साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्भावले युक्त हुँदैछ चिन्तन

लाग्दैछ नारा गणतन्त्र फालियोस् फर्केर राजा अब राजपाठ होस् कालो थियो सोच सबै भुले किन दुर्भावले युक्त हुँदैछ चिन्तन ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सोची बिचारी न त नीति चाल्दछन्
जे हुन्छ होला झट हाम फाल्दछन्
यो देश बढ्ला अब खै कुनै दिन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।१

जस्ता र पाता पनि निल्न थाल्दछन्
गोजी छ कात्रो बिचमा कि ठान्दछन्
ल्याए कसैले घरमा सुनै सुन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।२

सम्मान औ आदर झुट ठान्दछन्
पैसा ठुलो हो नित भन्न लाग्दछन्
गिर्दै छ मान्छे अझ लौ दिनैदिन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।३

संघर्ष देख्दा पर भाग्न थाल्दछन्
बेकार चिन्ता मनमा सँगाल्दछन्
रोकिन्न काहीँ किन देश दोहन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।४

खाऊँ सुतेरै सबले बिचार्दछन्
बाटो र माटो सबले चिथोर्दछन्
आउन्न भित्री मनबाट खै किन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।५

तिर्दैन कोही कर छल्न खोज्दछन्
होचा र निर्धा किन हो निचोर्दछन्
भत्ता र सत्ता सुख भोग भो झन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।६

सामान पैसा जति हो सँगाल्दछन्
देखावटीका पन यी अँगाल्दछन्
गर्दैछ पुस्ता अझ खै ऋणै ऋण
दुर्भावले युक्त हुँदैछ चिन्तन ।७

किन्छन् उता औषध मूल्य केगरी
बेच्छन् यता भ्याट समेत थोपरी
नेता जुटेका पर देश दौडिन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।८

बेचेर खोला र नदी हजार यी
डुल्छन् विदेशी रमका बजार ती
खै देशको प्रेम कला र जीवन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।९

टुक्का सुनाएर सबै हँसाउँछन्
बोलाउँदा बोल्न सधैं डराउँछन्
जोडेन पार्टी कषले सधैं किन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।१०

मारेर लाखौं धनमाल जो लुटे
सोझा र साझा जनता निकै कुटे
मार्सी र होली कति थप्नु वाइन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।११

फालेर राजा गणतन्त्र भित्रियो
उन्मादले उच्च पदस्त बिग्रियो
डुक्रन्छ साँढे दरबारमा किन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।१२

दोटा जरा जोड गरेर चर्चित
नामै जरासन्ध भयो कथासित
फर्के यिनै पूर्व र फेरि पश्चिम
दुर्भावले युक्त हुँदैछ चिन्तन ।१३

लाग्दैछ नारा गणतन्त्र फालियोस्
फर्केर राजा अब राजपाठ होस्
कालो थियो सोच सबै भुले किन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।१४

हेर्दैन कोही किन खै यता किन
अग्ला हिमाली चुचुरा सबै भन
उत्साह औ जाँगर आँट पस्कन
दुर्भावले युक्त हुँदैछ चिन्तन ।१५

०००
बैजनाथ -१, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x