धनराज गिरीप्रभुको राजदूत हुने सपना
"म के गरौं त जानेमन ?" "घुम्तीमा नआऊ है राजदूत बनाउन, राजदूत बनाउन गीत गाउने र ओम शान्ति आश्रम धाउने, मुक्ति हुन्छ ।" आखिरमा पत्नीपथगामी भयो पाखण्डी !

धनराज गिरी :
बन्दुकनगरमा जन्मिएर बलिया बलिया लाहुरेहरूको सङ्गतमा परेको “विरूपाक्षबहादुर पाखण्डी” ले जीवनमा अनेक सपना देख्यो । लालबन्दीमा जन्मिएर अभावको असली प्रेमी बनेको किचक र दुःशासनको मीत, दुर्योधनको उत्तरआधुनिक संस्करणको जीवनमा अनेक उतारचढाव आयो ।
एक सज्जन अप्सरा मज्जाले झुक्किएर उसको जीवनमा प्रवेश गरी उसकी गृहमन्त्री बन्न पुगिन् । मान्छे झुक्किन्छ, उनी पनि उही हालतमा, धरा बनिन्, स्वस्थानी युगकी हिन्दू नारी ।
“जति दुःख पाए पनि यो स्वाँठलाई तह लगाएर छोड्छु भनेर ‘भीष्म प्रतिज्ञा’ होइन ‘गान्धारी प्रतिज्ञा’ गरिन्, तर आँखामा पट्टी नलगाईकनै । घमण्डी र अहँकारी, पाखण्डी र व्यभिचारी सबै कुरामा पोख्त थियो- विवि, अर्थात् विरूपाक्ष विद्यार्थी । आजीवन, सबै पढ्यो, मानवता पढेन, इमान पढेन, या भनौं जिन्दगी पढेन । तर सपना भने ठूला ठूला देख्न थाल्यो । बाआमाले छोडेको छालाले लालालाई मालामाल बनायो, रोडपतिबाट करोडपति भयो ।
अब धन भएपछि ‘जन’ पनि चाहिन्छ भन्ने तत्वबोध गरी आफू राम बनेर हनुमान्हरूको खोजीमा निस्कियो । ‘द्रव्य शाह’ ले हरेक कुरुक्षेत्रमा विजयी गराउने कुरामा ढुक्क भयो । वरिपरि छिमेकीहरूको साथ शून्य थियो । विराटस्वरूप दर्शन गरेका गाउँलेहरू उसकै छायाँलाई पनि घृणा गर्दथे । टाढा टाढाका सीधासाधा भोलाभाला सोमरसानुरागीहरूलाई विदेशी अमृतपान गराएर आफ्नो पार्टीमा सदस्य बनायो । भित्र भित्र गनायो । दुई कानभन्दा एक मुखलाई सक्रिय राख्ने स्वभावको पाखण्डीलाई टाढा टाढाका पात्रहरूले पनि चिन्न थाले । नक्कली भलादमी हो र यसको केही दम छैन भन्ने कुरा बुझ्न विज्ञ जनहरूलाई समय लागेन ।
आलु, प्याज र व्याज भनेपछि हुरुक्क हुने विरूपाक्षले आफूलाई जमीनदार र अरुलाई कमैया ठान्यो । ठूलाको सामुन्नेमा लुत्रुक्क र गयो “आयात्ल्ला रुहल्ला खोमेनी वा ट्रम्प” भएर फर्कियो । भ्रममा रमायो । भ्रममार्ग समायो । एक दई यारहरूसित महफिल जमायो । आखिर दुई चार मानिस त सी.पी. मैनालीसित पनि छन् नै ।
मेसो नपाएपछि… नचिनेको चोर बाऊ बराबर ! जीवनको हरेक रङ्ग चाखेपछि पाखण्डीलाई “राजदूत” को “भूत” सवार भयो । अनेक शक्तिकेन्द्र धायो । व्याज मार्फत कमाएको केही लाख आफ्नो नक्कली साखका लागि खर्च गर्न पनि तयार भयो । नेताहरूका पत्नीहरूमाथि लगानी गर्यो । केही सीप लागेन !! उसको सपनाको आकार साकार भएन । दिक्क मानेर ७ पेग लगाएर दिनमा नै भुसुक्क निदायो, सपनामा स्वर्गीय मातापिता आए र सम्झाए, “हे स्वपीडक, हे परपीडक, हे आफन्त चिढक, आफ्नो अनुहार ऐनामा हेरेको हो ?
राजदूत हुनका लागि त तैंले १७ पटक जन्मिनु पर्दछ । हे मूर्ख । पैले त्यति सोझी बुहारीलाई दुःख दिइस्, खै तैले के जिइस् ? कुन चाहिं छिमेकीको सहानुभूति छ तेरो माथि ? खै कुन छ तेरो निस्वार्थ साथी ? कुन चाहिं मान्छेलाई खास बनाएको हो ? खास हुन खोज्नेलाई दास बनाउन खोज्ने, हे उत्तर आधुनिक “नटवरलाल” दुनियाँ लाटो छ ? तेरो ठग प्रवृत्तिले सबै दिक्क भएको कुरा भाइरल भएको छ। हे ठग बहादुर, किन देख्छस् नपुग्ने सपना ? अरु योग्य छैनन् यो मुलुकमा ? एक दुई काम गतिलो गरेर दुनियाँलाई सधै झुक्याउन सकिन्छ ? खराब नियतले राम्रो काम गरेको नाटक गरेको होइन, मूर्ख ? मैले चाँहि भने जे पनि गर्न सक्छु भनेर फूर्ति देखाएको होइन ? हे कृतघ्न। मलाई धर्मराज, युधिष्ठिर बनाउने रहर थियो हाम्रो, तर दुर्योधनको मीत पो भइस् । अभागी धुन्धुकारी, स्वर्गम थियो हामीलाई चैन भएन । होलास् राजदूत ?”
“ली…ऽ ऽ ऽ ना… ऽ ऽ ऽ ।” चिच्याउँदै उठ्यो पाखण्डी । धर्मपत्नी लीना देवी कोठामा आइन् । ऊ पसीना पसीना भएको थियो । “लीना, तिमीले मलाई बार बार बेवकूफ, कमीना, मुख, सिल्ली के के भनेर हप्काएको कुरा सत्य रहेछ। मेरो विगत बहत कुरूप भएछ । सपनामा तिम्रा सासू-ससुरा आउनुभयो । नराम्रोसित कराउनुभयो । मलाई कुन ‘जोगीको’ सराप पर्यो, कसको बद्दवा आयो मेरो भाग्यमा ? म घमण्डी हुँ । पाखण्डी त नामै भो। मलाई धेरै पछुतो भयो । म तिम्रो अभियुक्त हुँ। म के गरौं लीना, हे सहनशीला सुशीला, मैले पनि कर्मको फल भोग्नै पर्छ । सबैलाई “बकम्फुसे” भनें । वास्तविक बकम्फुसे त म स्वयम् रहेछु । धुलो मेरै अनुहारमा थियो, जीवनभरि ऐना सफा गरेर टाइम बर्बाद गरें । प्यारी, के गरौं म ?”
“पहिले बाथरुम गएर नुहाएर फ्रेस हुने अनि एक घण्टा ध्यान गर्ने । यसपालिको टोलीसित माउण्ट आबू जाने । आफूभित्रको सम्पूर्ण विकारहरू त्यहीं शिव बाबालाई बुझाएर आउने ! दिनमा १०० पटक “ओम शान्ति” जप्ने अब जे परे पनि खप्ने । झुट नबोल्ने । कमजोरी नखोल्ने । कसैलाई पनि नहेप्ने, नचेप्ने । गरीबहरू पनि मान्छे हुन् । सानो स्वरमा बोलेर पनि आफ्नो मनको कुरा भन्न सकिन्छ । अरुको कुरा पनि सुन्ने । मैले उहिल्यै भनेकी होइन, एक दिन पछुताउन पर्नेछ भनेर । मूर्ख मान्छे, बल्ल ठीक भयो !”
“अनि मेरो राजदूत हुने सपना ?”
“अब राजदूत होइन भूतपूर्व अपूर्व भूत हुने ! जोसित पनि झगडा परेको छ, कसले बनाउँछ राजदूत ? दुई करोड रुपियाँ चाहिन्छ रे ? कहाँबाट ल्याउने ? सन्तानलाई जोगी बनाउने ?”
“म के गरौं त जानेमन ?”
“घुम्तीमा नआऊ है राजदूत बनाउन, राजदूत बनाउन गीत गाउने र ओम शान्ति आश्रम धाउने, मुक्ति हुन्छ ।”
आखिरमा पत्नीपथगामी भयो पाखण्डी !
०००
धनराज गिरीकाे भर्खरै प्रकाशित ‘पाखण्ड पुराण’ बाट
Subscribe
Login
0 Comments
Oldest








































