साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मान्छे हुँ

अर्काको गाँस खोसेर खाँदा खुब स्वाद मान्ने अजिबको जिब्रो छ मेरो अर्काको वास हडप्न पाउँदा बडो प्रफुल्ल हुने गज्जबको चित्त छ मेरो मलाई माफ गर भगवान् ! पापको भारी बोकेर मनभरि धार्मिक यात्रामा हिँडिरहेको स्वघोषित सर्वश्रेष्ठ प्राणी मान्छे हुँ म...॥

Nepal Telecom ad

सोझो गाउँले

किन कसैले मेरो टाउकोमा ढुङ्गाले हिर्काउँदैन ?
खालि खुरापाती कुरा मात्र आउँछ दिमागमा
आर्थिक वर्षको अन्त्यतिर टालेको सडक जस्तो
कमजोर सम्बन्धको समेत सदुपयोग गरेर
स्वार्थको दुनो सोझ्याउने बुद्धि
कहाँ कहाँबाट आउँछ मस्तिष्कमा
हरबखत विषाक्त विचारको फणा फिजाइरहने
गोमन सर्प जस्तो यो खोपडीमा
किन तातो झिर रोप्दैन कसैले ?
डाँका डाल्न दाउ ढुकिरहने
नामुद डाँकु जस्ता यी आँखामा
सुइरोले घोचेर नानी नफुटाएसम्म
जसलाई पनि सिकार देख्न सक्छु
जसको पनि बाटो ढुक्न सक्छु
जसका पिठ्युँमा पनि छुरी घोप्न सक्छु
कोखामा दाँत भएको मानिस हुँ म
अँगालो मार्ने बहानामा
तपाईंलाई पनि दरफर्याउन सक्छु
विवाहका लागि केटी हेर्न गएको केटा जस्तो
भलादमी बनेर
चुनावमा भोट माग्न आएको नेता जस्तो
विनम्र भएर
अथवा कुनै कमसल सामानको विज्ञापनमा देखिएकी
महँगी नायिकाको जस्तो व्यावसायिक मुस्कान छरेर
तपाईंका अगाडि आएँ भने म
सम्झिनुस् ! तपाईंबाट कुनै न कुनै
मतलब फुत्काउनु छ मैले
औँला समातेर जसले उभिन सिकायो
हिँड्न थालेपछि उसैलाई छाडेर जाने
काँध थापेर जसले खुट्किलो चढायो
टुप्पोमा पुगेपछि उसैलाई लात हान्ने
बैगुनी मानिस हुँ म
खोलो तरेपछि लौरो बिर्सिन्छु
शिखर चढेपछि भुइँ भुलिदिन्छु
कमिलाको ताँती झैँ अरुको खुट्टा नतानीकन
सरासर हिँड्न सक्दिन म
पुतलीको पङ्क्ति झैँ अरुलाई नपछारीकन
अगाडि बढ्न सक्दिन म
चराको बथान झैँ अरुको बाटो नछेकीकन
गन्तव्यमा पुग्न सक्दिन म
कुनै अव्यवस्थित सहरको
डम्पिङ साइड जस्तो लाग्छ
मलाई मेरो फोहोरी मन
कुहिने नकुहिने सबै एकै ठाउँमा थुप्रिएर
डुङ्डुङ्ती गनाउने भएको छ
यसबाट निस्केको अतिशय दुर्गन्धले
जीवनको सुगन्ध सब सिध्याएको छ
आफूभित्रै उम्रिएको लालचको लहराले
छपक्कै छोपेर आफूलाई
आफैँलाई नदेख्ने भइसकेछु
आँफैलाई नचिन्ने भइसकेछु
हुँदा हुँदा-
सात समुद्र पिएर पनि
नअघाउने अगस्ति भइसकेको रहेछु
घरि अर्कोको आगनलाई
आफ्नै मझेरी देख्छु
घरि अर्कोको भकारीलाई
आफ्नै ढुकुटी सम्झिन्छु
अर्कोको नासोलाई झन्
आफ्नै पेवा जस्तो ठान्छु
यति मात्र कहाँ हो र !
घरि घरि सिङ्गो पृथ्वी नै मलाई
मेरै बाउको बिर्ता जस्तो लाग्छ
अर्काको गाँस खोसेर खाँदा
खुब स्वाद मान्ने
अजिबको जिब्रो छ मेरो
अर्काको वास हडप्न पाउँदा
बडो प्रफुल्ल हुने
गज्जबको चित्त छ मेरो
मलाई माफ गर भगवान् !
पापको भारी बोकेर मनभरि
धार्मिक यात्रामा हिँडिरहेको
स्वघोषित सर्वश्रेष्ठ प्राणी
मान्छे हुँ म…॥

०००
बझाङ, हाल- कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x