साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँ पर्‍यो कि आँ पर्‍यो

“तँ नुनपानी खाएर आइज, तँ नआइपुग्दै म सुनपानी खान जान्छु अनि तेरो खासखुस ढुस हुन्छ । नेपालमा जन्मेर अरु कुरा नजाने पनि यति कुरामा त हामी जान्ने छौ नि हकि ?” उनले जुँगा मुसार्दै भने ।

Nepal Telecom ad

हरि खनाल :

Hari Khanal

“तिमीसँग गरिएका बातहरू मीठा
तिम्रो रूपसँग मिल्ने रातहरू मीठा
तिमी सत्ता तिमी भत्ता सबै हर्ता भर्ता
भन्छु म त झण्डाभित्र घातहरू मीठा”

एकजना गाउँदै थिए तिघ्रा ठटाएर । अचानक उनको मोबाइलमा गीत बज्यो । उनले पाकेटबाट मोबाइल झिके ।

“हेलो यो काँ पर्‍यो ?” आवाज उताको थियो ।

“काँ पर्‍यो कि आँ पर्‍यो ?” आवाज यताको गयो ।

“हैन क्या काँ पर्‍यो” उताको

“हो क्या आँ पर्‍यो” यताको

यो काँ पर्‍यो र आँ पर्‍योको संवाद निकै बेर चल्यो । मचाहिँ ट्वाँ परेर हेर्दै सुनिरहेको थिएँ । केहीबेरपछि फोनमा आवाज आयो, “तपाईंले गर्नु भएको फोनमा अहिले सम्पर्क हुन सकेन, केही समयपछि पुनः प्रयत्न गर्नुहोला ।”

काँ पर्‍यो भनेर चिच्याउने मित्र महिलाको आवाज सुनेर ट्वाँ पर्‍यो । उसले दायाँबायाँ हेर्‍यो र मानौँ ऊ त्यो आवाज आउने मान्छे यतै कतै छ र केहीबेरपछि फेरि मोबाइल कानमा पुर्‍यायो । फेरि केहीबेरपछि काँ पर्‍यो र आँ पर्‍यो कै कुरा चल्यो । मैले काँ र आँ को विवादमा मध्यस्थता गर्ने र ती मित्रसँग नजिकिने विचार गरेँ । “काँ पनि हुन्छ आँ पनि हुन्छ किन बित्थामा झगडा गर्नुभएको है ?” म सम्झाउने प्रयत्न गर्न थालेँ । उनले मेरो पहिलो प्रस्ताव नै अस्वीकार गर्दै भने, “कसरी काँ ? बोल्दा त आँ पो हुन्छ । ऊ काँ भन्छ म आँ भन्छु । लौ भन्नुहोस् त कसरी मिल्छ कुरो ? फेरि मेरो छिमेकीले पनि काँ होइन आँ भनेका छन् । हामी त आँ गर्ने हो, काँ र के को मतलब त छिमेकीले गर्ने हो । यति कुरा जान्दाजान्दै के को काँ ? ऊ आँ गरेर मेरो भाग खोस्न खोज्छ, अनि कसरी कुरो मिल्छ ? मैले भाग भेटेदेखि नै उनीहरूले आँ गर्न थालेका हुन् । यिनीहरूले जहिलेसम्म आँ गर्छन् तहिलेसम्म म टेर्नेवाला छैन” । उनले झनै तिखा कुरा गरे । मैले उनलाई त्यस्ता बकम्फुसे कुरामा वादविवाद नर्गन अनुरोध गरे । उनी डेग चलेनन् । अर्को शब्दमा भन्दा उनले मलाई गन्दै गनेनन् ।

“तपाईंको कुराले हुन्छ यो त मैले छिमेकीसँग सोध्नुपर्छ” उनी कड्किए । बोल्दाबोल्दै उनले एकपटक ब्याँक्क गरे उनको मुखबाट लामो लम्रङ्ग आन्द्राजस्तो चिज झुण्डियो ।

“लौ न मेरो मुखबाट आन्द्रा निस्क्यो, अब म मर्ने भएँ। यहाँ षड्यन्त्र भयो ।” उनी आत्तिएर चिच्याए । मलाई भने बेसरी हाँसो उठ्यो ।

“यहाँ आउनुहोस् मित्र । म त्यसलाई ठीक पारिदिन्छु” मैले बोलाएँ । उनी मेरो वरिपरि नै परेनन् ।

“तपाईंको मुखबाट जुका निस्केको छ । पाएँ भनेर दूध धेरै खानु भयो जस्तो छ । जुका पर्‍यो । आउनुहोस् म निकालिदिन्छु” मैले भनेँ । “हैन, यो जुका होइन, यो आन्द्रो हो । प्रतिगामीहरूले मेरो आन्द्रो निकालेर मान्द्रोमा सुकाउँछु भन्थे, हो रहेछ” उनी झनै जोडले चिच्याए ।

“यो जुका हो, तपाईंलाई जुकाले सुकाएको रहेछ । दमले फुकाएको रहेछ” मैले भनेँ ।

“होइन, हुनै सक्दैन । यो कुराको छिनोफानो तपाईंले गरेर हुन्छ ? छिमेकीलाई सोध्नुपर्छ” उनी चिच्याए ।

“तपाईंको दिमाग अर्काको दमले भरिएको छ, तपाईंको विश्वास बमले भरिएको छ । दम र बम भएपछि मुखबाट निस्कने जुको पनि आन्द्रो हुन्छ, बिछ्याएको कार्पेट पनि मान्द्रो हुन्छ” मैले पनि मौकामा भनिदिएँ ।

“अरे, ए क्या बोलता है…, आवाज आयो मोबाइलमा उताबाट ।

‘सुनो बडे भैया भाइ ! ए लोग हमारे खिलाफ बोल रहे है ” जुकेको आवाज गयो यताबाट ।

“तुम्हारे खिलाफ बोलेनका मतलब है वह हमारे खिलाफबोल रहे है । हमारे खिलाफ बोलनेवालेको क्या होता है सायद उनको मालुम नहीँ । जहाँ भि हो सम्झाओ उनको” आवाज डरलाग्दो आयो ।

“अच्छा, मै प्रयत्न करूँगा” बोल्दाबोल्दै उनको मुखमा झुण्डिरहेको जुको भुइँमा खस्यो ।

“अरे आन्द्रो त होइनरहेछ, जुका नै हो रहेछ । तपाइँले भन्नु भएको ठीक । के गर्ने माया गर्छन् र नुन खुवाउँछन् आफूलाई प्रेसर हाइ हुन्छ । पान खुवाउँछन् यहाँ आफूलाई सान चढ्छ । जेरी पुरी खुवाउँछन्, डायबेटिज बढाउँछ ।”

“अनि किन खानुहुन्छ त त्यस्ता चिज ? जुन आफूलाई ठीक हुन्न ?”

“अरे सबै बेठीक कहाँ छ र ? सत्ता उतैबाट भत्ता उतैबाट । आश उतैबाट गास उतैबाट । नुन उतैबाट सुन उतैबाट । पत्ती उतैबाट बत्ती उतैबाट । सर्दी उतैबाट गर्मी उतैबाट । भनसुन उतैबाट मनसुन उतैबाट । म मात्र हो र उताको खाने ? मलाई गाली गर्ने सबै उतैको भान्सामा भेटिन्छिन् । उता खाने यता आउने, खाका कुरा बिर्सने, गाली गरेर पानीमाथि ओभानो बन्ने । तपाईंले सुन्नुभयो नि अघि म आँ पो भन्छु ऊ काँ पर्‍यो भन्छ ।”

“खाना एकै भएपछि त कुरो पनि एकै हुनुपर्ने होइन भन्या किन यस्तो उल्टो सुल्टो भएको मित्र ?” मैले सोधे ।

“हो यसलाई भन्छन् राजनीति । पत्ता उस्तै, भत्ता उस्तै, डकार उस्तै खकार उस्तै तर सत्ता सीमित भएकाले हुड्ङ्कार त फरक भइहाल्छ नि । एउटै खालको बोली र लोली भयो भने त खेल सकिइ हाल्यो नि । खेल सकिएपछि मैदानको के काम ? दर्शकको के काम ? हेर्नुस् तपाईंले मेरो मुखबाट जुका झरेको परिस्थितिको फाइदा लिएर धेरै कुरा सुन्नु भयो । म पनि अलिकति भावनामा बहकिएछु । कभिकभि यस्तो पनि हुन्छ ।” कुरा गर्दागर्दै उनको मोबाइलको घण्टी बज्यो । फेरि काँ पर्‍यो र आँ पर्‍योको विवाद सुरु भयो ।

“सुन्नुभयो ? अब केही नपाएर यस्ता कुरामा पनि भिडन्त गरेझै गर्नुपरेको छ । यति नगरे भान्छामा कान्छा कसरी जान सक्छ ? अँ एउटा कुरा मेरो मुखबाट जुका निस्केको कुराचाहिँ सार्वजनिक नगरिदिनुहोला ।”
“किन जुका निस्केको कुरा पनि गर्न नहुने ?” मैले सोधेँ ।

“कहाँ हुन्छ ? छिमेकीकहाँ चिच्याउँदै जान्छन् अरुहरू । उसलाई मुखबाट जुका आउञ्जेल दूध मिठाइ खुवाउने, हामीलाईचाहिँ खै ? भन्दै कराउँछन् । त्यति जाबो कुरा पनि गोप्य राख्न नसक्ने भनेर छिमेकीले उल्टो मैलाई गाली गर्छन् जुके मित्रले थपे ।

“तपाईंहरू यो काँ परेको र आँ परेको कुरा कहिलेसम्म गरेर यो नाटक गर्नुहुन्छ हँ ?” मैले सोधेँ ।

“हत्तेरिका कस्तो नबुझेको ? तपाईंले तास जब बाँड्नु हुन्छ खेलाडीहरूका माझमा तब भिडन्त हुन्छ, सामान्य कुरा हो । खेल सकिएपछि तास एउटै खातमा बस्छ कि बस्दैन ? खेल चलुञ्जेल भिडन्त, खेल सकिएपछि मिलन्त । यस्ता, सानातिना कुरा त छिमेकीले नसिकाए पनि म भन्न सक्छु नि, कि कसो ?” उनी मुसुक्क हाँसे । उनको मुखबाट चर्को डकार आयो । केहीबेरपछि खकार पनि ।
“होइन तपाईं त अघाउनु भएको जस्तो छ नि ?”
“चुप लाग्नुहोस्, अहिलै कोही अगाउँछ ?”

“अलि चिल्लोचापुल्लो परेर आएको हो डकार त । यसै त तँ अघाइस्, अब हाम्रो पालो भनेर बैरी साथीहरू चिच्याइरहेका छन्, तपाईले यो कुरा पनि गोप्य राखिदिनुहोला” उनले फकाउँदै भने । त्यसैबेला एकजना चिच्याउँदै आए । “रुघा लाग्यो म छिमेकीलाई भेट्न जाँदैछु ।”

“किन भेट्ने छिमेकीलाई ? घरमै बसेर बेसारपानी खा न ।”

“अँ तँ चाहिँ उता गएर हसुर्ने, हामीचाहिँ घरमा बसेर बेसारपानी खाने ? उतै गएर नुनपानी मात्र खाए पनि रुघा निको हुन्छ” उसले प्रतिवाद गर्‍यो ।

“तँ नुनपानी खाएर आइज, तँ नआइपुग्दै म सुनपानी खान जान्छु अनि तेरो खासखुस ढुस हुन्छ । नेपालमा जन्मेर अरु कुरा नजाने पनि यति कुरामा त हामी जान्ने छौ नि हकि ?” उनले जुँगा मुसार्दै भने । म जुके साथी र उनका तथाकथित बैरीहरूका रबैया देखेर र सुनेर चकित भइरहेँ ।

०००
२०६९ असोज १९
भोकासुर (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x