साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिएकाहरू धर्मराउन र लड्नबाट कसरी जोगिने ?

भौतिक साधनहरू आर्थिक स्तरअनुसार उपयोग गरौँ तर आफन्तका असामयिक दुर्घटना, अपाङ्गता र मृत्यु निम्त्याउने कारक नबनुन्, त्यसका लागि सामान्य बुद्धिमत्तापूर्ण व्यवस्थापन काफी हुन्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

उमेरिँदा प्राय पाका मानिसहरू आफ्नै शरीर बोझ भएझैँ ठाडो उभिन र सोझो भएर हिँड्न धेरैलाई समस्या भएको देखिन्छ । विभिन्न खालका शारीरिक भागको कमजोरी र रोगव्याधका कारणले मानिसहरू कमजोर भएर त्यसो भएको हुनसक्छ, त्यसैले त भर्खर-भर्खर अति बिरामी भई उठेका र रोगले थलापरेका मानिस उठबस गर्ने सामान्य कुरामा समेत अरु सहयोगी खोज्छन् । कमजोरीका कारण वा रोगका नकारात्मक प्रभावले हिँडडुलमा बाधापरेर उमेरिँदा मानिसहरू लौरोको सहयोगमा लखर-लखर गरिरहेका पाइन्छन् । वास्तवमा स्वस्थ जीवनकालागि पाको उमेरमा सक्रिय रहने र हिँडडुललाई नियमित कामको रूपमा लिएमा उमेरिँदा हुने कतिपय रोगव्याधबाट बच्न वा कमील्याउन सकिने विज्ञचिकित्सकहरूको रहेको छ ।

पाको उमेरका मान्छेहरू महिला-पुरुष घुँडा, कम्मर, ढाड, पातो र गर्धन दुखेर दुईखुट्टाले हिँड्दा नबिग्रियोस्, नलडियोस् भनेर भर पर्ने साधनको रूपमा तेस्रो खुट्टाको मद्दत लिन लौरो टेकेर हिँड्छन् । कमजोर शारीरिक तथा भौतिक अवस्थाको वातावरणमा रहेका पाकामात्र होइन अरु उमेरसमूहका मानिस पनि हिँडडुल गर्दा अभर भएर धरमराउने र डङ्गरङ लडने सम्भावना हुन्छन् त्यसैले त, भर्खर थलापरेका बिरामी, ठूलो शल्यक्रियापछि तङ्रिन लागेका महिलापुरुष साथै गोडाको समस्या भएका मानिसले हिँड्दा प्राय सुरुमा लौरो वा वैशाखी प्रयोग गरेकाे देखिन्छ । अरु उमेरसमूहका मानिस अल्पकालीन समस्यापछि फेरि साविक हुन्छन् भने पाका मान्छे लौरो टेक्न थालेपछि बानी परेझैँ जीवनको अन्तिमसम्म टेक्ने गरेको पाइन्छ ।

यो उमेरसमूहमा पुगेपछि सबैभन्दा डरलाग्दो दुर्घटना भनेको सन्तुलित हिँड्न नसकेर पछारिनु हो, कमजोर शारीरिक अवस्था, हाड र मासु पुनर्जीवित कमहुने ओरालो लागेको उमेर, नशाजन्य, खुट्टा र मेरुदण्डका रोग बल्झेका मान्छेहरूमा हिँडाई असन्तुलित भएर लड्न सक्छन् । यसरी लड्ने प्रक्रियामा चोटपटक धेरै लाग्ने हुन्छ तथा नराम्रो हुँदा हृदयघात, मस्तिष्कघात र स्राव भएर पक्षघात हुने सम्भावना बढी नै हुन्छ । कैयौँ पाका मान्छे अचानक लडेपछि सद्दे रहिरहन बडो गाह्रो हुन्छ । त्यसैले पाका मान्छे हिँडडुलमा घरभित्र र बाहिर कतै पनि नलडुन् भनि होस् पुर्‍याउन आफैँ र अरु शुभचिन्तकहरूले हेक्का राख्नैपर्छ ।

लड्ने पछारिने नालीबेलीः
नसा सम्बन्धी रोग, पार्किन्सन, अल्ज्हाईमर, उन्माद, आदि भएका पाका मान्छे, दृष्टि कमजोरी वा फरक किसिमको दृष्टिदोष भएका अवस्था, भौतिक संरचना उवडखावड भएको सतह, चिप्लो जमिन साथै अव्यवस्थित छरपष्ट चिजविज छरिएका कोठाचोटा पाका मान्छेलाई हिँड्दा अल्झाउन मनग्य हुन्छन् र पछारिने सम्भावना बढी नै हुन्छ । त्यसैले, सन्तुलित हिँडाई वा हिँडडुल गरिने क्षेत्रको भौतिक अवस्थाले पाका मान्छे हिँड्दा धरमराउने, लड्ने, पछारिने र सानोतिनोदेखि ठूलो दुर्घटनामा पर्नसक्छन्, किन कि उमेरिँदा लड्दा जोगिन बहुत गाह्रो हुन्छ । कहिलेकाहीँ कुनै रोगको लागि क्रमश जीउलाई फाप्ने हिसावले नहेरी जण्डो ओखति एकैपटक खाँदा पनि त्यसबाट हुने अतिरिक्त असर अति सक्रिय भएर कमजोर शरीरलाई नकारात्मक प्रभावले सन्तुलन बिगारी मानिस लड्न सक्छन् । पाका मान्छे चलखेल, हिँडडुल गर्ने क्षेत्र उमेरिएका मानिसका लागि अनुकूल नभएको वातावरणले उहाँहरूलाई गतिमा अल्झाउने, धङमगिने र लडाउने सम्भावना रहन्छ । परिस्थिति प्रतिकुल अवस्थामा छभने घरभित्र सामान, चिजविज, भर्‍याङ र बरण्डातिरका रेलिङ्ग पनि पाका मान्छे अभर परेर लडने पछारिने वस्तु बन्छन् ।

उमेरिँदै गएका मान्छेको शारीरिक अवस्था वयस्कको भन्दा फरक भएको र ओखतिको गलत प्रभावले असामान्य स्थिति आएको हुन्छ, यस्तै कारणले वरिपरीको वातावरणले भन्दा पनि पाका मान्छे पछारिने सम्भावना बढेको हुन्छ । यस्तो घटनाले अमुक मान्छेप्रति अरुकासाथै आफ्नै पनि प्रतिक्रिया कस्तो हुन्छ र मनोविज्ञानमा कस्तो असर पर्दछ भन्ने पनि महत्व राख्दछ । यसरी लड्ने दुर्घटना हुनलाई भौतिक कुराहरूमा केही अन्य समस्याहरू पनि हुन सक्छन् । पाका मान्छेको हिँडने सन्तुलनको अभाव, दृष्टि समस्या, नसाको समस्याले कम्मरमुनि झमझमाउने र खुट्टा काम्ने, मांसपेशीहरू लुला हुनु, जोर्नी दुख्ने हुनु, मस्तिष्क क्षमतामा फरक र विपरित प्रभाव देखापर्नु, रक्तचाप र मुटुको चालमा तलमाथि भइरहनु, आदिले पनि पाका मान्छे पछारिन सक्छन् । उमेरकै कारणले उमेर ढल्कँदै जाँदा बेलामा बुद्धि पुर्‍याएर शरीरको उचित मर्मत सम्भार हुन नसकेर वयस्क छँदा केही नहुने ज्यानमा अनेक अनौठा लक्षणहरू बढदै जीवन कष्टकर भएको हुन्छ, मान्छेमा आउने यस्तो विविधता हरेकले बुझ्नै पर्छ ।

मांसपेशीमा आउने शिथिलता र पुनर्उत्पादनको ह्रासले असमान सतह, डल्ला, ढुङ्गा, रोडा र ढिस्काढिस्की भएको जमिनमा हिँड्दा पाका मान्छे धरमराउने साथै अनुकूल ठाउँमा पाइला राख्न रोज्दारोज्दै असन्तुलित भई लड्न सक्छन् । त्यसैले त पाका मान्छे आलीआली हिँड्न नसकेर बरू जुत्तै फुकाली खेतै खेत वा बारीको पाटोबाटै हिँडेको देखिन्छ । उमेरिँदा इन्द्रियहरूको कम सक्रियता र पुरानिएको कारणले प्रष्ट उज्यालो नहुँदा, दोछायाँ भएको ठाउँमा हिँड्दा निर्णय अस्पष्टताले सुरक्षाको हिसावले अप्ठ्यारोमा परेको हुनसक्छ । यस्तो समस्या भर्‍याङमा उक्लदा-ओर्लँदा बारनै समातेर हिँड्दा पनि दुरीको अन्दाज नहुँदा लड्ने, ठोक्किने र एक्कै पटकमा तलपट्टि घुस्मुन्टिने डर रहिरहन्छ । रक्तचाप र मुटुको चाल कम दरमा भएको अवस्थामा रिङ्गटा लागेर बेहोस हुने साथै बढी भाउन्न भएमा गति र बोली लरबरिने तथा पाइला अठोटेको ठाउँमा नपरेर चेतना हराएझैँ हुनसक्छ । मुटुका रोगीले अझ बढी होसियारी लिनुपर्छ किन कि न्यून रक्तचापले मस्तिष्कले येथेष्ट मात्रामा रगत पाउन नसक्दा चेतनामा आघात पर्न सक्ने सम्भावना रहन्छ ।

कुनैकुनै ओखति कुनै रोगका लागि रामवाण हुनसक्छ तर त्यस्ता ओखतिले स्नायुप्रणालीमा समेत असर गरेर शरीरको सन्तुलनमा गडबडी ल्याउन सक्छ । त्यस्ता ओखतिमा अफिम मिस्सिएका दुखाई कम गर्ने, चिन्ता, उन्माद र बिर्सने रोग विरोधि ओखति, वा उच्चरक्तचाप रोक्ने कडा ओखतिहरूले बिरामीलाई रोग निको पार्ने भए पनि शरीरको सन्तुलनमा असर गरी बिगारेर पछारिने डर रहन्छ । पाका मान्छे बस्ने, हिँड्ने, चलखेल गर्ने ठाउँ, कोठाचोटा र आउजाउ क्षेत्रको प्रतिकूलताले अल्झेर पनि लड्ने हुनसक्छ । विविध कारणले पाका मान्छे आफ्नै सुरमा हुने तथा अरुले गर्दिएका नयाँ चाँजोपाँजो चाँडै हेक्का राख्न सक्ने नभएकोले त्यस्ता कुराले लटपट्याएर घटना भई दुर्घटनाको रूप लिनसक्छ । कम हिँडडुलमा पनि उमेरिँदा समस्या पर्ने कारण विभिन्न छन्, यस्मा घरपरिसरमा पर्याप्त उज्यालो नहुँदा छेउकुनाका ठाउँ अल्झोका बस्तु बन्छन् । ओछ्यानका सिरक, डसना, दोलाइँ, खास्टो, राडीपाखी र कार्पेट जस्ता दैनिक प्रयोग गरिने वस्तु पनि पाका मान्छेको लागि अल्झो सावित हुनसक्छन् ।

उमेरिँदै गएका मान्छे भएका घरका कोठा, भर्‍याङ वरपर, विशेषगरी शौचालय र स्नानगार चिप्लो हुने गरेर छोड्नु हुँदैन, प्रयोग गरेपछि फोहोर र पानी पोखिएको छ भने सफा गर्ने, सुखा बनाई हाल्नुपर्छ । धेरै पाका मान्छे रातव्याल र घरमा अरु सहयोगी मान्छे नहुँदा दिसा-पिसाब गर्न जाँदा त्यस्ता सतहमा लडेर ज्यान जोखिम पर्ने दुर्घटनामा परेका छन् । उमेरिएका मान्छेलाई सुतेको कोठा साथै प्रयोग गर्ने कोठाभित्र पस्दा भित्रबाट चुकुल नलगाउन भन्नुपर्छ, केही घटना भएमा अरुले उद्धार गर्न सजिलो हुन्छ । घरमा विभिन्न प्रयोजनका तारहरू सकेसम्म जमिनतिरभन्दा भित्तामा हात पुग्ने ठाउँतिर राख्ने गर्नुपर्छ नत्र त्यस्ता बिजुलीका तार, जोड्ने थप तार, टेलिफोनका तार, टेलिभिजनका तारहरू हिँड्न अल्झो हुने हुनसक्छ । घरका पेटी, आँगन, कौशी, वरण्डाहरूका सतह नचिप्लने, उवडखावड नभएको हुनुपर्छ, ठाउँठाउँ उक्किएर हिँड्दा ठोक्किने र तलमाथि हुने हुनु हुँदैन, बिग्रेको भए मर्मतसम्भार गरिहाल्नु पर्दछ । सबैको लागि देखिनेगरी नयाँ चिजविज घरमा ल्याउनेले केटाकेटी र पाका मानिसलाई त्यसबारेमा जानकारी दिइहाल्नु पर्दछ, यसो गर्नाले सम्भावित दुरूपयोग तथा दुर्घटनाबाट बचाउन सकिन्छ ।

विदेशका कुराः
अति पाका मान्छे लड्ने, पछारिने बारेमा थोमास जेफर्सन विश्वविद्यालयका जनसङ्ख्या विज्ञ रिचर्ड स्टेफानासी र पेन्सीलभेनिया विश्वविद्यालयका डा. जाने विल्कीन्सनले मिहेनतसाथ लेखेको र समीक्षा गरिएको लेख सन २०२३ मा प्रकाशित भयो । त्यसमा पाको उमेरमा हुने त्यस्ता दुर्घटनाका कारण, लक्षण तथा बचावटका उपायहरूमा विस्तृत व्याख्या गरिएको छ । कुनै वाञ्छित चाहना बिना अचानक कुनै तल्लो सतहमा शरीर पल्टनुलाई पछारिनु वा लड्नु भनिन्छ । अरु उमेर समूहका मानिसहरूमा लड्नु सामान्य ढङ्ग नपुगेर, खेलाँची गरेर वा कुनै अवरोधले हुँदा खास धेरै समस्या नपर्ने हुनसक्छ, किन कि अचानक भए पनि त्यस्ता घटनामा उनीहरू चाँडै सतर्क भएर सम्हालिन सक्छन् भने केटाकेटी कम तौलका कारण र हाडजोर्नी नरम साथै जोडिन बाँकी रहेकाले घटना दुर्घटना बन्नबाट जोगिएको हुन्छ । जमिनको असन्तुलनले पाको मान्छेलाई नै बढि सताउँछ भने गतिको अनियमितता र आँखाको कमजोरीले हिँडडुलमा बाधा परिरहेको हुन्छ ।

धेरै त्यस्ता पछारिने मान्छेमा पूर्वलक्षण त्यस्तो केही देखापरेको हुँदैन तर कतिपयमा उठबस गर्दा एक्कासी भाउन्न हुने, टाउको टन्कने र रक्तसञ्चार सबै तलतिर भएझैँ टाउको हलुको हुने, शरीरमा चिटचिट पसिना आउने, आँखा वरिपरि काला-निला-सेता तारा उडेको देखेका हुन्छन् । प्राय पछारिँदा पाका मान्छेका शरीरमा कम्तीमा दरफरिनु, पाछ्नु हुन्छ भने अलि बलपूर्वक भएमा हातगोडा भाँचिने र जोर्नी खुस्किन सक्छ । कतिपयमा शरीरका विभिन्न भागहरू सुन्निन सक्छन् र आकस्मिक कक्षका चिकित्सकको परीक्षणपछि पछारिँदा कुन हदको नोक्सानी भएको साथै कस्तो ओखति गर्ने भनि खुट्ट्याउन सक्छन् । घरभित्रका पाका मान्छे लड्ने समस्या पहिचान गरेर बचाउन सावधानी अवलम्बन गर्न सकिन्छ तर बाहिर फेरका लागि पाका मान्छे आफैँ र हेरालुले हेक्का राख्नु पर्छ ।

लडेर र पछारिएर भएका दुर्घटनामा चोटपटक भित्रसम्म र हाडजोर्नीको समस्याभएको छ भने त घाउ निको भएपछि पनि पहिलेजस्तै सारसौँदो हुनलाई बिरामीलाई शारीरिक व्यायाम, मालिस आदि (फिजियोथेरापी) गराएमा निको पार्न सहज हुन्छ । उमेरिएको शरीरमा प्राकृतिक अवस्थामा पुर्‍याउन त गाह्राे हुन्छ तर लामो अवधिसम्म नियमित थेरापीले धेरैहद फाईदा हुन सक्छ । विकसित भनिएका देशका पाका मान्छे पनि लड्ने पछारिने भएका धेरै पाइन्छन्, अमेरिकामा ६५ वर्ष माथिका हरेक चारजनामा एकजना प्रतिवर्ष विविध कारणले हिँडडुल गर्दा पछारिएको अध्ययन रिपोर्टले जनाएको छ । यसहिसाबले अमेरिकामा मात्र ३ करोड ६० लाख पाका मान्छे पछारिएर दुर्घटनामा पर्ने रिपोर्ट अमेरिकी रोग नियन्त्रण र बचावट केन्द्रको अध्ययनले देखाएको छ । जुनसुकै कारणले एकपटक पछारिएको पाको मान्छे फेरि पनि लड्न र पछारिन सक्छ, त्यसैले एकपटकको घटना आफ्नो र हेरालुको लागि अब हेक्का गरिनु पर्ने अवस्था आएछ भन्ने पूर्वसङ्केतको रूपमा लिनै पर्छ ।

हो, सबै खालको पछारिने घटनामा चोटपटक लाग्नै पर्छ भन्ने छैन, भएको शारीरिक र मानसिक सतर्कताले बचाएर कम भएको पनि हुनसक्छ । अमेरिकामा हिँडडुलमा लडने पाका मान्छेहरूमा एकतिहाईलाई औषधोपचार गरी कम्तीमा एकदिन आरामी गर्ने आँकडाले देखाउँछ भने करिब २० प्रतिशत पाका मान्छेमा गम्भीर घाउचोट लाग्ने, हातगोडा, ढाडकम्मर भाँच्चिने र टाउको फुटने जोखिमपूर्ण घटना भएको देखिन्छ । पाका मान्छेका हाडहरू उमेरिएको कारणले गलेका, झाँटिएका र सजिलै भाँचिने (ओष्टियोपोरोसिस) भएकाले धेरैको कुनै पनि हाड पछारिने बेला टुक्रिन सक्छ भने जोडिन पनि निकै समय लाग्छ । मुख्य अङ्गका हाडहरू भाँच्चिएमा त्यस्ता मान्छेलाई निको हुन बढि समयमात्र लाग्ने होइन निको नहुँदै अनेक उकुच पल्टिएर उनको मृत्युको कारक बन्नसक्छ ।

आफ्नै परिवेशः
पाका मान्छे उमेरिएकाले शारीरिक मानसिक जाँगर, बल, तुज्जुक न्युन भएकाले लड्ने पछारिने कुरामा अति डराउँछन्, सधैँभरि डरमान्ने मान्छेले झन समस्या थपेको पाइन्छ भने घटाउन त मान्दै मान्दैनन् । त्यस्ता मान्छे आफ्ना नियमित र दैनिक गरिरहेको कामकाज गर्न पनि अघि सर्दैनन् साथै उस्तै प्रकृतिको परिवेशमा काम गर्न ‘मेरो त अस्तिनको घटना सम्झेर शरीरमा काँडा उम्रेको छ’ भनि पछि सर्छन् । वास्तवमा के कसो हुँदा लडिएको थियो भनि कारण पत्ता लगाई त्यस्तो मात्र नगर्नु पर्नेमा पाका मान्छे आलो घटनाको संस्मरणमा आफ्नो दैनिकीनै बिगार्छन् । धेरै उमेरिएका मान्छे ‘लड्नु पछारिनु बुढेसकालमा हुन्छ नि, सबै अङ्गहरू काम नलाग्ने भइसके’ भन्दै निच मार्छन् र निष्क्रिय भई कतै डुलफिर नगरी थप रोग उमार्छन् । फेरि कतिजना ‘हिँडडुलमा लडेको भनेदेखि घरकाले हिँड्न दिँदैनन्, हेलाँहोचो गर्छन् र अब घरमा एक्लै छोड्न पनि काम लाग्दैन भनि कतै अनाथाश्रमतिर भर्ना गरिदिन्छन्’ भन्ने डरले भन्दैनन् । कसैले नसोधे पनि उमेरिँदा आफूलाई भएको सबै घटना कम्तीमा मिल्ने साथीभाई र परिवारलाई भन्नैपर्छ । कोही नकोही सहृदयी निस्कन्छन् र उचित सल्लाह साथै निराकरणको लागि उपाय सुझाउन आउँछन्, नभने त कसरी समाधान निस्कला र ?

सबैभन्दा ठूलो समस्यानै पाका मान्छे लडनुअघि ‘अब म लडेँ’ भनि थाहा नै पाउँदैनन्, हो, भाउन्न हुनु, जीउ थरथराउनु, एक्कासी जिउमा तातोचिसो हुनु, मुटुको चाल अनियमित हुनु आदि हुनसक्छ । अलिकति सतर्क हुँदा लड्दालड्दै र बेहोस हुन लाग्दा पनि धेरै चोटपटक नलागोस् भनि जोगिन अनेक उपाय निमेषभरमा सोच्न सकिन्छ । जस्तोः ढोका नजिक लड्न लाग्दा ढोका समातेर बिस्तारै थचक्क बस्नु, मेच नजिक लडन लाग्दा मेचनै समातेर भूइँमा बस्नु, स्नानगारमा लड्न लाग्दा भित्तो समातेर वा डण्डी समातेर अडिनु आदि गर्न सकिन्छ । त्यस्तै उठेको बेलामा भए बस्नु र बसेको बेलामा भए लम्पसार भएर लामोलामो श्वासप्रश्वास गर्न सोच्नाले साथै सकेमा खोक्नाले पनि रक्तसञ्चार राम्रो भई होस हराउनबाट बच्न सकिन्छ ।

पछारिँदा मान्छे यदि तुरुन्तै सम्हालिन वा उठ्न सकेन भने थप समस्या देखिन सक्छ, कोही नजिक सहयोगी नभएमा मानसिकरूपले आतङ्कित भई शारीरिक क्षमता गुमाउन सक्छ । जमिनमै लडेको लड्यै भएमा, उठ्न नसकेमा उस्को शरीरलाई पानीको कमी, शिताङ्ग हुने, निमोनियाले समात्ने, मांसपेशीहरू थिलथिलो भएर बेकामे भई मिर्गौलामा असरगरी खराब हुने वा कामै नगर्ने र रक्तचाप पनि कष्टपूर्ण हुनसक्छ । कतिपय पाका मान्छे पछारिँदा टाउकोनै बढी ठोकिने हुनाले गम्भीर घटना हुनसक्छ, उमेरिएको मान्छेको टाउकोको ठोकाईमा धेरैजसो मस्तिष्कघात वा मस्तिष्कश्राब भई तुरुन्तै मृत्यु हुनसक्छ । कतिपय जीवित रहे पनि पक्षघात भई कष्टपूर्ण जीवन जिउन बाध्य हुन्छन् भने कतिपयमा अनेक जटिलताले गाँजेर केही समयपछि विभत्स अन्त्य हुनजान्छ ।

जाँचपडतालका तरिकाः
अरु उमेरसमूहमा लडदा वा अचानक पछारिँदा सामान्य उपचार र जाँचपडतालले कारणसँगै अबको सावधानी बारेमा जति सजिलै अनुमान गर्न सकिन्छ पाका मान्छेको उमेरिएको कारणले विभिन्न जटिलता हुनसक्छ । त्यसैले, सामान्य लागे पनि यस्ता उमेरसमूहका मानिस त्यस्तो दुर्घटनामा परेमा चिकित्सकबाट विविध परीक्षण हुँदा झर्को मान्ने वा पैसा कमाउन मात्र हो भनि पञ्छिन हुँदैन । दुर्घटना विज्ञ वा पाको मान्छेका विज्ञ चिकित्सकले लडेको मानिसलाई उभ्याउँदा रक्तचाप तलमाथि हुन्छ भने शरीरमा रगतको चाप तलतिर खँगारिएर मस्तिष्कमा न्युन रक्तसञ्चार भई लडेको हुनसक्छ । यस्तो शारीरिक अस्वस्थता र वातावरणीय प्रभावले पनि हुने गर्दछ भने शरीरमा उत्तिकै मात्रामा रगत जाई आई नभएको साथै चाप कम भएनभएको प्रमाणित गर्दछ । मुटुको चाल अर्को प्रमुख कारण हो मान्छे अचानक लड्नुमा, त्यसैले चिकित्सकले आला मार्फत मुटुको धड्कन कस्तो छ र प्रतिमिनेट कतिपटक ढुकढुक गर्छ भनेर छातीमा राखेर ध्यान दिएर सुन्छन् । मुटुका कमानीहरू ठिकसँग काम गरेनगरेको र हृदयघात वा हृदय असफल भएको बारेमा पत्ता लगाउन खोज्छन्, न्यूनगतिको मुटुको चाल पनि पछारिने कारण हुनसक्छ ।

गोडाका मांसपेशीको अवस्था, हल्लाएर हेर्दा देखिने अरट्ठोपन कुन र कति उर्जावान् छ भनेर पनि पछारिने मान्छेको जाँच गर्नाले कारण मांसपेशीको मात्र हो कि अरु भनि थाहा पाउन सकिन्छ । दृष्टि शक्ति र स्नायु प्रणालीको लगत लिनाले स्नायु सङ्कुचन, च्यापिएको र कम्मरदेखि गोडातिर जाने स्नायु प्राणालीबारे ज्ञान हुने र कारण थाहा पाउन सजिलो हुन्छ । त्यसोगर्दा पछारिएको मान्छेमा भएको स्नायु संयोजन, हरेक अङ्गसँगको तादत्म्यता र सन्तुलनका समस्याबारेमा जानकारी मिलेर कारण निरोपण गर्न सजिलो हुन्छ । यस्ता विभिन्न परीक्षणको क्रममा चिकित्सकले बिरामीलाई उठबस गराउँदा र समातेर हिँडाउँदा हुनसक्ने फरक मुटुको चाल, श्वासप्रश्वासकाे  गति र आन्तरिक अन्य सङ्केतबारेमा खोजिनीति गर्छन् साथै आवश्यक्ता अनुसार ईसिजी, होल्टर मोनिटर, जीवनजल, सिटी स्क्यान वा एमआरआई प्रविधिमार्फत निर्क्याेल गर्न सक्छन् ।

उपचारः
पछारिएका पाका मान्छेको घाउ र चोटपटकको उपचारनै पहिलो प्राथमिकता हो, बिरामी असह्य पीडामा छ भने उसलाई पीडा कम गराउने ओखति दिइहाल्नु पर्दछ । त्यसपछि अन्य जाँचपड्तालबाट देखिएका समस्याहरूलाई क्रमश उपचार गर्दै जानु पर्दछ । भाँच्चिएका, खुस्केका र चुँडिएका मांसपेशी तथा हाडजोर्नीलाई दुरुस्त पारेर काम्रो बाँध्ने वा ओखति लगाउने काम हुनु पर्दछ भने श्वासप्रश्वास र मुटुको चालले निर्धारण गरे अनुसार खाइरहेको ओखति घटाउनेदेखि मुटुमा नियन्त्रक यन्त्र लगाउने सम्मको उपचार गर्नुपर्ने हुनसक्छ । त्यस्तै पछारिएपछि भएको नोक्सानी, पछि विविध थेरापी गराउने र बिरामीआफैँ गर्नेबारेमा जानकारी लिएर थप नपछारिन होसियार रहनुपर्दछ ।

बचावटः
पाका मान्छे एक पटक अचानक लड्ने पछारिने भएका छन् भने पछि भविष्यमा सहयोगी नलिई हिँड्दा पनि दुर्घटना नहोस् भनि केही बचावट र रोकथामका प्रयास गरिनु पर्दछ ।
व्यायामः
हिँडदा लरखराउने, खुट्टा भनेको ठाउँमा नपुग्ने र लतारिने पाका मान्छेले तौलभएको डण्डबैठक सकेको नियमित गर्नैपर्छ भने गोडा तन्काउने साथै सुरक्षित ठाउँमा उल्टोसुल्टो हिँड्ने अभ्यास गर्नुपर्दछ । एक गोडाले उभिने प्रयास पालैपालो गर्नुपर्दछ भने समूहमा गराइने र तालिम दिने कुशल मानिस भएको ठाउँमा गएर व्यायाम गर्नु फाइदाजनक होला ।

ठिक जुत्ताः
नरम तथा हिँड्दा कतै पनि नदुखाउने, तलुवा जमिनमा झ्याप्प समात्ने दाँती भएका लगाउनाले हिँड्दा चिप्लने डर हुँदैन । गोलीगाँठा र कुर्कुच्चामा मोजा बाहेक थप काम्रोजस्तो नहल्लने बाँधेर फ्यात्तपरेको तलुवा भएको, अल्गो गराउने थप तलुवा वा कुर्कुच्चा नभएको जुत्तामात्र प्रयोग गर्दा हिँडाई सुरक्षित हुनसक्दछ ।

उठबसः
उठबस गर्दा, सुतेको ठाउँबाट उठ्दा बिस्तारै सहयोगी चिजबिज समातेर उठने र एक्कैपटक जुरुक्क नउठी घुँडामा बल दिएर पुच्छभाग उठाउँदै उठनाले रक्तचापमा प्रतिकूल प्रभाव पर्दैन र भाउन्न हुँदैन । हिँडाई सुरु गर्दा हुर्रिएर सुरु नगर्ने बरू बिस्तारै पाइला चालेर शरीरलाई हिँड्ने जानकारी तथा मस्तिष्कलाई सुरक्षाको पूर्व तयारी गराउनु पर्दछ ।

मुण्टो बटार्नुः
कतिपय पाका मान्छेमा गर्धनका नसा च्यापिएर र मसिना हाडहरू खिइएर गर्धन दुख्ने साथै पातो झमझमाउने भएर सन्तुलन बिग्रिएर लडेका हुन्छन् । त्यस्ता उमेरिएका मानिसले बिहान उठेपछि ओछ्यानमै मण्टो दायाँबायाँ पालैपालो कुमतिर ४५ डिग्री केहीबेर गरेपछि ९० डिग्रीमा नउठाई बिस्तारै लैजान कोशिस गर्नाले गर्धनको मांसपेशी र खिइएका हाडमा व्यायाम पुगेर तलमाथि र दायाँबायाँ गर्दा रिङ्गटा लाग्दैन । यस्तो प्रयाशले नसाको कारण हुने पछारिने अवस्था बिस्तारै कम हुँदै जान्छ ।

ओखतिको जानकारीः
आफूले प्रयोग गरिरहेको ओखति बारेमा समग्र जानकारी र खानथालेको अवधिबारेमा पछारिएपछि पाका मान्छेले दुर्घटना जाँच्ने चिकित्सकलाई भन्नु पर्दछ । सेवन गरिरहेको ओखतिमा अप्ठ्यारो पार्ने रसायन भएमा चिकित्सकले कम गर्ने वा आवधिक जाँचको लागि हटाउन सक्छन् । त्यसैले लट्ठ्याउने, निद्रा लगाउने वा चिन्ता, उन्मादका ओखतिहरू विज्ञ चिकित्सकको सल्लाहमा मात्र खाने र छोड्ने गर्नुपर्दछ ।

आँखा जाँचः
आँखाको क्षमतामा आएको ह्रासले पनि चिजविज र जमिनको सतह, भर्‍याङका खुटकिलाको दुरी अन्दाजमा भ्रम परेर पनि पाका मान्छे घरभित्रै पछारिने गरी लड्न सक्छन् । मोतिबिन्दु र जलबिन्दु भएका आँखाले दृष्टि शक्तिमा कमी ल्याएको हुन्छ । कहिलेकाहीँ उपयुक्त चस्मा नलगाउँदा वा दुई क्षमताका शिसा एउटै चस्मामा राख्दा पनि दृष्टिभ्रम पर्न गई पछारिने सम्भावना रहन्छ । अनुकूलको चस्मा प्रयोग गर्नु पाका उमेरिएका मान्छेको लागि अति आवश्यक हुने कुरा बुझ्नै पर्छ ।

उचित स्वास्थ्य विज्ञः
पाका मान्छेको व्यायाम तथा मालिस गर्न व्यवहारिक योग्य स्वास्थ्य विज्ञ छान्नुहोस् र उसबाट हिँड्ने तरिका साथै उठबस गर्न सिक्नुहोस् । लौरो प्रयोग गर्नु परेमा सानो ठूलो होइन, मेचमा हात राख्ने तरिकामा हात अड्याउने गरेर मुट्ठीमा अटाउने लौरो प्रयोग गर्नाले लामो छोटो भएर ढाड, कम्मर, पातो वा हात दुख्ने हुँदैन । गोडा भाँचिएका पाका मान्छे त् झन लौरोको उचाईमा बढी ध्यान दिनै पर्छ नत्र गोडै दुख्न झन थपिन्छ र हिँडाई नमिलेर जटिलता थपिन बेर लाग्दैन ।

घरको बन्दोवस्तः
घरमा ससाना केटाकेटी तथा पाका मान्छे हुनुहुन्छ र बेलाबेला लडने, खुर्मुरिने भइरहेको छ भने उज्यालोको लागि बत्ती वा चिम अलि बाक्लो राख्ने कोशिस गर्नुहोस् । धेरै बत्ती राख्ने प्रावधान मिल्दैन भने भएका बत्तीको चहक बढाउन कोशिस गर्नुहोस् । बत्ती रहेको ठाउँ वा ठड्यौरो हातले पुग्ने तर अजगमा राख्नु पर्छ भने बिजुली छ भने निभाउन र बाल्न सजिलोसँग मिल्ने साथै पाका मान्छे सुत्ने बस्ने कोठामा अलि तेजिलो हुनुपर्छ । रातको लागि उज्यालो देखिने तर निद्रा नखल्बलिने मधुरो हुनुपर्छ अर्को चाहिँदा बाल्न सजिलो होस् । राति किन खर्च गर्नु भनि छामछाम छुमछुम गर्न पर्ने अवस्था उमेरिएकालाई नपरोस् भनि अरुले हेक्का गरी व्यवस्था गर्नु राम्रो हुन्छ, दुर्घटना निम्तिँदैन ।

भर्‍याङमा खुट्किला सबै देखिने उज्यालो हुनैपर्छ भने कोठा बाहिर निस्कनु परेमा रातिको लागि व्यवस्थित प्रकाश हुनु जरुरी हुन्छ । शहर बजारमा हिँड्दा बल्ने संवेदनशील चिमहरू आइसके, गाउँघरमा बिजुली नभए कम्तीमा टर्चलाईट ससानो भए पनि पाका मान्छेका सिरानमा रहने चाँजो गरेमा राति उठेर हिँडडुल गर्दा समस्या नपर्ला । त्यस्तै सकिन्छ भने छेउकुना र दोछायाँ पर्ने ठाउँमा अति चम्किने रङ दलेर कम उज्यालोमा सहयोग लिन अचेल बजारमा बस्तुहरू उपलब्ध छन्, प्रयोग गर्दा फाइदै होला ।

घरमा जोडिएका विभिन्न तार र केवलहरू सरकारले सार्वजनिक ठाउँमा गुजुल्ट्याएर टोलनै कुरूप बनाएझैँ नगरौँ, बरू सिनित्त मिलाएर उस्तै तारहरू मिलाएर एकै मुठो बनाई केटाकेटी र पाका मान्छे नअल्झिने गरी कार्पेट मुनि वा माथि भित्तामा टाँसौँ । तपाईंका घरमा रहेका सुविधाका तारहरू तपाईंका आफन्तका दुर्घटना गराउने गलपासो नबनुन् । सुविधानै काल बन्नुजस्तो पूँजीको दुरूपयोग अरु हुन्न र आपदले तपाईंको आधुनिकताको ठस्सा आफन्तको दुर्गतिमा अनुवाद नहोस, हेक्का राखौँ ।

घरमा भएका दराज, मेच टेबुल, सोफा, पाउदान, कार्पेट, आदि वस्तु नहल्लिने र राखेका ठाउँमा जब्बर बसून्, खुकुलो भए मर्मत गरिहालौँ । अचल भएमा कथम कदाचित् कोठामा पछारिने अवस्था आउँदा उक्त व्यक्तिले नजिकका चिज समातेर सम्हालिन सक्छन् । शौच र स्नान गर्ने ठाउँमा रबडका टाँसिएका प्वाले पाउदान राखौँ, खुला स्नानगार छ भने कम्तीमा काठका नघिस्रिने फल्याक राखौँ, त्यसोभए पाका र केटाकेटी पानीमा नचिप्ली सफाई गर्न अनुकूल हुन्छ ।

दुर्घटना घरभित्र हुँदा प्राथमिक उपचारमा काम लाग्ने केही ओखतिमूलो घरका जिम्मेवारले सञ्चित हुने र सबैले देख्ने ठाउँमा राखौँ । प्राथमिक उपचारपछि स्वास्थ्य संस्थातिर लैजाँदा लाग्ने अवधिमा थप समस्या र सङ्क्रमणबाट आफन्त जोगाउन यस्तो व्यवस्था घरमा हुनु राम्रो हुन्छ ।

अन्त्यमा,
परिवारको भएको जेथाबाट सबैले र विशेषगरी पाका मान्छे र केटाकेटीलाई अप्ठ्यारो नपर्ने स्थिति कायम गर्नु जिम्मेवार गृहस्थीको कर्तव्य हो । भौतिक साधनहरू आर्थिक स्तरअनुसार उपयोग गरौँ तर आफन्तका असामयिक दुर्घटना, अपाङ्गता र मृत्यु निम्त्याउने कारक नबनुन्, त्यसका लागि सामान्य बुद्धिमत्तापूर्ण व्यवस्थापन काफी हुन्छ । हाम्रा शौख र आधुनिकताको रजगज जोरीपारी र इष्टमित्रलाई बडप्पन देखाउने साधनभन्दा पनि आफ्नाहरूको सुविधा बढाउन साथै दीर्घजीवनका लागि प्रयोग गर्न हुन, काल नआउँदै पलपल डराइडराई मरेतूल्य जीवन जिउन र आधुनिकतासँगै थपिएका अप्राकृतिक दुर्घटना निम्त्याउन होइनन् । पूँजी भनेको मान्छेको आयु लम्ब्याउने र सुखपूर्वक मानविय चरित्रसहित बाँच्ने साधन मात्र हो, त्यसैले सकिन्छ बृहत्तर हितमा काम गरौँ, सकिन्न भने कम्तिमा आफूले अरुको भलाईको काम त गरौँ, पाका मान्छे यस्तै सोच्छन् ।

०००
जेठ ३२, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x