमीनमा बाँधिएको पो पाएँ त ! अनि लामो र बाक्लो मेरो केशलाई पनि उस्तै गरी जमीनमा बाँधिएको थियो । मैले मेरो शरीरभर खासगरी मेरो काखीमुनिको भागदेखि जाँघसम्म कैयौँ मसिना प्राणीहरू पनि राखिएको पाएँ् । म त मास्तिर मात्रै हेर्न सक्थेँ ।

सूर्य एकदमै रापिलो बन्दै थियो । सूर्यको प्रकाशले मेरा आँखालाई हेर्नै कठिन बनाएको थियो । मैले मेरो बारेमा कुरा गरेको एक खाले अनौठो आवाज सुनें, तर म उत्तानो परेर सुतेको हुनाले आकाश सिवाय अरु केही पनि देख्न सक्तिनथेँ । एकै छिनमा मैले मेरो जिउमा कुनै जिउँदो वस्तु मेरो बायाँ गोडातिर घुमिरहेको, बडो भद्रताका साथ मेरो छातीतिर अघि बढिरहेको र च्यूँडो नजिकै पुग्न लागेको थाहा पाएँ । मैले सकेसम्म मेरा आँखा तलतिर घुमाउने प्रयास गरेँ । तब मैले सुईंको पाएँ, यो त ६ इन्चभन्दा पनि कम अग्लो एक मानव प्राणी पो थियो । उसका हातमा धनुष र वाण थिए अनि पिठ्युँमा वाण राख्ने ठोक्रो थियो । त्यसै बेला, मैले पहिलो लघु मानवका दुरुस्त उस्तै आकार प्रकारका कम्तीमा पनि चालीस जना उससँग जोडिएको अनुमान गरेँ ।

अतिशय विस्मयका कारण म अति चर्को स्वरमा गर्जें । मेरो चर्को गर्जनबाट तर्सेर उनीहरू सबै भागे । उनीहरूले मलाई पछि बताए अनुसार तिनीहरूमध्ये केही जनालाई त मेरो शरीरबाट उछिट्टिएर भुईंमा बजारिँदा चोटपटक लागेको थियो । जे होस्, उनीहरू चाँडै फर्के । र, तीमध्ये एकजनाले मेरो पूरै अनुहार हेर्ने उपक्रममा आदरभावले ओतप्रोत भई आफ्ना हात र आँखा उचालेर तिखो तर विशिष्ट प्रकारको स्वरमा ‘हेकिना देगुल’ भनेर करायो । अरुले पनि त्यसै गरी ‘हेकिना देगुल’ भनेर कैयौँ पटक कराए ।

त्यसबेला उनीहरूले भनेको शब्दको अर्थ के हो भन्ने कुरा मलाई थाहा भएन । म कति धेरै असजिलो अवस्थामा थिएँ भन्ने कुरा पाठकहरूले विश्वास गरिहाल्नु भो होला । मलाई यति लामो समय कसेर राखेको हुनाले म अलि खुकुलिन संघर्ष गर्दै थिएँ । मैले बुझेँ- जबर्जस्तीे हातगोडा तानेको भए मलाई अति नै दुख्ने थियो । बरु मैले बायाँतिर मेरो केश बाँधिएको डोरीलाई अलिकता खुकुलो बनाएँ । यसले गर्दा मैले मेरो टाउको दुई इन्चसम्म घुमाउन सक्ने भएँ । तर ती प्राणीहरू मैले तिनलाई रोक्ने प्रयास गर्नुभन्दा अघि नै दोस्रो पटक फेरि पनि दगुरे । अब एक तिखो स्वरमा होहल्ला गरेको सुनँे र त्यो रोकिएपछि तीमध्येको एकजनाले भन्यो- ‘तोल्गो फोनाक ।’

यसको लगत्तै मैले मेरो बायाँ हातमा सयौँ वाणहरू बर्साइएको अनुभव गरेँ । मलाई थुप्रै सियोहरूले एकैपटक घोचेको जस्तो भयो । साथै उनीहरूले अर्को एक पटक हावामा पनि वाण हाने । हामीले युरोपमा छर्रा बर्साए जस्तो । मलाई लाग्यो, थुप्रै वाणहरू मेरो शरीरमा खसे (हुन त मलाई त्यसको अनुभव त भएन), केही मेरो अनुहारमा लागे । अनि तत्कालै मैले बायाँ हातले मेरो अनुहार छोपेँ । वाणको वर्षा हुन बन्द भएपछि म दुःख र पीडाको कारण आर्तनाद गरिरहेको अनुभव गर्न थालेँ । अनि मैले फेरि अलिकति खुकुलो हुन प्रयास गर्दागर्दै ममाथि पहिलेको भन्दा पनि धेरै ठूलो वर्षा गरे । तीमध्ये केहीले त भालाले मेरो छेउछाउमा अँचेटेर मलाई भुईमा टाँसिरहने कोशिस गरे । तर सौभाग्यवश, मेरो जिउमा भेडीको छालाको थैलोको बर्को थियो । यसलाई तिनीहरूले छेड्न सक्तैनथे । निश्चल बसिरहनका लागि यो धेरै विवेकपूर्ण तरिका थियो । मेरो डिजाइनमा त रातीसम्मैका लागि त्यस्तै रहनु थियो, मेरो देब्रे हात अलिकति खुकुलो हुन्जेल । उनीहरूले मेरा विरुद्ध, मैले अघि देखेको मानिसको जत्रै आकारका मानिसहरूको निकै ठूलो फौज लिएर आए भने पनि म एक्लै उनीहरूको दाँजोमा हुन सक्छु भन्ने विश्वास गर्ने केही कारण थिए । तर भाग्यको खेल अर्कै भइदियो ।

मानिसहरूले मलाई हेरिरहँदा म शान्त थिएँ । त्यसैले उनीहरूले उतिसारो धेरै वाणहरूको वर्षा गरेका थिएनन् । तर जब आवाज बढ्दै गयो, मैले उनीहरूको संख्या धेरै नै रहेको थाहा पाएँ, मेरो दाहिने कानभन्दा चार गज जति टाढाबाट उनीहरूले एक घण्टासम्म मानिसहरूले काम गरिरहेको झैं ढ्याकढ्याक गरिरहेको आवाज सुनेँ । मैले मेरो टाउकोलाई डोरी र किला काँटाहरूले अनुमति दिएसम्म घुमाउन प्रयास गर्दा उनीहरूले जमीनभन्दा साढे एक फिट जति अग्लो चार पाँचवटा खुट्किलाजति उचालेर मञ्च बनाइराखेको देखेँ । मञ्च चार जना निवासीहरूले धान्न सक्ने खालको थियो । त्यसैबाट एकजना अलिकति उच्च स्तरको जस्तो लाग्ने व्यक्तिले मलाई लामै प्रवचन दियो । त्यसो त मैले उसको एक शब्द बुझेको थिइनँ । तथापि मैले यहाँनिर उल्लेख गरिदिनै पर्छ, मुख्य व्यक्तिले बोल्न थाल्नुभन्दा अघि ऊ तीन चोटि ‘लाँग्रो देहुल सान !’ भन्दै चिच्याएको थियो (यी शब्द र पहिले बोलिएका शब्दहरूको अर्थ पछि मलाई दोहोर्‍याई तेहर्‍याई खुलाइएको थियो ।) तत्कालै करीब पचासजना जति निवासीहरू आएर मेरो टाउकाको देब्रे भागमा बाँधेका डोरीहरू काटे । यसले गर्दा मलाई मेरो टाउको अलिकति दायाँतिर घुमाउन र भाषण दिइरहेको व्यक्ति तथा उसका सङ्केतहरू हेर्न मिल्यो । हेर्दा अधबैंसेजस्तो देखिने ऊ आपूसँगका अरु तीन जनाभन्दा अग्लो पनि थियो । तीमध्ये एउटा युवक चैं चौकीदारजस्तो थियो जसले उसको पछाडि लत्रने पोशाक सम्हालिराखेको थियो र ऊ मेरो माइली औंलाभन्दा थोरै मात्र अग्लो देखिन्थ्यो । अरु दुई जना उसको मदतका लागि दुई छेउतिर उभिएका थिए ।

उसले प्रत्येक अङ्ग पुग्ने गरी एक प्रवचनकर्ताले निर्वाह गर्नुपर्ने भूमिका सम्पन्न गर्‍यो । यस क्रममा मैले कैयौंपल्ट उसका धम्की, कतिपय प्रतिबद्धता र दयामायाको भावहरू देख्नुपर्‍यो । तर उनीहरूको अधीनमा परेको व्यक्तिको हैसियतले अति नै विनम्रतापूर्वक मेरो देब्रे हात र दुबै आँखा सूर्यतिर उठाउँदै मैले उसलाई यस अवस्थाको साक्षीका रुपमा पुकार्दै थोरै शब्दमा उत्तर दिएँ । जहाज छोडेर आएका त्यतिका घण्टासम्म केही पनि खान नपाएको र भोकले मरणान्त भइरहेको मैले ममाथि प्रकृतिको यस्तो बलियो दबाब रहेको बुझें कि अब अधैर्यलाई थुनिराख्न नसक्ने भएँ (सायद यो शालीनताको कडा नियम विपरीत थियो) । अतः मैले मलाई केही खानेकुरा दिन सक्नुहुन्थ्यो कि भन्ने सङ्केत गर्न मुखमा औंला राखेर देखाएँ । ‘हुर्गो’ (पछि मैले थाहा पाएअनुसार, त्यहाँको सबैभन्दा महान् व्यक्ति अर्थात् लर्ड) ले मेरो कुरा राम्ररी बुझ्यो । ऊ मञ्चबाट ओल्र्यो र मैले मेरो तर्फबाट पूरा गर्नु पर्ने यावत् विधिविधान र प्रक्रियाबारे आदेश फर्मान गर्‍यो । अब मासु लगायतका खानाले टन्न भरिएका टोकरीहरू लिएर सय जनाभन्दा बढी निवासीहरू मेरो शरीरमाथि उक्ले र मेरो मुखतर्फ अघि बढ्न थाले । राजाले मेरो बारेमा गुप्तचरबाट पहिलो सूचना पाएपछि उनको हुकुमबाट यस्तो खाना उपलब्ध गराइएको थियो । मैले देखें, त्यहाँ कैयौं जनावरको मासु थियो तर के के जनावरको मासु हो, स्वादले भने खुुट्याउन सकिनँ ।

मलाई दिइएको खानामा गर्धन, खुट्टा, खसीको मासुजस्तो आकारका फिला, भद्राइ चराको भन्दा साना पखेटा (विंग्स) जस्ता वस्तु थिए । मैले दुई तीन गासमै खाइभ्याएँ, एकैचोटि बन्दुकको गोलीजत्रा तीनवटा रोटी खाएँ । उनीहरूले त्यति धेरै खाना उदरस्थ गर्ने मेरो क्षमता देखेर महाआश्चर्यका साथ सकेसम्म छिटो खाना दिए । त्यसपछि मैले मलाई प्यूने चीज चाहियो भनेर अर्को इशारा गरेँ । मैले खाएको देखेर उनीहरूलाई थोरै पेयपदार्थले नभ्याउने थाहा पाए । र, अति चतुर मानिस भएकाले उनीहरूले धेरै निपुणताका साथ १०८ लिलिपुटे ग्यालन जतिको मात्रा भरिएको ठूलो खड्कुलो गुडाएर मेरोे हातमा पुर्‍याए र बिर्को फोडे । मैले एकै सासमा पिएँ । यो मुश्किलैले आधा पिण्ट जति मात्र थियो । यस पदार्थको स्वाद बुर्गुण्डी वाइनको जस्तो थियो तर त्यसको भन्दा पनि बढी स्वादिष्ट थियो । उनीहरूले फेरि अर्को खेप पेय पदार्थ ल्याए । मैले उसै गरी सिनित्त पारेँ र अरु थप ल्याउन सङ्केत गरेँ । तर तिनले मलाई दिएनन् । म चकित भएर यी सारा आश्चर्य हेर्दै थिएँ, उनीहरू खुशीले चिच्याए, पहिले जस्तै ‘हेकिना देगुल’ भनेर ठूलो स्वरले कराउँदै मेरो छातीमा नाचे ।

क्रमशः

०००
तस्विर : गुगलेश्वर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गुलिभरको यात्रा- (३)

गुलिभरको यात्रा- (३)

जाेनाथन स्वीफ्ट
गुलिभरको यात्रा- (१)

गुलिभरको यात्रा- (१)

जाेनाथन स्वीफ्ट
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी