धनराज गिरीमलाई के भन्छौ ?
लक्ष्मी माताको भान्सा। बरोसा भ्यालीको वाइन। एक रात पाहुना। रमाइलो गरेर स्वर्ग फर्किए, मन निर्मल विमल कञ्चन बनाएर। म समय, म पनि मेरो प्रोफेसरको गाउँतिर लागें, चुनावी चहलपहल बुझ्न ।

धनराज गिरी :
म समय, आज म बैकुण्ठमा छु। यतिका बर्षपछि स्वर्गबाट केही थान आत्माहरू यता आएका छन् । ती आत्माहरू दुर्योधन, शकुनि र कर्ण हुन् । नारायणको बैठक कक्षमा बसे उनीहरू । नारदले साथ दिए। प्रभु हरि निद्रामा। लक्ष्मी माता गजल सुन्दै, सीतावतारमा आफ्नै लवकुशारजू गिरोपाध्यायको। म समय, नारायणको आगमन भयो, पशुपतिसहित। चन्द्रलोकको यात्रा थियो अभिनव प्रभुको। प्रभु पनि “प्याराडक्समा” विद्यावारिधि गर्दै, चुरो कुरो, कैलाश फोहोर भयो भनेर महेश र पार्वतीले कैलाश छोड्ने होइन,यो थियो परिकल्पना,तर प्रभु पनि “परी कल्पनाको” फेला परे,जालान्धरको वृन्दा टोलमा। लीला उतै। थाकेका नारायण । बैकुण्ठका अधिकारीहरू जिल्ल,जय र विजय। शुभारम्भ कथाको :
“प्रणाम बैकुण्ठपति !” तीन आत्मा, यसो हेर्दा गुफी पेण्टल, पुनित इस्सर र पङ्कज धीरजस्ता !
“प्रणाम, आहा, हस्तिनापुर युवराज, मामाश्री गान्धार नरेश र अङ्गराज कर्णलाई यो गरीबको बैकुण्ठमा हार्दिक स्वागत छ। भ्राता दुर्योधन,आज म शान्तिदूत होइन,बन्दी बनाइन्न होला नि ?” नारायण मुस्कुराए,नितिश भारद्वाजको शैलीमा।सबै मुस्कुराए।
“हे देवकीनन्दन, त्यो युगको, अधर्म अधर्मको चार्ज लाग्यो हामीमाथि, के हामीमाथि अन्याय भएको थिएन। पितामहको ज्यादति होइन मेरो मावलीमाथि ? विदुर काकाले तर्कमाथि तर्क गरेर कुतर्क थुपारी,सिर्फ अन्धो भएको बहानामा मेरा पिताश्रीको अधिकार हनन गरेको होइन ? मेरो मित्र कर्ण सूतपुत्र थिए?यिनीमाथि अन्याय भएन ? मत्स्य भेदनमा हजुरकै सङ्केत थियो। पाञ्चालीले मेरो अपमान गरेकी होइनन् ? हामी मात्र अधर्मी?यही हो न्याय द्वारिकाधीश ? आखिर राजा त मेरै पिताश्री हुनुभयो। फेरि पाँच पाण्डव अपरिभाषित पिताहरूको सन्तान, मेरो भाइले सही भनेको थियो। कुन्ती काकी र माद्री काकीले ककसको सन्तान बोकेर हस्तिनापुर राजकुमार बनाउनुभयो, हामीलाई के सरोकार ? यता किन ध्यान गएन ? म यत्तिकै बनिएँ अहङ्कारी ? किन गोवर्धनधारी ? किन ? लक्ष्मीपति भएँ भनेर कलियुगे अमीरहरूले, ठगलाल भाइमाराहरूले डलर र भारुको आडमा एक योगी, परशुरामनन्दनको परिवारमाथि गरेको अन्यायजस्तै आफ्ना फुपूको सन्तानको पक्ष किन लिनुभयो ? शान्तिदूतको नाटक किन ? गीता किन ? के शकुनि मामाको मात्र दोष थियो ? कि नियति ? कि प्रारब्ध ? किन नारायण ? किन ?” दुर्योधनले प्रभुको किलकिले समायो, राजेन्द्र बानियाँले सुरेन्द्र पाण्डेको किलकिले समाएझैँ । नारायणको मुहारमा स्मित मुस्कान ! सबैको अनुहार पढे।
बोले प्रभु,”मलाई के भन्छौ ? म पनि विधाता सिनेमाको दिलिप कुमार, शोलेको जय र वीरु, म पनि कलाकार, यो सब काम परासरनन्दन वेदव्यासको सरासर कल्पना, सरसर्ती संसार, देशदेशावर, अक्षत अन्टार्कटिकका, कल्पना, स्वैरकल्पनाको नूतन अनुपम रूप। मलाई के भन्छौ?डोनाल्ड ट्रम्प र वेदव्यास,निर्मोही बने, लेखिदिए, हामी सबै किरदार। अद्भुत कल्पना! वास्तविकता पनि,कलियुगको। द्वापर त एक कल्पना । आज सत्य हो। हामी सबै निर्दोष जीवन, प्रेमको सुगन्ध, निर्दोष जीवनको भिनाजु, त्यो अद्भुत प्रोफेसर,बरु उसलाई भेट्नू। रमाइलो मान्छे ! अरू केही गुनासो भ्राता दुर्योधन ?”
“हाहा हा, मित्र दुर्योधन, यी देवकीनन्दनको वाकपटुताको सामुन्नेमा कोही पनि टिक्न सक्दैन। अन्याय न न्याय,यस्तै हो,भोगियो। कोही पनि अपराधी होइन,पापी होइन,नसीब अपना अपना ! वेदव्यासकै लीला हो। लीला लीला, कृष्णलीला। मामाश्री, पौबाह्र !” अङ्गराज कर्ण।
“मामाश्रीलाई जिस्क्याउने ? मैले त उहिल्यै भनेको हुँ, मसित सबै कुराको काट छ तर यी देवकीनन्दनसित सक्दिन। यी महामायानन्दन उत्तमानुज, अनिताकविता र आरजूका जनक,बिष्णुकै मामा ससुरा गजलाधीश,उत्तरआधुनिक वेदान्ताचार्य गोविन्दानुज प्रोफेसर “धर्मेन्द्रनारायण आशुतोष मुक्तिनाथश्री हस्तिनापुरे” जस्तै हुन्, आजका। ती प्रोफेसर पनि महापण्डित। बलरामहरूको दाजु। टोलेमी। सकिन्न। भाञ्जा दुर्योधन, अब पासा र आशा यस्तै हो। नारायण प्रभु, नास्ता ? भोक लाग्यो त !” शकुनि,पाउ खञ्च्याङ्ग खञ्च्याङ्ग गर्दै। नास्ता आयो, बाबर्ची राजेश खन्ना र पीयूष रिजाल। लक्ष्मी माताको भान्सा। बरोसा भ्यालीको वाइन। एक रात पाहुना। रमाइलो गरेर स्वर्ग फर्किए, मन निर्मल विमल कञ्चन बनाएर।
म समय, म पनि मेरो प्रोफेसरको गाउँतिर लागें, चुनावी चहलपहल बुझ्न ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest









































