सुरेशकुमार भट्टम हुँ क्षुद्रप्रसाद
बहुलवाद जनताको वाद भनेर भन्ने एकल हैकमवाद चलाऊने, खुजुरा टुक्कामा लट्ठ्याउने हुँडार वाद होस् वा चितुवा चिथरवाद चलाउने कुनै पनिको न्वारन बर्तुन गर्छु, त्यसैले म हुँ क्षुद्रप्रसाद ।

सुरेश भट्ट :
ए ! हजुर सुन्नुस्त, मेरो नाम क्षुद्रप्रसाद चिन्नु भो ?
हजुर हो, मेरो नाम क्षुद्रप्रसाद लेख्नु होला,
किन कि म क्षुद्र छु,
अति क्षुद्र छु, जे देख्छु त्यही बोल्छु,
जे हो त्यही लेख्छु किन कि म क्षुद्र छु।
कसैको लोलोपोतो पटक्कै सहन सक्दिनँ
त्यसैले पच्कारी हाल्छु,
कसैलाई बाँकी राख्दिनँ
गलतलाई गलत सहिलाई सहि
न्यूरिन्न धनुषटङ्कार भई,
तेसैले मेरा आफ्ना न बिराना,
मकै मकै सबै एकै,
मेरा बाउलाई होस् कि छोरालाई होस्,
मुलुकका किर्ना र तिनका बेर्नाको त कुरै नगरौँ
म खोईरै खन्छु,
नेपालको राजनीति फटाहाको खेल भन्छु,
राजनीति र हिंसा एक अर्काका
पुरक भन्नेलाई चितुवा भन्छु,
मसारी मसारी हँसाई हँसाई रूवाउने
मसाज बाजलाई हुँडार भन्छु,
हो त्यसैले त मलाई भन्छन् क्षुद्रप्रसाद
हो म क्षुद्रप्रसाद, क्षुद्र प्रसाद नै हुँ।
म अचाडू, म ज्यालामा नमिलेको,
अजेल्याहा, कोकलेटो,
समाउँदाको चिप्लो,
उचाल्दाको गह्रौँ,
लेउ लागेको ढुंगो भनौँ कि,
काम न काजको झगडिया बुङ्गो भनौँ।
म क्षुद्रप्रसाद हजुर हो़ म क्षुद्रप्रसाद।
म नराम्रालाई नराम्रै भन्छु
राम्रालाई राम्रै भन्छु
यो आफ्नो यो विरानो भन्दिनँ
किन कि म क्षुद्रप्रसाद हुँ।
आफ्ना जति राम्रा
अन्यत्री जति नराम्रा
म भन्दिनँ भन्दै भन्दिनँ
किनभने म क्षुद्रप्रसाद हुँ।
प्रजातन्त्रको नाममा
व्यक्तितन्त्र चलाउने,
समानताको नाममा नव सामन्तवाद
परिवारवाद चलाउने,
बहुलवाद जनताको वाद भनेर भन्ने
एकल हैकमवाद चलाऊने,
खुजुरा टुक्कामा लट्ठ्याउने
हुँडार वाद होस् वा चितुवा
चिथरवाद चलाउने कुनै पनिको न्वारन बर्तुन गर्छु,
त्यसैले म हुँ क्षुद्रप्रसाद ।
हो म नक्कली हैन
सक्कली क्षुद्रप्रसाद।
किन कि म हुँ क्षुद्रप्रसाद,
मेरो चिनारी हो
क्षुद्रप्रसाद असली क्षुद्रप्रसाद।
म हुँ क्षुद्रप्रसाद।
०००








































Gajjab !