सोझो गाउँलेसपनाको सहरमा
आदर्शको बजारमा विज्ञापन हुन्छ आस्था केवल फ्रेममा सजाइन्छ हँसिलो चेहरा नक्कली हो हृदयमा कुरूपताको छाप हुन्छ मुखले रामनाम जपे पनि मनमा क्षुद्रताको चाप हुन्छ ।

सोझो गाउँले :
मेरो सपनाको सहर 
उडी जाने मनको रहर
पैसाको पखेटा लगाएर
महँगीको मैदानमा अवतरण हुँदा
सुरुमा साह्रै सुन्दर लागेथ्यो
उफ्
सपनामा पहाडबाट खसे झैँ
असली अनुहार देखेपछि सहरको
झसङ्ग भएँ म ।
गाउँमा कोरलेका रङ्गिन सपनाहरूको
पोको फुकाएर सहरमा
सफलताको चुली चढ्न खोजेको थिएँ
सन्तुष्टिको शिखर चुम्न चाहेको थिएँ
अवसरको आँधीले
सम्भावनाको सुनामीले
उडाएर सपना सारा
अग्ला बिल्डिङका भित्तामा ठोकाएर
सडकमा पछारी दियो ।
सपना साकार पार्नुको साटो
झन्झन् सपना जन्माउँदो रहेछ सहरले
लागेको तिर्खा मेटाउनुको साटो
नमेटिने प्यास बढाउँदो रहेछ सहरले
नदेखेको दुनियाँ देखाएर सारा
मृगतृष्णामै जीवन अल्झाउँदो रहेछ सहरले ।
झिलिमिली लाग्ने यो सहरमा
असङ्ख्य अँध्यारा गल्ली रहेछन्
साधुलाई सुली चढाएर
चोरहरु बजारमा हल्लिरहेछन्
गाईको भनी बिरालोको घिउ बेच्दा रैछन्
पैसाको लागि श्रीमतीको जिउ बेच्दा रैछन्
कहिल्यै नमेटिने भोक रहेछ
बिसेकै नहुने रोग रहेछ
मान्छे किनबेच हुने चोक रहेछ ।
आदर्शको बजारमा विज्ञापन हुन्छ
आस्था केवल फ्रेममा सजाइन्छ
हँसिलो चेहरा नक्कली हो
हृदयमा कुरूपताको छाप हुन्छ
मुखले रामनाम जपे पनि
मनमा क्षुद्रताको चाप हुन्छ ।
खासमा सहर कागजको फूल रहेछ
मान्छे स्वयम् मेसिन भइगएछ ।
०००
बझाङ
Subscribe
Login
0 Comments
Oldest







































